​हामीले बाँडेको सपना नै हामीलाई गल्पासो बनेको छ


Saturday, 25 May, 2019 10:29 AM

  • कमल चौलागाईं, पूर्वमन्त्री/नेकपाका केन्द्रीय सदस्य 

चौम हुँदै जनमोर्चाबाट एमाले र एमाले फुट्दा (०५४) का माले कमल चौलागाईं ०५९ असोज १८ गते शेरबहादुर देउवाको सरकार अपदस्थ गरिएपछि गठित लोकेन्द्रबहादुर चन्दको सरकारमा श्रममन्त्री बने । त्यसयता उनको राजनीतिक सक्रियता केही फरक शैलीमा बढ्यो । अलग्गै राष्ट्रवादी दल गठन गरे । माओवादी शान्तिप्रक्रियामा आएपछि फेरि पुराना जनमोर्चाकालीन सहयात्रीसँग यात्रा शुरु भयो । र, गतवर्ष एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन हुँदा केन्द्रीय सदस्य भए, पूर्वमाओवादी केन्द्रको भागमा । त्यसै पनि कम्युनिष्ट संस्थापक पुष्पलाल, शहीद गंगालालहरुको भूमि रामेछाप कम्युनिष्ट आन्दोलनका लागि उर्वर छँदै थियो, त्यहीँका बासिन्दा कमल चौलागाईं, देवशंकर पौडेलहरु क्रियाशीलताले त्यहाँ कम्युनिष्ट विरासत टिकाउनमा ठूलो योगदान मिलेको मानिन्छ । अहिले सांसद छैनन् । पार्टी केन्द्रीय सदस्य (प्रस्तावित पोलिट्व्युरो) बाहेकका अरु भूमिकामा पनि देखिन्नन् । 

० नेकपाको एकीकरण टुंगिएको छ । यसलाई कसरी हेरिरहनुभएको छ ? 

– समाजवाद प्राप्तिको दिशामा अगाडि बढ्नका लागि जिम्मेवार भएर जानुपर्ने कुरा बोध भएर नै दुई ठूला कम्युनिष्ट पार्टी एकीकृत भएका हुन् । राजनीतिक रुपमा नेपालमा धेरै समस्या आए । आर्थिक उन्नति हुन सकेन । सुशासन भएन । अस्थिरताकै कारण वाह्य हस्तक्षेप तीव्र थियो । संगठनात्मक रुपमा भन्दा आ–आफ्नो स्कुलिङबाट आएका पार्टी समायोजन भयो । तर, यो माथिबाट गरियो । बीचको शून्यतामा जे–जे साँगठनिक, राजनीतिक क्षति व्यहोर्नुपरेको थियो, त्यसलाई यो एकताले क्रमशः पुर्ताल गर्दै लैजान्छ ।

० पार्टी एकतापछि कार्यकर्तामा जुन प्रकारको रौनकता आउनुपर्दथ्यो, त्यो देखिएन भन्छन् नि !

– एकता गर्ने र चुनावी तालमेलबाट अगाडि बढ्ने कुरा सुखद् हुँदाहुँदै पनि  आपसमा शंका र उपशंकाका ठाउँ रहिरहे । संगठनात्मक एकीकरण गरेर जाने कुरामा आएको बिलम्बले अन्यौलता सिर्जना गरेकै हो । अहिले जनसंगठनसम्म एकता भइसक्दा त्यो स्थिति रहेन । देशभरका नेता–कार्यकर्ता अहिले गर्दैछन् ।

०१९ सालसम्म एउटै कम्युनिष्ट पार्टी थियो । ४५ वर्षको विभाजनपछि मूलभूत रुपमा एकीकरणको प्रक्रिया शुरु भएको छ । एमालेको मूलआधार ०२८ सालको झापा विद्रोह हो । ०३१ सालको नेकपाको चौथो महाअधिवेशनको स्कुलिङबाट चौम आयो र त्यही पृष्ठभूमिमा माओवादी जन्मियो । लगभग ३० को दशकदेखि अलग–अलग धारबाट आएका दुई पार्टी अहिले एकीकृत हुनु आफैँमा सुखद् पक्ष हो । ४५ वर्षसम्म अलग अलग शैली, प्रणाली, चिन्तनबाट चलेका पार्टी रातारात समायोजन हुनु गाह्रो विषय हो । 

० जनसंगठन एकीकरणमा एकातिरको अध्यक्ष अध्यक्ष नै, अर्कातिरका अध्यक्ष दोस्रो हैसियतमा आएको कुराले अहिले पनि समस्या छ । यो कसरी हल हुन्छ ?

– कम्युनिष्ट पार्टीमा पद प्रधान हुँदैन । कार्यकर्ताका लागि भूमिका प्रधान हुन्छ । यो कुरा बुझेका साथीहरुले म तल परेँ, माथि परेँ भन्दैनन् । यद्यपि, हामीकहाँ विकास भएको पदमुखी संस्कारले केही प्रभाव पार्ने भइहाल्यो । भएको पद गयो भनेर केही चित्त दुखाई आएकै हुन् तर साथीहरुले कम्युनिष्ट संस्कार स्मरण गर्दै आफूलाई त्यसअनुरुप ढाल्ने क्रम पनि शुरु भएको छ । 

० दुई अध्यक्ष प्रणालीले पनि समस्या ल्यायो भनिन्छ नि !

– दुवै पार्टी एउटा चेन अफ कमाण्डबाट आउँदा कोहीले जिम्मेवारी छोड्नुपर्ने र कोही तल जानु स्वाभाविक हो । सँगै सुतेपछि खुट्टा लाग्छ, अलि अलि ‘घाच्च–घुच्च’ हुन्छ नै । 

० भनिएको थियो गुट अन्त्य गर्ने । तर एकीकरण हुँदा युवराज ज्ञवाली, राजेन्द्र राई (पूर्वअखिल), ठाकुर गैरेहरु शिकार भएको देखियो । यो राम्रो कुरा हो त ? 

– को, कसलाई गुटबाट फलिफाप भयो ? को गुटको शिकार भयो ? यस्तो विषयमा म जानकार छैन । पन्छिन खोजेको होइन कि, मलाई थाहै भएन । फेरि म १७ वर्षदेखि पूर्वएमालेका साथीहरुसँग सांगठानिक यात्रामा थिइनँ । व्यक्तिगत दुःख–सुुखका कुरा पार्टी यताउता हुँदा पनि चल्ने नै भयो । अबको समय यस्ता कुरामा अल्मलिने नै होइन । यदि त्यस्तो केही छ भने पनि समाधानमुखी चिन्तनका साथ अघि बढ्नुपर्छ । 

० तपाईं चौमबाट जनमोर्चा हुँदै एमाले, बीचमा राजाको मनोनयनअन्तर्गत लोकेन्द्र सरकारको मन्त्री पनि हुनुभयो । पछि माओवादी हुँदै मूलधारकै राजनीतिमा फर्किनुभएको छ । यो घुमाउरो बाटो किन ? 

– नेकपा चौम (माओवादीको जग) बाटै मेरो राजनीतिक करिअर शुरु भएको हो । बीचमा फुटेर चौम, मसाल र मशाल भए । विभाजनको श्रृंखला चल्दा ०५१ सालमा बलराम बाँस्कोटा, उर्मिला अर्याल, सावित्रा भुषालसहितका थुप्रै साथी एमाले प्रवेश ग¥यौँ । एमाले फुट्दा माले भयौँ । मालेबाट बाहिरिएका साथीहरुले प्रगतिशील मोर्चा बनाएका थियौँ । लोकेन्द्रबहादुरको सरकारमा म मन्त्री भएकै हो । संयुक्त राष्ट्रवादी शक्ति भनेर स–साना १९ वटा राष्ट्रवादी पार्टी एकीकरण गरी नयाँ पार्टी बनाइएकै हो । त्यसको अध्यक्ष मैँ थिएँ ।

कोही कांग्रेस, कोही माओवादी त कोही एमाले छोडेर आएका । यो चुनावभन्दा अगाडि हामी र नयाँ शक्तिका बाबुरामजीहरु मिलेर वक्तव्य जारी गरेका थियौँ । देशको स्थिरताका लागि वाम एकता जरुरी छ भन्ने हाम्रो धारणा थियो । यही बीचमा नेकपा माओवादी केन्द्रसँग एकीकृत भयौँ । देश बाह्य राजनीतिको चपेटामा परेर धेरै चिज गुमाएको अवस्था एकातिर थियो भने अर्कातिर निरंकुशतन्त्रका कारण राष्ट्र र जनता दुबै उत्पीडित भएर बसेका थिए । म यी सबै परिस्थिति र सन्दर्भमा नेपाली जनताको हक, अधिकार र स्वतन्त्रताकै लागि लडिरहेको छु ।

० यसरी पार्टी परिवर्तन गरिरहँदा आफ्नै व्यक्तिगत जीवनमा चाहिँ कत्तिको असर पर्दाेरहेछ ? 

– एउटा संग्लो पार्टीबाट आउने त थोरै छन् । धेरै साथीहरु एकीकरण, विभाजन, उताचढाव, विखण्डनकै प्रक्रियामा चलेका हुन् । अस्थिर हुँदा धेरै मान्छेको राजनीतिक जीवनमा उतारचढाव पनि हुन्छ नै !

० यो सरकारका मन्त्रीहरुको कार्यशैलीप्रति के टिप्पणी गर्नुहुन्छ ? 

– पञ्चायत फालेर बहुदल आएपछि यस्तो हुन्छ । बहुदल फालेर गणतन्त्र आएपछि उस्तो हुन्छ भन्यौं । तर, हाम्रो यथार्थ धरातल, भूराजनीतिक स्थिति, स्रोत–साधन, ऐतिहासिक पृष्ठभूमिलाई बिर्सेर मुलुकले तरक्की गर्न, जनताका अपेक्षा पूरा गर्न यति कठिन हुन्छ भनेर आंकलन गर्न सकेनौं । जनतालाई धेरै ठूला सपना बाँड्यौं । तर, धरातलचाहिँ बिर्सियौँ । हामीले बाँडेको सपना नै हाम्रानिम्ति गलपासो भएको छ । नेपाल भूपरिवेष्ठितभन्दा पनि भारतपरिवेष्ठित देश भयो । चीनले विकास गर्दै उत्तरको पर्खालसम्म आइपुग्दा सम्भावनाका ढोकाहरु खुलेका हुन् । कतिपय सुधार गर्नुपर्ने कुरामा सुधार गर्न सकेनौँ । परम्परागत शासकीय शैली बदल्न सकेनौँ ।

केन्द्रीकृत राज्य संरचनालाई संघीय संरचनामा लग्यौँ । प्रणाली र संरचनामा फेरबदल ग¥र्यौं । यसलाई संस्थागत गर्न समय लाग्यो । सरकार बनेको डेढ बर्ष त आधार बनाउनमै गयो । रिजल्ट यति छिटो आउँदैन । कर्मचारी समायोजनमा कति सकस भयो ! स्रोत र साधनको बाँडफाँटका कुरा छन् । अधैर्य भएर भन्ने कुरा होइन । यद्यपि शासकीय शैली सुधार भएन । हिजो ‘फू–मन्तर’ जस्तै सपना बाँड्नु गलत थियो । पाँच वर्षमा नयाँ ढंगको राज्य र शासकीय प्रणाली स्थापना गर्न खोजेका छौँ । त्यो पूर्वाधारमात्र राम्रोसँग सेटअप भयो भने धेरै प्रगति मान्छु । 

० आशावादी बन्ने ठाउँ  देख्नुहुन्छ ? 

– अन्तरिम संविधान जारी भएको अवस्था हेर्नुस् त, जातीय, सम्प्रम्भुताका कारण देश आजै हो वा भोलि नै विखण्डन हुने स्थिति थियो । त्यो बिस्तारै थिग्रिँदै गएको छ । अनुकूल हिसावले राष्ट्रिय एकता, सार्वभौमसत्ता मजबुत हुँदै गएको छ । भारतको एकाधिकार तोडिएको छ । चीनसँगको सम्बन्धमात्र होइन, वाह्य संसारसँग सम्बन्धको ढोका खुलेको छ । यद्यपि शासकीय शैली यो तालले हुँदैन । परिवर्तन हुनुपर्छ । पानी र बानी माथिबाट तल झर्ने हो । चिन्तन, सोच, शैली सबै माथिबाट तल सर्ने हो । माथि नै भद्रगोल भयो भने पवित्र उदेश्य पनि कागजमै मात्र सीमित हुन्छ । 

० के सुधार हुनुपर्ला ?

– जस–अपजसको दायित्व लिने सरकारले हो । छोराछोरीले राम्रो काम गरे गर्वले छाति फुल्ने अभिभावककै हो । गल्ती गरे सुधार्ने पनि अभिभावकले नै हो । सरकारले गलत काम गरेको छ भने पार्टीले करेक्सन गर्नुपर्छ । सरकार र संसद जनताप्रति जवाफदेही हुनुपर्छ । मन्त्रीमा अमुक–अमुक व्यक्ति छान्ने, भागभण्डा गर्ने प्रवृत्ति सुधार नभएसम्म शासन व्यवस्था पनि सुधँ्रदैन । भागबण्डाका आधारमा मन्त्री बनाउने अनि तिनका अपजसको भारी  पनि प्रधानमन्त्रीले नै बोकिदिनुपर्ने ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Top