​धोखाको अर्को नाम रहेछ जिन्दगी


Saturday, 21 Sep, 2019 1:44 PM

कथाहरू अचेल घरघरमै भेटिन्छन् । कति लेखिन्छन् । कति मनमै गुम्स्याएर राखिन्छन् । भनिन्छ, श्रीमान्को सफलताको पछि श्रीमतीको महत्वपूर्ण हात हुन्छ । तर, त्यही श्रीमतीका कारण जीवनमा धेरै आँसु बहाउन विवश पात्रहरू भेटिन थालेका छन्, दुर्गम गाउँ बस्तीमा । भनिन्छ, जहाँ विश्वास हुन्छ त्यहीँ हुन्छ धोखाधडी । जसलाई आफंैलाई भन्दा बढी माया, प्रेम र विश्वास खन्याए, उसैबाट पाएको धोखाधडीका कारण डिप्रेसनको मुखसम्म पुगेर तंग्रिएका पात्र हुन् ल्हाक्पा साङ्बु । 

जीवन सोचेजस्तो सहज रेखामा कहाँ हिँड्छ र ? उबड खाबड छ जीवनको गति । ३६ वर्षअघि जन्मिए, अत्यन्त दयनीय पारिवारिक अवस्था । बिहान खाए बेलुका के खाऊँ ? बेलुका खाए बिहान के खाऊँ ? हात मुख जोर्नै धौधौ । त्यही पनि बुबाआमाले ऋण गरेरै शिक्षादीक्षा दिलाए । अत्यन्त मेधावी । सात कक्षासम्म अध्ययन गर्दा कहिल्यै दोस्रो भएनन् । घरभरि भेडाबाख्रा । तिनलाई बेचे घरबार नचल्ने, तिनको स्याहारसुसारमा लाग्दा पढाइ अघि नबढ्ने । दोस्रो विकल्प रोजे । अध्ययनमा ब्रेक लाग्यो । अल्लारे उमेरमै विवाह बन्धनमा बाँधिए । रहर कम र बाध्यता बढी थियो विवाह । 

भेडाबाख्रा चराएर जीवनको नक्सा नफेरिने सोचेर पुगे जिल्ला प्रशासन कार्यालय । बनाए राहदानी र हान्निए खाडी मुलुक । खाडीको पीडा भोग्नेलाई बाहेक कसलाई के थाहा ? नेपाली मुटुमाथि ढुंगा राखेर हाँसेका हुन्छन् । न त राम्रो खान पाएका हुन्छन् । तैपनि, परिवारलाई ढाँट्छन् राम्रो काम छ । मीठो खाएको छु भन्दै ६ वर्षसम्म बेचे खाडी मुलुकमा आफ्नो श्रम र पसिना । ऋण तिर्दै गए । थोरै रकम बचाए । बचाएको रकम प्राणभन्दा प्यारी श्रीमतीको नाममा पठाउँदै गए । त्यतैबाट हान्निए इराक । कामअनुसार दाम राम्रै थियो । १६÷१७ घण्टासम्म खटिनुपथ्र्याे । के भोक ? के प्यास ? के निद्रा ? जाडो, गर्मी केही परवाह नगरी बगाउँदै गए पराइ भूमिमा पसिना । मनमा सजाइरहेका थिए, श्रीमती र छोरी । उनीहरूकै सुन्दर भविष्यको नक्शा कोर्न सारा पीडा सहिरहेका थिए । कर्मलाई कहिल्यै सानो ठानेनन् । कर्मलाई माने पूजा, ठाने ईश्वर ।

श्रमपसिना बगाएर जति रकम पठाए सबै परिवार र श्रीमतीको नाममा । यो बीचमा श्रीमतीकै नाममा मात्र ३५ लाखभन्दा बढी रकम पठाइसकेका थिए । स्वदेश फर्कने, चिटिक्कको घर बनाउने । सानोतिनो व्यवसाय गर्ने यस्तै सपना सजाएर फर्किएर मातृभूमि तर धेरै वैदेशिक रोजगारीमा गएर बिचल्ली भएका नेपालीको आम कथाभन्दा कहाँ फरक रह्यो र उनको व्यथा ? उनी उता पसिना बगाएर पैसा पठाउने, श्रीमती त्यही पैसाले परपुरुषसँग मोजमस्ती गर्ने । जब घर फर्किए र श्रीमती धनसहित अरूसँग लापत्ता भएको खबर सुने तब खसे छाँगाबाट । टेकिरहेको धर्ती भासियो । जहाँ भेट्यो त्यहीँ पिट्न मन नलागेको होइन । तर, उनी त्यस्तो संस्कारबाट आएका थिएनन् । उनले धेरै पढेनन् शब्द र अक्षरहरू । तर देखे–भोगेका थिए समाज र यहाँका घटना । एकै क्षणको आवेशले उल्टो जिन्दगी नै खोरमा जाकिएका धेरै नेपालीलाई देखेका र सुनेका थिए । त्यसैले त भन्छन्– रिस खा आफू, बुद्धि खा अरू । बुद्धिमत्तापूर्वक श्रीमतीसँग सम्बन्धविच्छेदको बाटो रोजे ।

विगत सम्झेर निरास हुन थाले । यो दैनिकी बन्यो । नारीको कोखबाट जन्मिएका उनलाई नारी शब्दप्रति नै घृणा लाग्न थाल्यो । महिलाका कारण पीडामा डुबेका उनी फेरि अर्की महिलासँग ठोक्किए । बुबाआमाको आग्रहमा दोस्रो बिहे गरे । पहिलो श्रीमतीका कारण जीवनमा धेरै आँसु बहाई दोस्रो जीवन संगीको साथ पाएर सफलताको खुट्किला पार गर्न सफल रहे । सबै नारी कहाँ एकनास हुन्छन् र ? जीवनका सबै पत्रपत्र सुनेपछि र जानेपछि श्रीमतीले मरिसकेको आशा र उमंगको रंग थपिदिइन् । निभ्न लागेको दीपमा तेल थपेर जगाइदिइन् । त्यसैले त भनिन्छ, एक छाक खान दिने मान्छेभन्दा महान् त त्यो हुन्छ जसले हौसला र ऊर्जा जगाइदिन्छ । त्यही हौसला, आँट र साथका कारण आज उनको जीवन फेरिएको छ । हिजो निराशाको कुरा गर्ने उनी आज बनेका छन् आशावादी । गोजीमा सुको थिएन । जति कमाएका थिए, श्रीमतीले उडाइदिएकी थिइन् । गोजीमा धन नभएपछि आँट र उत्साह भन्ने चिज पनि नहुँदो रहेछ । श्रीमतीले लगाइरहेको सुनको सिक्री हातमा थमाइदिइन् ।

र, भनिन् जीवनमा सबैथोक खानु तर हरेश नखानु । के गर्न सकिन्छ गर्नु, हरेश नखानु । उनको मन रसायो । गला अवरुद्ध भयो । परेली भिज्यो । त्यही भिजेको परेली औंलाले पुछ्दै श्रीमतीले थपिन्– मेरो आशा, भरोसा, जीवन, खुशी सबथोक हजुरै त हो । हजुर नै हो मेरो सुनको सिक्री । मन कमजोर नबनाउनुहोस् । यस्ता सुनका सिक्री त पछि पनि कमाउन सकिन्छ । यसै पग्लिए उनी श्रीमतीका वचनले । भावुक भए । अवाक भए । श्रीमतीको गहना बेचेर शुरु गरेको हो बेकरी सप । काठमाडौंको बुद्ध चोकमा । हिजो विदेशमा सिकेको ज्ञान र सीप उपयोग गरिरहेका छन् उनी । टुप्पाबाट पलाएकाहरूको उदय जसरी हुन्छ ती उसैगरी अस्ताउँछन् । चाहे उद्योगको क्षेत्र होस् वा अन्य । दिगो त ती हुन्छन् जो फेदैबाट पलाएका छन् । समाजमा अचेल प्रशस्त भेटिन थालेका छन् टुप्पाबाट पलाएकाहरू । तर, उनको विगत कहालीलाग्दो छ ।

आज उनी जुन उचाइमा छन् त्यहाँबाट तल फर्केर हेर्दा कम्ती कहालीलाग्दो छैन विगत । जीवनमा एउटै कुरालाई मूलमन्त्र बनाए र अगाडि बढिरहे कर्मपथमा । त्यही कर्ममा थोरै इमान्दारीको जलप लगाइदिए । यसपछि त के चाहियो र ? उनको बेकरी निरन्तर उकालो लाग्दो छ । ग्राहकको भीड बढ्दो छ । विश्वास जित्दै छ । श्रीमतीले भित्रको काम सम्हाल्छिन् । उनी बाहिरी काम गर्छन् । उनको बेकरीमा प्रत्यक्ष रूपमा तीन जनाले नोकरी पाएका छन् । जति आम्दानी गरेका छन् त्यो सबै आम्दानी बेकरीकै विस्तारमा खर्च गरिरहेका छन् । हिजो र आजमा फेरिएको छ, उनको परिचय र पहिचान । यही माटोमा सुन फलाउन सकिन्छ भन्ने एउटा उदाहरण हुन् उनी । 

– अञ्जना सुवेदी 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top