जसले ठाउँको ठाउँ ‘बाघ’ लाई हराए


Friday, 19 Jul, 2019 10:19 AM

  • राजकुमार दिक्पाल

एकदिन टोलका दाइको जिब्रोबाट फुत्केका वाक्य थिए, ‘त्यस्तो स्कुलमा पनि के पढ्नु अब ! जुनचाहिँ राम्रो मास्टर छ, उसैलाई निकालिदिन्छ !’
त्यो बेला गणेश प्राथमिक विद्यालयमा कक्षा २ मा पढ्दै थिएँ । सन्तोष दाइ तत्कालीन भाषा निमावि (हालः भाषा क्याम्पस) मा निमावि तहको विद्यार्थी हुनुहुन्थ्यो । दाइको असन्तुष्टिको कारण रहेछ, ०३७ साल फागुन ५ गतेको । तत्कालीन भाषा निमावि, धनकुटा–२ पात्लेका प्रधानाध्यापक गोपाल गुरागाइँँको बर्खास्ती । प्रावि तहमा पढिरहेका स्याउलेका पूरै गुरागाईं खलक, अलि परको टोलका घिमिरेहरू, आठपहरिया राईहरू मात्रै होइन, वारि पात्लेकी मेनुका कार्की पनि गणेश प्राविमा पढ्न आइपुगे ।

गोपाल सरकै बुबा दिनानाथ गुरु पनि हाम्रै विद्यालयमा पढाउन आइपुग्नुभयो । गोपाल सरकी छोरी भारती र छोरा राजु त्रिवेणी निमाविमा स्थानान्तरित भए ।

दिनानाथ गुरु छोराको बर्खास्तीले सहनशीलशून्य भएर हामी पढिरहेको स्कुलमा सरुवा हुनुभयो होला भन्ठान्छु ।

हाम्रो घरको तत्कालीन भूमिगत मालेको आश्रयस्थलमा एउटा काठको बाकस थियो । त्यहाँ कतिपय गोप्य कागजात थिए । ती सबै एकाएक पढेको थिएँ । तीमध्ये एउटामा तत्कालीन नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामसुन्दर यादव, उपाध्यक्ष कृष्ण ब्लोन र कोषाध्यक्षचाहिँ गोपाल गुरागाईं रहेको विवरण थियो । गोपाल सरसँगै तत्कालीन भारती मावि, चुङमाङका प्रधानाध्यापक रामसुन्दर यादव पनि बर्खास्तीमा पर्नुभएको हो ।

एकीकरणका वार्ताकार

टुक्रा–टुक्रामा विभाजित थियो नेपाल कम्युनिष्ट पार्टी । गोपाल सरचाहिँ पूर्वको रातो झण्डा समूहमा हुनुहुन्थ्यो । टुक्रिएका समूह एकीकृत हुँदै जाँदा बन्यो कोअर्डिनेशन कमिटी अर्थात् कोके । कोकेका तर्फबाट धनकुटा छिन्ताङको अखुवाटारमा मदन भण्डारी एक्लै एकतावार्ता गर्न आउँदा रातो झण्डाका नेता आनन्दसन्तोषी राई हुनुहुन्थ्यो । उहाँ कोकेसँग मिल्नै चाहनुभएन, पूर्वकोशी प्रान्तीय कमिटीतिर लाग्नुभयो भने गोपाल, चित्र निरौला, वासु शाक्य, चन्द्र पुरी, जीवप्रसाद पोखरेलहरूचाहिँ पार्टी एकताको पक्षधर हुनुभयो ।

माले बन्नुअघि एकतावार्ताको अवस्था र मनमोहन समूह हुँदै आनन्दसन्तोषी राईको कांग्रेसमा प्रवेश एवं सक्रियता देख्दा स्पष्ट हुन्छ, त्यो एकतावार्ताको निर्णायक गोपाल सरलगायत हुनुहुँदो रहेछ । चित्र निरौलाले पञ्चायतकालमै पार्टी छाडी हाल्नुभयो र एनजीओ आईएनजीओ इत्यादिमा लाग्नुभयो, पञ्चायतकालकै समाजकल्याण परिषद्मार्फत ।

कमरेडहरूको पलायनको यो सिलसिलामा पनि गोपाल सर अविचलित रहनुभयो ।

त्यो देउसी भैलो

निकै ठूलो जमघट थियो हाम्रो घरमा त्यो रात । म कक्षा २ मा पढिरहेको बालकचाहिँ फुक्रुक्क फुक्रुक्क पुगिरहन्थें, यस्ता बैठकमा । गोपाल सरको प्रवेश भयो । करप्प हात मिलाउँदै मुसुक्क हाँसेर भन्नुभयो, ‘देउसी–भैलो खेलिने भैयो होइन त ?’

त्यसपछि रिहर्सल शुरु भयो, उहाँ हिँँडिहाल्नुभयो । मलाई पनि निद्राले छोप्यो ।

त्यो सालको तिहारमा एउटा भव्य टोली देउसी भैलोमा निस्क्यो, गीत क्रान्तिकारी, आशिष पनि क्रान्तिकारी । पुरुष–महिला सबै सरोबर गाउने बाजागाजासहित । लौरोटेकुवा देउसी भैलो टोली छायाँमा परे ।

किशोरावस्थाको जेल यात्रा

गोपाल सरले ७३ औं जन्मोत्सव यसै साता मनाउनुभयो । फेसबुकमार्फत यस अवसरमा बधाई र शुभकामना दिनेहरूलाई धन्यवाद प्रकट गर्नुभयो । एउटा सादगी जीवन बाँच्नेका लागि शुभजन्मोत्सव खासै हर्षाेल्लासको सन्दर्भ हुँदैन तर गोपाल सरले औपचारिकताका लागि धन्यवाद दिनुभएको हो भन्ठान्छु म ।

उहाँले पहिलोपटक तत्कालीन व्यवस्थाविरुद्धको आन्दोलनमा १९ वर्ष अर्थात् किशोरावस्थामै जेलयात्रा शुरु गर्नुभयो ।

२०२२ सालमा विद्यार्थी आन्दोलन भयो, स्ववियुको माग गर्दै । उहाँलाई थुनियो । कैद भुक्तानपछि फेरि आन्दोलन चर्कियो डिआईजी नारायण सिंह काण्डको नाममा । हालको राष्ट्रिय नाचघरमा कलाकारहरूको प्रस्तुति रहेछ, त्यहाँ धतुरिएर पुगेका डिआईजी नारायणले महिला कलाकारलाई दुव्र्यवहार गरेछन् । यसविरुद्ध आन्दोलन मच्चियो । यसमा पनि पिण्डेश्वर विद्यापीठ धरानका विद्यार्थी नेता गोपाल गुरागाईं गिरफ्तारीमा परिहाल्नुभयो ।

धनकुटा कागतेको घर बेचेर पात्लेखोलाको बेँसीमा झुपडी हाली बसेको बेला पनि प्रशासनले निहुँ खोज्दै दुःख दिन छाडेन र समातेर विराटनगरतिर चलान ग¥यो । त्यहीबेला पाख्रिबासमा एउटा काण्ड भयो । टिचिङ प्राक्टिसमा गएका गोपाल शिवाकोटी (हाल ः मानवअधिकारकर्मी डा. गोपाल शिवाकोटी) हरूले विद्यार्थीमा प्रगतिशील चेतना ल्याउन खोज्दा मण्डलेहरूले आक्रमण गरे । गोपाल शिवाकोटीहरूलाई साथ दिने धनकुटेलीहरू चन्द्र बस्नेत र अर्जुन राई (धनकटाका सभासद राजेन्द्र राईका सहोदर दाजु) पनि जेल परे । विराटनगर जेल चलान गर्दा गोपाल सरको ती कमरेडहरूसँग भेट भयो । 

संघर्षका चरण कहाँ सकिँदा रहेछन् र ! राष्ट्रिय पञ्चायतलाई सक्दो प्रयोग गर्ने नीति त पार्टीको छँदै थियो । सर्कुलर धनकुटाबाट तेह्रथुम पठाउनुपर्ने भयो । एक विश्वसनीय भेटिए तत्कालीन धनकुटा, साझामा काम गर्ने दयाराम भट्टराई । सर्कुलर दिएर उनको मावली जिल्ला तेह्रथुम खटाइयो । चेकजाँच कडा थियो । दयारामलाई बोकाएर पठाइएको सर्कुलरमा अँग्रेजीमा सीटीएम टीआरटी लेखिएको थियो । सानो चिर्कटोमा ओख्रेमा पढाइरहेका भोला गुरागाइँको नाम लेखिएको थियो ।

सर्कुलर लिएर जाने दयाराम जिरीखिम्तीमासमातिए भने भोला गुरागाइँलाई छाडेनन् । सीटीएम अर्थात् कमरेड तोयानाथ शंकाको घेराबन्दीमा पर्नुभयो । चरम यातनापछि पोल खोल्नुभयो र त्यो सर्कुलर काण्डमा गोपाल सरको प्रमुख हात छ भन्ने भइहाल्यो अनि सरलाई रातारात पात्लेखोलाका झुपडीबाट जिल्ला कारागार धनकुटा ल्याइयो ।

चप्पलमा हिउँघारी

जुत्ता पनि लगाउन दिएनन्, दुष्टहरूले । दुई घण्टाजति राखे जिल्ला प्रहरी कार्यालयमा । त्यहाँ एकजना इन्स्पेक्टर प्रस्तुत भए, विनयी । अन्य प्रहरीबाट ‘तँ’ संबोधन गरिएको बेला ती इन्स्पेक्टरले गोपाल सरलाई सौहार्द्रता प्रस्तुत गर्दै ‘तपाईं’ शब्द प्रयोग गरे ।

धनकुटाका तत्कालीन इन्स्पेक्टर लक्ष्मी वादे श्रेष्ठ हाल बनेपा नगरपालिकामा साविकको एमालेबाट निर्वाचित मेयर हुनुहुन्छ । यसबाट उहाँ उसबेलैदेखि वाम रुझानमा हुनुहुन्थ्यो भन्न सकिन्छ । 

गोपाल सरले गिरफ्तारीको बेला जुत्ता पनि लगाउन पाउनुभएन, चप्पलमा हुनुहुन्थ्यो । पैदलै तेह्रथुम चलान गराए । चित्रेपछि उता हिउँ परेको थियो ।

जेलबाट छुटेर गोपाल सरले साविक बेल्हारा गाउँ पञ्चायतको प्रधानपञ्च पदमा जनपक्षीय उम्मेदवारी दिई २५ वर्षदेखि एकलौटी प्रधानपञ्च खाइरहेका गंगाबहादुर जोशीलाई हराउनुभयो ।

पञ्चायतलाई अविछिन्न राख्न छिन्ताङका क्रान्तिकारीहरूको हुर्मत लिने सूर्यबहादुर थापालाई पनि ०४८ सालको आमनिर्वाचनमा भारी मतले क्षेत्र नम्बर २ बाट हराउनुभयो । दुई पटक झिनो मत भोगेको पराजय त अन्तर्घातकै कारण हो ।

०४८ सालको निर्वाचनमा गोपाल सरबाट पराजित भएपछि सूर्यबहादुर थापाले आफ्नो ‘भारदारी सभा’मा सामन्त स्वरमा कड्केर भनेछन्, ‘तिमीहरू मेरो जित ‘स्योर–स्योर’ भन्थ्यौ । आज एक जना गोठालोले मलाई हरायो ।’

थापाकाजीले भनेको एउटा कुरामा चाहिँ सही थाप्न मन लाग्यो, गोपाल सर गोठालो नै हो, नेपाली आन्दोलनको गोठालो, त्यसमा पनि नेपाली बाम आन्दोलनको गोठालो ।

एउटा प्रस्ताव राख्न चाहन्छु, उहाँ, धनकुटाको सर्वोच्च वाम नेता हुनुहुन्छ । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top