सुनिल पौडेल भ्रष्टाचारी ठहर, ९ वर्ष कैद सजाय

सुनिल पौडेल भ्रष्टाचारी ठहर, ९ वर्ष कैद सजाय

‘नेसनल पेमेण्ट गेटवे प्रणाली’ खरिदमा भ्रष्टाचार गरेको ठहर भएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाइएको छ । 

आज विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ९ वर्ष कैद र २३ करोड २६ लाख ५८ हजार ७७ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसूरमा सोही दफाको ३(१)(झ) बमोजिम कैद र दफा ३ (१) बमोजिम जरिवाना गरिएको अदालतले जनाएको छ । 

छ वर्षअघि खरिद गरिएको प्रणाली थन्काएर सरकारलाई २५ करोड रुपैयाँ बराबरको नोक्सानी गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

विशेषले वैशाख ७ गते सो मुद्दामा पौडेललाई दोषी ठहर गरेर आज सजाय सुनाएको हो । त्यस्तै, तत्कालीन उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित आठ जनालाई भने सफाइ दिइएको छ ।

टिप्पणीहरू