नेपालसँग आयरल्यान्ड ‘ए’ लगातार पराजित

नेपालसँग आयरल्यान्ड ‘ए’ लगातार पराजित
सुन्नुहोस्

दुई खेलको टी-२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्ड 'ए'माथि सानदार जित हात पारेको छ । 

घरेलु मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोलीलाई ७१ रनले हराएको हो । योसँगै नेपालले सिरिज पनि आफ्नो नाममा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले पाहुना टोलीलाई १९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । तर, आयरल्याण्ड 'ए' १८.३ ओभरमा १२७ रन बनाउँदै अलआउट भयो । 

उसका लागि ओपनर स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । त्यस्तै, मोर्गन टोपिक २१, केड कार्मिचेल १८ र रोस अडाऐरले १७ रन जोडे । कप्तान निल रक १७ रनमा आउट भए । 

आयरल्यान्डविरुद्ध  कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे भने ब्याटिङमा ३४ रनको योगदान गरे । त्यस्तै, सोमपाल कामीले ३ विकेट लिए । 

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाएका थिए । त्यस्तै, कप्तान रोहित पौडेल ३३, कुशल भुर्तेल २५, सन्दिप जोरा २१, आसिफ शेख ११, अनिल साहले १२ रन जोडे ।  

 दुई खेलको शृंखलाअन्तर्गत हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

टिप्पणीहरू