पैसाले जुनसुकै पावरलाई भरिया बनाउँछ


Saturday, 17 Aug, 2019 10:58 AM

  • हिरण्यलाल श्रेष्ठ, पूर्वराजदूत/राजनीतिक विश्लेषक

नेपालको वाम आन्दोलनमा बौद्धिक क्षेत्रबाट निरन्तर योगदान दिँदै आएका हिरण्यलाल श्रेष्ठले केही समय रुसका लागि राजदूतको रुपमा काम गरे । उनीसँग विदेश मामिलाका थुप्रै ज्ञान र अनुभव छन् । पत्रकारिता पृष्ठभूमि हुँदै तत्कालिन नेकपा (माले), एमालेमा जोडिएका उनी शाहीकालमा राजदूत भएयता पार्टी गतिविधिमा सक्रिय छैनन् । तर, ८४ वर्षको उमेर पार गरिसक्दा पनि वामपन्थी चेतका साथ लेख्ने, बोल्ने काममा सक्रिय छन् । 

० कश्मिरमाथि भारतीय भूमिकाबारे के भन्नुहुन्छ ?

– हिजोसम्म कश्मिरलाई विशेष अधिकार दिइयो । बाहिरका मान्छे बस्न नपाउने, त्यहाँको कानुन आफैं बनाउने, आफ्नो अधिनस्थ ठूलो भाग भारततिर र सानो टुक्रा पाकिस्तानतर्फ छ । त्यो स्ट्याटस खत्तम पारेर मोदी सरकारले बाहिरका मान्छे बस्न पाउने, सम्पत्ति किनबेच गर्न पाउने बनाइदिए । यो भनेको फौजी बलमा चल्दै आएको ठाउँमा बिजेपीका मान्छेहरु लगेर बसाउने, मुसलमानको बाहुल्यता रहेको ठाउँमा बाहिरका मान्छे मिसाउने हो । पुरानो चिफ मिनिष्टरलाई समेत थुनेर राखिएको छ । मुसलमानहरु, अर्थात कश्मिरी जनता कि स्वतन्त्र कश्मिर चाहन्छन् कि पाकिस्तानसँग मिल्न चाहन्छन् । संयुक्त राष्ट्रसंघले जनमत संग्रह गराउन खोज्दा, भारतले मानेन । किनभने जनमत संग्रहले कश्मिरलाई भारतबाट अलग गराउन सक्थ्यो । 

० यो घटनाले विश्व राजनीतिमा पार्ने प्रभाव के हो ?

– प्रतिकूल असर पार्छ, तनाव बढाउँछ । पहिला लद्दाख कश्मिरसँग जोडिएको थियो । त्यसलाई अलग बनाएर केन्द्र शासित प्रदेश बनाइयो । एउटा चीनतिरको लद्दाख, अर्काे इण्डियातिरको लद्दाख । चीनले वक्तव्य निकालेर विरोध गरिसकेको छ । एकसाथ मोदी सरकारले दुईवटा फ्रन्ट खोल्यो– एउटा चीनविरुद्ध, अर्काे पाकिस्तानविरुद्ध । पाकिस्तानी राष्ट्रपति इमरान खानले त भने, ‘अर्काे हिटलरको रुपमा मोदीको उदय भयो ।’ पाकिस्तानले मुस्लिम राष्ट्रहरुको संगठन र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा तीव्र लबिङ गर्दैछ । र, यो विषय क्रमशः अन्तर्राष्ट्रियकरण हुँदैछ ।  

० यो घटनामा नेपालको मौनतालाई कसरी हेर्ने ? 

– पाकिस्तान र भारतका प्रधानमन्त्रीलाई लुम्बिनीमा बोलाएर वार्ता गरेहुन्छ । पहिला त नेपालले सार्क सम्मेलनको अवसरमा काठमाडौंमै भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई हात मिलाउन लगाएको थियो । अहिले त्यस्तो अवसरै छैन । सार्क नभएकै कारण यो घटना बढेको हो । त्यहाँको फ्रन्टमा गएर मर्ने त हाम्रा गोर्खाली नै हुन् । यो घटनाका कारण भारतीय सैनिक सेवामा रहेका हाम्रा नागगरिकको क्षति हुने भयो । नेपालले यसरी टुलुटुलु हेरेर बस्ने होइन ।  

० जम्मु–कश्मिर, लद्दाखजस्ता भूमिको कारण चीन र पाकिस्तान पनि प्रभावित हुन्छन् । के यो भारत एक्लिने संकेत हो ?

– कश्मिर स्वतन्त्र भएर बस्दा लडाई हुँदैनथ्यो । विश्वको शक्तिशाली नेता हुन पाकिस्तानलाई सके समाप्त पार्ने, नभए कश्मिरलाई आफूमा गाभ्ने उसको रणनीति हो । यो कदम उसका निम्ति प्रत्युत्पादक हुनसक्छ ।

० कश्मिर जस्तै नेपालप्रति पनि भारतले कठोर कदम चाल्नसक्ला ?

– भूटानलाई उसले (बेल्ट एण्ड रोड) बिआरआइमा नजाऊ भनेको थियो । नेपाल गयो । उसलाई चीनसँग संयुक्त सैन्य अभ्यास नगर भनिएको थियो । नेपालले ग¥यो । उसले नाकाबन्दी लगाएको बेला नेपालका प्रधानमन्त्री चीन गएर पारवाहन र ढृुवानी सम्झौता गरे । नेपालले चीनको सिपोर्ट र ड्राई पोर्ट प्रयोग गर्न पाउने सम्झौता पनि भयो । तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो पाइसकेको हुँदा भारतले नेपालमाथि हस्तक्षेप गर्ने पुरानो जमाना अब छैन । 

० भारतीय नाकाबन्दीपछि भारतसँग बिग्रिएको सम्बन्ध अब साँच्चै सुध्रिएको हो ? 

– हिजोसम्म भारतका लागि नेपाल आफ्नो पोल्टाको देश थियो । यहाँ ऊबाहेक अरु कोही नआओस् भन्थ्यो । तर चीन र अमेरिकाबीच यस्तो प्रतिष्पर्धा बढ्यो कि भारत एक्लैले प्रतिरोध गर्न नसक्ने भयो । अहिले पनि भारत सेक्युरिटीको मामिलामा अमेरिकासँग नजिक, व्यापारको हकमा चीनसँग नजिक छ । चीनको लगानीले नै गुजरातको अनुहार फेरिएको हो । स्मार्ट सिटीका लागि अहिले पनि फ्लो भइरहेको छ । हालसालै एआइआइबी बैंकिङ संस्थाबाट सबैभन्दा बढी ऋृण लिने मुलुक हो भारत । पैसा चाहिएको भारतले चीनसँग सम्बन्ध छोड्न सक्दैन । त्यसैले भारतको डबल रोल छ, ऊ चीन र अमेरिका दुबैसँग नजिक छ ।   

० कश्मिर मामिलाबाट नेपाल प्रभावित हुने विषय र क्षेत्र के के हुन् ?

– पहिलो र सबभन्दा गम्भीर कुरा भनेको हाम्रा गोर्खाली यो लडाइँमा फेरि मर्ने डर हो । दाजुभाइ गुमाउनु पर्ने खतरा भन्दा ठूलो कुरा अर्को के हुन्छ ? दोस्रो, सार्क अब झनै कमजोर हुन्छ । भारतमा तनाव हुनासाथ ढुवानी प्रभावित हुन्छ र महंगी बढ्छ । यसले गर्दा मध्यपूर्वी राष्ट्रसँगको बाटो पनि डिस्टर्व हुने भयो । बहुआयामिक रुपले नेपाललाई असर पार्छ । हाम्रो नेतृत्व समयमै सचेत भएन, सक्रिय भएन भने नसोचेका घटना र परिणाम देख्नुपर्ने हुनसक्छ ।

० पछिल्लो समय विभिन्न राष्ट्रसँग नेपालको कूटनैतिक सम्बन्ध दिगो बनाउने भन्दा निकटस्थहरुलाई राजदूत बनाउने काम धेरै भएका छन् । यसमा के भन्नुहुन्छ ? 

– पैसा र चन्दा दिने अनि म्यानपावर व्यवसायीलाई राजदूत बनाइएको छ । बंगलादेशमा एम्बेस्डरलाई राष्ट्रदूत भन्दा रहेछन् । हुनुपर्ने त राष्ट्रदूत हो । तर, हामीकहाँ त नेताको चम्चा, पार्टीको हनुमान, पैसा दिनेलाई पठाउने गर्दा तिनबाट राष्ट्रहितको पक्षमा काम हुन छाडे । परराष्ट्र नीति कार्यान्वयन गर्न चाहिने महŒवपूर्ण स्थानमा आफ्नो पोल्टाका मान्छे नियुक्त गरिँदा आफैँले बनाएको मापदण्ड लामो समय टिक्न सकेन । कि, मापदण्डै नबनाउनु, बनाएपछि कार्यान्वयन गर्नु । यस्तो गतिविधि भएपछि विदेशीले कसरी पत्याउने ? आफ्नो निर्णयमा आफैँ अडिन नसक्ने रहेछन् भनेर उनीहरुले बुझ्दैनन् र ? 

० नेपालप्रति रुसी भूमिका कस्तो पाउनुहुन्छ ? 

– उनीहरुको सहानुभूति छ । तर, सम्बन्धलाई थप उर्जा दिने सन्दर्भमा रुस र नेपाल, दुबैतिरबाट तुलनात्मक रुपमा निस्क्रियता छ । 

० उसले नेपाललाई गर्दै आएका सहयोगहरु बन्द हुनुको कारण के हो

– एक त खुला अर्थतन्त्रमा गएपछि नीति फेरियो । ‘एड’ (सहयोग) होइन, ‘ट्रेड’ (व्यापार वा साझेदारी) को जमाना आयो । नेपालको ट्रेड त बढ्न सकेको छैन । एनआरएनवालाहरुले ट्रेड बढाउने तर्फ लाग्नुपर्ने हो । उनीहरु ठुल्ठूला बिजनेश गर्छन्, तर यसबाट भाडाको कोख बढाउने काम भइरहेको छ । टे«ड बढाउनेतर्फ योगदान कम छ । 

० नेपालको परराष्ट्र नीति कस्तो पाउनुहुन्छ ? 

– मुखले भन्ने ‘असंलग्नता’ राम्रो छ । तर, व्यवहारमा अत्यन्तै कमजोर । नेपाल पावरहरुको फुटबल ग्राउण्ड भएको छ । अमेरिका, जापान पनि भित्रभित्रै एक्टिभ भइरहेका छन् । युरोपियन युनियन त धर्म परिवर्तन गराउने खेलमा सक्रिय नै छ । देख्नुभएन, पहिलो संविधानसभाकालमा जातीय, लिंगीय मुद्दा, पहिचानसम्बन्धी कस्ता बवण्डर झिक्यो ? गरिब हिन्दू आज भटाभट क्रिश्चियन हुँदैछन् । हिन्दू अधिराज्य बनोस् भनेर इण्डिया खेल्दैछ । धार्मिक संगठन र राजनीतिक दलका नेतालाई खेलाइरहेको छ । धर्मजस्तो सबै नेपाली मिलेर बसेको ठाउँमा विदेशी लगानी आएको छ । कस्तो दुर्भाग्य भने, ठूलो गुम्बा देखेपछि चाइनिज तर्सिन्छ, ठूलो मस्जिद देख्दा भारत तर्सिन्छ, ठूलो चर्च देख्दा हिन्दूहरु तर्सिन्छन् † हिन्दू गतिबिधि बढ्न थालेपछि अरु धर्मवाला खतरा हुने भो भन्ठान्छन् । अनुगमन पनि छैन । ठूलो मस्जिद या चर्च मुनि हतियार पो छ कि ? धर्ममा विदेशी लगानीलाई प्रतिबन्ध लगाउनुपर्ने हो, त्यसो गर्न सकिएको छैन । त्यसले नेपालमा आपसी सद्भाव र सहिष्णुता खल्बलाउने स्थिति आइरहेको छ । परराष्ट्र नीति कमजोर भएकै कारण विदेशीहरुको चलखेल तीव्र छ । होली वाइन डिम्लोमेसीले थला पार्ने अवस्था छ । भन्ने कुरा राम्रा छन्, तर गरिने कामहरु राम्रा र सन्तोषजनक छैनन् । 

० नेपाल कूटनीतिक मामलामा चुकेका अरु केही दृष्टान्त छन् ? 

– दक्षिणी छिमेकीले माइक्रो म्यानेज्मेन्ट गरिरहेको छ । यहाँका नेताका छोराछोरीलाई स्कलरसिपमा पढाउने किन ? सन्तानलाई शिक्षित बनाउन कि नेतालाई आज्ञाकारी बनाउन † यहाँका ठुल्ठूला अफिसरहरु डबल पे (दोहोरो तलब) खान्छन् । चीनसँग सम्बन्धित फाइलै हराइदिने वा ढिलो गर्ने, कार्यान्वयन नगर्ने परिपाटी पनि छ । यसैले सेक्सन अफिसरभन्दा माथि प्रमोसन गर्दा त्यो दलाल छ वा राष्ट्रवादी, पहिला जाँच हुनुपर्छ । पैसाले बिक्ने भएपछि जुनसुकै पावरले भरिया बनाउँछ । सि जिनपिङले पोलिटव्युरो सदस्यहरुलाई सम्म जेल हाले, झुण्ड्याइदिए । यहाँ पनि मान्छेलाई झुण्ड्याऊ त नभनौँ, तर कठोरता अवश्य चाहिन्छ ।

० यो सरकारबाट कूटनीति चाहिँ मामिलामा राम्रा कामको के अपेक्षा राख्न सकिन्छ ? 

– विदेशीले खेलाउन पाएका नेताबीच बाहिरबाट एकीकरण भयो, भित्रबाट हुन सकेको छैन । बाहिरको मुख ताक्नेभन्दा देशभित्रै जनतालाई एकीकृत बनाउने, विभाजन हुन नदिने काम गर्नुपर्ने हो । ‘जहाँ कंगाल त्यहाँ चण्डाल’ भन्ने वास्तविकता बिर्सनुहुँदैन । अहिलेसम्म भन्सारबाट आम्दानी हुँदै आएकोमा अब अन्तःशुल्कबीच सबैभन्दा बढी आम्दानी गर्ने दिशातर्फ जानुपर्छ । चीन र भारतबाट कनेक्टिभिटीमा प्रतिस्पर्धा छ । १० बर्षमा दुबैतीरबाट रेलले जोड्ने सम्भावना छ । त्यो रेललाई लुम्बिनीसँग जोड्न सके अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिन्छन् । नेपालको पानी उद्योगमात्र चलाएर निर्यात गर्न सकिए यता बाट पानी पठाउने, उताबाट पेट्रोल ल्याउने † यस्तो गरेदेखि मालामाल हुने स्थिति छ । तर, हामी माल पाएर चाल पाइरहेका छैनौँ ।

०  त्यति धेरै आशावादी हुने स्थिति छ र ? 

– सानो मुलुक छ । फूलबारीजसरी सिंगार्न सकिन्छ । भारत र चीनले विकास गर्ने, हामीचाहिँ व्याकवार्ड भएर बस्ने ? हाम्रा गोर्खाली गएर मरुभूमिलाई हराभरा बनाउन सक्छन् भने नेपाल बनाउन सक्दैनन् ? विदेशमा हण्डर खाएर फर्किएकाहरु अष्ट्रिच, गाइपालन, कुखुरापालन र तरकारी खेती गरेर मासिक लाखौं कमाइरहेका छन् । कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्नुस्, त्यो सम्भावना यहाँ पनि छ । चीन र भारतका जनता भनेका हात–मुख मात्र होइन, पेट पनि भएका छन् । हामीले कृषि उत्पादन शुरु गरेर त्यहाँ निर्यात गर्न सकिन्छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Top