प्रेमको सामु के सिन्दुर, के परिवार


Saturday, 25 May, 2019 10:31 AM

  • राजेन्द्र स्थापित

हम प्यार में जलनेवालों को, 
चैन कहाँ, हाय आराम कहाँ !
प्रीत की अ“धियारी मंजिल में, चारों ओर सियाही
आधी रातमें ही लुट जाएँ, इस मंजिल कि राही
काँटो पर चलने वालों को, चैन कहाँ, हाय आराम कहाँ !
बहलायें जब दिल ना बहले, तो ऐसे बहलायें
गम ही तो है प्यार की दौलत, ये कहकर समझायें
अपना मन छलनेवालों को, चैन कहाँ, हाय आराम कहाँ !

सन् १९५८ मा प्रदर्शित हिन्दी चलचित्र ‘जेलर’ को गीत हो यो । सोहराब मोदी र कामिनी कौशल अभिनित उक्त फिल्ममा गीता बालीले अन्धी युवतीको भूमिका निभाएकी थिइन् । चलचित्रमा यो गीत उनैलाई गाउन लगाइएको छ । राजेन्द्र कृष्णाद्वारा लिखित र लता मंगेशकरले गाएको यो गीत हिन्दी चलचित्र क्षेत्रकै सदाबहार लोकप्रियमध्येको मानिन्छ । अभिनेत्री गीता तिनै हुन्, जसले राजकपुरसँग बाबरे नैन र पृथ्वीराज कपुरको आनन्द मठमा नायिका बनेर खेलिन् तर निजी जीवनमा उनै पृथ्वीराज कपुरका छोरा र राज कपुरका भाइ सम्भी कपुरसँग घरजम गरिन् । 

सन् १९३९ को डिसेम्बर । रातको मौसम एकदम चिसो थियो । लाहोरको सडकमा बनाइएको मञ्चमा दुईवटी किशोरी गाउँदै, नाच्दै थिए । एउटीको नाउँ हरकिर्तन र अर्की उनैकी दिदी हरदर्शन कौर । पन्जाबी समाजका सम्मानित उपदेशक पण्डित करतार सिंहका छोरीहरु । एकाएक हंगामा मच्चियो । उत्तेजित समूहले कार्यक्रम तत्काल बन्द गर्न आदेश दियो । कार्यक्रम भाँड्न खोज्नेहरु पनि पन्जाबी नै थिए । तत्कालीन समयमा पन्जाबी युवती त्यसरी खुलेआम सडकमा नाच्नु–गाउनुलाई पन्जाबी समाजले स्वीकार्दैनथ्यो । त्यसैले कार्यक्रम नचलाउन हो–हल्ला भयो । पण्डित करतार सिंहले उत्तेजित समूहलाई सम्झाउने प्रयत्न गरे तर मानेनन् । उल्टै नाचगान बन्द नगरे उनलाई मार्ने र दुवै छोरीको अपहरण गर्ने धम्की दिए । नौ वर्षकी हरकिर्तन कौरले पनि साहसपूर्वक विरोधीहरुको सामना गरिन् । अन्त्यमा उत्तेजित समूहले मञ्च भत्काइदियो, टाँगिराखेको पाल उखेलेर फ्याँकिदियो । 

सार्वजनिक कार्यक्रम चलाउन नपाएपछि हरकिर्तन एक्लै अल इण्डिया रेडियोको लाहोर स्टेशन म्यानेजरलाई भेट्न गइन् । म्यानेजरलाई प्रभावित पारेर गीत गाउने कार्यक्रम हासिल गरिन् । त्यहीं उनको नृत्यनिर्देशक पण्डित ज्ञान शंकरसित परिचय भयो । नतिजा, वृत्तचित्त ‘दि काबलर’ मा सानो भूमिका पाइन् । निर्देशक रुप शोरीले हरकिर्तनको नृत्य मन पराए र चलचित्र ‘बदनामी’ मा एउटा भूमिका दिए । यसक्रममा निर्माता, निर्देशक तथा अभिनेता मजहर खाँसित भेट भयो । मजहर आफ्नो चलचित्र ‘पहली नजर’ प्रदर्शन गर्न लाहोर पुगेका थिए । उनी हरकिर्तनबाट प्रभावित भए र मुम्बई फर्कंदा साथै ल्याए ।

मुम्बईमा हरकिर्तनलाई बस्ने व्यवस्था ‘पाम्स’ भवनमा मिलाइदिए । त्यसबेला कलाकारहरु पाम्सलाई अलच्छिनको मान्थे किनकि त्यो भवनमा जति पनि कलाकार बसे, असफल भए । तर हरकिर्तन पाम्समै बसेर सफल बनिन् । मजहर हरकिर्तनलाई मुख्य भूमिका दिएर गेष्टहाउस चलचित्र बनाउन चाहन्थे तर बीचैमा लगानीकर्ताले धोका दिए । यसबीच हरकिर्तनको परिचय त्यसबेलाका प्रख्यात निर्देशक केदार शर्मासँग भयो । अभिनय क्षमताबाट प्रभावित बनिसकेका शर्माले उनलाई ‘सुहागरात’मा खेल्ने मौका दिए । नायक थिए– भारत भूषण, नायिका– गीता बाली । शर्माले नै हरकिर्तनको नाउँ गीता बाली राखिदिएका हुन् । उक्त चलचित्र हिट भयो । उनै निर्देशकले ‘बावरे नैन’ बनाए । हिरो राजकपुर र हिरोइन– गीता बाली । यो चलचित्र पनि खुब चल्यो । सबै गीत ‘हिट’ भए । सन् १९४८ मा प्रदर्शित सुहागरातमा अभिनय गर्दा गीता १८ वर्षकी थिइन् भने बाबरे नैनको उमेर २० वर्ष । 

गीता बालीलाई हिन्दी चलचित्र जगतमा चञ्चल, हाजिर जवाबी, निडर र बिन्दास स्वभावको अभिनेत्री मानिन्छ । उचाइ अलि कम तर मधुबालाको जस्तो अल्लडपन (मनमौजी), मीनाकुमारीको जस्तो गम्भीरता र नूतनको जस्तो बान्की मिलेको शरीर थियो । यसपछि उनले बाजी, अलबेलालगायत थुप्रै चलचित्रमा अभिनय गरिन् र सबैमा भन्दा देवानन्दसँग जोडी जम्यो । यसबीच सन् १९५२ मा प्रदर्शित चलचित्र ‘आनन्द मठ’ मा पृथ्वीराज कपुरको नायिका भएर अभिनय गरिन् । आनन्द मठ चर्चित बंगाली कवि, लेखक, पत्रकार बकिमघम चटर्जीको उपन्यासमा आधारित छ । 

सन् १९५४ मा निर्देशक केदार शर्माले ‘रंगीन रातें’ बनाउन शुरु गरे । शम्मी कपुर र माला सिन्हा अभिनित उक्त चलचित्रमा गीता बालीको सानो तर महत्वपूर्ण भूमिका थियो । सुटिङको सिलसिलामा केदार शर्माले सबैलाई मुम्बई बाहिर लगे । कुमाउँ क्षेत्रको पहाडी इलाकामा छायांकन थियो तर त्यहाँको लोभलाग्दो मौसम र प्राकृतिक सम्पदाले गीतालाई शम्मी कपुरको नजिक पु¥याइदियो । त्यसो त यसअघि दुवैजनाले ‘मिस कोकाकोला’ मा सँगै अभिनय गरिसकेका थिए । रंगीन रातेंको छायांकनका दौरान एक–अर्कालाई प्रेम गर्न थाले । त्यसबेला गीता चर्चित कलाकार बनिसकेकी थिइन् जबकि शम्मी संघर्ष गर्दै थिए । शुरुमा शम्मी गीतासँग कुरा गर्नसमेत हिच्किचाउँथे तर गीताको सरल स्वभावले दुवै चाँडै साथी र प्रेमी–प्रेमिका बन्न पुगे । शम्मी बिहे गर्न हतारिए तर परिवारको बोझ आफ्नै काँधमा भएकाले शुरुमा गीता राजी भइनन् । मुम्बई फर्केपछि जवाफ दिउँला भनेर टारिन् । 

शम्मीले घर फर्केर सल्लाह गर्दा परिवारले मानेन । कारण मुख्य तीनवटा थियो, पहिलो कपुर खानदानमा त्यतिबेलासम्म कुनै कलाकार बुहारी भएर भित्रिएको थिएन । दोस्रो, गीता शम्मीभन्दा उमेरमा जेठी थिइन् । तेस्रो गीताले भावी ससुरा पृथ्वीराज कपुर र जेठाजुको हिरोइन भई चलचित्रमा काम गरिसकेकी थिइन् । शम्मीले बुवा पृथ्वीराज र दाजु राज कपुरलाई सम्झाउने धेरै प्रयास गरे तर सकेनन् । एकदिन गीताले बोलाइन् र भनिन्, ‘म बिहे गर्न तयार छु तर आजै गर्नुपर्छ ।’

शम्मी गीताको कुराले दोधारमा परे । संयोगले त्यो बेला कपुर खानदान पारिवारिक काममा गोवा गएको थियो । त्यसमाथि हाँस्य कलाकार जानी वाकरले शम्मीलाई परिवारलाई जानकारी नदिइकनै बिहे गर्न उक्साए । स्मरणीय छ, केही दिनअघि मात्र उनले पनि परिवारको सहमति नपाएपछि नूर (नूरजहाँ) लाई भगाएर बिहे गरेका थिए । वाकरको सल्लाहबमोजिम शम्मी त्यसैगरी बिहे गर्न राजी भए । त्यसदिन शम्मी र गीता एउटा होटलमा बसे र बेलुका मित्र हरि बालियासँग बाणगंगा मन्दिर पुगे । त्यहाँ पुग्दा निकै राति भइसकेको थियो र मन्दिरको ढोका बन्द भइसकेको थियो । पुजारीले बिहान आउन भनिदिए । शम्मी, गीता र हरिले रातभरि मन्दिरबाहिरै बिताए ।

अनि बिहान ४ बजे ढोका खुल्नेबित्तिकै पसे र स्वयम्वर गरे । पूजाआजा र सबै प्रक्रिया पूरा गरिसकेपछि पुजारीले गीतालाई सिन्दूर लगाइदिन भने तर उनीहरुले सिन्दूर, अबिर केही ल्याएका थिएनन् । के गरौं के गरौंै बीच गीताले ब्यागबाट लिपिस्टिक झिकिन् । शम्मीले सोही लिपिस्टिकले सिउँदो रंगाइदिए । पछि मात्र दुवैले आ–आफ्नो बिहे भइसकेको जानकारी दिए । यो दिन थियो– कुमाउँबाट फर्केको चार महिनापछि अर्थात् सन् १९४४ को अगस्त २३ ।

बिहेपछि गीताले शम्मीलाई कामप्रति गम्भीर बनाइदिइन् । शम्मीले मिहिनेत गरी चलचित्रमा काम गर्न थाले । नतिजा, सन् १९५७ मा प्रदर्शित चलचित्र ‘तुमसा नहीं देखा’ सुपरहिट भयो । शम्मीले एकपछि अर्को सफल फिल्म दिए । गीताले पनि चलचित्रमा काम गर्न छाडिनन् । बिहेपछि उनले १४ वटा चलचित्रमा अभिनय गरिन् । एउटा छोरा र छोरीको आमा बनिसकेपछि पनि अभिनयबाट पछि हटिनन् । यसबीच सन् १९६५ मा ‘तीसरी मञ्जिल’ को छायांकनको सिलसिलामा शम्मी मुम्बईबाहिर थिए, गीतालाई बिफर रोगले सतायो । केही हदसम्म रोगबाट मुक्ति त पाइन् तर अनुहार कुरुप बनिसकेको थियो । गीता अनुहार ऐनामा हेरेर रुने गर्थिन् । निराश हुन्थिन् । नतिजा बिहे गरेको १० वर्ष र उमेर ३५ वर्ष नपुग्दै कलिलो उमेरमै सन् १९६५ को जनवरी २१ मा निधन भयो । अन्त्येष्टि उनैको अन्तिम इच्छामुताबिक आफूहरुले बिहे गरेको वाणगंगा मन्दिरछेउमै गरिएको थियो ।

शम्मी गीतालाई औधी माया गर्थे । गीताको निधनपश्चात कति दिनसम्म खानै नखाई बसे । छायांकनमा जान बन्द गरे । पछि सन् १९६९ मा परिवारको दबाबमा भावनगरकी राजकुमारी नीला देवीसँग बिहे गरे, सन्तान नजन्माउने शर्तमा । नीला शम्मीको ठूला प्रशंसक हुन् । पछिल्लो दाम्पत्य जीवन ४४ सालसम्म चल्यो । शम्मीको निधन सन् २०११ मा भइसकेको छ ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top