माथिको आदेशपछि चीन जाने बाटो खुला

माथिको आदेशपछि चीन जाने बाटो खुला
सुन्नुहोस्

चीनसँग जोडिएका १४ वटा परम्परागत नाका तत्काल खुलाउनेबारे दुई देशबीच सहमति भइसकेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको केही हप्ताअघिको चीन भ्रमणमा यससम्बन्धी सहमति सार्वजनिक गरिएको थियो । तर, नाका सञ्चालनको व्यावहारिक कार्यान्वयनमा ढिलाइ भइरहेकोमा सीमाक्षेत्रका बासिन्दाले चिन्ता र चासो देखाएका छन् । 

नेपाल र चीनबीचका नाका तत्काल खोलिने भनिए पनि जिल्ला प्रशासन कार्यालयले गृहकार्य नपुगेको भन्दै ढिलाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने प्रवेश अनुमतिपत्रका आधारमा आवतजावत गर्ने गरिएको छ । अनुमतिपत्र वितरणमा ढिलाइ भएपछि व्यासक्षेत्रका स्थानीय वासिन्दाले गृह मन्त्रालयसम्म गुहार्नुपरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईको मौखिक आदेशपछि वैशाख १३ गतेदेखि मात्रै अनुमतिपत्र वितरण थालिएको छ । यसअघि चिनियाँ पक्षसँग सम्पर्क र समन्वय हुन नसकेको भन्दै जिल्ला प्रशासनले अनुमतिपत्र वितरण सुरु गरेको थिएन । 

व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको स्थानीय बासिन्दासमेत रहेका पूर्व प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले गृहप्रवक्तासँग भेटगरी सीमाक्षेत्रको पीडा राखेपछि तत्काल अनुमतिपत्र जारी गर्न निर्देशन दिइएको हो । कोभिड महामारीका कारण चार वर्षदेखि बन्द रहेको दार्चुलाको तिंकर नाकाबाट ताक्लाकोट बजारसम्म आवतजावत गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र दिन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । ‘मन्त्रालयको अनुमतिले चीन प्रवेशपत्र वितरण सुरु गरिएको छ, सीमाक्षेत्रका वासिन्दाको सुविधाका लागि हाललाई हस्तलिखित अनुमतिपत्र दिइँदैछ’ जोशीले भन्नुभयो । 

गृह मन्त्रालयले क्युआर कोडसहितको नयाँ अनुमतिपत्र प्रयोगमा ल्याउने गृहकार्य थालेकोले केही समय ढिलाइ भएको छ । हुम्लाको हिल्सा नाकाबाट पुरानै ढाँचाको परिचयपत्रका आधारमा चीन प्रवेश भइरहेको भन्दै तिंकर नाकाबाट पनि यसै आधारमा चीन प्रवेश गर्न दिनुपर्ने माग गरिएको मार्मा गाउँपालिका–५ का वडाअध्यक्ष सुरेन्द्रसिंह महताले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले वैशाख १३, १४ र १५ गतेगरी ३ दिनमा ८५ जनालाई अनुमतिपत्र वितरण गरिसकेको छ । सदरमुकामदेखि व्यासको छाङरु र तिंकरमा कुञ्चा (बसाइसराइ) सर्ने शौका समुदायका स्थानीयवासीले अहिले धमाधम अनुमतिपत्र बनाइरहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । ‘चीनको ताक्लाकोट बजारका लागि स्थानीयवासी हिँडिसकेका त छैनन् तर दुबै गाउँका सबैजसोले अनुमतिपत्र बनाइरहेका छन्,’ बोहराले भन्नुभयो । 

एक हप्ताभित्रै व्यासक्षेत्रका वासिन्दा सदरमुकाम खलंगाबाट बसाइँ सर्दैछन् । त्यसलगत्तै तिंकर नाका भएर ताक्लाकोट बजार जाने तयारीमा छन् । स्थानीयवासीको सहजताका लागि तिंकरमा रहेको सशस्त्र प्रहरीको बिओपी पनि तत्कालै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । तिंकरसहितका परम्परागत नाकाहरू गत वर्ष नै सञ्चालनमा आउने चर्चा थियो तर हिल्सा, रसुवागढी र तातोपानी नाका मात्रै खुल्न सक्यो । मुस्ताङको कोरोला नाका गतवर्षको असोजमा मात्रै खोलिएको थियो । 

रक्षामन्त्री ल्याउने प्रस्ताव, एमाले नेताद्वारा इन्कार

नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक निरीक्षण भ्रमण गर्ने रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रस्तावलाई उनकै पार्टीका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले इन्कार गरेका छन् । यसले गर्दा राज्य व्यवस्था समितिको प्रस्तावमा हुन लागेको निरीक्षण कार्यक्रम नै स्थगित भएको छ । 

काठमाडौंबाट सैनिक हेलिकोप्टरमार्फत महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–टिंकर सडक र कर्णाली कोरिडोर निर्माणको निरीक्षण भ्रमण गर्ने तयारी थियो । वैशाख १७ गतेका लागि निर्धारित भ्रमण कार्यक्रम एक हप्ताका लागि स्थगित भएको स्रोतले बतायो । वैशाख ७ गते बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तिंकर सडक निर्माणमा ढिलाइ भएको र पर्याप्त बजेट उपलब्ध नभएको विषय उठेको थियो । बैठकले तिंकर सडकसहित नेपाली सेनाबाट निर्माण भइरहेका सडकमा स्थलगत निरीक्षण भ्रमण गर्ने निर्णय पनि गरेको थियो । 

संसदीय समितिको निर्णय र मागअनुसार टिंकर सडक निर्माणको स्थलगत निरीक्षण भ्रमणका लागि रक्षामन्त्री उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मासहित संसदीय टोलीले वैशाख १७ गतेका लागि तयारी गरेका थिए । भ्रमणमा दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्रप्रसाद बडूका साथै आफ्नै पार्टीका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नालाई पनि रक्षामन्त्री उप्रेतीले लग्न खोजेका थिए । काग्रेसबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री बडू राज्य व्यवस्था समितिमा सदस्य छन् भने ठगुन्ना गत वर्षको निर्वाचनमा बडूसँग पराजित भएका थिए । 

दार्चुला–टिंकर सडक निर्माणमा पर्याप्त बजेट उपलब्ध नभएको र नयाँ बजेटमा पनि रकम घट्ने संकेत पाएपछि एमाले नेताले रक्षामन्त्रीसँगको भ्रमण कार्यक्रम इन्कार गरेका हुन् । ‘चालू वर्षमा टिंकर सडक निर्माणका लागि न्युन बजेट छ, यो वर्ष १४ करोड विनियोजन गरिएकोमा आगामी वर्ष योभन्दा पनि कम बजेट छुट्याइने गृहकार्य भइरहेको छ,’ ठगुन्नानिकट एक जिल्ला नेताले भन्नुभयो । ‘टिंकर सडकमा बजेट वर्षेनि घटाउने र सुस्तगतिमा निर्माण कार्य भइरहेको अवस्था छ, सडक निर्माणमा बजेट घटिरहँदा नेताहरूले हेलिकोप्टर चढेर निरीक्षण भ्रमण गर्नुको कुनै अर्थ छैन,’ एमाले नेता एवं पूर्वमन्त्री ठगुन्नालाई उद्धृत गर्दै ती नेताले भन्नुभयो । 

चालु वर्ष महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्मको ४ सय १३ किलोमिटर सडक निर्माणका लागि सरकारले ४३ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । योमध्ये महाकाली कोरिडोर सडक योजनालाई २९ करोड र तुषारपानी–टिंकर खण्ड निर्माण गरिरहेको नेपाली सेनालाई १४ करोड रुपैयाँ छुट्याइएको छ । 

स्रोतका अनुसार आगामी वर्षको बजेटमा महाकाली कोरिडोरका लागि यो वर्षको भन्दा झण्डै आधा बजेट विनियोजनको तयारी भएको जानकारी एमाले नेता ठगुन्नाले पाएका छन् । यो वर्ष ४३ करोड बजेट विनियोजन भएकोमा आगामी वर्ष २५ करोडको हाराहारीमा महाकाली कोरिडोरमा बजेट छुट्याउने गृहकार्य भइरहेको जानकारी पाएपछि ठगुन्ना आफ्नै पार्टीका मन्त्रीहरूसँग आक्रोशित भएका छन् । 

‘महत्वपूर्ण उपलब्धिको खबरसहित जनतासम्म पुग्नुपर्नेमा टिंकर सडकमा बजेट घटाउँदै हेलिकोप्टरमार्फत निरीक्षण भ्रमण गर्ने कार्यक्रममा आफु संलग्न हुन नसक्ने’ भन्दै ठगुन्नाले रक्षामन्त्री उप्रेतीसँग आक्रोश पोखेका छन् । रक्षामन्त्रीसँग आफ्नो कुरा राखेर ठगुन्ना वैशाख १६ गते बिहान गृहजिल्ला दार्चुला हिँडिसकेका छन् । वैशाख १७ देखि १९ गतेसम्म आयोजना हुने एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनी सहभागी हुँदै छन् । 

रक्षामन्त्री, प्रधानसेनापति र सांसदहरूसहितको निरीक्षण भ्रमण एक हप्तापछि सरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । ‘लगानी सम्मेलनलगायत कार्यक्रमको व्यस्तताले निरीक्षण भ्रमण सरेको जानकारी पाएका छौं, आउँदो आइतबारसम्म हेलिकोप्टरमार्फत निरीक्षण भ्रमण हुने खबर छ’ उहाँले भन्नुभयो । 

रक्षामन्त्री हरिप्रसाद उप्रेती केही हप्ताअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, सांसद योगेश भट्टराईसहित ताप्लेजुङको चीन जोड्ने नाका ओलाङचुङगोला पुगेका थिए । दार्चुलाको टिंकर सडक निरीक्षण भ्रमणमा भने भौतिक पूर्वाधारमन्त्री महासेठको सहभागिता निश्चित भएको छैन । भौतिक योजनामन्त्रीको अनुपस्थितिमा मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकलाई निरीक्षण भ्रमणमा सहभागिता गराउने गृहकार्य गरिएको स्रोतले बतायो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू