​कमलको फूलसँगै हुर्किएको क्रान्तिपुत्र


Friday, 13 Sep, 2019 10:25 AM

माओत्सेतुङकी आमा वेन खिमेइ हुन् । माओ आफ्ना बुबाप्रति भन्दा आमाप्रति बढी अनुरागी थिए । गहिरो माया र आदर थियो । त्यसैले एकपटक व्यंग्यात्मक शैलीमा भने ‘परिवारभित्र दुईटा पार्टी छन्, एउटा मेरो बुबाको पार्टी, शासक र शक्तिशाली । अर्को विपक्षी पार्टी, जसमा म छु, मेरो आमा हुनुहुन्छ, दाजुभाइ छन् र केही कामदार छन् ।’

माओ साथीहरुलाई भन्ने गर्थे, ‘यो धर्तीमा तीन प्रकारका मानिसहरु छन् । अरुलाई हानि गरेर आफूले फाइदा लिनेहरु, अरुलाई हानि नगरीकन आफूले फाइदा लिनेहरु र अरुको सुखको निम्ति आफूले हानि सहनेहरु । मेरी आमा यीमध्येको तेस्रो वर्गमा पर्नुहुन्छ ।’

माओको शरीरको बनोट भने पिता माओ यिचाङको जस्तो थियो । गोलो अनुहार र फराकिलो निधार । आँखा भने आमासँग मिल्थ्यो । आमाछोरा दुवैको आँखा चम्किलो थियो । वेन खिमेइको जन्म ताङजियाइछाइ गाउँको ग्रामीण परिवारमा भएको हो । उनी जन्मेको गाउँ माओत्सेतुङ जन्मेको स्थान शाओशानभन्दा २० मिल टाढा पर्छ । वेनका बाबु वेन किफु पेशाले सार्की थिए । ठूलो जँड्याहा । वेन जन्मँदा उनकी आमाको उमेर मात्र १४ को थियो । उनीहरुका वेनबाहे अन्य दुई छोरा र दुई छोरी पनि थिए । किफु स्वास्नीलाई मारपिट गर्थे । पतिले दिने गरेको यातनाले सीमा नाघेपछि वेनकी आमा छोराछोरीको साथमा शाओशानतर्फ भागिन् । त्यहाँ उनले ६० वर्षका बूढोसित बिहे गरिन् । बूढो जमिन्दार थिए । तत्कालीन चीनमा नछुने हुनुअघि नै छोरीको बिहे गराइदिने चलन थियो । त्यसैले १३ वर्षको हुँदै वेनको बिहे माओ यिचाङ (माओ शुङसेङ) सित गराइदिए । जब वेन १७ की भइन्, तब माओ यिचाङसित उनको औपचारिक बिहे भयो । त्यसबेला वेनका पति माओ यिचाङ १४ का थिए । 

माओत्सेतुङको जन्म वेनले बिहे गरेको तीन वर्षपछि भयो । माओका बाजे साह्रै गरिब थिए । भएको अलिकति जमिन पनि सकिइसकेको थियो । ऋणमा चुर्लुम्म डुबेका थिए । माओ यिचाङ पनि पढेलेखेका थिएनन् । साक्षर मात्र थियो तर इमान्दार, दृढ एवं निरन्तर मिहिनेत गर्दै जाने स्वभावका थिए । परिवारलाई ऋणको बोझबाट मुक्त पार्न १६ वर्षकै उमेरमा सेनामा भर्ती भए । ७ वर्षको कठोर परिश्रमले कमाएको पैसाले जमिन्दारले धितोको रुपमा लिइराखेको १५ मू (अढाइ एकड) जमिन फिर्ता लिन सफल भए । पुनः कठोर मिहिनेत गरे र थप ७ मू जमिन किने । त्यो बेला परिवारमा पाँच सदस्य थिए । उनी, पत्नी, बाबु, दुई छोरा माओत्सेतुङ र माओ जेमिन । 

माओत्सेतुङ १० वर्षका थिए । माओ जेमिन ५ । माओ यिचाङ हिसाब–किताब पक्का थिए । माओत्सेतुङले सन् १९३६ मा अमेरिकी पत्रकार एडगर स्नोलाई आफ्नो परिवारबारे यसरी बताए ः

‘हाम्रो खेतबाट वर्षेनी साठी तान (सय मन) चामल उत्पादन हुन्थ्यो । जनही ७ तानको दरले ५ जामा ३५ तान घरमा खर्च हुन्थ्यो, बचेको २५ तान बेचेर ७ मू जमिन किनेको थिएँ तर ७ मू जग्गा थपिँदासम्म बाजेको निधन भइसकेको थियो । उनको स्थान मेरो सानो भाइ माओ जेतानले लियो । नतिजा घरको खर्च न बढ्यो न घट्यो । थपिएको ७ मूको परिणाम उत्पादन बढेर ८४ तान पुग्यो । यसरी वर्षेनी ४९ तान चामल वचत हुन थाल्यो । पिताको पुँजी बढ्यो । हामी धनी किसानमा गणना हुन थाल्यौं । बुबाले गाउँबाट सस्तोमा चामल र सुँगुर किनेर शहरमा लगेर महँगो मूल्यमा बेच्न थाल्नुभयो । व्यापारमा समेत व्यस्त हुनुपरेकाले खेतमा काम गर्न एकजना मजदुर राख्न थाल्नुभयो । हुन त हामी सबै पनि खेतमा काम गथ्र्यौं । मैले त ६ वर्षकै उमेरमा खेतमा काम गर्न शुरु गरेको ।’

माओ यिचाङको पसल थिएन तर अन्न तथा सुँगुर छिमेकी गाउँमा र शहरमा लगेर बेच्ने गरेकाले आम्दानी राम्रो हुन थालेको थियो तर घर खर्च भने उनले बढाउन दिएका थिएन् । घरमा भात र सागपातको तरकारी मात्रै पाक्थ्यो । चिनियाँ प्रचलनअनुसार महिनाको पहिलो र १५ औं दिन विशेष परिकारको रुपमा अण्डा, माछा, कहिलेकाहीं मासु पाक्थ्यो । माओका अनुसार उनले जीवनमा कहिल्यै गरिबी देख्नु परेन, बाल्यकालमा कहिल्यै भोको पेट सत्नु परेन तर उनका पिताको धनी बन्ने सपनाले गर्दा सधैं साधारण भोजन मात्रै खान विवश भए । 

गाउँमा घरनजिक दुईवटा ताल थिए । एउटामा कमलको फूल फूल्थ्यो । तालको नाउँ नै कमल ताल थियो । माओ त्यहाँ साथीहरुसँग नुहाउन जान्थे । ६ वर्षको उमेरमै पौडी खेल्न सिकिसकेका थिए । साथीहरुबीच एउटा किनारबाट अर्को किनारसम्म को पहिला पौडेर पुग्न सक्छ भनेर प्रतियोगिता हुन्थ्यो । प्रायः प्रतियोगिता माओले नै जित्थे । त्यसैको परिणाम होला, सांस्कृतिक क्रान्ति शुरु भएको घोषणालगत्तै माओ जुलाई १६ (सन् १९६६ मा वुहान गई याङत्से नदीमा पौडी खेलेका थिए । उक्त पौडी, मात्र पौडी थिएन । सांस्कृतिक क्रान्ति सञ्चालन गर्न शारीरिक तथा मानसिक दुवै रुपमा आफू र चिनियाँ जनता स्वस्थ र तम्तयार छन् भन्ने सन्देश थियो । उनैको शब्दमा ‘ठूलो हावाहुरी र आँधीसित जुध्ने तयारी’ थियो । उनको निशाना राष्ट्रपति लिउ शाओचीलगायतका दक्षिणपन्थी नेताहरुतर्फ थियो । त्यसैले त पौडी खेलेर बेइजिङ फर्केको तेस्रो दिनमै ‘कम्युनिष्ट पार्टीको मुख्यालयमा बम हान्’ भन्ने आदेश दिए । स्मरणीय छ, माओले जुलाइ १६ दिन ६५ मिनेटमा ६५ किमी पौडी खेलेर याङत्से नदी वारपार गरेका थिए । 

त्यो बेला शाओशानको जनसंख्या धेरै थिएन । चारै दिशामा पहाडले घेरिएको बस्ती थियो । छेउमै १ हजार ७ सय फुट उचाइको एउटा पहाड थियो । चुचुरोमा एउटा बौद्ध गुम्बा । माओ वेन खिमेइका तेस्रा सन्तान थिए । पहिलाका दुई सन्तान शिशुवस्थामै बिते । त्यसैले वेन माओको भविष्यप्रति चिन्तित थिइन् । राम्रो स्याहारका लागि दुई महिनाको छोरा माओलाई माइत पठाइन् । बज्यैको स्याहार–सुसारले माओ स्वस्थ रुपमा हुर्किए । माओलाई मामाले पनि उत्तिकै माया गर्थे । वेन बुद्धप्रति भक्तिभाव राख्थिन् । प्रत्येक दिन बुद्धको पूजा गर्थिन् र बौद्ध परम्पराअनुरुप दुःखी जनताका लागि भिक्षा माग्थिन् । माओ आमा वेनका सच्चा पुत्र थिए । आमाबाट निकै प्रभावित । आमाकै अनुशरण गरी भगवान, भूत र आत्माप्रति विश्वास गर्न थाले । रहस्यवाद, तन्त्रज्ञानमा विश्वास गर्न थाले । उनका बुबा भने यी सबैप्रति उदासीन थिए । आमा र छोरा उनको धर्मप्रतिको उदासिनताको कारण घरपरिवारलाई नोक्सानी हुन्छ कि भन्ने आशंकामा भयभित बनिरहेका हुन्थे । तसर्थ शाओशानमाथि बनेको गुम्बामा दिनहुँ जान्थे र प्रार्थना गर्थे । 

सन् १९०९ मा वेन सख्त बिरामी भइन् । आमाको तीव्र वेदना देखेर १६ वर्षीय माओ मर्माहत बने । नानजिङस्थित प्रशिद्ध बौद्ध मन्दिरमा गएर आफ्नी आमाको शीघ्र स्वास्थ्यलाभको कामनासहित पूजा गरे । वेनको स्वास्थ्यमा क्रमशः सुधार भयो । यो घटनापछि माओका बुबाको धर्मप्रतिको धारणामा परिवर्तन आयो । एकदिन टाढाको यात्राबाट उनी घर फर्कंदै थिए, डाँडा पार गर्दैगर्दा एउटा बाघसित जम्काभेट भयो तर बाघ उनीमाथि आक्रमण नगरी आफ्नो बाटो लाग्यो । उनले सोचे, भगवान बुद्धको कृपाले ज्यान जोगियो । यो घटनापछि उनले पनि पत्नी र छोरा माओले जस्तै धार्मिक अनुष्ठानमा भाग लिन थाले ।

माओकी आमा वेनले पतिलाई थाहा नदिइकन गाउँका गरिब परिवारलाई धान, चामल दिएर सहयोग गर्थिन् । कहिलेकाहीं यसै कुराले पतिपत्नीबीच झगडा पथ्र्यो । प्रत्येक झगडामा माओ र उनका दुई भाइ माओ जेमिन, माओ जेतान र बहिनी माओ जेजियान (छोरी नभएकाले वेनले धर्मपुत्री बनाएकी) आमालाई साथ दिन्थे । आमा वेनको करुणापूर्ण र दयालु स्वभाव तथा विपत्तिमा परोलाई सघाउने सहृदयी भावनाबाट माओ अत्यन्त प्रभावित थिए । वेनकै आदर्शस्वरुप पछि उनी ८० करोड (तत्कालीन चीनको जनसंख्या) चिनियाँ जनताका लोकप्रिय नेता बन्न सफल भए । सन् १९४३ देखि सन् १९७६ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्ष बने । सन् १९५४ देखि १९५९ सम्म जनवादी गणतन्त्र चीनको अध्यक्ष (राष्ट्रपतिसरह बने । सन् १९४९ देखि १९५४ सम्म सरकार प्रमुख बने । सन् १९५४ देखि १९७६ सम्म सैन्य आयोगको अध्यक्ष ।

वेनका अर्का छोरा अर्थात् माओका भाइ माओ जेमिन पनि माओ सँगसँगै क्रान्तिमा संलग्न भए । सिन्जियाङमा सक्रिय थिए । सन् १९४२ को सेप्टेम्बरमा सरदार शेङ सिकाइको गिरफ्तारीमा परे । जेलमा ठूलो यातना दिइयो । ‘कम्युनिष्ट पार्टीले कोमिन्ताङ सरकारलाई विफल पार्न षड्यन्त्र गरेको हो’ भन्न दबाब दिइयो । कम्युनिष्ट पार्टी परित्याग गर भनियो । दुवै कुरो सकार्न तयार नभएपछि सन् १९४३ को सेप्टेम्बर २७ मा माओ जेमिनले फाँसीको सजाय पाए । सन् १९२२ मै कम्युनिष्ट पार्टीको सदस्यता पाएका उनी ४७ वर्षका थिए । माओका कान्छा भाइ माओ जेतान पनि दाजुहरुसँगै सन् १९२३ मा कम्युनिष्ट बने । सन् १९२७ को नानचाङ विद्रोहमा संलग्न भए । जियाङसी प्रान्तमा सक्रिय रहँदा पक्राउ परे । पछि उनको हत्या गरियो । उनी ३० वर्षका थिए । माओकी एक्ली बहिनीको पनि कोमिन्ताङकै सेनाबाट सन् १९२९ मा हत्या भएको थियो । उनी २४ वर्षकी थिइन् । 

सन्दर्भ : सेप्टेम्बर ९, माओको ४४ औं पुण्यतिथि


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top