​सुहागरात नसकिँदै भयानक शहादत


Saturday, 21 Sep, 2019 1:42 PM

  • राजेन्द्र स्थापित

सलुम्बर भारत, उदयपुरभित्रको सानो राज्य थियो । जहाँका राजा राज सिंह (सन् १६५३–१६८०) थिए । राजस्थानी क्षेत्र बुन्दी, झलावर कोटामा हाडा राजपुतहरुको ठूलो बस्ती थियो । उनीहरू आफूलाई सूर्यवंशी ठान्दथे । सलुम्बरका सरदार राव रतनसिंह चुंगावत शक्तिशाली सरदार । मेवाडका राना सिसोडियाका ज्येष्ठपुत्र । उनको बिहे बुन्दीका शासककी छोरी रुपवतीसँग भयो । बिहेपछि रुपवती हाडी रानी कहलिइन् । 
रतनसिंह र रुपवतीको बिहे भएको एक साता पनि बितेको थिएन । सरदार रतनसिंह गहिरो निद्रामै थिए । घाम झुल्किसकेको थियो । सिंगारपटार गरेर हाडी रानी भित्र पसिन् । हातमा मेहन्दीको रंग ज्यूँकात्यूँ थियो । मायालु पाराले लोग्नेलाई ब्युँझाइन् । सरदार आँखा मिच्दै उठे । उभिइराखेकी पत्नीलाई आफूतिर ताने । दुवै हँसीठट्टामा हराए । यसैबीच बाहिर कसैले ढोका ढक्ढक्यायो । रुपवती ढोका खोल्न गइन् । बाहिर उभिएका चौकीदारले महाराजका दूत धेरै बेरदेखि पर्खेर बसिरहेको जानकारी दिए । सरदारसँग तुरुन्त भेटघाट गर्न चाहिरहेको र महाराजको तर्फबाट एउटा पत्र पनि लिएर आएको बिन्ती चढाए । 

अचानक महाराजका दूत आएको खबर सुनेर सरदार अचम्ममा परे । बिहेको निम्ति लिएको बिदाको समय नसकुञ्जेल दूतको आगमनको अर्थ ‘अति जरुरी काम’ हुनुपर्ने बुझे । हाडी रानी (रुपवती) लाई आफ्नो कोठामा जान इशारा गरे । महाराजको दूतलाई बैठक कक्षमा बस्ने व्यवस्था मिलाउन आदेश दिए । हत्तपत्त तयार भई आफू पनि बैठक कोठामा गए । त्यहाँ शार्दूल बसेका थिए । शार्दूल सरदारका मिल्ने साथी । उनलाई देख्नेबित्तिकै ठट्टा गर्दै भने, ‘ओ शार्दूल ! यति सबेरै किन आइपुग्यौ ? भाउजूले घरबाट लेखेटेर पठाइन् कि कसो ? तिमी हाम्रो मस्तीमा अवरोध पु¥याउन आयौ । भाउजू तिमीदेखि रिसाइन् होला । नयाँ छिन्, त्यसैले रिस नपोखिकन चुपचाप आफ्नो कोठामा गइन् । दुई दिन आनन्दले बस्न दिन्नौ है ? त्यस्तो के काम प¥यो र दगुर्दै आइपुग्यौ ?’

शार्दूल गम्भीर मुद्रा बनाएर बसिरहे । उनी सरदार रतनसिंहसित ठट्टा नगरी बस्नसक्ने व्यक्ति थिएनन् तर त्यो दिन नहाँसिकन बसिरहे । भने, ‘मित्र, ठट्टा गरेर नबस । तिमीलाई महाराजले तुरुन्त बोलाउन पठाएका छन् ।’ महाराजको पत्र सरदारलाई सुम्पन हिच्किचाइरहे । पत्रमा तुरुन्तै युद्धभूमि जान आदेश थियो । नयाँ जोडीको यति चाँडै विछोड हुनुपर्ने कुरा उनले सोचेकै थिएनन् । सरदारले पत्र खोसेर लिए । लेखिएको थियो, ‘तुरुन्त सेनाको टुकडी लिएर जानू । औरंगजेबलाई रोक्नू । यतिञ्जेलसम्म मैले उसको सेनालाई रोकेर बसेको छु । थप मुसलमान सेना सहयोगका लागि आउँदै छन् । उसलाई जसरी पनि रोक्नु जरुरी छ । यो काम सजिलो छैन । ज्यान पनि जान सक्छ तर मलाई पूर्ण विश्वास छ, तिमी यो काम गर्न सक्छौ । यो परीक्षाको समय हो । तुरुन्त केही गर ।’

महाराज राजसिंह मुगल सम्राट साहजहाँले कब्जा गरेको मेवाडको भूभाग फर्काउन सफल भएका थिए । त्यसपछि साहजहाँले उक्त भूभाग पुनर्कब्जा गर्न खोजेनन्, चुपचाप बसे । साहजहाँपछि औरंगजेब दिल्लीको सिंहासनमा बसे । औरंगजेब रुपवतीसँग बिहे गर्न चाहन्थे तर सरदार रतनसिंहले लगेपछि उनी झन् क्रुद्ध बने । बदला लिने अभिप्रायले हिन्दुहरुमाथि जजिया कर लगाउन शुरु गरे । मुसलमान धर्म अपनाउन र धर्म परिवर्तन गर्न नचाहनेले कर तिर्नुपर्ने भयो । राना राजसिंहले हिन्दुमाथिको यो दमनको विरोध गरे । अन्य हिन्दु राज्यले पनि जजिया कर तिर्न आनाकानी गरे । दक्षिणका शिवाजी, बुन्देलखण्डका छत्रसाल, पञ्जाबका गुरु गोविन्द सिंह, मारवाडका राठौर वीर दुर्गादास मुगल साम्राज्यविरुद्ध खडा भए । त्यसैले क्रुद्ध औरंगजेबले मेवाडमाथि आक्रमण गर्न लगाए । राना राजसिंहले आफ्नो सेनालाई ३ भागमा छुट्याए । मुगल सेनालाई अरावली प्रवेश गर्न नदिने जिम्मा जेठो छोरा जयसिंहलाई दिए । मुगल सेनालाई सहयोग गर्न आउन लागेको अजमेरको सेनालाई रोक्ने जिम्मा अर्को छोरो भीम सिंहले पाए । एउटा मोर्चा उनी आफैंले सम्हाले । राजपुत सेनाले सबै मोर्चामा विजय प्राप्त गरे । औरंगजेबकी एउटी रानी (जो ककेसियन थिइन्) लाई त बन्दी नै बनाए । औरंगजेब ज्यान बचाएर भागे । औरंगजेब जब थप सेनाको साथमा मेवाडतर्फ अघि बढ्न थालेको सूचना पाए, उनलाई रोक्ने जिम्मा सरदार रतनसिंहलाई दिए । 

पत्र पढ्नेबित्तिकै रतनसिंह युद्धभूमिमा जान तयार भए । लोग्नेलाई सैन्य पोशाकमा देख्नेबित्तिकै हाडी रानी अचम्मित बनिन् । सोधिन्, ‘कता जान लाग्नुभएको ? तपाईंले त ६ महिना युुद्धबाट टाढा बस्छु, आनन्दले मसित समय बिताउँछु भन्नुभएको थियो ।’

रतनसिंहले सबेरै शार्दूल आउनुपर्नाको कारण बताए । व्यहोरा सुनेर रानी एकछिन मौन बसिन् । साहस बटुल्दै भनिन्, ‘म पनि राजपुत हुँ । लोग्नेको शौर्य र पराक्रम हेर्न र जाँच्न नै क्षत्राणीहरु जन्मेका हुन्छन् । मलाई लाग्छ, देशका शत्रुहरुलाई धुलो चखाउने दिन आयो । तपाईं जानुस् ।’

रतनसिंहले हाँस्दै बिदा दिन पत्नीलाई आग्रह गरे । फर्केर आउन पाउँछु कि पाउँदिन के थाहा ? भनेर ठट्टा गरे । यथार्थमा उनको मन सशंकित थियो । यस्तो परिस्थितिमा नवविवाहिता पत्नीको भविष्य के होला भन्ने द्विविधा थियो । हाडी रानी गहभरि आँशु पारेर लोग्नेलाई बिदा दिन तयार भइन् । एकछिन पर्खनुस् है भनेर कोठाभित्र पसिन् । थाली लिएर निस्किइन् । लोग्नेको निधारमा टिका लगाइइिन् । आरती उतारिन् । ‘तपाईंजस्तो बहादुर लोग्ने पाएर धन्य बनेको’ उद्गार व्यक्त गरिन् । ‘विजय माला लिएर पर्खरहन्छु’ भनिन् । 

रतन सिंहले भने, ‘मैले सुख दिन सकिनँ । मलाई बिर्सने त होइनौ ?’ हाडी रानीले टाउकोमा लोग्नेको हत्केला राखेर वाक्य पूरा हुन दिइनन् । ‘यस्तो अशुभ कुरो नबोल्नुस्, म पनि वीर राजपुत हुँ । वीरकी पत्नी हुँ । आफ्नो धर्म राम्रोसँग जान्दछु । निश्चिन्त भएर जानुस् । सफलता हासिल गर्नुस्’ भनिन् । रतनसिंह घोडा चढे । पछाडि पत्नीलाई हेर्दै अघि बढे । पत्नीलाई देखुञ्जेल त्यसै गरे । कतै पत्नीले आफूलाई बिर्सिदिने त होइन भन्ने सन्देह थियो मनमा । आधा बाटो तय गरिसकेपछि एकजना सिपाहीलाई पत्र दिई घर पठाए । पत्नीलाई पुनः स्मरण गराए– ‘मलाई नबिर्स ।’

दोस्रो दिन त्यसैगरी अर्को सिपाही पठाए । तेस्रो दिन पनि । त्यो दिन उनले लेखेका थिए, ‘म यहाँ शत्रुसँग भिड्दैछु । तिम्रो कृपाले उनीहरु अगाडि बढ्न सकिरहेका छैनन् । मलाई तिम्रो धेरै सम्झना आइरहेको छ । पत्रवाहकमार्फत आफ्नो कुनै निशानी (चिह्न) पठाइदिनू । त्यसलाई हेरेर मनलाई हल्का पार्नेछु ।’

पत्र पढेर हाडी रानी सोचमग्न भइन् । युद्धरत लोग्नेको मनमा मेरै अनुहार मात्र घुमिरह्यो, मसित बिताएको क्षणको सम्झना मात्र रहिरह्यो । शत्रुसित कसरी लड््न सक्लान् ? शत्रुमाथि कसरी विजय पाउन सक्लान् र ? यस्तै तर्कना गर्न थालिन् । मनलाई अशान्त पार्दै गइन् । अचानक दिमागमा एउटा विचार खेल्न थाल्यो । सैनिकलाई भनिन्, ‘वीर, म तिमीलाई एउटा अन्तिम चिह्न दिएर पठाउँछु । थालीमा सजाएर, सुन्दर वस्त्रले छोपेर आफ्नो वीर सेनापतिलाई दिनू । याद गर्नु, मेरो चिह्न अरु कसैले देख्न नपाउन् । उनैले मात्र हेरुन् । साथै, मेरो पत्र पनि दिइदिनू ।’ पत्रमा लेखिन्, ‘प्रिय, तपाईंलाई म अन्तिम चिह्न पठाउँदै छु, तपाईंसितको माया–मोहको सम्पूर्ण बन्धन तोड्दैछु । तपाईं बेफ्रिक्री बनेर आफ्नो कर्तव्य पालन गर्दै जानुस् । म गएँ... स्वर्गमा तपाईंको बाटो हेरी बस्छु ।’

पत्र लेख्न सकिनेबित्तिकै कम्मरमा भिरिराखेको तरबार झिकिन् । एउटै प्रहारले आफ्नो टाउको जिउबाट अलग पारिन् । धडाम्म भुइँमा पछारिइन् । अगाडि उभिइरहेका सिपाही बोल्न नसक्ने भए । आँखाबाट आँशुको धारा बगाउँदै हाडी रानीको टाउको थालीमा सजाए । रानीले लगाइराखेको रातो सलले थालीलाई छोपे । अनि युद्धभूमितर्फ दौडिए । सरदार रतनसिंह शुरुमा त आफ्नी प्रिय पत्नीले उपहार पठाएको भनी दंग परे तर जब सल झिके, स्तब्ध बने । उनको मुखबाट बस् यति मात्रै निस्क्यो, ‘ओह, रानी । तिमीले यो के ग¥यौ ? शंकालु लोग्नेलाई यति ठूलो सजाय दियौ ? ठीक छ, म पनि तिमी भएकै ठाउँमा आउँछु ।’

रतनसिंहमा पत्नीप्रति जुन मोह थियो, त्यो खत्तम भइसकेको थियो । तसर्थ तन–मनले शत्रुमाथि धावा बोले । यति बहादुरीका साथ लडे कि त्यस्तो उदाहरण इतिहासमा पाउन गाह्रो छ । उनले औरंगजेबको सेनालाई अघि बढ्नै दिएनन् । मुस्लिम सेनालाई लखेटे । इतिहासकारहरुले रतनसिंहको जितको कारण हाडी रानीको मातृभूमिप्रतिको बलिदानलाई मानेका छन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top