​असंख्य नारीहरुका अविरल आँशु


Sunday, 25 Aug, 2019 1:52 PM

एक धर्काे सिन्दूरका कारण कसरी बर्बाद हुन्छ नारीको जीवन ? जीवनमा भोगेका चोटले नै सिकायो एउटा महत्वपूर्ण पाठ र त फेरिएको छ जीवनको नक्सा । हाय हिजोका ती संकटपूर्ण र बन्धक जीवन ! आज चराझैं स्वतन्त्र छु । 

घातप्रतिघातको यो दुनियाँमा जहाँ विश्वास गरिन्छ त्यहीँ हुन्छ धोखा । यस्तै धोखाधडी र छलछाममा पारिएकी पात्र हुँ । विवाहका दिन मण्डपमा लगाइएको मंगलसूत्र र तिलहरी नै मेरालागि हतकडी सावित भयो । १६ वर्षअघि अहिलेको जस्तो ‘ब्रोइलर’ पिरती पुगिसकेको थिएन गाउँगाउँमा । न लभर, न त जीवनसाथी फेसबुक र ट्वीटरबाट खोज्ने चलन । १६ वर्ष टेक्दैथें । सरकारी जागिरे केटा हात माग्न घरकै दैलो टेक्न आएपछि बाबुआमाले पनि ‘नाइँनास्ती’ गर्नु भएन । रूप मात्र हेरेर नहुने रहेछ । कुन बुबा आमाको चाह होला छोरीले दुःख पाओस् ? तर भयो उल्टो । जोबाट सुख र शान्तिको अपेक्षा गरिएकोथ्यो त्यसको एक अंश पनि पूरा हुन सकेन ।

०६० साल असोजमा ‘पराइको घरमा’ खुशी र सुखी जिउने सपना र वाचासाथ प्रवेश गरिएको थियो । जुन अपेक्षा गरेर बुबा आमाले हात दिनुभयो, त्यसअनुसार व्यवहार फिटिक्कै पाउन सकिनँँ । विवाहपछि १४ वर्ष बित्यो दुःख, कष्ट र चरम यातनामा । 

जिन्दगीका कठिनभन्दा कठिन परीक्षा शुरु भयो त्यसपछि । र, जिन्दगीभर त्यही परीक्षासँग जुधिरहें÷जुधिरहेंकै छु आज पनि । घर परिवारको खुशीको खातिर मैले के मात्र त्याग र संघर्ष गरिन होला ? तर स्त्रीको त्याग र संघर्षको हिसाब यहाँ कसले गर्दाेरहेछ र ? आफ्नो सारा खुशी, रहर, इच्छालाई तिलाञ्जली दिएँ । र, पर्खिएर बसें कुनै दिन आउला कि मेरो मुहारमा पनि खुशी भन्दै । तर, अहँ फर्काउन सकेन त्यो घरले मेरो एक चिम्टी खुशी । अरू त परकै कुरा त्यो घरबाट पाउन सकिन बुहारीको नाता र सम्बन्ध । लाग्थ्यो म त्यो घरमा बुहारी कम र कामदार बढी बनेर भित्रिएको हुँ । दूरको विषय रह्यो खुशी । हरदिन आँशु पिएर बाँचेँ, आँशु पिएरै सुतेँ । ५ वर्षसम्म त जन्मेको घरमा फर्किनै पाइनँँ ! विवाहपछि श्रीमान्सँग दोहोरो कुराकानी हुँदैनथ्यो । घरपरिवारले श्रीमान्लाई नचाहिने कुरा गरेर कान भरिनु र श्रीमान्बाट दैन्दिन चुटिनु, पिटिनु दैनिकी बन्न थाल्यो । श्रीमान्बाट माया भन्ने चिजको आभास पाइनँँ । बिसाउँथेँ आमामाथि दुःखको पहाड । तर, आमा नै भन्नुहुन्थो, ‘नानी, नारी भनेको धर्ती हो, जस्तो भए पनि सहनैपर्छ ।’ बिहे भएको घर छाड्नहुन्न भन्ने दबाब कायम थियो उहाँको । श्रीमान्को घरमा अघोषित दास बनेर धेरै समय बिताए । जागिरे श्रीमान् बाहिर नै बस्नुहुन्थ्यो । उहाँले पनि माया गर्नु छाड्नुभयो । छोरा जन्मेको थियो । त्यो बेला पनि सासू÷ससुराले नराम्रो व्यवहार गर्नुभयो । पछि श्रीमान् सरकारी जागिर छाडेर विदेश भासिनुभयो । सबै सहेरै बसेको थिएँ । भन्छन् नि अन्याय गर्नेभन्दा अन्याय सहनेचाहिँ दोषी हो । विदेशमा हुँदा पनि त्यो टर्चर कायम रह्यो । कसैसँग बोलेको देखेमा शंका गर्ने बानी थियो । त्यो पनि सहेर बसेँ । पछि माइतमा काकाको मृत्यु भयो । त्यसमा म आएँँ । माइतको काम सकेर फेरि घर फर्कें । बिरामी परें । आफैंले पालेको पशु बिरामी हुँदा त मान्छेलाई पोल्छ । उपचार गराउन लैजान्छ तर म त बुहारी, केही सोधखोज गरिएन । पैसा थिएन यद्यपि जेनतेन उपचार गरँे । विवाह गरेको १० वर्षपछि जीवनमा अर्काे मोड आयो, सासूले घरभित्र पस्न दिनु भएन । म घरबाहिरै सानो बच्चासँग बसेँँ । धेरै दिन त्यसैगरी बिताएँँ । त्यसपछि छोरा बोकेर माइतै फर्किएँ । 

यो पीडाको कहानी सुनाएँ आफ्नै सहपाठी रमा लामिछानेलाई । उनैले भरिदिइन् आत्मविश्वास । मान्छेलाई एक छाक खान दिनेभन्दा महान् हुँदारहेछन् आत्मविश्वासले भरिदिनेहरू । उनकै संगतले मैले आफ्नो आत्मविश्वास बलियो पारें र खोज्न थाले न्याय । उनकै साथ लागेर सदरमुकाम ओर्लिएँँ । ओरेक संस्थामा कार्यरत उनैमार्फत एक एनजिओमा कार्यरत दिदीसँग भेट भयो । आफ्नो दुःख र पीडाको पहाड बेसाएँ । उहाँहरूकै पहलमा अदालतमा मुद्दा दर्ज भयो । ०७० सालमा । अंशसहित छोडपत्रको मुद्दा चल्दै थियो । 

दिदीहरूकै सल्लाह–सुझाव र सहयोगमा सीप विकास केन्द्रबाट सिलाइ–कटाइ र बुनाइको तालिम लिन थालें । ६ महिनामै मुद्दाको किनारा लगायो । अदालतले ५ कठ्ठा १८ धुर जग्गा मलाई दिने र छोडपत्र गर्ने फैसला सुनायो । फैसला हुने दिन म र ससुरा मात्र अदालतमा थियौं । मन बेचैन थियो । उपस्थित भएको केही समयमा अदालतका न्यायाधीशले मुद्दाको फैसला सुनाउनुभयो । अदालतले न्याय दियो । अहिले मसँग सीप छ । काम पनि प्रशस्त छ । यहाँबाट सिलाइ–कटाइ र बुनाइका सामग्री उत्पादन गर्दै आएका छौं । सीप सिकेका कारण टेक्ने हाँगो पाएको छ । जीवनमा गलत कर्म गर्नु हँुदैन । अन्याय पनि सहेर बस्नु हँुदैन । न्यायका लागि आफैंले पनि पहल थाल्नुपर्छ । तात्नुपर्ने ताप्के नै हो, बिँड तातेर काम हुँदैन । जीवनमा यस्ता दिन पनि थिए धेरै निराशामा गुज्रिए । सायद मेरो भाग्यमा मर्न लेखेको थिएन । बाँचेरै केही गरेर देखाउने इच्छा र आकांक्षा थियो त्यो परिवारलाई जसकारण मेरो यो हविगत बनाइएको थियो । 

आचार्य रजनीशले कतै भनेका थिए ‘विवाह त्यो पोखरी हो, जहाँ अविवाहितहरू पौडिन चाहन्छन् र पौडिएकाहरू त्यहाँबाट निस्किएर उम्कन चाहन्छन् । मेरैलागि उनले भनिदिएझैं लाग्छ यी पंक्ति । तर, आज मेरो बाटो नै फेरियो । आशावादी बनेको छु । शुरुमा सदरमुकाम आउँदा के गरेर ज्यान पाल्ने ? भन्ने चिन्ताले खान थालेको थियो । अहिले अनुभवले सिकाएको छ कि ‘सीप भएपछि ज्यान पाल्न सकिन्छ । झमझम पानी परेपछि कालो बादल फाटेर उघ्रिएको आकाशजस्तै आँखाअगाडि गन्तव्य छ्याङ्ग भएर आएको छ । सीपको विकास भएसँगै आज अरूलाई सीप सिकाउन थालेको छु, अनि बुन्न थालेको छु ऊनका सामग्री । र, देख्न थालेकी छु उज्ज्वल भविष्यको रंगीन सपना । यहीँबाट शुरु भयो जिन्दगीको नयाँ अध्याय । त्यसयता यही ठाउँ र यही नै जीवन निर्वाहको आधार बन्दै आएको छ ।

सुनेको छु श्रीमान् अहिले कान्छी श्रीमती लिएर बसेका छन् । भावीले भाग्यमा के कोरिदिएको छ, त्यो म जान्न चाहन्नँ । आफ्नो र सन्तानको खुशीका खातिर परी आएका जस्तोसुकै दुःख–कष्ट र चुनौती व्यहोर्न तयार छु । निराश जीवनलाई कमजोर बनाउनुको साटो न्याय खोज्नतर्फ अग्रसर हुनुपर्छ हामी नारीले । कुनै बेला निराश र आफूलाई कमजोर ठान्थँे । आजकल आफैंप्रति गर्व गर्छु । र, आत्मविश्वाससाथ अरूमाझ प्रस्तुत हुन्छु । अहिले आफैं गरिखाने भएको छु । अरू दिदीबहिनी कति पीडित बनेर हिँडिरहेको देखेको छु । टाटा बसिसकेको यो घाउ कोट्याउने कुनै रहर होइन । श्रीमान्ले छाडेका, घरपरिवारबाट हेपाइमा परेका दिदीबहिनीलाई पहिला सीप सिक्नुहोस् । तपाईंको हातमा सीप छ भने जहाँ गएर पनि ज्यान पाल्न सकिन्छ, आत्मसम्मानसाथ बाँँच्न सकिन्छ । र, यो समाजमा केही गरेर देखाउन सकिन्छ । सीप सिकेर आफ्नै खुट्टामा उभिएको खण्डमा सक्दैन कसैले हेप्न । न त कसैले सक्छ चेप्न । 

 – विना बस्नेत, विदुर नुवाकोट


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

तेजाबी

प्रति तोला

NRs.72,300/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top