मुद्दा तामेलीमा राखेपछि शोभाद्वारा प्रमाणहरु सार्वजनिक

मुद्दा तामेलीमा राखेपछि शोभाद्वारा प्रमाणहरु सार्वजनिक
सुन्नुहोस्

केही नेताका कारण पछिल्लो समय नेकपा एमाले बद्नाम बन्दै गएको छ । एमालेका युवा नेताहरुका ‘युवती काण्ड’ एकपछि अर्को गर्दै बाहिरिरहेको छ । एमालेका केन्द्रीय सदस्य एवं अखिलका पूर्वअध्यक्ष ऐन महरपछि पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतमाथि अवैध सम्बन्ध गाँसेको आरोप लागेको छ । 

बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी भनिएकी शोभा पाठक उनैविरुद्ध कानुनी उपचारमा गएकी छिन् । उनले बस्नेतविरुद्ध ‘भ्रुण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ प्रकरणमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् । प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।  

सोहीअनुरुप कार्यालयले मुद्दालाई तामेलीमा राखेको हो । आफू गर्भवती हुँदाको अल्ट्रासाउण्डको रिपोर्ट, पटकपटक बच्चा फालेको डकुमेण्ट हुँदाहुँदै पनि प्रहरीले प्रमाण नपुग्ने भन्दै बस्नेतलाई जोगाएको उनको आरोप छ । ‘त्यत्रो प्रमाण हुँदाहुँदै पनि मुद्दा नचल्ने भन्दै तामेलीमा राखिएको छ । बयानका लागि पनि प्रहरीले बस्नेतको छोरा र स्वकीय सचिवलाई राखेको रैछ । अब छोराले पक्कै पनि मेरो बुवाले भ्रुणहत्या गरेको त भन्दैन् होला । प्रहरीले अस्पतालबाट फेक डकुमेण्ट ल्याएको छ । म त्यसविरुद्ध कानुनी उपचारमा जान्छु’, उनले भनिन् । 

उनले केही दिनअघि सामाजिक सञ्जालबाट अल्ट्रासाउण्डको रिपोर्ट सार्वजनिक गरेकी छिन् । त्यस्तै, पोखराको नागढुंगास्थित चरक मेमोरियल हस्पिटल प्रालिमा अपरेशन गरी बच्चा फालेको रिपोर्टहरु पनि उपलब्ध गराएकी छिन् । अपरेशनअघि गरिने मञ्जुरीनामा बस्नेतको नाम उल्लेख छ । फेसबुकमा समेत बस्नेतले पाठकलाई आफ्नी बुढी भएको र सहमतिबिना कुनै कदम चाल्न नपाउने भन्दै म्यासेजहरु पठाएको देखिन्छ । 

बस्नेतले आफूमाथि गरेको अन्यायविरुद्ध पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतलाई जानकारी गराउँदासमेत कुनै कारबाही नगरिएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत निवेदन नै पठाउँदा पनि पार्टीले उनलाई त्यत्तिकै छोडेको पाठकको गुनासो छ ।

टिप्पणीहरू