हङकङ किन पसिरहन्छन् यी हाकिम ?

हङकङ किन पसिरहन्छन् यी हाकिम ?
सुन्नुहोस्

आर्थिक अनियमितताको गम्भीर आरोप लागेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र उनी निकटस्थहरूको पछिल्ला विदेश आउजाउले नयाँ आशंका जन्माएको छ । अधिकारी फागुन ५ गते राति एअर शो हेर्न श्रीमतीसहित सिंगापुर उडेका थिए । उनीसँगै विश्वासपात्र दिपेन्द्र श्रेष्ठ पनि श्रीमतीसहित त्यता गएका थिए । इञ्जिनियर श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाका प्रमुख हुन् । उक्त टोलीसँगै प्राधिकरणको अधिकांश ठेक्का सेटिङमा मिलाउने उमा एण्ड कम्पनीका प्रोप्राइटर तथा अधिकारीका खजाञ्ची प्रेमप्रकाश ढकाल पनि सोही रात सिंगापुर गएको स्रोतको दाबी छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ अन्तिम सुरक्षा जाँचपछि प्रतीक्षा हलसँगै एउटा भव्य चिया–कफी पसल छ । अत्यन्त मिहिनेती र असाध्य राम्रो जनसम्पर्क भएका सुवास श्रेष्ठको उक्त पसल विभिन्न थरी मुद्दाका कारण १५ वर्षदेखि उनैद्वारा सञ्चालित छ । उक्त स्वनिगः कन्फेक्सनरी पसलमा जम्मा हुने डलर अधिकारी समूहले त्यतैबाट विदेश लैजाने गरेको आशंका त्यहाँ कार्यरत सुरक्षा निकायले गरेको पाइन्छ । स्रोत भन्छ, ‘ढकाल प्रायः विदेश गइरहन्छन् । उनी कोलम्बो, बैंकक, क्वालालम्पुर, सिंगापुर जहाँ गए पनि हङकङ त छिर्छन् नै ! अधिकारी र ढकालसहित उनको टिमले श्रेष्ठलाई पसल निरन्तरताका निम्ति करकापमा पारेर त्यहाँ जम्मा हुने विदेशी मुद्रा विदेश पु¥याउने र सोबापत नेपाली रूपैयाँ घरमा बुझ्ने गरेकोबारे गुप्तचर प्रमुख हुतराज थापालाई राम्रै जानकारी छ ।’

सोही आशंकालाई बल पुग्नेगरी स्रोतले पछिल्लो भ्रमणलाई पनि प्रमाणको रूपमा लिन आग्रह गरेको छ । फागुन ६ गते राति काठमाडौँबाट उडेको ढकालको टोलीले भोलिपल्ट हङकङ पुगेर दुई रात बिताएको देखिन्छ । उनको पटक–पटकको हङकङ आउजाउलाई फागुन पहिलो साताको समूहको भ्रमणले पनि पुष्टि गरेको बताइन्छ । यता, अवैध ढंगले बटुलिएको रकम महानिर्देशकले हङकङमा आइटीतर्फ लगानी गरेको अर्को आशंका पनि छ । पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीका भाइ कमल हङकङको ब्यापारसमेत हेर्नेगरी जापानतिर बस्छन् । उनको काठमाडौँ महाराजगञ्जस्थित कम्पनी आइटीसम्बन्धी ठूलो सप्लायर्स हो ।

महानिर्देशकका अर्का पार्टनर अमेरिकी ग्रिन कार्ड होल्डर अर्जुन खड्का पनि हुन् । अमेरिकाभन्दा हङकङमा डलर लैजान सजिलो भएकाले त्यो खालको उपाय अपनाएको हुन सक्ने स्रोत बताउँछ । यताका अधिकांश घरजग्गा अधिकारीले खड्का र ढकाललाई पास गरेर दिएको तथ्य यसबीच सार्वजनिक भइसकेको छ । प्राधिकरणका अधिकांश ठेक्का उमा एण्ड कम्पनीलाई सेटिङमा दिनु र ललितपुरको घरसहित चितवनको जग्गा उनै ढकाल र परिवारको नाममा राख्नुले खेलोफड्कोको कुरालाई हल्का ढंगले लिन नहुने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू