​कहाँनेर चुके बाबुराम कमरेड


Friday, 10 May, 2019 10:47 AM

  • बिदुर खड्का

नयाँ शक्ति नेतृत्वको निर्णायक तहमा रहेका देवेन्द्र पराजुली, कल्पना धमला, रामरिझन यादव, कृष्ण शर्मा, करिष्मा मानन्धरलगायत एकीकृत पार्टीका पदाधिकारीमा नसमेटिकनै बाबुराम नेतृत्वको घनघोर नयाँ वैकल्पिक राजनीतिक शक्ति उपेन्द्र यादवको क्षेत्रीयतावादी मधेशवादी पार्टी फोरममा एकाकार हुन पुगेको छ । 

जसरी २०७२ साल असोज ३ गते संविधान घोषणा भएपछि त्यसको एकहप्तामै एनेकपा (माओवादी) का वरिष्ठ नेता बाबुराम कसैसँग छलफलै नगरी पार्टी परित्याग गरेको घोषणा गरेर हिँडे, त्यसले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरिदियो । माओवादी आन्दोलनको सफलतासँग उनको व्यक्तित्व जोडिएको थियो । जनताका छोराछोरीको बलिदान र उहाँ जस्ता हज्जारौं नेताको कुशल नेतृत्वका कारण विशाल जनताको मायो पाएको विशाल पार्टीको शक्तिशाली नेता थिए उनी । तर पार्टी त्याग्ने बेलामा एक्लै जानुले उनमा पार्टीको कारण आफू नेता भएको भन्दा पनि आफ्नो पिएचडीका कारण पार्टी सफल भएको भ्रम रहेछ भन्ने प्रमाणित भयो । पछिल्ला दिनका हरेक भाषण र अभिव्यक्तिमार्फत् यो स्पष्ट व्यक्त हुन थाल्यो । 

यही सोंचका कारण आफू मात्रै बाहिरिने, कुनै पनि दलका नेता कार्यकर्ता ¥याण्डम्ली नलिने, सबै दलका पपुलर नेता जस्तो गगन थापा, प्रदिप गिरि, घनश्याम भुषाल, चन्द्र भण्डारी, रामकुमारी झाँक्री, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतलाई लिने भनेर उनीहरुलाई निरन्तर फलो गर्न थाले । यसका साथै, अवकाशप्राप्त कर्मचारीहरु लीलामणी पौडेल, रामेश्वर खनाल, भाइराजा पाण्डे, मदन राईलगायत अरु केही दर्जनलाई रोजे । ऋषभदेव भट्टराई, गणेश राईलगायतलाई फलो गरे । एनजिओकर्मीहरु दुर्गा सोव, लिली थापा, कमला हिमचुरी, सुनिता मोरिक डोमलगायतलाई टिपे र कस्मेटिक पात्रहरु कलाकारहरु करिष्मा मानन्धर, अशोक शर्मा, सरोज खनाललाई समेटे । उनीहरुलाई लिएर केही ठाउँमा केही चरण छलफल चलाए । र, उनीहरुलाई नै राखेर नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरे । यो समयसम्म केन्द्रीय समितिमा उनीबाहेक कुनै पनि माओवादी नेता लिष्टमा थिएनन् । यसरी माओवादीका सबै नेता, कार्यकर्तासँग उनको मोहभंग भइसकेको स्पष्ट देखिन्थ्यो । तर उनैले सबैभन्दा बढी विश्वास गरेका लीलामणी पौडेल उनको पार्टीमा नबस्ने बताएर चीनको राजदूत खान हिँडे । गगन, झाँक्री, विष्ट, गिरि, भुषाललगायतले मुस्कानसहितको सहानुभूतिबाहेक अरु दिन सकेनन् । संविधानबिरुद्ध मधेसमा उठेको आन्दोलन र जनजाति आन्दोलनलाई झ्याप्प नेतृत्व दिएर एकाएक हिरो बन्ने सपना पनि जनकपुरमा मञ्चसँगै जल्यो । यसमा मित्रशक्ति भारतले पनि खुलेर बचाउ गर्न सकेन । किनकि योद्धाले लंगडोभन्दा पनि तगडा घोडालाई माया गर्छ । मधेसमा मधेसवादी उपेन्द्रहरु नै तगडा सावित भइरहेका थिए । उनले बनाउन खोजेको राम्राहरुको समिकरण पनि तुहियो । त्यसपछि मात्रै माओवादीमा रहँदा गुटलाई ज्यान दिएर समर्थन गरेका केन्द्रदेखि तलसम्मका नेता र कार्यकर्तालाई आफूसँग आउन आह्वान गरे । दशैं र तिहारबीच सबै बाहिरी प्रयासमा असफल सिद्ध भएपछि मात्रै मंसिर ७ गते एस.आर. पार्टी प्यालेसमा ‘मर्ता क्या नहीं कर्ता’ को अवस्थामा नयाँ शक्ति निर्माण अभियान भनेर पार्टी निर्माण प्रकृया थाले । देशैभरिबाट हजारौं माओवादी र अन्य राजनीतिक दलका मानिसले नयाँ शक्तिलाई दिल खोलेर साथ दिएका थिए । २०७३ सालको पार्टी घोषणा कार्यक्रममा रंगशालाको जनसहभागिताले यो स्पष्ट पार्दछ । 

माओवादीबाट आएका आफू इतर देवेन्द्र पौडेल, रामचन्द्र झालगायतसँग भिडाउन राजनीतिक क्षेत्रमा ऐंजेरुको रुपमा रहेका डम्बर खतिवडा, केशव दाहाल र मुमाराम खनालजस्ता पात्रहरुलाई ल्याएर शक्तिशाली स्थानमा राखे । उनीहरुलाई राम्रा, नयाँ भिजन भएका भन्दै देवेन्द्र पौडेलहरुलाई पछि हटिदिन निर्देशन दिन थाले बाबुराम । मदन राई र केशवहरुले जनयुद्ध लडेका नेताहरुलाई ‘ओई, हिजो तिमीहरु त आमा, दिदीबहिनीहरुसँग पनि सँगै सुत्थ्यौ रे, है’ भन्दै बैठकमै उपहास गर्दासमेत बाबुरामले त्यस्तो हुन नदिनुको साटो लाचार भएर उल्टै झन महत्वपूर्ण जिम्मा दिन थाले । उनले यसरी नै झगडामा खेल्न खोजिरहे । जसका कारण रामेश्वर खनाल, सरोज खनाल, अशोक शर्मा, सुरेन्द्र चौधरी, मुमाराम खनाल, महेश कर्मोचालगायतले पार्टी छाडिदिए । क्यानाडाको बैकल्पिक पार्टीबाट पैसा ल्याएर नेपालका तारे होटलहरुमा बैकल्पिक शक्तिको तालिम चलाउने खिमलाल देवकोटा पनि निश्कृय बसे । पछिल्लो समय आइन् गंगा चौधरी । सांसद थिइन् चुरीफुरि चर्को । २०७४ सालको चुनावमा उनैको पार्टीको नाममा टेकेर निर्वाचन आयोगमा चिन्ह लिन समय गुजार्नाले स्वतन्त्र वा अरु कसैको चिन्हमा लड्नुपर्ने बाध्यता बन्यो । उपेन्द्र यादवले आफूले छाडेका स्थानमा नयाँ शक्तिलाई आफ्नो चिन्हमा उठ्न दिने सहमति भएपछि स्थानीय चुनावमा मशाल चिन्ह बोकेर भिड्ने काम भयो । यसैबेला उपेन्द्र यादवसँग पार्टी एकताको सघन बहस पनि भयो । कार्यकारी अध्यक्ष को बन्ने भन्नेमा कुरा नमिल्दा एकता टरेको थियो । 

प्रचण्ड नेतृत्वले पार्टी, आन्दोलन, जनता र परिवर्तनको भावना अनुसार काम गर्न सकेन, जानेन भनेर नयाँ ढंगले त्यसलाई सम्पन्न गर्न झन नयाँ र राम्रो संगठन बनाई त्यो काम सम्पन्न गर्न हिंडेको बाबुरामको टिम स्थानीय चुनावसम्म पुग्दा उपेन्द्र यादवको दयाको पात्र बन्नु प¥यो । 

तावाबाट उफ्रिएको माछो भुँग्रामा भनेझैं माओवादी पार्टीभित्र गुटको पेलाईमा काम गर्न नपाएका, राजनीतिक स्थान नपाएका नेता, कार्यकर्ता नयाँ शक्तिमा पनि बाबुरामका नयाँ र उरन्ठेउला बूढामान्छेहरुबाट झन बढी अपहेलित भए । २०७४ श्रावणमा फेरि अर्कोपटक उपेन्द्रसँग एकताको प्रयास भयो । त्यो पनि पद नमिलेकै कारण सम्भव भएन । यसरी राजनीतिक अकर्मण्यतामा रुमल्लिनुभन्दा बरु आफूले जीवनभरी काम गरेको, रगत पसिनाले सिञ्चेको तथा हज्जारौं शहीदको बलिदानले बनेको पार्टीभित्रै यति धेरै अपमान छैन, भए त्यहीं जुधौंला भन्ने भावना पैदा हुनथाल्यो । कुराकानी भयो । बाबुरामकै नेतृत्वमा अब माओवादी आन्दोलनमै फर्किनुपर्छ भनेर बहस चल्यो । बाबुराम कुनै पनि हालतमा नफर्किने अड्डीमा रहे । उनलाई केशव, डम्बर, मदनलगायत केही ऐंजेरुहरुले जेलेर उम्कन दिएनन् । उनको त्यो उल्झन प्रचण्डसँगको इगो र अध्यक्ष नपाएको झोंकभन्दा बढी केही थिएन भन्ने कुरा असोज १८ गते एमाले र माओवादी चुनावी तालमेलका लागि राष्ट्रिय सभागृहमा भेला हुँदा टुप्लुक्क पुग्नुले पुष्टि गरेको थियो । पछि गोरखा १ नम्बर चुनावी क्षेत्र नपाएको निँहु बनाएर तालमेलबाट भागे । हामीलाई थाहा छ, त्यो चुनावी तालमेलसँगै जोडिएको पार्टी एकताको चर्चाबाट त्यहाँ भएका धेरै नेता कार्यकर्ता कति उत्साहित भएका थिए । ऐंजेरुहरुमध्ये केशवलगायत केही उनीहरुलाई सुहाउने रविन्द्र मिश्रको क्लबमा छिरिसकेका छन् । 

यसरी न बाबुरामले नयाँ केही गर्न सके, न नयाँ बनाउनै सके । कोसिस नै गलत नियत र तरिकाले गरे । बन्नै लागेको सालाखाला पार्टीलाई पनि आफैंले भताभुंग बनाए । तितरबितर बनाएर दशतिर लाखापाखा लगाए । देवेन्द्र पौडेल, कुमार पौडेल, रामचन्द्र झा, परशुराम तामाङ, रामकुमार शर्मा, महेन्द्र पासवान, वामदेव क्षेत्री, पाशाङ शेर्पालगायत दर्जनौं नेता माओवादीमा ध्रुवीकृत भए । अहिले प्रचण्डभन्दा उपेन्द्र यादवलाई प्रगतिशील देख्ने उनको दृष्टिकोणमै दोष रहेको स्पष्ट भएको छ । 

आफूलाई एक मात्रै भिजनरी नेता ठान्ने उनले पार्टी सधैं आफ्नो लाइनमा चलेको तर नेतृत्व नपाएको गुनासो गरिरहे । लाइनमा लाग्ने नेताले उनको रक्षाको लागि ज्यान दिए पनि तिनको राजनीतिक रक्षामा उनी सधैं मौन रहे । परिणामस्वरुप उनलाई जीवनभरी साथ दिएका नेताले क्रमशः साथ छाडे । उनी नयाँ र वैकल्पिक त बनेनन् नै, एउटा असल राजनीतिक नेतृत्वसमेत बन्न सकेनन् । 

जतिसुकै शब्दका फूलबुट्टा भरे पनि प्रचण्ड–ओलीको पार्टीभन्दा उपेन्द्र यादवको पार्टी प्रगतिशील र अग्रगामी किमार्थ होइन । किनकि क्षेत्रीय, जातीय संकिर्णता बोकेको पार्टीभन्दा राष्ट्रिय चरित्र बोकेको तथा समाजवादका सानातिना कुरा नै किन नहोस् लागु गर्न खोज्ने नेकपा अझै पनि धेरै मानेमा अग्रगामी, प्रगतिशील र वैकल्पिक शक्ति हो । यो कुरा छर्लङ्ग छ । आगामी घटनाक्रमले पनि पुष्टि गर्नेछ । 


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top