​जल्यो भानुको घर, ढल्यो भाषाको प्रहर


Thursday, 18 Jul, 2019 11:19 AM

  • श्याम रिमाल
म भानुभक्त रामभक्त थिएँ
बुद्धि थिएन
बुद्धि भएको भए किन ‘रामायण’लेख्थेँ
लंका घुमेर आउँथेँ, ‘रावणायण’ पो लेख्थेँ
 
म भानुभक्त भाषाभक्त थिएँ
ज्ञान थिएन
ज्ञानी भएको भए नेपाली भाषा किन कोर्थेँ
संस्कृत नै लेख्थेँ र पण्डित बन्थेँ
र उर्दू,फारसी, अरबी विद्वान् हुन्थेँ
 
म आदिकवि लोकभक्त थिएँ
लोकमार्ग हिँड्न खोजेँ, यही कुमार्ग भयो
सुमार्ग रोजेको भए किन बेहाते सालिक हुन्थेँ
 
म आदिकवि देशभक्त थिएँ
शासकभक्ति थिएन, यही मेरो देशघात भयो
देशप्रेमी भएको भए किन सालिक तोड्थें, किन गिराउँथें
 
म भानुभक्त मातृभक्त थिएँ
निर्मम, विवेकहीन थेँ, 
आमाको प्यारो भएको भए 
मैले कलमले जोडेको देश किन खण्ड खण्डमा जान्थ्यो
जाति जाति किन उम्लन्थ्यो
किन गतिहीन हुन्थ्यो, किन गतिछाडा बन्थ्यो 
 
म कामभ्रष्ट, ‘बधूशिक्षा’ दिएँ
म कुजात, भक्तमाला रचेँ
म अपराधी, ‘प्रश्नोत्तर’ जोडेँ
म हराम, ‘रामगीता’ थपेँ
म गुण्डा, ‘बालाजी...’ रचेँ
म कामुक,‘कान्तिपुरवर्णन...’गरेँ
 
म भानुभक्त–गैरदेशभक्त
म आदिकवि–अपराधीकवि

राजधानीको रानीपोखरीमै छन् बेहाते भानुभक्त । पूरा मूर्ति बनाउन खर्च लाग्ने भएर होला हात पनि हाल्न नसकेको । नेपाली शिक्षा परिषद् गरीब भएर हो वा, सरकार कञ्जूस भएर हो, नेपाली जनताले आदिकविको यस्तो बेरूप पनि हेर्नुपर्छ । चुँदी, सेपाबगैँचामा उहिल्यै हो भानु र मोतीको विद्रुप मूर्ति थापना गरिएको जहाँ दुवैलाई श्रीमान््–श्रीमतीका रूपमा देख्न सकिन्छ । दार्जिलिङको चौरस्तामा उभ्याएजस्तो शालिक पनि राख्न सकेन हाम्रो सरकारले । आश्चर्यको कुरा भानुजयन्ती मनाउने परम्परा दार्जिलिङबाटै शुरु भयो ।

बरु यसपालि भानु गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा भानुको बिर्के टोपी अनिवार्य गराई टोपी बनाउन तालीम पनि सञ्चालन गरेको सुनेर–पढेर आनन्द लाग्यो । भानुजयन्तीका दिन नगरभर सार्वजनिक बिदा दिने उसको निर्णय पनि प्रशंसनीय छ । बरु नेपाली भाषाको समृद्धिका लागि केचाहिँ गर्ला, हेर्न बाँकी छ । संघअन्तर्गत भानुजन्मस्थल विकास समिति पनि उसैले पाएको छ । रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी, जगदीशचन्द्र पोखरेल र रामचन्द्र पोखरेलले बनाउन नसकेको रम्घाकोट, शिखरकटेरीको भानुको घर पनि त उसैले बनाउला कि भन्ने आशा छ । धन्न शायद २०५६ मा यादव खरेलले ‘भानुभक्त’ चलचित्र बनाइदिएका थिए, भानुको घर बनाइदिएका थिए, त्यो पनि २०६१ मा जल्यो । अहिले पर्यटन विभागको आर्थिक सहयोगमा रामायण भवनसम्म बनेको छ । 

पृथ्वीले भौगोलिक एकीकरण गरे, भानुले भावनात्मक । वर्षौँदेखि एकै थेगो सुन्नु छ । कति भाषण गर्न सक्छन् राजनीतिज्ञ र साहित्यकारहरू ? जनकपुर भानुचोकको ढालिएको शालिक कसले बनाउने फेरि ? 

भाषामा भाँडभैलो छ । यसलाई ठाउँमा ल्याउने कसले ? प्रभातफेरि, पुरस्कार वितरण, कविता वाचन र भानुको महिमा गाउँदैमा भाषाको मापदण्ड बन्नेछ, एकरूपता आउनेछ ? कुनै मातृभाषाको लिपि छैन, कसले खोज्ने, लिपि भएकालाई संरक्षण कसले गर्ने ? नेपाली भाषा जान्नेले त जागीर नपाएका बेला मातृभाषामा पोख्तलाई जागीर कसले दिने ? स्थानीय र प्रदेश तह तथा अदालतले जागीर दिने हिम्मत गर्न सक्लान् ? भानुभक्तको भजन गाउनुको सट्टा नेपाली भाषा शुद्ध लेख्न सके राम्रो हुने थियो । सबैले मातृभाषा राम्ररी सिके गज्जब हुने थियो । विश्वस्तरको कविता लेखेर कवितालाई उठाए हुन्थ्यो । सरकारले राजधानीमा एउटा गतिलो भानुभक्त ठडाइदिए हुन्थ्यो । अनि मात्र भानुका सच्चा चेलाचेली बन्ने योग्यता प्राप्त हुन्थ्यो । 

जीवनमा सबै भानुले घाँसी भेट्दैनन्
घाँसी नभेट्नेको जीवन त त्यसै खेर जाने भयो
हाँसेर, खेलेर, घुमेर
 
सबैका पिता धनञ्जय हुँदैनन्
सबैका पितामह श्रीकृष्ण हुँदैनन्
र बाबुबाजे घोक्दैमा कोही आदिकवि हुँदैनन्
पुराना श्लोक भट्याउँदैमा रामायण पनि बन्दैन
 
बिर्केटोपी कार्चाेपी होस् वा नहोस्
सातुसामल भरेर खाजा खान पनि सकिन्छ अभरमा
ठक्कर खान त घाँसी पनि कतै भेटिनुपर्छ
 
भानुको फाटेको भोटो 
कुनै संग्रहालयमा हुन सक्छ, कुनै लिलाममा हुन सक्छ
एकदिन भिरेर शहर, गाउँ वा परदेश डुल्नु मात्र पर्छ
भेटिन्छन् बग्रेल्ती घाँसीहरू जताततै
टोपी खुइलिएका, धोती च्यातिएका, तुना खुस्किएका, जुत्ता फाटिएका
 
नयाँ भनाउँदो नेपाल पर्खँदैछ अवतरण
नयाँ ‘रामायण’ लेख्ने नयाँ कविको नयाँ अवतार वर्षाैँदेखि । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top