सेनाका हाकिम बाटैमा समातिए

सेनाका हाकिम बाटैमा समातिए
सुन्नुहोस्

सैनिक आचरणविपरीतको कसूर गरेबापत एक जना क्याप्टेन थुनामा पुगेका छन् । ५२ बेसिकका क्याप्टेन महेश कोइरालालाई तालिमकै क्रममा गत हप्ता सैनिक प्रहरी (एमपी) ले समातेको हो ।

नगरकोटमा सिसिएसी तालिम लिन आएका उनी त्यतिबेला ‘गेष्ट क्लास’ अर्थात अर्को युनिट भिजिट गर्दै थिए । प्राप्त जानकारीअनुसार, वार कलेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित इञ्जिनियरिङ युनिट एण्ड मध्य एअर बेस आएका उनी हाल त्रिपुरेश्वरको गणेश दलनजिक सैनिक हिरासतमा छन् । सैन्य भर्ना गर्दा पैसा खाएको भनी उजुरी परेको थियो ।

‘उहाँ सिसिएसीको तालिम लिन आउनुभएको रहेछ । सो क्रममा पक्राउ पर्नुभएको हो । सैन्य भर्ना गर्दा घुस लिएको भनी जंगी अड्डामा उजुरी परेबमोजिम समातिनुभयो’, स्रोतले भन्यो । सिसिएसी क्याप्टेनहरूले गर्ने तालिम हो । वार कलेजमा गराइने सो तालिम उत्तीर्ण गरेपछि मात्र सजिलै कर्णेलतिर उक्लिन पाइन्छ । एक सैनिक अधिकृतले बताएअनुसार उनको जागिर जाने सम्भावना धेरै छ ।

‘१८ हजार तलब खानका लागि सैन्यको जागिर खानेसँग एक–डेढ लाख घुस लिन हुन्छ ? यस्ताको जागिर त जानैपर्छ,’ ती अधिकृतले भने । सेनाका जनसम्पर्क अधिकारी सहायक रथी गौरवकुमार केसीले उनी पक्राउ परेको पुष्टि गर्दै सैनिक आचरणविरुद्धको कसूर गरेको जानकारी दिए । केसीका अनुसार हाल उनीमाथि छानबिन भइरहेको छ । 
 

टिप्पणीहरू