खसी–बोका जसरी केटा मार्ने खेल

खसी–बोका जसरी केटा मार्ने खेल

खसी–बोकाजस्तो मार्नका लागि एउटा मान्छे तयार पार्ने, मारिसकेपछि इन्स्योरेन्सबाट करोडभन्दा धेरै रकम लिएर बाँडचुड गर्ने ! नेपालमै अहिले यस्तो धन्दा मौलाएको छ । यस्तै काण्डमा संलग्न भएबापत कारागारमा रहेकी युवतीसहितलाई अदालतमा झिकाएर अस्ति आइतबार अन्तिम सुनुवाई गराइएको र छिट्टै सजायँ निर्धारण हुन लागेको छ । 

दुई वर्षअघि (०७८ वैशाख २ गते) कोहलपुर– ११, बाँकेका सर्जन बिकको हत्या बीमा रकम पचाउनकै लागि भएको थियो । यसमा संलग्न गिरोहले सर्जनकै जसरी अरु युवकलाई पनि कागजी विवाहमार्फत् मार्ने प्रयास गरेपछि यसको खुलासा भएको हो । उक्त गिरोहको धन्दा थियो, केही सोझा युवतीलाई अध्ययनका लागि जापान, अष्ट्रेलियासहितका मुलुक पठाइदिने भनी प्रलोभनमा पार्ने । त्यस्तै सोझा केटा खोजेर कागजी विवाह गराइदिने । बिहेकै दिन १० लाखसम्म प्रिमियम तिरेर वीमा गराउने ।  केही महिनाभित्रै केटालाई मारिदिने र केटी (नक्कली पत्नी) लाई अगाडि सारेर करोडौं रकम वीमाबापत हात पारी बाँडचुड गर्ने । 

विभत्स हत्यामा २५ वर्षसम्म कैद गर्न सकिने प्रावधान हुँदाहुँदै शुरुमै सर्जन बिकको हत्यालाई सवारी दुर्घटनामात्रै मानियो र प्रहरीले त्यहीअनुसार सवारी ज्यान मुद्दा चलायो । जिल्ला अदालतले पनि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत विभिन्न कसुरजन्य कार्यलाई अपराधीकरण गरी दोषीको हकमा सजायको न्युनतम दायरा पनि पूरा नगरी आदेश दियो । आदेश थियो, ३० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना । यसरी सवारीसम्बन्धी कसुरमै तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासमेत उल्लंघन हुन पुग्यो । उच्च अदालतले समेत त्यसैलाई भर्खर सदर गरेको अवस्था छ । 

सपना मल्ल नामक युवतीसँग ०७७ फागुन २८ गते सर्जनको कागजी विवाह गराइएकै दिन वीमा पनि गरियो । ३४ दिनपछि सर्जनलाई अत्यधिक मदिरा सेवन गराइयो । सरदार अहमद खाँ आफैंले चलाउने मोटरसाइकल उनलाई दिइयो । सवारी चालक टोपबहादुर राना क्षेत्रीसँगको मिलेमतोमा चलाएको माइक्रोले सर्जनले चलाएको मोटरसाइकललाई राति ११ बजे बाँकेकै बैजनाथ गाउँपालिका– ६ स्थित जंगली सडकमा ठक्कर दियो ।

मिसिलमा ड्राइभरसँगको फोनवार्ता र अरु विवरण समावेश गरिएन । सर्जनको घटनास्थलमै मृत्यु भयो ।  त्यसका लागि रिलायन्स लाइफ इन्स्योरेन्सका एजेण्टहरु सञ्जीव अर्याल, सरदार अहमद खाँ, दिपक केसी र ललिता सापकोटाले केटा र केटी खोल्ने, फकाउने र मार्नेसम्मको योजना बनाएका थिए । यही गिरोहले सर्जनको हत्यामा सफलता पाएपछि अन्य युवक र युवतीलाई त्यही किसिमबाट सम्बन्ध जोडाउने र मारेर पैसा कमाउने योजना बनायो । सर्जन हत्याअघि उनीसँग विवाह गराउनका लागि सञ्जीवले तयार पारेका थिए, जानुका रिजाललाई । उनले योजना बुझेपछि ललिता सापकोटा नामक अर्की युवती भेटाइदिइन् । ललिताले पनि कुरा बुझेपछि आफू पन्छिइन् र सपनासँग भेटाइदिइन् । अति कमजोर आर्थिक अवस्थाकी सपनाले सबै कुरा मञ्जुर गरिन् । वीमाको रकम लिएपछि जापान जान भनी गत वर्ष (०७९) साउन १० गते एयरपोर्ट पुग्दा त्यहींबाट पक्राउ परिन् । 

कालिकोटको अबुझ केटोले अढाई करोडको बीमा गराउन सक्छ कि सक्दैन ? आम्दानीको श्रोत खोज्नु पर्छ कि पर्दैन तर सञ्जीवसहितको गिरोहले कागजी विवाह गराई मार्ने प्रयास गरेका अन्य पीडितले प्रहरीलाई सुराक दिएपछि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले उक्त मुद्दामा काम गर्न थाल्यो । पछि रिलायन्स इन्स्योरेन्स पनि ठगीमा परेको भन्दै जाहेरी लिएर सिआइबी पुग्यो । त्यसपछि गिरोहका सबै समातिए । उनीहरु विरुद्ध ठगी, संगठित अपराध, सरकारी कागजात कीर्तेदेखि सम्पत्ति शुद्धिकरणसम्मको मुद्दा आकर्षित भयो । मुद्दाचाहिँ काठमाडौं जिल्ला अदालतमा चल्यो । 

शुरुमा अर्कै केटा ठीक पारिएकोमा ऊ अन्यत्रै गएकाले सर्जन मर्नका लागि छानिएका थिए । उनैको विभत्स हत्या भएपछि कुनै एक मन्त्रीको रोहवरमा गिरोहले सपना (नक्कली पत्नी) लाई अगाडि सार्दै काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा दुई करोड ५० लाखको चेक बुझ्यो । आइतबार सपनाले विशेषका श्रीमान्हरुलाई बयानमा भनेकी छन्, ‘यो सबै काम सञ्जीव दाइले गर्नुभएको हो, अष्ट्रेलिया पठाइदिउँला भन्नुभएको थियो ।’ उनीहरुले प्राप्त साढे दुई करोड रकममध्ये सर्जनकी आमालाई २० लाख रुपैयाँ दिएका थिए । उक्त रकमबाट आमाले बाँकेमै जमिन किनिन् ।

प्रहरीको अनुसन्धान प्रतिवेदनले सर्जनकी आमालाई पनि प्रतिवादी बनाई मुद्दा लगेको थियो । तर, अदालतले आमाको हकमा उक्त रकमबाट खरिद गरेको जमिनलाई जफत गरी उनलाई कैदमुक्त गरेको छ । असोजमा दर्ता भएको मुद्दाअन्तर्गत सञ्जीव, दीपक र शर्मिलाको हकमा १० वर्षसम्म सजाय हुने सम्पत्ति शुद्धिकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ । तर, सवारी चालक टोपबहादुर, सर्जनलाई मोटर साइकल दिने सरदार अहमद खाँहरुलाई थप मुद्दा चलाउने ठाउँ नभेटिँदा उनीहरु छुटेका छन् । उनीहरुले पाउने जेल सजायँको अवधिबारे छिट्टै फैसला आउँदैछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू