विदेशीले खेल्ने ठाउँ कति थियो नयाँ गठबन्धनमा ?

विदेशीले खेल्ने ठाउँ कति थियो नयाँ गठबन्धनमा ?
सुन्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको कांग्रेस संलग्न गठबन्धन भारतीय मिडियाले उल्लेख गरेजस्तै भत्कनुमा विदेशी शक्तिको कुनै चलखेल नदेखिएको निश्कर्ष जनता समाजवादी पार्टीले निकालेको छ । गत शुक्रबारको बैठकमा गरिएको रिपोर्टिङका आधारमा यस्तो निश्कर्ष निकालिएको दाबी स्रोतको छ । आउँदो दिनमा भने विदेशी शक्तिले आफ्नो स्वार्थ अनुकूलका खेल अघि बढाउन सक्ने आकलन गरिएको छ । बैठकमा सरकार पुनर्गठन मात्रै भएको र नयाँ सरकार नबनेको निश्कर्ष निकालिएको थियो । यसैले यसलाई छिमेकी तथा मित्र राष्ट्रहरूले शुभकामना दिनुपर्ने कारण नभएको नेताहरुको निचोड थियो । 

सत्ता समीकरणमा फेरबदलपछि उत्तरी छिमेकी चीनले नेपालस्थित आफ्ना राजदूत छनसोङलाई पठाएर परिवर्तित घटनाक्रमलाई नोटिसमा राखिएको जानकारी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई गराएको थियो । त्यसपछि अर्को छिमेकी भारतले पनि हामी यो खेल (सत्ता परिवर्तन)मा छैनौं । यो नेपाली जनताको आन्तरिक मामिला हो भन्दै सत्ता समीकरणलाई सहज रुपमा लिएको देखिन्छ । तर, केही भारतीय मिडियाले भने माल्दिभ्समा जस्तै नेपालमा चिनियाँ पक्ष हावी भएको समाचारको बाढी ल्याउन खोजेको अवस्था छ । 

जसपाले आफू समाजवादी भएको र तीन वामपन्थी दलहरू समावेश भएको सरकारमा आफ्नो दल पनि संलग्न रहेको बताउँदै आएको छ । सरकार पुनर्गठनको प्रक्रियामा तीन महिनादेखि नै जसपाका नेता उपेन्द्र यादव संलग्न रहेको दाबी स्रोतको छ । नेपालमा वामपन्थी एकजुट नभए दक्षिणपन्थी पूरै हावी हुन सक्ने निश्कर्षसहित वामपन्थी तथा समाजवादी दल एकजुट हुनुपर्ने र यो सरकारको साझेदारीलाई दीर्घकालसम्मै टिकाउनुपर्ने निश्कर्षमा जसपाका नेता पुगेको दावी स्रोतको छ । र, यो त्यसबेलासम्म सम्भव हुन्छ जतिखेरसम्म प्रचण्ड, ओली र नेपालले ‘इगो’ छोड्छन् । यीमध्ये अहिलेको सरकार सञ्चालनका मुख्य खेलाडी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष खड्गप्रसाद ओली नै भएकाले यी दुईकै भूमिकामा पुनर्गठित सरकारको आयु र नयाँ गठबन्धनले निरन्तरता पाउने अवस्था रहेको दाबी गरिएको छ । 

स्रोतका अनुसार सरकारलाई पूर्ण आकार दिनुअघि प्रचण्ड, ओली र उपेन्द्र यादवको भेटमा जसरी पनि माधवकुमार नेपाललाई ल्याउनुपर्छ, उनलाई गएर भेट्नुपर्छ भन्ने राय जसपाका नेता उपेन्द्र यादवले कडाइका साथ राखेका थिए । पूर्वाग्रह र तुष नै राख्ने हो भने त उपेन्द्रको जति माधवप्रति रिस अरु कोसँग होला ! किनकि पहिलो संविधानसभामा ५४ सदस्य उनको पार्टीबाट विजय गच्छदारसहित २८ जनालाई चोइट्याएर लाने माधव नै थिए तर ती सबै तीतापिरा बिर्सदै शुरुमा एमाले अध्यक्ष ओली एकीकृत समाजवादीलाई सरकारमा समावेश गर्न र नेपाललाई भेट्न अनिच्छुक देखिएपछि उनले यस्तो राय दिएका हुन् । साथै, प्रधानमन्त्री प्रचण्ड र नेता यादवले सरकारको हिसाब–किताब र वामपन्थी तथा समाजवादीको एकताका निम्ति भए पनि इगो त्याग्न बारम्बार अनुरोध गरेपछि मात्रै माधव नेपाललाई भेट्न ओली तयार भएको दाबी स्रोतको छ ।

वामपन्थी बुद्धिजीवीहरूले पनि एकताको निम्ति सबै नेतामाथि दबाब सिर्जना गर्न सके यो नयाँ गठबन्धन दिगो हुन सक्ने बताएका छन् । सत्ता समीकरणको मुख्य घटक नेकपा (एमाले)को शुक्रबार बिहानै बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले देशीविदेशी प्रतिक्रियावादीले अझै ताहुरमाहुर गरिरहेका छन्, बडो मुस्किलले जोगाएर यहाँसम्म ल्याइयो, अझै मिलाएर लैजानुपर्ने अवस्था छ भनेपछि चाहिँ यो समीकरण लामै अवधिसम्म जान्छ कि भन्ने आस पलाएको वाम बुद्धिजीवीहरु बताउँछन् ।
 

टिप्पणीहरू