​मदन भण्डारी पाल्ने रेडगार्ड


Saturday, 8 Jun, 2019 10:48 AM

– राजकुमार दिक्पाल

बिजुली झ्याप्प निभ्यो, अनि मच्चियो कोलाहल । रगत उमाल्ने गीतको लय, त्यस्तै लयमा लहरिएका नृत्यहरू । क्रान्तिकारी कविता वाचन । लाग्थ्यो, पानीमा पनि आगो बाल्न सम्भव छ । यी साँस्कृतिक माहोलबाट मनोरञ्जनभन्दा पनि दर्शकदीर्घाको तनमनमा तरंग सिर्जना भइरहेको बेला बिजुली निभ्यो ।

‘आयो है आयो !’, ‘मा¥यो है मा¥यो !’, यस्तो आवाज मात्र आएन, भागदौड मच्चियो । म कहालिएर रुन थालेँ । केहीछिन पछि दाजु डम्बर आएर च्याप्प समाते । हिक्का रोकिएको थिएन, भन्दै थिएँ, ‘आमा खोइ !’ दाजुले सम्झाई बुझाई गरेर यता मेरा र मजस्तो बालबालिकाहरूको हिक्का क्रमशः कम हुँदै गएको बेला ठ्याक्क बिजुली आयो र माइक्रोफोन लिएर, जीवप्रसाद पोखरेल मञ्चमा देखिनुभयो । भन्नुभयो, ‘केही भएको छैन, शान्त भइदिनुहोला, हाम्रो कार्यक्रम फेरि शुरु हुन्छ ।’

आमासँग भेट भएपछि हिक्का क्रमशः रोकिँदै गयो, म शान्त भएँ । यो कुरा २०३८ सालको हो । वर्षादको बेला यो कार्यक्रमको सम्पूर्ण रिहर्सल हाम्रो घरमा भएको थियो । त्यो कार्यक्रम व्यवस्थाविरोधी थियो भन्नेमा कुनै शंकै थिएन, त्यसैले त्यस्ता कार्यक्रम बिथोल्न दाइहरूले नाम राखिदिएका ‘मण्डले’हरू आउँछन् भन्ने मनभरि शंका वा भय छँदै थियो । 

नाम थियो, प्रगतिशील लेखक कलाकार संघको पहिलो धनकुटा जिल्ला सम्मेलन । तर त्यसलाई भूमिगत माले पार्टीले आफ्नो खुला साँस्कृतिक मोर्चाका रूपमा उपयोग गरिरहेको थियो । सम्मेलनले डम्बर सुब्बालाई प्रलेकसंघ धनकुटाको अध्यक्ष चुन्यो, त्यसपछि उनको तत्कालीन क्षेत्रीय अदालतमा विचारी पदको जागिर गयो ।

गल्ती प्राविधिक, झोंक अर्कोतिर

त्यो राणाचोक अर्थात् राणा निवास तेह्रथुमे नेवारखलकका डा. महेश्वरमान श्रेष्ठहरूले किनेका थिए । उनका भतिज सीएम अर्थात चिरञ्जीवी श्रेष्ठ दरबाररूपी भवनको भित्री चोकसमेत भएको निवासको रेखरेख गर्थे । भूमिगत मालेका लागि सीएमले त्यो राणा निवास समर्पण गर्नुभएको थियो ।

हाम्रो घरमा रिहर्सल चल्थ्यो । तर त्योभन्दा पनि महत्वपूर्ण थियो, खुसुखुसु बोल्ने, अनि लेखिरहने मानिसको रेखदेख । उनीहरूलाई बेलाबेलामा चिया पिलाउने, दिसापिसाब गर्ने ठाउँ देखाउने, नुहाउनका लागि जंगलको बाटो हुँदै एकान्तको कुवातिर लैजाने, अनि शंकालु मानिसको चियोचर्चाे गरी दाइहरूलाई थाहा दिने मेरो सामान्य काम हुन्थ्यो ।

त्यो बेला भर्खरै २० कटेका र अधिकांश १६÷१८ मुनिकाहरूको जमघट हुन्थ्यो । अभिभावक पुस्ताबाट त गोपाल गुरागाईंको मात्र सहभागिता देख्थेँ, उहाँ पनि भूमिगत नेताहरूले आश्रय लिँदा मात्र हाम्रो घरमा आउनुहुन्थ्यो ।

त्यसबेला राति–राति गतिविधि हुन्थ्यो । केही दिन लगाएर लेखिएका व्यवस्थाविरोधी पर्चा टाँस्न कहाँ कसलाई खटाउनुपर्ने भन्ने जिम्मेवारी बाँँडिइरहेका बेला म पनि त्यो कोठामा पुग्थेँ । जिम्मेवारी बाँडफाँड हुँदा सबैभन्दा कम उमेरका चन्द्र ब्लोनलाई देख्थेँ । उहाँ त्यतिखेर १३ वर्षको हुनुहुन्थ्यो । त्यसपछि देख्थँे आफ्नै साहिँला दाइलाई, उनी थिए, १५ वर्षका । म पनि उनीहरूसँग जान चाहन्थेँ तर दाइहरू मलाई रोक्थे । 

बाल रेडगार्डको प्रसंग

धनकुटा नगरको वाम आन्दोलनका सन्दर्भमा भन्नुभयो, ‘गोपाल सरले भन्नुभएअनुसार हामीले रेडगार्डको भूमिका पनि निभायौँ ।’ गोपाल गुरागाइँले नै पार्टीमा प्रवेश गराउनुभएका भक्त थापा, लोकमान शाक्य र रमेश लुइँटेलहरू अशोक राई, राजेश बान्तवा, चित्र निरौलाहरूको भूमिगत बैठकमा सुरक्षा र व्यवस्थापनका लागि मरिहत्ते गरेर खटिनुहुन्थ्यो ।

पछिल्लो हाम्रो टोल देब्रेबास भोट चौतारा (हालः स्कुल डाँडाबाट) गोवा पाख्रिन, बलबहादुर ब्लोन, सन्तोष तामाङ, नगेन्द्र ब्लोन, दिलबहादुर बम्जन, रामप्रसाद श्रेष्ठ, कुमार उदास, विजय श्रेष्ठ, चेतनाथ वाग्ले र रामप्रसाद वाग्लेको भूमिका महत्वपूर्ण छ । तीमध्ये रामप्रसाद भूमिगत नेताका चिठीपत्र ओसारपसारमा संलग्न हुनुहुन्थ्यो ।

हाम्रो टोलमाथि देखि राजेन्द्र दाहाल, भक्त थापा, इन्द्र राई पुष्प राई, गणेश राई, राधा राई, लोकमान शाक्य, राजु शाक्य खटिइरहेको देखिन्थ्यो । शेरबहादुर विश्वकर्मा र कुलकुलकेशर वाग्लेलाई यो सम्झनामा बिर्सने कुरै भएन । उहाँहरू सबैले पार्टीको लागि रेडगार्डको भूमिका निर्वाह गर्नुभएकैले त, धनकुटा लालकिल्ला बन्यो ।
बेवास्तामा परेको रेडगार्ड

हामी निम्नमध्यम परिवारका मानिस । बुवाको सानोतिनो पेन्सन, केही जग्गा र बुवाको सीपले आर्जन भएको तरकारी किन्न नपर्ने समस्या । तर हामीभन्दा पनि एउटा निम्न परिवार मजदुरी गरी खानुपर्ने अवस्थाको थियो, हाम्रो घरको साँधमा । रातो माटोले लिपेको, कहिल्यै बिजुली नबल्ने, टुकीको भरले उज्यालो मान्ने ।

छिमेकी भएकोले घरधनीलाई दाइ, उनकी श्रीमतीलाई भाउजू भन्थ्यौं । दाइ आसाम भासिए, भाउजु बितिगइन् । उनीहरूका ती छोरामध्ये गंगाबहादुर तमोरमा बगे । माहिलो अमृतबहादुर आर्थिक र जर्जर स्वास्थ्य समस्याको चुनौती व्यहोरेर बसिरहेका छन् भने कान्छोचाहिँ काठमाडौंमा मजदुरी गर्छन् ।

मदन भण्डारी भूमिगतकालमा धनकुटा आउनुभयो । उहाँलाई मैले सुत्ने वा बैठक गर्ने ठाउँ हाम्रो घरको सेल्टरमा दिइएको र खानाको प्रबन्ध उनीहरूको घरमा मिलाइएको प्रत्यक्ष देखेको छु । मदन भण्डारीहरूलाई उनीहरूको सक्षम बुबाआमाले त पकाएर खुवाउँथे नै साँझको समय भने उनीहरू मजदुरी गर्ने दिउँसोको समयमा गंगाबहादुर र अमृतबहादुरहरूले खाना खुवाउँथे ।

यही भएर यो गरीब परिवारको केही उद्धार हुन्छ कि भनी हाम्रो टोलदेखि अलि मास्तिर बस्ने जिम्मुवाल (पञ्चायतकालीन योगदान नभएका, बहुदल आएपछि रजगज गरेका) कमरेडलाई धेरैपटक बिन्ती बिसाएँ, ‘पञ्चायतकालमा यो घरको योगदान अमूल्य छ, यो घर आर्थिक रूपमा जर्जर भएको थाहै छ । लौन, यो घरको एक छोरालाई जिविसमा पियन भए पनि जागिर लगाऊँ !’

मेरो बिन्तीको सुनुवाइ भएन । संकटकाल थियो, त्यो बेला पार्टी पनि संकटमा प¥यो, ती जिम्मुवाल कमरेडमा स्वास्थ्य समस्या आइप¥यो, पार्टीबाट राजीनामा दिए रे संकटकालमा । एनजीओ छ रे । दुलोभित्र माछा हुँदा दुलोभित्र हात, दुलोभित्र सर्प हुँदा दुलोबाहिर हात !

हिजो दूलोभित्र सर्प अर्थात् पञ्चायतकालीन गोमन सूर्यबहादुर थापाको जिल्ला भनिएको धनकुटा जिल्लामा मदन भण्डारीहरूलाई भूमिगत कालमा खाना खुवाउने अमृतबहादुर वाइबाजस्ता बाल रेडगार्डहरूलाई सम्झनु पर्दैन ?


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top