​कसले पुछ्ने बुद्धको आँशु ?


Sunday, 1 Sep, 2019 11:09 AM

घर–घरमा भेटिन्छन् कथा–व्यथा । फरक यति मात्रै कि कोही देखाउँछन्, कोही लुकाउँछन् । परिवर्तनका खातिर हिजो जो लड्यो राज्यव्यवस्थासँग । आज उही इन्तु न चिन्तुको अवस्थामा छ । खेल्दै छ, मृत्युसँग पांैठेजोरी । ओहोदामा पुगेकाहरूले फर्किएर हेरेनन् कहिल्यै तल्तिर । कोही सांसद बने, कोही मन्त्री त कोही पुगे राजकीय पदमा । तर, हिजो माओवादी बनेर लड्नेहरूको अवस्था उस्तै छ । कोही कतार त कोही मलेसिया भासिएका छन् । कोही असाध्य रोगले गालिएका छन् । केही ‘डिप्रेसन’को अवस्थामा जीवन गुजार्न विवश छन् । तीसँग ओखतीमूलो खाने पैसासमेत छैन । 

जसरी जीवनको उत्तराद्र्धमा आँसुको प्याला पिएर, ‘डिप्रेसन’ को अवस्थामा सास अड्काइरहेका छन् पूर्वसांसद तथा नख्खु जेल ब्रेक गर्ने एक योद्धा वीरबहादुर लामा उस्तै हाल छ अर्काे योद्धाको । जसले जवानीमा ओकल्यो ‘आगोजस्तो’ ऊर्जा । लड्यो निरंकुश राजतन्त्र र सामन्तीसँग । वीरबहादुर हरेक साता पाटन अस्पताल धाइरहेछन् । उस्तै व्यथाको पहाड बोकेर मृत्युसँग संघर्षरत अर्का योद्धा हुन् बुद्ध थामी ।

उनी पूर्वमाओवादी जनमुक्ति सेना । सेक्सन सहकमाण्डरको जिम्मेवारी निभाएका । लामो समय ललितपुरस्थित पम्फा भुसालको निजी निवासमा सहयोगीको रूपमा काम गरेका । तर, निभ्न लागेको दियोलाई जगाउने कसले ? ओह्रालो लागेको मान्छेलाई पुछ्ने कसले ? जसरी वीरबहादुरको दुवै किड्नीले काम गर्न छाडेर उनी मकवानपुरबाट उकालो चढी महालक्ष्मीस्थान नजिकै डेरा लिएर सातामा दुई पटक पाटन अस्पताल धाइरहेका छन्, बुद्धको व्यथा पनि ठीक उस्तै हो । सिन्धुलीदेखि राजधानी झरेर महिनौंदेखि उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा हाजिर छन् । साताको दुई÷ तीनचोटि डाइलाइसिस गराउनुपर्ने । महँगो औषधिमूलो गर्नुपर्ने । सस्तो छैन काठमाडौंको बसाइ । पाइला–पाइलामा पोल्छ पैसाले । बस्ने, खाने उपचार गर्ने पैसाको अभाव छ । मिर्गाैलापीडित भन्ने थाहा पाएपछि घरबेटी कोठा भाडामा दिन अन्कनाउँछन् । कहिले मर्ने टुंगो छैन भन्दै कोठा खाली भए पनि दिन मिल्दैन भन्छन् । कति निर्दयी छ, काठमाडौं शहर ! यहाँका घरधनी । यस्तो ठान्छन् उनीहरू अजम्बरी हुन् । कहिल्यै मर्नु पर्दैन । 

जब ट्याक्सी चढेर अस्पताल पुग्छन्, डाक्टरले हरेक पटक थमाउँछन् नयाँ–नयाँ औषधिको सूची । औषधि किन्न जाँदा पैसा पुग्दैन । श्रीमती इन्द्रकुमारी रित्तै फर्किएकी छन् धेरैपटक । बुद्ध हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । घरमुली नै यसरी ढलेपछि छिमेकी, आफन्त, दांैतरी कसैले नपत्याउने रहेछन् ऋण दिन । त्यसैले त भनिएको होला यहाँ सुखको प्याला पिउन न हो दुनियाँ झुत्तिने, दुःखको आँसु त एक्लै घुट्क्याउनुपर्छ । एक्लै आँसु घुट्क्याइरहेका छन् बुद्ध । यस्तो अवस्थामा न यी पात्रलाई कसैले सोध्छ न त अहिले कसैले खोज्न जरुरत नै ठानेको छ । उनको गुनासो÷पीडा सुनिदिने कोही छैन । न कोही कुरुवा छ, न त भेटिन्छन् कोही सहयोगी नै ! 

सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ (साविक वडा नं.४) मा जन्मिएका उनी होमिए ५५ सालदेखि जनयुद्धमा । त्यो बेला आफूजस्तै असाध्य गरिबीले गालेकाहरूको जीवनमा परिवर्तन ल्याउने सपना बोकेका थिए । तीन महिनाकी सुत्केरी श्रीमतीलाई छाडेर । श्रीमान् जनयुद्धमा होमिएको समयमा पनि रोकिएन इन्द्रकुमारीको गति । नवजात शिशुलाई बोकेर गलैंचा कारखानामा मजदुरी गरेर हुर्काइन् लालाबाला । साथ दिइन्, श्रीमान्को सपनालाई । कल्पिएकी थिइन् उनले पनि एक दिन फेरिनेछ आफ्नो जीवनको नक्सा । तर, असाध्य गरिबी र संघर्षको मारमा पीडादायिक जीवन बिताउँदै आएको थामी परिवारमा अहिले झनै ठूलो बज्रपात बर्सियो । एक त रोकियो छोरा र एक छोरीलाई शिक्षा दीक्षाको अवसर । बुद्ध चाहन्छन् नरोकियोस् सन्तानको शिक्षादीक्षा प्राप्त गर्ने अवसर । तर, अगाडि पहाड बनेर उभिएको छ, आर्थिक अभाव र गरिबी । सास अड्याउनकै लागि सही छोरी सिन्धुलीमै ज्याला–मजदुरी गरिरहेकी छन् । ७ कक्षासम्म त पढिन् । तर, त्योभन्दा माथि पढाउन सकिएको छैन । परिवारको मियो नै रोगले गालेर ढलेपछि ती लालाबालाको उच्च शिक्षा र भविष्य अन्धकारमा धकेलिएको छ । 

जनयुद्धताका बुद्ध थामीले भौतिक रूपमा सक्रियता जनाए । तर, उनको परिवारले यही कारण विभिन्न मार, धम्की खेप्नुप¥यो । समाज र देश परिवर्तनको अथाह सपना बोकेर हिँडेका हुन् बुद्ध थामी । अहिले गुनासो सुनिदिने कोही छैन । बुद्धजस्तै धेरैको रगत–पसिनाको जगमा आज गणतन्त्र स्थापित भएको छ । पूर्वमाओवादी र पूर्व नेकपा एमालेको एकीकरणपछि दुईतिहाइको सरकार अहिले छ । हुन त, वर्गीय, जातीयमुक्ति र विभिन्न जनवर्गीय नारासँगै देखाइएको सुन्दर सपनाका लागि आज हजारौंको बलिदान भयो । कतिको सिन्दूर पुछियो, कतिको काख रित्तियो । अझै कति जिउँदा सहिद, घाइते, अपांगहरू शरीरभरि गोली र घाउ बोकेर बाँचिरहेका छन् ।

बुद्धको जीवनमा ३६ वर्षकै उमेरमा बज्रिएको छ, बज्र । हिजो परिवर्तनका लागि ज्यानको बाजी लगाएर हिँडेका योद्धाको यस्तो हालत छ । बुद्ध चाहन्छन्, मृत्युको मुखबाट फर्कन । अझै पनि देशको सेवा गर्न । तर, समस्या छ एकातिर रकमको, अर्काेतिर दाताको । दाताले किड्नी दान नै दिए पनि साइजदेखि अरू चिज म्याच हुनुप¥यो । मान्छेले त्यसै आफ्नो किड्नी बेच्दैन । मागेजति रकम दिन सक्नुप¥यो । कहाँबाट यत्रो रकम भेला पार्ने ? माग्न जान्दैनन् । कसैले जानेर सहयोग गर्दैनन् । हिजो उनीहरूसँग युद्धमा होमिएकामध्ये कोही सरकारमा छन् । कोही सांसद त कोही राजकीय ओहदामा । राज्यसत्ताको तालाचाबी उनीहरूसँगै छ । पम्फा भुसालहरूलाई जानकारी छ बुद्धको यो हविगत । तर, सोधखोज गर्दैनन् कार्यकर्ताको अवस्थाबारे । जीवनका ऊर्जाशील १० वर्ष जनयुद्धमा बिताएका बुद्धहरू यस्तो हालतमा हुँदा किन दुख्दैन कसैको मन ? बुद्धलाई सहयोग गर्न चाहनुहुनेहरूले एनआईसी. एसिया बैंकको खाता नम्बर (ल्क्ष्ऋ ब्क्क्ष्ब् द्यब्ल्प् टछछठण्द्धण्ढडटटछद्दद्धण्ज्ञ० मा सक्दो आर्थिक सहयोग गर्न परिवारको अपिल छ । 

– सुखवीर थामी, अध्यक्ष, नेपाल थामी समाज एवं पूर्वजनमुक्ति सेना बुद्ध थामी बचाउ अभियान


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top