​किन रोकिन्न अपराधका शृंखला ?


Saturday, 8 Jun, 2019 10:47 AM

  • रमण पनेरु

भारतीय आपराधिक सञ्जालका नाइके दाउद इब्राहिमका सहयोगी र कतिपय समाचारमा उनको दायाँ हातसम्म भनिएका युनुस अन्सारी फेरि समातिएका छन् । हालसम्मकै ठूलो परिमाण, ७ करोड ६७ लाख ९४ हजार, बराबरको नक्कली नोटसहित समातिएका उनी कतारबाट उडेको विमानबाट आएका ३ जना पाकिस्तानी नागरिकलाई लिन गएको अवस्थामा पक्राउ परेका हुन् । भारतको चुनाव सकिएलगत्तै फेला पारिएको २ हजार दरको नक्कली नोटको यत्रो ठूलो परिमाणले ठूलो हलचल मच्चाएको छ र त्यसमाथि पहिलेदेखि नै परिचित व्यक्तिमार्फत भित्रिनुले नेपालको सुरक्षा स्थितिप्रति पनि सर्वसाधारणको शंका बढाएको छ । 

०६५ साल पुस १८ गते त्रिपुरेश्वरको होटल ब्लुबर्डबाट २४ लाख ४४ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका उनले जेलमै रहँदा पनि नक्कली नोटको कारोवार जारी राखेका थिए । अन्सारीले जेलबाटै बनाएको योजनाअनुसार २०६७ असोजमा नेपाल भिœयाइएको ४० लाख ९० हजार बराबरका जाली नोट विमानस्थलमै पक्राउ परेको थियो । ०६५ देखि ४ वर्षको सजाय काटिरहेका अन्सारी ०७० को असोजमा छुटेको ३ महिनापछि माघमा फेरि पनि भारतीय नक्कली नोट र लागुऔषध कारोबार आरोपमा पक्राउ परेका थिए ।

अन्सारी जेलमै रहेको अवस्थामा ०६७ फागुन २६ गते उनीमाथि सांघातिक हमला भयो । केन्द्रीय कारागारजस्तो ठाउँमा हतियारसहित भारतीय सुटर प्रवेश गरेर त्यसरी हमला गर्नुले त्यसबेला ठूलै हलचल मच्चाएको थियो । कुख्यात अपराधी चाल्र्स शोभराजसमेत रहेको उक्त जेलमा शोभराजलाई नै भेट्न आउने गरेका जगजित भनिने मनमित सिंहले गोली हानेका थिए । रमाइलो कुरा त के छ भने शोभराजले भारतीय जेलमा हुँदा अपहरणका राजा भनेर चिनिने बब्लु श्रीवास्तवसँग राम्रो सम्बन्ध बनाएका थिए । नेपालमा छँदा पनि बब्लुसँग रहे । अनि तिनै बब्लुको ‘साथी’ शोभराजलाई भेट्न आउनेले दाउदका मान्छे मानिएका अन्सारीमाथि हमला गर्नुले अन्सारीको दाउदसँगको सम्बन्धको चर्चालाई झन् बल पु¥याएको थियो । 

बब्लु श्रीवास्तव अन्सारीको हमला पछाडि हुुनमा बब्लु र दाउदको सम्बन्धको पाटोलाई जिम्मेवार मान्न सकिन्छ । दाउदसँगै काम गर्ने छोटा राजन र बब्लु श्रीवास्तवलगायत भारतीय आपराधिक सञ्जालका प्रमुख अपराधीहरू भारतको बम्बइमा सन् १९९३, १२ मार्चमा भएको बम हमलापछि छुट्टिएका थिए । २५७ जनाको ज्यान जाने गरी र ७ सयभन्दा बढी घाइते हुनेगरी भएको सो बम हमला बाबरी मस्जिद भत्केपछिको दंगमा मारिएका मुस्लिमको बदला लिन गरिएको भन्ने गरिन्छ । भाजपा र विश्वहिन्दू परिषद्ले संयुक्त आयोजना गरेको राम रथ यात्रामा सहभागी करिब डेढ लाख हिन्दू कार सेवकहरूले ६ डिसेम्बर १९९२ मा अयोध्यामा बाबरी मस्जिद त भात्काए नै त्यसको साथसाथै देशका विभिन्न ठाउँमा हिन्दू–मुस्लिम दंगा पनि भए । कम्तीमा २ हजार जति मारिएका त्यस्ता दंगामा मुस्लिम बढी थिए । भारतीय शिव सेनाले प्रमुख भूमिका खेलेको मुम्बई दंगामा मात्रै करिब ९ सय जनाको ज्यान जानुका साथै ९ हजार करोड बराबरको धनमाल नासिएको थियो । यिनै हिन्दू–मुस्लिम दंगाले भारतीय अण्डरवल्र्डमा समेत हिन्दू–मुस्लिमलाई अलग गराएको मानिन्छ । बब्लु पनि त्यसरी अलग्गिने र दाउदको मित्रबाट शत्रुमा फेरिने एक पात्र थिए । बम्बई दंगापछि नै छुट्टिएका भनिएका छोटा राजनले त भारतीय गुप्तचरसंस्था ‘र’लाई दाउदसम्बन्धी विभिन्न सूचना दिएको कुरा हुसैन जैदीको पुस्तक डोंग्री टु दुबईमा पढ्न पाइन्छ । 

अन्सारी जेल गएपछि वि.सं.२०६६, माघ २४ गतेका दिन ‘सञ्चार उद्यमी’ जमिम साहलाई गोली हानी हत्या गरिएको थियो । नेपालमा ‘सञ्चारकर्मी’को परिचय बनाएका अन्सारी र साह दुवै कथित रूपमा पाकिस्तानबाट नेपाल, बंगलादेश र मध्यपूर्वमा चल्ने भारतीय नक्कली नोटको कारोवारका नाइके थिए भनेर टाइम्स अफ इण्डियाले समाचार प्रकाशन गरेको थियो । हवाला, नक्कली नोटको कारोवारलगायत सबै आपराधिक गतिविधि भारतीय आपराधिक सञ्जालका प्रमुख दाउदको मातहत चल्ने गरेको मानिन्छ । टाइम्स अफ इण्डियाले साहको हत्यामा बब्लु श्रीवास्तवसँगै भारतीय गुप्तचर संस्था र समेत संलग्न हुन सक्ने भनेर उल्लेख गरेको थियो । यी सब अड्कलबाजीबीच अन्सारीमाथिको आक्रमण कसले गरायो होला भनेर अनुमान लाउनु उति गाह्रो छैन ।

अन्सारी अपरिचित व्यक्ति होइनन् । उनका पिता सलिम मियाँ ०५१ को आमनिर्वाचनमा तत्कालीन एमालेका तर्फबाट बाराको ४ नम्बर क्षेत्रबाट विजयी भएका र वन तथा भू–संरक्षण मन्त्रीका रूपमा काम गरेका व्यक्ति हुन् । त्यसपछि पनि पर्यटनमन्त्री भए । एमाले त्यागेर समाजवादी पार्टी नेपाल गठन गरेका उनलाई ज्ञानेन्द्रको शासनकाल २०६२ असारमा फेरि वन तथा भू संरक्षण मन्त्रीको जिम्मेवारी दिइएको थियो । ०६३ माघमा मधेसमा हिंसा भड्काएको आरोपमा कमल थापा, बद्रिप्रसाद मण्डलको साथमा सलिम मियाँ अन्सारीलाई गिरफ्तार गरिएको थियो । यिनै मन्त्रीसम्म भइसकेका अन्सारीका छोरा पटकपटक भारतीय नक्कली नोट र लागुपदार्थका साथ समातिनुले सत्ता र अपराधबीचको रसायन बुझ्न गाह्रो बनाएको छ । 

हुन त यसअघि पनि मिर्जा दिलसाद वेगजस्ता पटक–पटक मन्त्री भइसकेका व्यक्तिहरू पनि भारतीय आपराधिक सञ्जाल नाइके दाउदसँग नजोडिएका होइनन् । ०५५ असार १५ मा काठमाडौंमा गोली हानी गरिएका वेगमा भारतको उत्तर प्रदेशको देओरियामा जन्मिएका र पछि नेपाल प्रवेश गरेको बताइन्छ । वेगले नेपालमा दाउदलाई सघाउने गरेको आरोप भारतीय गुप्तचर संस्थाहरूले लगाएका थिए । दाउदको मान्छे भएकाले उनको हत्या गरेको भनेर सोही समूहबाट बम्बई हमलापछि छुट्टिएका छोटा राजनले पटकपटक कबुलेका पनि छन् । छोटा राजन पक्षबाटै वेगको हत्याको जानकारी भारतीय गुप्तचर संस्थालाई पनि थियो भन्नेसम्मको कुरा बाहिर आएको भनी इण्डिया टुडेले प्रकाशन गरेको थियो । 

अचम्मको कुरा त के भने भारतमा कुख्यात अपराधीका रूपमा दर्ज व्यक्तिहरू नेपालमा कानुन निर्माता र कार्यकारीजस्तो पदमा हुँदा पनि हामीलाई त्यसको अत्तोपत्तो हुँदैन । अनि यस्ता व्यक्ति यदाकदा समातिइहाले पनि तिनीहरूमाथिको कारबाही चित्तबुझ्दो हुँदैन । जस्तो वर्ष दिनअघि सुन तस्करको आरोपमा समातिएका ‘गोरे’ माथिको कारबाही अहिलेसम्म निचोडमा पुग्न सकेको छैन । त्यतिबेला दोषी भनेर समातिएका धेरैजसो अधिकारी उम्काइएका छन् । अन्सारीकै हकमा पनि पटक–पटक जेल जाने र बाहिरिने हुनु आफैंमा आश्चर्यजनक छ । भारतीय सञ्चारमाध्यमले अन्सारी भारतमा सर्वाधिक खोजिएको अपराधी रहेको भनेर बताइरहँदा र अन्सारीले गर्ने गरेको भारतीय नक्कली मुद्राको कारोबारका आधारमा पनि उसलाई भारतलाई जिम्मा लाइनुपथ्र्यो । अथवा कुनै कडा सजायँ तोकेर यस्ता घटना दोहोरिन नदिने अवस्था सिर्जना हुनुपथ्र्याे । तर, त्यसको साटो प्रधानमन्त्रीका प्राविधिक विज्ञ असगर अली उनलाई छुटाउन सक्रिय भएको समाचार पढ्न पाइन्छ । आखिर यस्तो किन हुन्छ ? 

जमिम साह हत्या प्रकरणमा पनि अपारधीलाई सघाएको भनेर डिएसपी जगदिश चन्द, सई प्रकाश क्षेत्री, किशोर खड्कासहित ३ जनालाई पक्राउ गरिएको थियो । सुरक्षा प्रदान गर्नुपर्ने उच्च तहका कर्मचारी नै हत्यामा संलग्न पृष्ठभूमि हेर्दा सञ्चारमाध्यमका समाचार पूर्णरूपमा गलत नै हुन् भन्ने ठाउँ छैन । त्यसोभए किन यसरी अपराधी संरक्षित गरिन्छन् ? 

भारतीय सञ्चारमाध्यम द क्विन्टलाई दिएको एक युट्युब अन्तर्वार्तामा दाउदलगायत धेरै पात्रका कथा लेखेर प्रकाशन गरिसकेका खोज पत्रकार तथा लेखक हुसैन जैदीलाई ‘यत्रो जानकारी हुँदाहुँदै पनि दाउदलाई किन भारत ल्याइन्न ?’ भनेर राखिएको प्रश्नमा उनले भनेका थिए, ‘सायद हाम्रो नेतृत्वमा त्यो चाहना नै छैन । फेरि दाउदलाई भारतमा ल्याउँदा उनीसँग संलग्न रहेकाहरूको पोल खुल्न सक्ने भएर पनि होला ।’ नेपालको हकमा पनि सायद यही नै साँचो हो कि ? नत्र पटकपटक अपराधी समातिने तर ठोस कारबाही भएको नदेखिने किन होला ? 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top