अमेरिका घुमेपछि बल्ल फुर्‍यो नाम

अमेरिका घुमेपछि बल्ल फुर्‍यो नाम
सुन्नुहोस्

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति अहिले ‘अ‍ैँचोपैँचो’ तिर्न कति व्यस्त छन् भने, अमेरिका भ्रमणको चाँजोपाँचो मिलाइदिएबापत पुरस्कार भुक्तान नगरी भएन । हालै प्रज्ञा प्रतिष्ठानले विधागत रूपमा दीर्घसाधना गरिरहेका १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार –२०८० दिने निर्णय गर्‍यो । 
जसमा पुच्छरमा पदम विश्वकर्माको नाम देख्न सकिन्छ । अनेसासको पूर्वअध्यक्ष र वर्तमान ट्रष्टी । त्यसकै सौजन्यमा अघिल्लो महिना कुलपति भुपाल राई र बाबा बस्नेतहरूलाई अमेरिका घुमाए । फर्किएपछि अन्तरदेशीय नेपाली साहित्य पुरस्कार उनै विश्वकर्मालाई दिलाए । यो पुरस्कार यसअघि लीलबहादुर क्षेत्री, दोश्रो पटक सिलिगुडीका नरबहादुर दाहालले पाएका थिए ।

यसपटक खगेन्द्र संग्र्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार, प्रा.डा.देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य), गंगा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार प्रदान गर्न लागिएको छ । यसअघि प्रज्ञा मातृभाषा साहित्य पुरस्कार– २०८० पहाडी÷हिमाली क्षेत्रबाट डा.योगेन्द्रमान प्रधानांग तथा तराई÷मधेस क्षेत्रबाट बेचन उराँवलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ का अवसरमा धरानमा एउटा कार्यक्रमबीच दिइसकिएको छ । अघिल्ला कार्यकालमा यस्ता पुरस्कार राष्ट्रपतिको हातबाट वितरण गरिँदै आएकोमा अहिले कुलपति आफैँले बाँड्न थालेका छन् । 

यसैबीच, दुई साताअघि जनआस्था साप्ताहिकले प्रज्ञा प्रतिष्ठानका केही पदाधिकारीको मिलेमतोमा सवारी लिलामीका नाममा गडबडी गरेको समाचार प्रकाशन भएसँगै खुलेको टेण्डर नै रद्द गरिएको छ । प्रज्ञा प्रतिष्ठानले माघ २८ गते ६ वटा गाडी लिलाम बिक्रीको सूचना निकालेको थियो । लिलाम प्रक्रिया बढाएर निकटतम व्यक्तिलाई पोस्न खोजेको, सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी कार्यविधि, २०७९ को लिलाम बिक्रीसम्बन्धी व्यवस्थालाई मिचेर ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को ठाडो उल्लंघन भएको विषयमा जनआस्थाले समाचार प्रकाशन गरेको थियो । डा. धनप्रसाद सुवेदीलगायत प्रज्ञा प्रतिष्ठानको व्यवस्थापन पक्ष र समिति सदस्यहरूले व्याहुत स्क्रोप सेन्टर, बाग्डोल ललितपुरलाई रु. ११, ५५, ०००/- रकममा लाखौँको सामान लिलाम सकार्न स्वीकृति दिँदा गडबडी भएको विषय आएको थियो । पुराना गाडी यत्तिकै राख्दा लाखौं कर तिर्नुपर्ने समस्या त अर्को छँदैछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)


 

टिप्पणीहरू