​यो दुनियाँ कस्तो कस्तो, आमाकै मन ढुंगाजस्तो


Friday, 10 May, 2019 11:13 AM

एउटी आमाको मन कतिसम्म पत्थर हुन सक्छ ? बुबा निर्दयी भए पनि आमा त यस्तो नहुनुपर्ने । ढुंगाको हृदय भएका आमाहरू पनि हुँदा रहेछन् यही धर्तीमा । हो, त्यस्तै आमाको अभागी छोरी हुँ म । गह्रुंगो मन पारेर आमाको मुख हेर्ने औंसीको दिन पारेर बिसाउँदै छु तपार्इंसँग मनको यो भारी । मारवाडीकी छोरी हुँ । धेरैलाई लाग्दो हो मारवाडीका छोरी–चेली सुनमा जन्मिएर हीरामा हुर्किन्छन् । तर, सबैको ललाटमा कहाँ त्यस्तो लेखेको हुँदो रहेछ र ? आज पनि मधेसमा छोरा–छोरीबीच विभेदको पर्खाल कुन तहसम्म छ भन्ने एउटा उदाहरण हुँ म । छोरी भएर जन्मनु नै मेरालागि अभिशाप बन्न पुगेको छ ।

बुबा नाम चलेका व्यापारी । जन्मियौं दाजु र म । छोरालाई अर्कै प्रकारको व्यवहार हुन्थ्यो, मलाई अर्कै । एसएलसीपछि म पनि पढ्न चाहन्थें दाजुले झैं इञ्जिनियरिङ शिक्षा । तर, हुर्कंदै गरेकी एउटी चेलीको इच्छा र आकांक्षामाथि परिवारबाटै खुँडा चलाइयो । मनको कुनामा सँँगालेर राखेको थिएँ दाजुले झैं उच्च शिक्षा अध्ययन गर्ने रहर । पद्मकन्या कलेजमा भर्ना भएर उच्च शिक्षा अध्ययन गर्दै थिएँ, सरकारी कलेजमा पढ्दा कति नै खर्च हुँदो हो र ? तर, पिताजी मेरो कारणले कलेजमा यति पैसा डुब्यो, उति पैसा डुब्यो मात्र भन्नुहुन्थ्यो । बिहानै, दिउँँसै, बेलुकै एउटै कुराले टोक्न थालेपछि दिक्क लाग्ने । उहाँकै कारण मानसिक स्थिति ठीक भएन । सधैं एकै प्रकारको टोकसो भएपछि उहाँहरूबाट छुट्टै बसेर जीवन अगाडि बढाउन थालें । काम गर्न थालेँ । कार्यथलोमै एक जना जेन्स स्टाफ हुनुहुन्थ्यो, उहाँको बुबा सिकिस्त बिरामी भएर वीर अस्पतालमा राखिएको । म पनि पुगें । स्थिति हेर्दा मन थाम्नै सकिनँँँ । कोमल मन मैनझैं पग्लियो । दिन रात नभनी आफ्नै बुबा आमालाई झैं स्याहारसुसार गरें । त्यहाँ रहँदा हामीबीच प्रेमको टुसा अंकुराउन थाल्यो । जब दुई मनबीचको नेटवर्क मिल्छ तब कसैको रोकतोक हुने कुरै थिएन । यही बीचमा दसैं आयो । अफिस बिदा थियो । घर जाऊँ मन पलाउने ठाउँ थिएन । यतिका समय अलग्गै बसेर जीवनको रथ चलाइरहँदासमेत उहाँहरूले खोजखबर गर्नुभएको थिएन । त्यही कारण एकै प्रस्तावमा उहाँकै पछाडि लागेर गएँ बर्दियातिर । दसैंको टीकाको दिन त्यतैको मन्दिरमा रंगाइदिनुभयो मेरो सिउँदो । केही सोच्नै सकिनँँ । कसैसँग केही सल्लाह लिइनँँ÷लिइरहन आवश्यक पनि ठानिनँ । ‘हुन्छ’ भनी स्विकारें उक्त प्रस्ताव ।

एकअर्काबीच प्रेममा हुँदा जे भनियो ती सबै झुटा रहेछन् । समयक्रमसँगै भ्रमको पर्दा उघ्रिंदै गयो । आफू बाहुन गौतम भन्ने तर हुनुहुँदो रहेछ दलित परियार । त्यहींको ऐलानी जग्गामा एउटा झुपडी । आफैंबाट भएको गल्ती सम्झेर चुप लागें । रोएर हुने केही थिएन, कराएर पनि हुनेवाला केही थिएन । विवाहपछि पनि काम गर्न छाडेको थिइनँ । समयक्रमसँगै एउटा सन्तान (छोरी) को जन्म भयो । छोरीका लागि भए पनि बाँँच्नुपर्छ भन्ने सोच्न थालें । छोरी अलि ठूली भएपछि फेरि काम गर्न थालें । तर, आफूले सोचेजस्तो सहज रेखामा चलेन जिन्दगी । काँधमा थियो सन्तान हुर्काउने जिम्मेवारी तर उहाँले एक रुपैयाँ पनि देखाउन छाड्नुभयो । मासिक आएको तलब खाने, पिउने र उडाउने । बुबाआमा र परिवारबाट पीडा भोगेर भाग्दै हिँडेकी म झन् ठूलो पहाडमा आएर ठोक्किएँ । श्रीमान्बाट पीडा खेप्न बाध्य भएँ । सुधार्न लाख कोसिस गरें तर सबै प्रयास बालुवामा पानी खन्याएजस्तै भयो । उल्टै पिट्ने र दुव्र्यवहार गर्ने । मानसिक तनावको ग्राफ बढ्दै गयो । अर्काे बच्चा नजन्माउने निर्णय लिएको थिएँ तर कोखमा बच्चा आयो । फाल्ने कुरा भएन । छोरा जन्मियो । दोस्रो सन्तान पाएपछि स्वास्थ अवस्था झन् कमजोर हँुदै गयो । श्रीमान्को पुरानो बानी सुध्रिने छाँटकाँट कहिल्यै देखिएन । महँगो काठमाडौंले टिक्न दिएन । बर्दियातिर लागियो । त्यहाँ पुगेपछि थाहा पाएँ, सासूको मानसिक अवस्था एकदमै ठीक थिएन । जतिखेर पनि झम्टने, झर्कने । म आफैं त उनीसँग डराउँथे, मेरा बच्चाहरू बस्नसक्ने अवस्थै रहेन । छुट्टै कोठा लिएर बस्न थालें । यही बीचमा श्रीमान्ले अरूसँग ऋण गरी–गरी त्यही जग्गामा घर बनाउनुभएको थियो । त्यो ऋण तिर्न सक्ने अवस्था उनीहरूको थिएन । मेरो कामबाट आएको पैसासमेत लैजान्थे । एउटा जालबाट उम्केको मान्छे अर्काे जन्जालभित्र फस्दै गएँ । अर्थात् तावाबाट उम्केको माछा भँुग्रोमा जस्तो । केही जोर नलागेपछि अन्ततः आफ्नै काकालाई अनुनय–विनय गरी खबर पठाएँ, मलाई यो जालबाट निकालिदिनुहोस् भनी बिन्ती बिसाएँ । काकाले काठमाडौं लिएर आउनुभयो । श्रीमान्सँग टिकेर बस्न सक्ने अवस्था थिएन । माइती नेपालका केही अग्रजसँगको सल्लाह र सुझावमा छोडपत्रको आवेदन दिएँ । तर, वकिलहरूकै अगाडि श्रीमान्ले विषसेवन गर्नुभयो । अस्पताल लगेर पनि बचाउन सकिएन । अहिले सम्झन्छु । मन गहु्रंगो हुन्छ आफ्नै बुबा÷आमा र आफन्त बैरी भइदिँँदा, मैले भोगिरहेको सास्तीको पहाड सायद शत्रुले पनि भोग्नु नपरोस्, आफ्नै बुबाआमाबाट छिछि र दुरदुरको हालत कसैले भोग्नु नपरोस् । म फेरि एक्लो भएँ । जाने ठाउँ थिएन । बच्चा सानै । काम गर्नसक्ने अवस्थामा थिइनँ ।

यही शहरमा भेटिन्छन् उदार र मनकारी घरबेटीहरू । बसाइ कपन क्षेत्रमा थियो । घरबेटी अंकलले मेरो स्थितिलाई नजिकबाट बुझेर सकेको सहयोग गर्नुभयो । उहाँकै बोर्डिङमा बच्चा पढाउने काम पाएको छु । तर, बच्चा पढाएर कति नै तलब हात लाग्छ र ? बच्चा बिरामी हुँदा कति रात आफू भोकै बसेर उपचार गराएको छु । तनाव त जस्ताको तस्तै । बेला–बेला बुबाआमा, दाजु, आफन्त सम्झन्थें । आफ्नो जिन्दगी सम्झन्थें, हाय ! कहाँको म, कहाँ जान हिँडेकी ? जिन्दगीले ओरालै, ओरालो भीरको बाटोमा कहाँ लगेर एक्लै छाडिदियो । निर्झर जिन्दगी माथि हेर्दा ठाडो भीर देख्थें, तल हेर्दा भीरैभीर । बाँच्न मन फिटिक्कै थिएन तर थिए, दुई लालाबाला । तिनकै लागि भए पनि बाँच्नु छँदै थियो । तनावकै बीचमा एक दिन उनै अंकललाई ‘मलाई बाँच्न मन नलागेकाले बालबच्चालाई कुनै अनाथालयमा लगिदिनुहोला’ यति टेक्स्ट गरी विषसेवन गरेकोसम्म याद छ । होसमा आउँँदा ओम अस्पतालको बेडमा पाएँ । मलाई बचाउन अंकलले कुनै कसर बाँकी राख्न्ुाभएन । यी कहाँको अंकल, मलाई आफ्नै छोरीभन्दा बढी हेरचाह ख्याल गर्नुहुन्छ तर आफ्ना बुबाआमा ? रुन मन लाग्थ्यो तर त्यसका लागि आँखामा आँसु नै कहाँ बाँकी थियो र ? कुनै दिन यो छोरीलाई सम्झेर बुबाआमाको आँखाबाट आशु अवश्य आउनेछ । मलाई यति धेरै दुःख व्यथा र पीडा दिनु थियो भने नजन्माएको भए नि हुन्थ्यो नि आमा ! कहिलेकाहीँ प्रश्न सोध्न मन लाग्छ । अहिले मनले भन्छ, बुबा÷आमा र आफन्तलाई देखाउनका लागि पनि मैले बाँच्नै पर्छ । बुबाआमा, तपाईंहरू सुखसँग रहनु, तपाईंकी छोरी सधैँ सुखी छे । मनभरि पीडाको भारी बोकेर पनि हाँसिरहन्छे ÷बाँचिरहन्छे ।

– कृति केडिया, हाल : कपन 


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top