​बानी उही, नाइन प्लसको फुइँ


Sunday, 30 Jun, 2019 2:30 PM

  • संकेत कोइराला

बीपी कोइरालाले चार दशकअघि गरेको राजनीतिक प्रक्षेपण काटिकुटी अहिलेको अवस्थासँग मेल खान्छ । अदालतलाई दिएको बयानमा उनी त्रास नमानी तत्कालीन परिस्थितिको मूल्यांकन यसरी गर्छन्– ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? कोही हिन्दूस्तानवादी छन्, कोही चीनवादी होलान्, कोही अरूवादी । म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे । भारतवादी खुशी छैनन् रे । एउटा चीनवादीले त मसित भने– भारतको विरोधमा बोल्छौ भने सहयोग गर्छौं । भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं । र, भारतको समर्थन गर्छौ भने विरोध गर्छौं । अर्थात्, उनीहरू म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन् । चीन–भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन् । एउटा राजावादीले त केसम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी ऊ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं । मानौं, नेपालीहरू अमेरिका, चीन, भारतको दलालजस्तो भइरहेका छन् ।’         
 
दुईतिहाइ सरकारकै मुखिया भएर पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपीले भोगेको नियति दशकौंपछि केपी ओलीले सक्कलबमोजिम नक्कल भोगिरहेका छन् । नेपालको राजनीति म्युजिकल चियरभन्दा माथि कहिल्यै उठेन । एउटालाई पाताल भसाएको खुशियाली एक दशक नबित्दै त्यही नियति आफैंलाई भाउँतो बनेर फर्किने गरेको छ । अरू त अरू नेताका छोराको नामसमेत एउटै छ । बीपीले राजनीतिमा आफ्नो उत्तराधिकारी बनाउन जेठो छोरालाई राजनीतिशास्त्र पढाए । नाम पनि सूर्यजस्तै चमकदार होस् भनेर प्रकाश राखिदिए । अर्का नेता गणेशमानले पनि म के कम भन्ने लागेर होला, नाम जुराए– प्रकाश नै, जो अहिले कांग्रेस नेता छन् । एउटै पुस्ताका नेता एक अर्काबाट प्रभावित नहुने कुरै भएन, मनमोहनले पनि प्रकाश जुराए । यो क्रम प्रचण्ड हुँदै नेत्रविक्रम चन्दसम्म जोडियो । यी सबै क्रान्तिकारीले छोराको नाम प्रकाश नै राखे । हुँदाहुँदा राजा ज्ञानेन्द्रका छोराको नाम प बाटै उठेको अर्थात् पारस जु¥यो । प्रचण्डका छोरा प्रकाश दिवंगत भए । कुनै पनि प्रकाश बाउको नामले आर्जेको इन्धनमा सधैं चार्ज हुँदा पनि चम्कन सकेनन् । ट्रस्ट खोलिदिएर बुहारीलाई चित्त बुझाउनुपर्ने मनोवैज्ञानिक दबाबमा रहेका पूर्वराजा ज्ञानेन्द्रले कस्तो सन्तान सुख भोगेका छन्, यहीँबाट स्पष्ट हुन्छ । आफ्नै सहकर्मीहरूको गतिविधिबाट हायलकायल भएका बीपी आजभन्दा ६९ वर्षअघि कांग्रेस बैठकमा दिक्दार हुँदै भन्दै थिए– ‘लौ सुन ! नयाँ सरकार बनेको एक हप्ता पनि भएको छैन, अहिलेदेखि नै नारा जुलुस । पहिले सरकारलाई काम गर्न दिनुपर्छ । अनि उसको काम हेरेर समर्थन या विरोध गर्नुपर्छ । सबैलाई मन्त्री पद चाहिएको छ । यो कसरी सम्भव छ ?आज यहाँ बैठकमा के के हुनेवाला छ, मलाई थाहा हुँदैन । तर मोहनसमशेरलाई थाहा हुन्छ ।’ 

घडीको पेन्डुलम जतिसुकै हल्लियोस् न, नेपालमा घुम्ने राजनीतिक दृश्य घट्टजस्तै हो । पार्टीमा होस् या सरकारमा केपीमाथि उही भाइरस खेलिरहेको छ । जसले यसखाले रोगको एन्टीभाइरस खोज्छ, उसलाई राजनीतिक रिङबाट आउट भएको पत्तै हुन्न । यहाँ अंकले कुनै फरक पर्दैन । नेपालमा को–कसका लागि काम गरिरहेछ भन्ने थाहा पाउन अब एक जुनी काफी नहुने भइसक्यो । धन, सम्पत्ति, मायामोहबाट निस्पृह भएका जोगी, सन्यासी, आनी, लामा यहाँ टाईकुन भएर देखा पर्छन् । जब नेताका मनपरीविरुद्ध आवाज उठ्छ, गणतन्त्रमाथि खतराको घण्टी बजाइन्छ । भारतमा मन्दिरबाट ऋण लिएर देश चल्छ, यहाँ मन्दिर चलाउन पैसा मागिन्छ । कति निकृष्ट समाज भइसक्यो भने भगवानको भक्तिबाट पालिने पुजारी भगवान्विरुद्ध नारा लगाएर हिँड्छ । राज्यप्रणालीमा कोटा सिष्टम बसाएर नालायक जनशक्ति देशमा खपत गरिँदा उम्दा जनशक्ति युरोप अमेरिका भासिएको यहाँको राजनीतिले चालै पाएन । त्यसै पनि नेपालमा आफूमाथि प्रश्न उठाउने क्षमता भएको प्रतिभा नेताका निम्ति एलर्जी हुने नै भो । अरूतिर पानीले तिर्खा निभाउँछ, यहाँ स्वयं पानी तिर्खाएर काकाकुल बन्छ । 

जीवनस्तरमा परिवर्तन ल्याउन कुनै मन्त्र अपरिहार्य होइन । विश्वले प्रमाणित गरेको विकास गर्ने एउटै सूत्र भनेको दृढ इच्छाशक्ति हो । सिद्धान्तको आधारमा सत्यलाई हैन, सत्यको आधारमा सिद्धान्तलाई हेर्नुपर्छ । देशमा एकपछि अर्को गर्दै धेरै तन्त्र आए । तर ती सबै तन्त्रमाथि दलालतन्त्र हावी भयो । जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि– अब यो आहान फेरिएर ती दुवै नपुगेका ठाउँमा दलाल पुगेका छन् ।  

दुर्भाग्य भन्नुपर्छ– आजसम्म देशको केन्द्रीय राजनीतिमा राष्ट्रिय हितको विषयमा कहिल्यै गम्भीर बहस नै भएको छैन । निसन्देह व्यक्ति असल आए होलान् तर समग्र राजनीति गुट, फुट, झुट र चुटबाट कहिल्यै माथि उठ्न सकेन । अरू त अरू सिंगो नेपाली कांग्रेसको आर्थिक बोझ उठाउने कांग्रेसी शीर्ष नेतामध्येका एक जो मुलुकको पहिलो अर्थमन्त्री पनि थिए, सुवर्णसमशेरप्रति बीपीले मूल्यांकन गर्दै कुनै एक प्रसंगमा भनेका छन्– ‘हिन्दूस्तानले सुवर्णसमशेरलाई जति मद्दत गरेको थियो, त्यति त कसैलाई गर्नै सक्दैन, तपाईं झुकेर मिल्नुभयो भने पनि । त्यसको परिणाम के भयो ? कति बलियो हुनुभयो ? हिन्दूस्तानसँग त्यसरी जोल्टिएर बस्दा पनि उसले गरेको तमाम मद्दतबाट के भयो ? उहाँ शक्तिको नजिक जानुभयो भन्ने मलाई लागेन । उहाँसँग पैसा थियो, त्यसैले केही कार्यकर्तालाई पालेर राख्नुभयो । राजनीतिक उपलब्धि त उहाँसँग क्यै देखिएन । त्यसो हुनाले अरूमाथि निर्भर भएर हामीले राजनीति गर्नुपर्छ भन्ने म मान्दिनँँ ।’ 

इतिहासका यस्ता ऐनामा एकपटक मात्र पनि वर्तमान पुस्ताका राजनीतिकर्मीले हेरिदिने हो भने धेरै समस्या निदान हुने निश्चित छ । चित पल्टिए पनि, पोट पल्टिए पनि स्विकार्ने हो भने डोकोको कथाभन्दा माथि नउठ्ने अवस्था प्रतीक्षा गर्नुबाहेक विकल्प बाँच्दैन । बरु डोको सुरक्षित राखे पुग्छ, राजनीतिमा मिल्काउन सन्तान चाहिँदैन, अरूले नै ओखती गरिदिन्छन् । फलाम अरूका कारण नभएर आपूmभित्रबाटै निस्किएको खियाबाट सिद्दिन्छ । 

२००७ सालको क्रान्तिपछि उब्जाइएको खुकुरी दलले त दिउँसै मन्दिरका टुँडालसमेत बाँकी नराखेको इतिहासमा उल्लेख छ । खुकुरी दल आतंक मच्चाउँथ्यो, सरकार बद्नाम हुँदै जान्थ्यो । उसको आतंक यतिसम्म अराजक थियो कि नांगो खुकुरी नचाउँदै गृहमन्त्री बीपीलाई समेत ठुन्क्याउन पुगेको थियो । क्रान्ति सफल भएपछि के गर्ने र के नगर्ने भनेर विवेक गुमाएका नेताहरूले प्रधानमन्त्रीको सुरक्षामा रहेको बिजुली गारत राजदरबार सार्ने निर्णय गरिदिए । यो निर्णय कार्यान्वयन हुनासाथ नेताहरूको मूलघरजस्तो रहेको दरबार एकाएक भीर र भैंसीजस्तो विपरित हुन पुग्यो । दरबारमा बोलाएर नेताहरूलाई खानपिन गराउने मात्र होइन, चुरोटसम्म सल्काएर खातिरदारी गर्ने राजा दुर्लभ बन्दै गए । त्यहींबाट राजनीतिमा राजा र रैतीको सूत्रपात भयो । यो देखेपछि मोहनसमशेरले बीपीसँग भनेका थिए– ‘तपाईं पटनामा पढेर स्नातक हुनुभयो । नेपालको शासन व्यवस्थाको ज्ञान त्यति भइसकेको छैन । हामीले सय वर्षदेखि शासन व्यवस्था चलाउँदै आएका छौं । देशभरका मानिस चिनेका, चलाएका छौं । त्यसैले मिलेर प्रजातन्त्र जोगाऔं । म हृदयदेखि भन्छु– ‘हामीले बाघलाई परिबन्दमा पारी दाह्रा–नंग्रा निकालेर राखेका छौं । तपाईंहरूले अझ दाह्रा, नङ्ग्रा थपेर छोडिदिनु भयो । हामीलाई खाने बाघले तपाईंहरूलाई पनि खान्छ ।’ 

कालान्तरमा मोहनसमशेरले भनेजस्तै भयो । नाराले आगो बाल्ने भगीरथ प्रयास भए । तर आगो बाल्ने भनेको नाराले होइन, इन्धनले हो । घाँस काट्न, दाउरा चिर्न, ढिंडो खान त सीप चाहिन्छ भने सरकार चलाउन र राजनीति गर्न केही जान्नु नपर्ने बुझाईका कारण राज्य सञ्चालनका विधि विधान कमजोर भए । वर्षैभरि हुने चुनावले व्यक्ति फे¥यो तर चरित्र फेरेन । ३६४ दिन पीरमा बाँच्न बाध्य जनतालाई चुनावका दिन खीर खुवाइयो । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई स्वभावतः नालायक ठान्यो । तर यति धेरै नालायक ठान्यो कि ६० वर्षे मानिस नातिको माध्यमबाट कलेजको परिचयपत्र देखाएर गाडी भाडाको सहुलियत सुविधा असुल्न थाल्यो । यो पनि समाजमा फैलिँदै गएको अपराधीकरणको नमुना हो । यो त्यही सिंहदरबार हो, जहाँ त्यो बेलाका वजनदार सभा सदस्य लक्ष्मीप्रसाद देवकोटाको ओभरकोट हराएको थियो । अहिले त हाकिमले चलाउँदै गरेको ल्यापटपदेखि पूmल फुल्दै गरेको गमलासमेत हराउने गरेको समाचार आउने गरेका छन् । काँटा–चम्चा कति हराउँदा हुन्, त्यसको हिसाव किताब नै छैन । हातमा आइफोन त्यो पनि नाईन प्लस भएर के गर्नु ? हाम्रो संस्कार र संस्कृति उही छ । समस्या समाधान हैन, समाधानमा समस्या उब्जाउनेहरूको बिगबिगी बढ्दो छ । आपूm अमेरिका जान पाइएन भने गुगलबाटै अमेरिकाको नक्सा मिल्काउन खोज्ने अतिवादी पटमूर्खहरूको घेराबन्दीमा देशका कार्यकारी निकाय पर्दै गएका छन् । 
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top