​दुई मुटु पालैपालो चुँडिँदा...


Friday, 13 Sep, 2019 10:54 AM

जीवन नसोचेको यथार्थ हो । जे सोच्यो त्यो पुग्दैन । जे नसोच्यो त्यही आइलाग्छ । भोग्नै पर्छ । त्यसैले त भनिएको होला समयभन्दा माथि कोही छैन । उसको इच्छाविपरीत केही हुनेवाला छैन । न कोही रोकिन सक्छ न त रोकिन्छ नै संसार ! 

जिन्दगीका यस्ता भयावह क्षणलाई पार लगाएर आइएको छ जुन सम्झँदा पनि गल्छ नौनाडी । एउटी आमाका लागि उसको कोख रित्तिँदा÷उजाड हुँदा कस्तो पीडा हुन्छ । मन, मस्तिष्क र मुटुमा राखेका, आफ्ना प्राणभन्दा प्यारा सन्तानको नामका अगाडि स्वर्गीय लेख्न विवश छौं । यो बाध्यता एउटी आमाका लागि अकल्पनीय, असहनीय र मर्माहत अवस्था हो । पहिलो सन्तान जसलाई नौ महिना कोखमा राखेर असैह्य पीडाका बाबजुद जन्म दिएँ । जन्मनासाथ उसलाई पहिलोचोटि आफ्नो हातमा लिएर काखमा राख्दा सोचेकी थिएँ कि यही मेरो सर्वश्व हो र यो नै मेरो भविष्यको सहारा । तर, मेरो दुर्भाग्य ! खोसेर लग्यो पापीले अर्कै संसारमा । त्यो कालो दिन चाहन्न सम्झन पनि । पहिलो बज्र बज्रियो ०६५ साल पुस १२ गते । सवारी दुर्घटनामा परी छोरा कुमारले प्राण गुमाए । एउटा छोराको चोटले थलिएका हाम्रो जीवनमा फेरि अर्काे बज्रपात बर्सियो ९ महिनो अन्तरालमा ०६६ असोज १७ गते । अमेरिकाको युनिभर्सिटी टप गरेका छोरा बलरामको अमेरिकामै दुर्घटनामा परी ज्यान गुमाए । नौ महिनाको फरकमा एकसाथ दुई सन्तान गुमाउनुपर्दा स्तब्ध भएँ ! रोएँँ, कराएँ र छटपटाएँ, पूरै पागलझैं चिच्याएँ तर नहुनु भइसकेको थियो । मेरो रोइकराइले केही भएन र अन्तमा म आफूलाई सम्हाल्नतिर लागें । 

यसरी दुई जवान छोराहरू गुमाएर उनीहरूको नामको अगाडि स्वर्गीय लेख्नुपर्दा म आफू दुनियाँकै सबैभन्दा अभागी आमा बन्न पुगें । ती सन्तानलाई जन्म मैले दिएकी थिएँ । तर, उनीहरूको लालनपालन गर्ने र उनीहरूलाई हुर्काउने काममा म एक्लै थिइनँ । ससुरा बुबा र सासूआमा र मेरो श्रीमान्को पनि उत्तिकै योगदान थियो । उहाँहरूले पनि मैले जस्तै मेरा पुत्रद्वयमा आ–आफ्नो सुखद भविष्य देख्नुभएको थियो । कुमार र बलरामको अकल्पनीय मृत्युको पीडाले हामीलाई निष्प्राणतुल्य मात्र बनाएन, जिन्दगीमै पूर्णविराम लागेझैँ भयो । के दिन के रात केही पत्तो थिएन । परिवारमा मेरो मात्र होइन, हामी सबै सदस्यको हालत उस्तै थियो । सम्हालिने प्रयास त गरेका हौं तर सकिरहेका थिएनौं । बलराम गुमाएको १३ औं दिनको काजकर्म सकाएपछि पटक–पटक आज दोलालघाट जाऔं, अहिले जाऔं, गइहालौं भन्दै जिद्दी गर्न थाल्नुभयो । उहाँको इच्छा टाल्ने हाम्रो अवस्था थिएन र हामी जाने तयारीमा थियौं । यसरी उहाँ दोलालघाट जान खोज्नुको कारण हामीले धेरै पछि मात्र थाहा पायौं । असाध्य पीडाले छटपटी भएको र बाँच्न नसकिने ठानी भोटेकोसीमा गाडीसहित सपरिवार डुबाई प्राण त्याग्ने उहाँको मनसाय रहेछ । 

 तर, बाँच्न लेखेको रहेछ हामीलाई अरूको मुहारमा खुसी भर्न लेखेको रहेछ सायद । घरबाटै निस्कने तयारी चलिरहँदा गोर्खामा गाडी दुर्घटना भएको र नजिकै अस्पताल नभएको समाचार आइरहेको थियो । त्यही घटना र समाचारपछि मोडियो उहाँको पाइला । ‘यस्तो दुर्गम ठाउँमा सानो भए पनि अस्पताल बनाउन सके यसरी दुर्घटनामा परेकाहरूको उपचारमा ठूलो योगदान पुग्ने थियो, त्यो पुण्य कर्मले हाम्रा स्वर्गीय छोराहरू कुमार बलराम सायद सधैं जीवित हुने थिए होलान् ।’ मेरा यही वाक्यले रोकिए उहाँको पाइला । अवचेतन मनबाट निस्किएको ती शब्दले हामी आफ्नै संसारमा जीवित छौं ।

उहाँ भक्कानिँदै मेरो नजिकै आउनुभयो र भन्नुभयो ‘लक्षु, अब तिमी रुदैनौ र रुनु हुँदैन । तिमी रुन्न भनेर मलाई वाचा गर, म पनि अबआइन्दा कहिले रुने छैन । म अवाक भएँ । हेर, हिजो तिम्रो कोखबाट जन्मिएका हाम्रा प्रिय छोरा कुमार र बलराम भौतिक रूपमा यो जगत्मा नभए पनि अब तिम्रै नामरूपी संस्थाबाट उनीहरूलाई अमर बनाउन चाहन्छु । प्लिज मलाई साथ देऊ ।’ यति भन्दै अश्रुधारा बर्साइरहेका उहाँले मेरो हात समाउँदै आँशु पुछ्नुभयो । त्यतिबेला मैले उहाँको आँखामा देखेको चमक र आत्मविश्वासप्रति आशावादी हुँदै उहाँको हातलाई आफ्नो दुवै हातले बलियोसँग समाउँदै भनें, ‘मेरो अन्तिम सास रहेसम्म म तपाईंलाई साथ दिनेछु र हामी सबै मिलेर यस्तो काम गर्नुपर्छ कि हाम्रा दुई छोराहरू तारासरी चम्की रहुन् ।’ मेरो कुरा सुनेर उहाँ फेरि भक्कानिएर रुन थाल्नुभयो । मैले उहाँको आँखाबाट झरिरहेका बलिन्द्रधारा आँसुलाई पुच्दै उहाँलाई स्नेहपूर्वक आफ्नो छातीमा टाँसे । शोकमा डुबेको हाम्रो परिवारको आँसु थामिन महिनौँ लाग्यो । अन्त्यमा छोराहरूको शोक मेटाउने र भुलाउने एउटै बाटो तय भयो सामाजिक कर्म । र, समयसँगै हाम्रो आत्मविश्वास बलियो हुँदै गयो । केही दिनपछि आफन्त तथा शुभचिन्तकहरूसँग छलफल गरी एउटा टिम तयार गरेर संस्था गठनको काम अघि बढायौं । मलाई हिम्मत र सान्त्वना दिने उद्देश्यले जन्मियो लक्ष्मी प्रतिष्ठान । जसले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा सवारी सचेतनाका क्षेत्रमा काम गर्ने । विधिवत् कुमारको प्रथम वार्षिक कार्यक्रमका दिन ०६६ पुस २ गते लक्ष्मी प्रतिष्ठान जन्मियो । हालसम्म संस्थाले हजारौं कुमार र बलरामलाई जन्माइसकेको छ । ०४० सालदेखि झन्डै २७ वर्षसम्म पर्यटन क्षेत्रमा होमिनुभएको श्रीमान् । स्कुल पढ्दा पत्रिका बेचेर अध्ययनलाई निरन्तरता दिनुभएको । कलेज पढ्दै गर्दा साथीसंगीको लहैलहैमा पार्वती फिल्म पनि बनाएर आठ लाख डुबाएको, कुलेखानीमा जागिरे हुँदै पर्यटन व्यवसायमा मोडिएका हुन् पाइलाहरू । आफूसँग भएको बैंक ब्यालेन्स, पुख्र्यौली भौतिक सम्पत्ति सकाएर आज हामी होमिएका छौं सामाजिक कर्ममा ।

काभ्रे जिल्लाको अनेकोट गाविस–८ मा रहेको बालप्रतिभा निमाविका लागि एउटा भवन निर्माण गर्दै शुरु भएको हो सामाजिक कर्मको यात्रा । त्यसयता हाम्रा पाइला रोकिएनन् । हरेकमा हामीले देख्न थाल्यौं कुमार बलरामको रूप । गाउँघरका गृहिणीका लागि साक्षरताका कक्षादेखि युवालाई आत्मनिर्भर गराउने सीप, तालिम, सयौं वृद्धवृद्धाको मोतियाविन्दुका कारण गुमेको दृष्टिलाई निःशुल्क शल्यक्रियाद्वारा दृष्टि फर्काउने काम भए । चितवनको चुलीमा ( कान्दा) चेपाङहरूका घर निर्माण, बाख्रा पालन, मौरी पालन, तरकारी खेती तथा फलफूल खेती, सौर्य ऊर्जाको व्यवस्था र उनीहरूका सयौं बालबालिकाका लागि सुविधासम्पन्न कुमार बलराम स्मृति छात्रावाससमेत निर्माण गरियो । प्रतिष्ठानमार्फत नै काभ्रे, काठमाडौं, भक्तपुर, डोटीलगायत जिल्लाका विभिन्न विद्यालयमा शौचालय, खानेपानीको व्यवस्थापन, भवन निर्माण, पुस्तकालय निर्माण, शिक्षक व्यवस्थापन, कम्प्युटर सहयोग, एक सय ५० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति, सात ठाउँमा आँखा शिविर, तीन सय ५३ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया, तीन सय ५३ जनालाई सीपमूलक तालिमलगायत सम्पन्न भइसके । सुरुवाती दिनमा आफूसँग भएको केही रकम र पाँचखालमा रहेको आफ्नै जमिन बिक्री गरी थलिएको मानवीय सामाजिक कामलाई अहिले संसारभरबाट सहयोगी मनले सहकार्य गरिरहनुभएको छ । सबैप्रति हामी कृतज्ञता प्रकट गर्दछांै । हिजो हाम्रा २ छोरा कुमार र बलरामको बिछोडको पीडामा स्थापित प्रतिष्ठानमा आज हजारौं कुमार बलरामले पुनर्जीवन पाएका छन् । तिनको ओठमा फुलेको मुस्कान देख्दा अहिले म छक्क परेकी छु । त्यति मात्रै होइन, हजुरहरू सम्पूर्णको साथ र सहयोगले आफन्त गुमाएर दुःखमा रहेकाहरूलाई जीवन र जगत्बारे सम्झाएर हौसला दिई बाँच्न सुझाव दिन सक्ने भएकी छु । 

लक्ष्मी गौतम, संरक्षक, लक्ष्मी प्रतिष्ठान 


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

तेजाबी

प्रति तोला

NRs.72,300/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top