​किन फगत रगत बगाइरहने कमरेड ?


Thursday, 30 May, 2019 2:02 PM

  • विदुर खड्का

भोजपुरलगायत जिल्लामा आफ्ना निहत्था कार्यकर्ता मारिएको र देशैभरि दर्जनौं नेता गिरफ्तार भइरहेको बदला लिन नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले १३ गते आयोजना गरेको नेपाल बन्दले चार जना होनहार नेपाली युवाको ज्यान गयो । दर्जनजति अर्धमृत अवस्थामा अस्पतामा मृत्यसँग जुधिरहेका छन् । सारा नेपाली शोकाकुल परिवारजनप्रति समवेदना बाँडिरहेका छन् । यसअघि पहिचान नखुलाई यस्तै घटना छिटपुट घटाउने विप्लवको मन पनि यसपटक अमिलो भएको महसुस हुन्छ । घोषित रूपमा सशस्त्र जनयुद्ध गरेको अहिलेसम्म भन्न नसकेका विप्लवले १३ गते बन्दका लागि बम पड्काउने तयारीमा हिँड्दा आन्तरिक दुर्घटनामा मारिएका युवाहरू आफ्नो पार्टीका कार्यकर्ता भएको विज्ञप्ति निकालेर पहिलो पटक हिंसात्मक आन्दोलन सञ्चालन गरेको पुष्टि गरेका छन् । 

मारिएका चारै जना आफ्ना कार्यकर्ता भएको उनको भनाई छ । यसका साथै घटनाका घाइते पनि सबै कार्यकर्ता नै भएको बताएर तिनको उपचार र भविष्यलाई अन्योलग्रस्त बनाइदिएका छन् । हिजो दशवर्षे जनयुद्धको यस्तै घटनामा आफ्नो खुट्टा गुमाएका कपनका गंगाबहादुर लामाको आँखैअगाडि भएको यो दर्दनाक दुर्घटनाले उहाँको हृदय पनि स्तब्ध भएको हुनुपर्छ ।

जनता जहिले पनि विकास, अग्रगमन र समृद्धिका पक्षपाति हुन्छन् । त्यसका लागि अनुकूल राज्यसत्ता अनिवार्य हुन्छ । बहुसंख्यक जनताको भावनालाई कुल्चिएर तानाशाही लाद्ने सरकारले जनतालाई स्वतन्त्र र शान्तिपूर्ण ढंगले आफ्ना भनाई राख्न र त्यसका लागि शान्तिपूर्ण प्रयास गर्नबाट रोक्छ । त्यसका बिरुद्ध लडेरै जनताका एजेण्डा कार्यन्वयन गर्नुपर्ने हुन्छ । त्यो विन्दुमा सशस्त्र विद्रोह वा जनयुद्ध आवश्यक हुन्छ, अपरिहार्य हुन्छ । जनताको न्यायपूर्ण आवाजलाई बन्दुकको नालमा कैद गर्न खोजिएको अवस्थामा त्यसको रक्षाका लागि जनताले बन्दुककै सहारा लिनुपर्छ । त्यो बन्दुकलाई राजनीतिक परिवर्तनको नारा र दर्शनले नेतृत्व गरेको हुन्छ । बिचारमाथि सरकारी बन्दुकको वर्चस्व अन्त्य भएपछि विद्रोहीको हातमा रहेको बन्दुकको औचित्य पनि समाप्त हुन्छ । सबैखाले सामाजिक, राजनीतिक व्यवस्थाको अभ्यास जनताको बीचमा उभिएर स्वतन्त्रपूर्वक गर्न पाउने राजनीतिक संरचनामा सामाजिक विद्रोहका लागि बन्दुकको बल औचित्यहीन सावित हुन्छ । त्यसपछि उठाउने बन्दुक कि त क्रान्तिकारी रोमान्टिसिज्म हुन्छ, कि त इतिहासको औचित्यहीन अन्धोनक्कल । यी दुबैको अन्तिम परिणाम कि त तानाशाही र सामाजिक फासिवाद हुन्छ, कि रक्तपातपूर्ण दुःखद अन्त्य । 

माक्र्सवादको दाबी नै छ, कि बिचारको सत्ता स्थापनाका लागि बन्दुक । तर अहिले घटनाक्रमले के देखाइरहेको छ ? निरपेक्ष बन्दुक वा लडाइँ । अन्त्यहीन रक्तपात, हिंसा र लडाईं । राज्यसत्ता कब्जा गर्न बन्दुक । टिकाउन बन्दुक । जोगाउन बन्दुक । दबाउन बन्दुक । सर्वहारावर्गको होस वा अरु, अधिनायकत्व स्थापना गर्न पनि बन्दुक । नौलो जनवाद पनि बन्दुककै बलमा । समाजवाद टिकाउन पनि बन्दुक । र, हुँदाहुँदा अहिलेका क्रान्तिकारी भन्न बेर लगाउँदैनन् कि साम्यवादमा हामी संसारको सबैभन्दा ठूलो र शक्तिशाली बन्दुक बनाउनेछौं, साम्यवाद ल्याउन र टिकाउन । यसरी देखिने निरपेक्ष बन्दुकवादी क्रान्तिले माक्र्सवादी विचारलाई बन्दुकको युद्धको विज्ञानका रूपमा मात्रै ग्रहण गर्न खोजेजस्तो देखिन्छ । यहाँ विचार, राजनीति, दल, संगठन, नेतृत्व र मानव समाजको विकास र समृद्धि तथा  समानताका लागि भन्दा पनि समाजवादको निरपेक्ष साधनको रूपमा बन्दुक वा बल प्रयोगलाई ग्रहण गर्ने गरिएको देखिन्छ । 

विप्लव अहिले रोमान्टिक क्रान्तिकारीका रूपमा अग्रगमनका प्यासी युवा पुस्तालाई फेरि एकपटक बन्दुकको साम्राज्यमा धकेल्न खोजिरहेका छन् । राजनीतिक उपलब्धि, लक्ष्य, विचार र कार्यदिशाका सन्दर्भमा बारम्बार उठेका प्रश्नको तार्किक जवाफ दिन सकेका छैनन् । तर, उनको युद्धकै बलमा राजनीतिक उपलब्धि प्राप्त गर्ने महŒवाकांक्षा झन् जवान भएको प्रतित हुन्छ । शब्दका पुलहरू बनाएर त्यसमा केही युवालाई भुल्याउन लागिपरेकै छन् । जसरी अतिवादीले जन्नत वा यस्तै अदृश्य काल्पनिक उपलब्धिको सपना देखाएर उनीहरूको सुन्दर वर्तमान हरण गर्छन्, त्यसैगरी विप्लव कमरेड नेपाली सोझा युवालाई गरिरहेका छन् । के यो सही छ ? 

नेपालको राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका सशस्त्र विद्रोहहरू त्यस बखतको सन्दर्भमा औचित्य सावित भएको राजनीतिक उपलब्धिले प्रष्ट हुन्छ । एउटै आन्दोलनले परिवर्तनका सबै कार्यभार पूरा गर्न सक्दैन । त्यसको बलजफ्ती कोसिस गरिएका पूर्वसोभियत संघ, पूर्वी एसिया, युरोप, ल्याटिन अमेरिका, चीनलगायत देशलाई हेर्दा स्पष्ट हुन्छ । सशस्त्र बलमार्फत कब्जा गरिएको सत्ता र सरकारले घोषणा गरेर समाजवाद ल्याउन खोज्ने केटाकेटी तरिकाले अहिलेसम्म सम्पूर्ण सत्ता कब्जा गरिएका देशहरूमा पनि समाजवाद विकास हुनुको साँटो पतन मात्रै भैरहे । सशस्त्र फौज र बन्दुकको बलमा नै सामाजवाद ल्याउने, अझ साम्यवादै ल्याएर दुनियाँलाई देखाइदिने खतरा क्रान्तिकारी लहडका कारण संसारमा माक्र्सवाद नै असफल भयो भन्ने पँुजीवादी विश्लेषकहरूले भन्न भ्याइसकेका छन् । यही अतिवादका कारण समाजवाद र माक्र्सवादप्रति नयाँ पुस्ताको विश्वास कम हुँदै गइरहेको छ । यसलाई संसारमा असफल विचार वा मृतविचार भनेर प्रचार गरिरहेका छन् । जुन सततः गलत कुरा हो । माक्र्सवादलाई बुझ्ने र ग्रहण गर्ने प्रक्रियामा नेताले गरेका कमजोरी र ढंग पु¥याउन नसकेको कुरालाई समग्र समाजवादी आन्दोलनसँग घोलमेल पारेर प्रस्तुत गर्ने गरिएको छ । यो पनि तिनै बन्दुकबाटै साम्यवाद ल्याउँछु भन्ने उग्रक्रान्तिकारीको हुंकारको परिणाम हो । 

राणा फाल्न, बहुदल ल्याउन र राजा फाल्न गरिएका सशस्त्र युद्धले आफ्नो सापेक्षतामा महत्वपूर्ण उपलब्धि हासिल गरेको देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने, जनताले चुनेका प्रतिनिधिले संविधान निर्माण गर्ने र त्यो संविधान अनुसारको राजनीतिक संरचना बनाई सरकारले कार्य गर्ने अवस्था भर्खरै बनेको छ । अहिलेको सन्दर्भमा यो नै सबैभन्दा ठूलो उपलब्धि हो । यो संरचनाले अहिलेसम्मका उपलब्धि संस्थागत गरी परिवर्तनका सबै काम गर्न सक्छ भनिएको छ । यसका प्रतिफल जनताको घरआँगनमा पु¥याउने काम भइरहेको छ । यही व्यवस्था र संरचनाले नै जनताका सबै आधारभूत आवश्यकता पूर्ति गर्न सक्छ । तर, यसका लागि सरकारले पाएको मुस्किलको बहुमतबाट मात्तिएर होइन, त्यसको सदुपयोग गर्ने इच्छाशक्ति आवश्यक छ । लौ यो सरकार र सरकारी पार्टी मात्तिएछ भने पनि कुनै आकाश खस्नेवाला छैन । नयाँ ढंगले युवाले नेतृत्वमा जिम्मेदारी पाएर पाखुरी र दिमागको बलमा यहीं विकास सम्भव छ, समृद्धि सम्भव छ । 

वार्ताबाटै समस्या समाधान गर्नुपर्ने बाध्यता विप्लव नेकपालाई पनि पर्नेछ । किनकि नेपालमा लडेरै सत्ता कब्जा गरे पनि त्यसलाई टिकाउन, विकास र समृद्धिको ढोका खोल्न बन्दुकको भूमिका काम लाग्दैन । अन्तर्राष्ट्रिय सम्बन्ध, भाइचारा, सहयोग, सहकार्य आवश्यक पर्छ । सबैभन्दा पहिला आर्थिक विकासले अभूतपूर्व फड्को मार्नुपर्ने हुन्छ । पँुजीको असीमित विकाससँगै समाजवादका आधार खडा हुने हो । यहाँ बन्दुक पड्काएर ल्याएको गणतन्त्र बाँच्न गाह्रो छ, समाजवादको त कुरै छाडौं । 

जनयुद्ध र हतियारबाट लड्ने भन्दै युद्ध लड्न तम्सिएका उनीहरू फेरि पनि सरकारसँग अर्को सम्झौता गर्ने हो भने उनीहरू पुग्ने ठाउँ भनेको यही व्यवस्थाभन्दा पर छैन । जुन नेपाली युवालाई मञ्जुर छैन । घुमिफिरी यहीं आइपुग्ने हो भने फेरि एकपटक थप युवाहरूको, निर्दोष जनताको रगत किन बगाउने ? युवालाई अर्को एकपटक भ्रममा किन राख्ने ? विप्लवले चुनावबाटै पनि नेता बन्नसक्ने क्षमता र हैसियत राख्छन् । फेरि अर्को सहमति र वार्ताको माध्यमबाट समाजवाद आउँदैन । किनकि पँुजीवादीसँग कि निर्णायक युद्ध लडेर जित्न सक्नुप¥यो । कि त सहमतिमा आउनुप¥यो । पँुजीवादीसँग गरिने सहमतिमा सबै कुरा समाजवादीले चाहेझैं हुन्छ त भन्ने कुरामा द्विविधा छ । पुँजीवाददेखि पुँजीवादसम्म चक्कर लगाउन फेरि नेपाली जनताका होनहार छोराछोरीले किन रगत बगाउने अवस्था बनाउने विप्लव कमरेड ?

 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top