'सलीना'को प्रर्दशन रोकियो, हलहरुले शो नदिएको निर्देशकको आरोप

'सलीना'को प्रर्दशन रोकियो, हलहरुले शो नदिएको निर्देशकको आरोप

नेपालमा सिनेमा हल सञ्चालकहरु सामान्यत: जोखिम उठाउन चहादैनन् । हल सञ्चालकहरुको यो प्रवृतिलाई नयाँ कलाकारहरु भने 'सिन्डिकेट' भन्छन् । 

यद्यपि, मुनाफाको लागि हल सञ्चालकहरुले 'रियालिस्टिक' भन्दा 'कमर्सियल' चलचित्रलाई प्राथमिकता दिनु स्वभाविक पनि हो । तर, यसले नयाँ कलाकारहरुलाई निरुत्साहित भने जरुर गर्छ । 

६ वर्ष लगाएर निर्माण भएको 'सलीना: योद्धा राजकुमारी' अहिले यही परिस्थितिको शिकार भएको छ । निर्देशक तेजसराज जोशीले अन्तिम अवस्थामा चलचित्रको प्रदर्शन रोकेका छन् । हल सञ्चालकहरुले उपयुक्त समयमा शो नदिएको भन्दै उनले चलचित्रको नचलाउने निर्णय गरेका हुन् । 

त्यसो त, 'सलीना' नेपालकै पहिलो एनिमेटेड चलचित्र हो । पछिल्लो समय विकास हुँदै भएको च्याट जिपिटी र एआई प्रविधिको एउटा गतिलो उदाहरणको रुपमा हेरिएको छ, यो चलचित्रलाई । 

प्रविधिको राम्रो ज्ञान भएका नयाँ कलाकारहरुले लामो समय खर्चिएको यो चलचित्र भोलि (शुक्रबार)बाट रिलिज हुने भनिएको थियो । रिलिजको सबै तयारीसमेत पुरा भइसकेको अवस्थामा प्रदर्शन अनिश्चित बनेको हो । 

निर्देशक जोशीका अनुसार हलहरुले चलचित्रलाई बिहानको शो दिएका थिए । तर, निर्माण टिम त्यसमा सहमत भएन । स्मरण रहोस्, चलचित्रको लागि 'प्राइम टाइम'ले महत्वपूर्ण अर्थ राख्छ । विहानको शो मा दर्शकहरु शून्य प्राय: हुन्छन् । नेपालको परिवेशमा हेर्ने हो भने सबैभन्दा महत्वपुर्ण समय दिउसो र साँझको मानिन्छ । तर 'सलिना'ले दुवै समयको शो पाउन सकेन । 

चलचित्रमा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको छ । त्यस्तै सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारले पार्श्वस्वर दिएका छन् ।

टिप्पणीहरू