वेश्या र रानीको कथामा मनिषाको चर्चा

वेश्या र रानीको कथामा मनिषाको चर्चा

लामो समयपछि अभिनेत्री मनिषा कोइरालाले बलिउडमा कमब्याक गरेकी छन् । उनले वेब सिरिज ‘हिरामण्डीः जहाँ वेश्याहरु रानी थिए’ बाट कमब्याक गरेकी हुन् । 

यतिबेला यो सिरिज ओटीटी नेटफ्लिक्समा रिलिज भइसकेको छ । सिरिज रिलिजसँगै मनिषाको चौतर्फी तारिफ भइरहेको छ । आठ श्रृंखलाको करिब आठ घण्टा लामो सिरिजमा मनिषाले निभाएको सशक्त भूमिकाबारे बलिउड समीक्षकहरुले सकारात्मक टिप्पणी गरेका छन् । 

गौतम घोषले मनिषाको अभिनय र निर्देशक सञ्जयलीला भन्सालीको खुलेर तारिफ गरेका छन् । उनले भनेका छन्, ‘सुरुका तीन एपिसोड निकै बोर भयो । तर चौथो एपिसोडदेखि मलाई गुजबम आयो । मनिषा र भन्सालीलाई यो साहसको लागि सलाम ।’

त्यस्तै, सार्थक जोशीले पनि सिरिजले बलिउडलाई नयाँ उचाइमा पुर्याएको बताएका छन् । अहिलेसम्म बलिउडमा ‘हिरामण्डी’ जस्तो कुनै पनि सिरिज नबनेको र आगामी दिनमा पनि बन्न असम्भव रहेको उनको दाबी छ ।

अभिषेक निजामले पनि मनिषाको खुलेर प्रशंसा गरेका छन् । मनिषाको यो कमब्याकबाट आफूलाई सन्तुष्टी मिलेको उनको भनाई छ । लेखेका छन्, ‘मनिषाको क्यारेक्टरलाई अरु कसैले न्याय गन सक्दैन, शिवाय उनी आफैं । निर्देशक भन्सालीले संवादमा अटाएका विम्बहरुबारे मसँग कुनै शब्द छैन । वश म यो टिमलाई बधाई भन्न चाहन्छु ।’ 

यद्यपि, कतिपयले भने सिरिजको कथा निकै ‘स्लो’ बगेको भन्दै टिप्पणी गरेका छन् । जे होस्, यो सिरिजले यतिबेला नेपालमा पनि राम्रै चर्चा बटुलिरहेको छ । यसमा मनिषाको अलवा सोनाक्षी सिन्हा, अदिति राव, ऋचा चड्डा, सन्जिडा शेखलगायतका कलाकारको भूमिका छ । तर सबै कलाकारलाई ओझेलमा पार्दै मनिषा दर्शकको ध्यान खिच्न सफल भएको मानिन्छ ।

टिप्पणीहरू