​द गोकुल बाँस्कोटा टक सो


Thursday, 30 May, 2019 2:19 PM

यो लेख म जनआस्था साप्ताहिकका लागि लेख्दै छु । जसरी यो अखबारका सम्पादक किशोर श्रेष्ठ मेरा पुराना साथी हुन्, गोकुल बाँस्कोटा पनि खासै अपरिचित होइनन् । मेरो र किशोरको जुन सम्बन्ध छ, त्योभन्दा किशोर र गोकुलको नाभी अझ बढी टाँस्सिएको छ । उनीहरू एउटै राजनीतिक विचारधारामा हेलिएका सहयात्री । उनीहरूका लागि त म, प्रजातन्त्रवादी भन्दा पनि ‘गिरिजापन्थी’ हुँ । मलाई थाहा छैन, किशोरको रातो कलमले मेरो आशय र शब्दको कुन हदसम्म ‘पोष्टमार्टम’ गर्नेछ । 

तर, किशोर कार्यवाहक अध्यक्ष रहेको वर्तमान प्रेस काउन्सिलको रहेसहेको कानुनी अख्तियारको हुर्मत लिन गोकुल तयार छन् । सञ्चारमन्त्री गोकुलमा विगत बिर्सने खतरनाक बानी रहेछ । काभ्रेबाट मुलुककै दोस्रो बढी भोट ल्याएर जित्दैमा उनी इतिहासको पूर्णविराम हुन सक्दैनन् । केही दिनअघि जिल्लाकै एउटा सभामा उनी आफ्नो ‘इमोसनल स्पिच’ मार्फत धरधरी रोए । 

‘मेरो हुलिया, काभ्रेले दिएको भोट हो’, उनको बदलिएको स्वरूप र आक्रोशमाथि टिप्पणी गर्ने पार्टीका शुभचिन्तक वरिष्ठ अधिवक्ता शम्भु थापाको नाम नलिई उनले भने, ‘मेरो हुलिया सर्वहाराको हो ।’ प्रधानमन्त्री ओलीको बालकोट निवासमा बसेका कारण उनलाई नरेन्द्र मोदी शैलीमा ‘चौकीदार’ भन्ने गरिन्छ । मैले पनि भनेको छु तर उनले कांग्रेसका पूर्वसांसद रामहरि खतिवडालाई तारो बनाए । भने, ‘चोर हुनुभन्दा चौकीदार हुनु राम्रो ।’ खतिवडामाथि जिमखानामा कसैको घडी चोरेको आरोप लागेको थियो । बाँस्कोटाले यसैलाई आफ्नो बचाउको आधार बनाए । पत्रकारले गलत गरे भन्दै प्रेसविरोधी कानुन ल्याउन खोज्ने उनको यो तर्क र उनले कारबाही गर्ने दायरामा परेका पत्रकारबीच भिन्नता के छ ? 

बुझ्नुपर्ने कुरा 

कुनै नेताले आफ्नो प्रेम र स्वार्थका खातिर मायाँ गरिएको छोटे नेता वा कार्यकर्ता एकैचोटि जमिनमा गल्र्याम्म झरेको उदाहरण इतिहासमा धेरै छन् । एमाले–माओवादी नमिलेको भए दोस्रो बढी भोट आउने सम्भावना थिएन भन्ने कुरा पनि गोकुलले आकलन गरेको हुनुपर्छ । सत्ताले गाला फुकाउने मात्र होइन, गालाको छालाले परेला पनि पुरिदिन्छ । परेलाले पुरिएको आँखाले मनको झिलिमिली त अनुभव गर्छ तर यथार्थ देख्दैन । छोटो समयमा छोटो ‘रेस’ दौडने घोडा लामो रेसका लागि योग्य हुँदैन । 

गोकुलको राजनीतिक यात्राको शुरुवात पत्रकारिताबाट भएको हो । खोलो तरेर लौरो बिर्सने र पुलमा आगो लगाउने मान्छे कालान्तरमा अलपत्र पर्छ । गोकुलका भीष्म पितामह ओलीले ‘अहिले गणतन्त्र ल्याउँछु भन्नु र बयल गाडा चढेर अमेरिका जान्छु भन्नु एउटै कुरा हो’ भन्ने ऐतिहासिक उद्गार व्यक्त गर्दा गोकुल पत्रकारिता गर्दै थिए । त्यतिबेला रत्नपार्कमा पचास जना राजनीतिक कार्यकर्ता मुस्किलले जम्मा हुने जमाना थियो । त्यो बेलाको आन्दोलन प्रेसले जोगाइदिएको हो । प्रेसले मथेको दूधको नौनी अहिले चाटेर बसेकाहरुलाई प्रेसको मूल्यांकन गर्ने वा त्यसको अधिकार कुण्ठित गर्ने अधिकार छैन । नहुनुपर्ने हो । 

तर यो मिडिया काउन्सिल विधेयक गोकुलको आफ्नो दिमागको उपज हो र ? होइन । यसमा सरकारलाई नेपथ्यबाट चलाएर बसेका भिन्न नामधारीको अभीष्ट लुकेको छ । देखाउनलाई ‘समानुतिक विज्ञापन प्रणाली’ र ‘ठूलाले सानालाई खान नसक्ने व्यवस्था’ को जलप पनि लागेको छ । तर, सबै शब्दलाई एउटै आशयले निरंकुशताको भारी बोकाउने प्रावधान छ । प्रेस काउन्सिलको न्यायाधीश सरकारले नियुक्त गर्ने । माफियाबारे कसैले लेख्यो, काउन्सिलमा उजुरी पर्ने । सरकारी कारिन्दाले मूल्यांकन गरेर जरिवाना तोक्ने । यो प्रेसमाथिको मनोवैज्ञानिक प्रहार हो । यसमा सरकार र माफियाको मिलिभगत छ । 

भ्रम पाल्ने अधिकार सबैलाई छ । तर, जनताबाट उठेको मान्छे जनताकै काखमा बसेको बेस । आफूले पालेको नागले आफंैलाई डस्यो भने पश्चाताप मात्र हुन्छ । 

राजनीतिको खेल नागपास हो । उनान्सयमा पुगेर नागको आहारा बनेपछि फेरि झरेर एकमा आउनुपर्छ । गोकुलले फेरि पत्रकारिता गर्नु नपरोस् । लाज त्यागेपछि विजयी भइन्छ भन्ने भ्रममा कोही नबाँचुन् ।

– कोलोराडो, डेन्भर


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top