थपना मात्र हुने श्रीमानको के अर्थ ?


Friday, 26 Jul, 2019 12:26 PM

  • मौसमी मल्ल, नायिका

आजकल फिल्मी पर्दामा त्यति नदेखिए पनि मौसमी मल्ल विभिन्न कारणले चर्चामा आइरहन्छिन् । केही समय विदेश बसेर फर्किएकी उनी आफ्नो समयमा निकै चलेकी नायिका थिइन् । ०४५ सालमा बनेको ‘भाग्यरेखा’ देखि ०५५ सालसम्मका ७० वटा नेपाली फिल्ममा मुख्य अभिनेत्रीको रूपमा आफूलाई उपस्थित गराइन् । तर, करिश्मा, शर्मिला, गौरी मल्लहरूकै समयकी नायिका भएर पनि फिल्म लाइनमा उनीहरूले जसरी समय र उपस्थिति जनाइनन् । अहिले निर्माता छविराज ओझा र कान्छी पत्नी शिल्पा पोखरेलको विवादले बजार गर्माएको छ । त्यसो त फिल्म लाइनमा यस्ता प्रसंग आइरहनुलाई खासै नौलो कुरा मानिँदैन । 

० नाता सम्बन्धका कुराले किन पटक–पटक नेपालको फिल्मलाइन चर्चामा आइरहन्छ ?

– अदालतमा कैयौं सम्बन्धविच्छेदका मुद्दा परेका हुन्छन् । फैसला हुन्छन् । नदेखिएका र चर्चामा नआएका धेरै छन् । हाम्रो सबै कुरा खुला हुन्छ । सेलिब्रिटीको र पर्दामा देखिएकाहरूको भएकाले उनीहरूको यस्तो सम्बन्धको बढी चर्चा भएको मात्र हो । अधिकांश श्रीमान्÷श्रीमतीको मन नमिलेपछि घरबार टुट्छ ।

० छवि र शिल्पाको सम्बन्धविच्छेद भयो । यसलाई के भन्नुहुन्छ ? 

– छवि दाइको यो नै पहिलो घटना होइन । गीताञ्जली प्रकरणदेखि रेखासम्म । मन मिलेन, कुरा मिलेन होला भन्ने अड्कल काट्ने मात्र हो हामीले । तर, निजी कुरा उहाँहरूबाहेक अरूलाई थाहा हुँदैन ।  

० फिल्म नचल्ने, हल्ला बढी चल्ने किन हुन्छ ?

– देश सानो, दर्शक सीमित । सानो गाउँमा एउटा घटना भयो भने सबतिर थाहा हुन्छ, त्यस्तै हो । विदेशमा पनि यस्तै हो । मिडियाकै कारण बढी चर्चा भएको हो कि ? 

० नेपाली फिल्मको स्तर सुध्रन नसक्नुको कारक के हो ?

– सुध्रेन पनि कसरी भन्ने ? अहिले धेरै प्रविधिको विकास भइरहेको छ । हाम्रा पालामा सिनेमा बन्थ्यो । सय दिन मनाउँथ्यो । मनोरञ्जनको साधन अरू थिएन । अहिले हातहातमा मोबाइल छ । घरघरमा टेलिभिजन छ । बच्चा कोठाभित्रै रमाइरहेका हुन्छन् । हाम्रा पालामा सिनेमा हलमै गएर रमाउन, ग्राउण्डमा गएर फुटबल, भलिबल खेल्नुपथ्र्याे । अहिले कौशीमा गेम खेल्ने, मोबाइलमै रमाउने अवसर छ । बाहिरको वातावरणमा उनीहरू भिजेकै छैनन् । यद्यपि, रिलबाट शुरु भएको युग अहिले थ्रिडी र फोरडीमा पुगिसकेको छ । एउटै सिनेमाले करोडौं कमाएको खबर पढ्न पाइन्छ । 

० त्यो हल्ला हो कि वास्तविकता ? 

– मैले पनि सिनेमा बनाएको हुँ । लाग्छ, नेपाली सिनेमाले यति धेरै कमाउन थाल्यो र ? गिरफ्तार निर्माण गर्दा सुपरहिट भयो भन्ने चर्चा भयो । औंला भाँचेर गन्दा कति भिœयाएँ मलाई मात्र थाहा छ । 

० कति कमाउनुभएको थियो ? 

– पैसा हलवालादेखि कता–कता बाँडिँदा निर्माताको हातमा त नाम मात्रै पर्दाेरहेछ । उहाँहरूले बाँडेको पैसालाई पनि एकमुष्ट गन्नुभएको होला । जहिले पनि निर्माता मारमै परेको मैले महसुस गरेको छु । यी भए पहिलेका कुरा, अहिलेका निर्माताहरूले चाहिँ धेरै फाइदा गर्नुभएको होला । 

० पछिल्लो समय हाँस्य कलाकारहरूले बनाएका चलचित्र हिट हुन थाले । किन ? 

– कमेडियनले बनाएको चलचित्र चल्ने अरू सिनेमा नचल्ने भन्ने होइन । तर, उहाँहरू धेरै चर्चामा आउनुभएको छ । ठूलो पर्दाका कलाकार वर्षमा एक÷दुईवटा चलचित्रमा देखिन्छन् । उनीहरूलाई हलमा धाउनेले मात्र चिनेका हुन्छन् । तर, सानो पर्दाका कलाकार हरेक दिन टेलिभिजनमा देखिन्छन् । हाँस्य सिनेमा बढी चल्नु पनि एउटा सिजनजस्तै हो । कहिले कमेडी हिट हुन्छ, कहिले एक्सन, कहिले रोमान्टिक र लभ स्टोरी सिनेमा । पहिला–पहिला रोनाधोना भएको, सामाजिक परिवेशमा बनेका चलचित्र चल्थे । समय आउँदो रहेछ । समयलाई पक्रनुपर्दाे रहेछ । 

० पछिल्लो समय मुर्गा हण्टिङको सिकार हुने प्रवृत्ति बढेको हो ? 

– जानी–जानी हाम्फाल्ने आफैं मूर्ख हो । मैले जीवनको आधाभन्दा धेरै समय सिने क्षेत्रमै बिताएँ । यो क्षेत्रलाई बेस्सरी बुझेर पनि धेरै थोरै सिनेमा बनाएको छु । बुझ्दाबुझ्दै पनि बेस्सरी भासिएको छु । यसबारे नयाँ–नयाँ निर्माताहरूले बेलैमा सोच्न जरुरी छ । यस क्षेत्रलाई चिन्नु जरुरी छ । कसैले रहरले, कोही पैसा कमाउन त कोही रमाइलो गर्न यो क्षेत्रमा आउँछन् । बुझेर लगानी गर्नेले कहिले पनि मुर्गा बन्नु पर्दैन । लहैलहैमा आउने डुब्छन् । अरूले बनाउनुभन्दा आफैं मुर्गा भएर आइरहेका हुन्छन् । तिनैले भोलि सिनेमा नचल्दा मलाई फलानोले डुबाइदियो भनिरहेका हुन्छन् । सिनेमा नचलेका कारण कतिपयले सुसाइडसमेत गरेका छन् । कति कचौरा थाप्ने अवस्थामा पुगेका छन् । यत्रो वर्षसम्म हामीले घरखेत बेचेर कमाएको सम्पत्ति हालेर यो उद्योगलाई धान्नु ठूलो कुरा हो । 

० वर्षमा सयभन्दा बढी चलचित्र बन्छन् । मुस्किलसाथ दर्जनले नाफा कमाउँछन् । त्यही पनि चलचित्र बनिरहेका छन् । यो क्षेत्रमा कहाँबाट ओइरिन्छ पैसा ? यहाँ कालोधन सेतो बनाउन लगानी गर्नेहरू त छैनन् ? 

– छिमेकी देशमा जस्तो कालो धनलाई सेतो बनाउन सिने क्षेत्रमा लगानी गरिएजस्तो लाग्दैन । दुःख–सुख गरेर, कोही घरखेत बेचेर सिनेमा बनाइरहेका छन् । कसैको पैसा बीचमै सिनेमा अड्किएर रुवाबासी भएको छ । विदेशबाट साथीभाइले सहयोग गर्नु बेग्लै कुरा, त्यस्ता निर्माता पनि हुनुहुन्छ । भारतमा हेरौं । मार्केट ठूलो छ । वर्षमा कति सिनेमा बन्छ ? सिनेमाको ग्रेड नै छुट्ट्याइएको छ । त्यहाँ वर्षमा हजारौं सिनेमा बन्दा मुस्किलले १०–१२ वटा हिट हुन्छ । अरूसँग तुलना गर्ने हो भने सयवटा चलचित्र बन्दा १२ वटा हिट हुनु पनि ठूलो कुरा हो । बंगलादेश, पाकिस्तानमा सिनेमा उद्योग कहाँ छ ? हामी मात्र उफ्रिएर हुँदैन । सरकारले यसलाई व्यवस्थित बनाउन जरुरी छ । बैंकले नाङ्लो पसललाई ऋण पत्याउँछ । हामीलाई पत्याउँदैन । जबसम्म निर्माताले फिल्म निर्माण गर्दैन, कलाकारले कहाँ गएर काम गर्ने ? घुमिफुरी सबै कुरा निर्माणमै आएर अड्किन्छ । हाम्रो कत्रो बजार छ, कति लगानी गर्दा कति उठ्छ भन्ने दर्शकले पनि बुझ्नुभएको छैन । 

० समाजमा डिभोर्सी महिलाले एक्लै सुरक्षित भएर बस्ने वा काम गर्ने वातावरण छ ?

– सिंगो मलाई हेर्नुहोस् । ०४८ सालमा डिभोर्स भएको । एक्लै काम गरेर बसेकी छु । बाँचिरहेको छु । नवलपरासीको हात्तीखोरमा रिसोर्ट चलाइरहेकी छु । आफू मात्र नबाँचेर ममी र बच्चाहरूलाई हेरिरहेको छु । थपना मात्र हुने श्रीमानको के अर्थ ? दुईवटै चक्का बराबर भए पो दौडन्छ जीवन । एउटा चक्का ड्यामेज भएर अर्कोले दौडाउन सक्षम हुँदैन । जीवन दौडाउन आफैं सक्षम हुनुपर्छ । समाजले त हेप्छ तर त्यसका लागि जुध्नुपर्छ । हिजोसम्म श्रीमान्सँग हिँडिरहेको महिला र श्रीमान्ले छाडेको आइमाईलाई हेर्ने दृष्टिकोणमा आकाश–जमिनको फरक छ । सुपरहिट थिएँ जतिबेला मेरो सम्बन्धविच्छेद भयो । सिनेमामा होल नाइट, होल डे काम गर्थें । श्रीमान्सँगै गएर काम गर्थें । श्रीमान् घरमै बसेर बेलुका तीन बजे फर्किए पनि समाजले केही भन्दैनथ्यो । जब श्रीमान्सँग सम्बन्धविच्छेद भयो । हेर लोग्ने छाडेकी आइमाई बरालिएर आइछे । केटा मान्छे लिएर आइछे भनेर कुरा काटिन्थ्यो । तर, त्यसतर्फ त्यति ध्यान दिइनँ । मलाई अगाडि बढ्नुथ्यो । श्रीमान् छाडेँ भनेर पछुतो मान्ने दिनचाहिँ आएन । 
० तपाईंमाथि भएको घरेलु हिंसा र शिल्पा पोखरेलमाथिको हिंसा कत्तिको फरक हो ? 

– महिलामाथि हुने कतिपय हिंसा मिल्दोजुल्दो नै हुन्छ । सत्य कुरा के हो त्यो उहाँहरूलाई मात्र थाहा छ । मेरो सत्य कुरा मलाई मात्र थाहा छ । तर, फिल्म लाइनमा तिललाई पहाड बनाइन्छ । 

० कलाकार महिलामाथि हुने यौनजन्य व्यवहार र हिंसाको अवस्था कस्तो छ ?

– पहिला पनि त्यस्तो हिंसा थिएन । नायिका सीमित थिए । आदर हुन्थ्यो । फिल्ममा खेल्न जो पायो त्यही आउँदैनथे । मलाई अझै याद छ । स्कुल पढ्दै थिएँ । नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठहरूले हिरोइन खोज्न नेपाल टुर गर्नुभएको थियो । चितवनमा चिटिक्क परेकी केटी छ भन्ने सुनेछन् नारायणी कला मन्दिरका दाजुहरूले । त्यसपछि मलाई हेर्न आउनुभयो । स्मार्ट रहिछे, खेलाडी पनि । ठीक छ, सिनेमा खेल्छ्यौ कि भनेर सोध्नुभयो । पछि काठमाडौं बोलाउनुभयो । खुट्टाको चाल, भ्वाइस सबै सुक्ष्म रूप नियालेर हेर्नुहुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । कलाकार अहिले माझेर आउनुभएको छ । 

० कतिपय लगानीकर्ता महिला कलाकारसित रमाइलो गर्ने नियतले प्रवेश गरेका छन् भन्ने कुरा कति सत्य हो ?

– जहाँ पनि राम्रो र नराम्रो पक्ष हुन्छ । दुई खालका निर्माता छन् । मुर्गा आफैं बन्ने हो । कोही यही क्षेत्रमा नाम, दाम कमाऊँ भनेर आउँछन् । कोही होइन यो क्षेत्रमा लागेर ठिटी घुमाउन पाइन्छ । मस्ती मार्न पाइन्छ भन्दै आउनुहुन्छ भने उहाँहरू आफैं मूर्ख हो । पर्दामा नाचेको, हिरोइन हाँसेको मात्र देखेर आउने खुस्कट हुन् । सबै महिला कलाकार त्यस्तै हुन्छन् र ? मलाई फलानोले यति डुबाइदियो । मेरो घरखेत डुबाइदियो भन्ने निर्माता पनि छन् । 

० आजकल तपाईंलाई पर्दामा त्यति देखिँदैन । किन ?

– त्यस्तो पर गएको होइन । गत वर्ष कारखाना रिलिज भयो । नवलपरासीमा छु । १२ वर्षदेखि आमाको स्वास्थ्य खराब छ । काठमाडौं हुँदा पनि सँगसँगै लिएर कार्यक्रममा हिँड्थेँ । मुमाले नै काठमाडौं नबस्ने निर्णय गर्नुभयो । म बुबाआमाकी एक्ली छोरी । छोरा छैनन् । त्यही कारण उहाँको रेखदेख आफैंले गर्नुपर्छ । हात्तीखोर डाँडामा रिसोर्ट खोलेको छु । यो क्षेत्रबाट म टाढा जानै सक्दिनँ । १२ वर्षको ब्रेकपछि सिनेमा बनाएको हो । निर्माताहरूले फोन गर्नुहुन्छ । आनन्द आफूले बिताएको क्षेत्रबाटै हुन्छ । मौसमी मल्लको परिचय दिएको त्यही क्षेत्रले हो । बाबुआमापछिको सबैभन्दा प्यारो क्षेत्र पनि यही हो । अहिले अर्कै ट्र्याकमा हिँडिरहेको छु । केही बाध्यता छ । फिल्मी क्षेत्र मेरालागि स्वर्ग हो । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Top