माधव नेपाल र संसदका महासचिवविरुद्ध प्रहरीमा उजुरी

माधव नेपाल र संसदका महासचिवविरुद्ध प्रहरीमा उजुरी
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाहीको माग गर्दै दर्ताका लागि लगिएको जाहेरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले फिर्ता गरेको छ । 

'सत्य र न्यायको खोजी अभियान' का तर्फबाट आज दिउँसो लगिएको जाहेरी सिआइबीले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाउँदै दर्ता गर्न नमानेको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपाललाई सरकारले उन्मुक्ति दिएको जिकिर गर्दै जाहेरीमा तत्काल अनुसन्धान अघि बढाउन माग गरिएको छ । 

त्यस्तै, सोही समूहले संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयविरुद्ध पनि अनुसन्धानको माग गरेको छ । पाण्डेयले धोबीखोलाको सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा ल्याएको, तीन-तीन वटा नागरिकता र राहदानी लिएको आरोप लगाउँदै लगिएको जाहेरी पनि सिआइबीले दर्ता गरेन ।  

जाहेरी दर्ता गराउन अभियानका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ध्रुबलाल श्रेष्ठको नेतृत्वमा सदस्य युवराज कोइराला,पूर्वजर्नेल प्रेमसिंह बस्नेत, अधिवक्ता एसके तिमिल्सिना,अभियन्ता महेश्वर श्रेष्ठलगायत आज दिउँसो लाजिम्पाटस्थित सिआइबी कार्यालय पुगेका थिए । 

सिआइबीले आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै दुबै जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उनीहरुले खानी तथा भूगर्भ विभागअगाडि आएर पत्रकारसँग सम्मेलन गरेका छन् ।
 

टिप्पणीहरू