​ढोँगीले गर्दा माक्र्स बाजे त ढपक्कै


Friday, 26 Apr, 2019 12:13 PM

  • श्याम रिमाल

सरकार सञ्चालन गर्ने पार्टीको एकीकरण नहुनाले कार्यकर्ता भौँतारिरहेका बेला र जनतामा पार्टीका विचार र कार्यक्रम शून्यप्रायः भएका बेला सरकार र पार्टीका नेताहरू कहिले धार्मिक कार्यक्रम त कहिले पर्यटकीयस्थलमा आत्मिक शान्ति खोज्दै हिँडिरहेको देख्न र पढ्न पाइन्छ । राष्ट्रप्रमुख दुर्गा र सरकार प्रमुख बालगुरुहरूको शरण परेका घटना हालैका दिनमा देखिएकै हो । हुन त मुलुकमा धार्मिक विचार राख्नेहरूको थुप्रै झुण्ड झुण्ड छन् र तिनमाझ पनि पार्टीका विचार तथा कार्यक्रम पुग्नुपर्ने हुन्छ चुनावमा मत प्राप्त गर्न तर कम्युनिष्टहरूलाई धर्मभिरुहरूले मतदान गर्ने कमै सम्भावना छ । भन्नलाई धर्मनिरपेक्षता भनिए पनि हिन्दू धर्मको बाहुल्य भएको नेपाली समाजमा सरकार प्रमुख, राष्ट्र प्रमुख तथा पार्टीका नेतृत्वहरू हिन्दू धर्मकै कार्यक्रमहरूमा बढी हिँडेको देखिन्छ । प्रायः हिन्दू धर्मावलम्बीले चलाउने विक्रम संवत्को नयाँ वर्ष, तीज, कृष्णाष्टमी, दशैँतिहार, शिवरात्रि, फागूपूर्णिमा, रामनवमी जस्ता पर्वमा शुभकामना सन्देशका साथै सम्बन्धित धार्मिकस्थलमा राष्ट्र र सरकार प्रमुखले भ्रमण पनि गरेका छन् । उनीहरू इसाई धर्मावलम्बीको मस्जिदमा नमाज पढ्न गएको वा बौद्ध धर्मावलम्बीको बौद्ध स्तूपमा बुद्धवन्दना पढ्न गएको विरलै सुनिन्छ । 

मुलुक धर्मनिरपेक्षतामा प्रवेश गर्नुको अर्थ हो राज्यको कुनै धर्म हुँदैन । पहिले थियो, नेपाल हिन्दू र राजतन्त्रात्मक मुलुक । त्यतिबेला अरु धर्मावलम्बीले पनि आआफ्नो धर्म स्वतन्त्रपूर्वक मनाउन पाउँथे । खालि हिन्दू मुलुक भन्ने शब्द वा शब्दावलीले मात्र उनीहरूलाई घोचिरहन्थ्यो र आफूहरू अपमानित भएको महसुस गर्थे । विश्वमा इस्लाम, बौद्ध र इसाई धर्म भनी घोषित भएका मुलुक पनि छन् जस्तो पाकिस्तान, माल्दिभ्स, बङ्गलादेश इस्लाम धर्मावलम्बी, भुटान बौद्ध धर्मावलम्बी, अर्जेन्टिना, माल्टा, डेनमार्क, बेलायत, ग्रीस, जाम्बिया, मोनाको, भ्याटिकन सिटी आदि घोषित इसाई मुलुक हुन् । विश्वकै एक मात्र हिन्दू राष्ट्र नेपालको पहिचान लोकतान्त्रिक आन्दोलनको सफलतापछि पुनस्थापित संसद्ले विसं २०६३ जेठ ४ गते खारेज गरिदियो । खासमा आन्दोलनको माग धर्मनिरपेक्षता नभएको हिन्दू राज्य पक्षधरहरू जिकिर गर्छन् । धर्म अफिम हो भन्ने कम्युनिष्टहरूकै लाममा लागेर नेपाली काँग्रेसले त्यसलाई समर्थन गरेको थियो । हाल पार्टीका महामन्त्री शशाङ्क कोइराला, लक्ष्मणप्रसाद घिमिरे, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी आदि(खुमबहादुर खड्का पनि जो दिवङ्गत भए) ले यदाकदा हिन्दू धर्मको पक्षमा वा धर्मबारे जनमतसङ्ग्रह गर्नेबारे बोले पनि त्यो मतको कुनै निश्चित स्वरूप देखिएको छैन । हिन्दू पक्षधरको मत तान्ने वा पार्टी ठूलो बनाउने उद्देश्य मात्र त्यस विचारको देखिन्छ । राप्रपाका तीन समूह हिन्दू धर्म पक्षधर देखिए पनि त्यो उनीहरको विचार निकै परिवर्तन भइरहेको छ । भाजपा र भाजपा नेतृत्वको भारत सरकारले नेपाललाई हिन्दू धर्म बनाउनुपर्छ भन्ने स्पष्ट सुझाव सार्वजनिक रूपमा दिएको पाइन्न भला भारतीय केही हिन्दू गुरु, स्वामी तथा पण्डितहरूले बेला बेलामा बोले पनि । 

एकताका भैंसीपूजामा संलग्न भएको भनी व्यापक प्रचार गरिएका पुष्पकमल दाहालमा पनि धार्मिक भावना प्रबल देखिन्छ । प्रधानमन्त्री भएपछि दुर्गा र शिवको महिमा गाइएको शुभकामना सन्देश उनका नाममा जारी गरिएको थियो । माधवकुमार नेपालमा पनि धार्मिक भावना देखिन्छ भने झलनाथ खनाल हालै भारतको केरलामा एक आश्रममा प्रमुख अतिथि भइगएका थिए र उनले नेपालमा पनि सो आश्रमका गतिविधि जस्तै क्रियाकलाप सञ्चालन गर्नका लागि पहल गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । मनमोहन अधिकारी नेतृत्वको पहिलो वामपन्थी सरकारका शिक्षा, संस्कृति तथा समाजकल्याणमन्त्री मोदनाथ प्रश्रितले धोती फेरेर कुनै भौतिक संरचनाको शिलान्यास गरेको वा धार्मिक कार्यक्रममा सरीक भएको कुरा अहिले पनि बारम्बार चर्चामा ल्याइन्छ । के चीन वा उत्तर कोरियाका राष्ट्रपति पनि धार्मिक क्रियाकलापमा सरीक हुन्छन् ? के भारतका कम्युनिष्ट नेताहरू सीताराम यचुरी र प्रकाश करात महायज्ञमा गई चरु होम्छन् ?

आखिर कम्युनिष्ट नेता र तिनको सरकार वा राष्ट्रप्रमुखले धार्मिक क्रियाकलापमा सरीक भई आफूमा निहित धार्मिक भावनाको सन्देश बारम्बार प्रसारण गरिरहनाको अर्थ के हो ? परत्र त फापेकै छ, धार्मिक क्रियाकलापबाट परत्र पनि सपार्ने उनीहरूको मनसुबा हो कि ? नभए माक्र्सवाद लेनिनवाद वा ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादबारे कार्यकर्ताहरूलाई लैस गराउन अग्रसर हुनुपर्ने होइन र ? पार्टीमा प्रवेश गरेका विभिन्न विचारका मानिसहरूलाई पार्टीको नीति तथा कार्यक्रम र सिद्धान्तबारे घोकाउनुपर्ने, रटाउनुपर्ने वा कण्ठस्थ पार्न लगाएर सोहीअनुसारको क्रियाकलाप गर्न प्रोत्साहन गर्नुपर्ने होइन र ? बाबुआमाको निधनमा वर्षभरि सेता कपडा लगाएर बर्खी बार्ने नेता, बुद्धिजीवीहरूले आफूलाई माक्र्सवादी भन्न मिल्छ ? कम्युनिष्ट नेताहरूबाट भारतको तीर्थाटन पनि बेलाबेलामा हुने गरेको छ । सरकारी भ्रमणमा तिरूपति बालाजीको भ्रमण पनि परेको देखिन्छ । जनवादी विवाह गर्ने कमरेडका छोराछोरी जग्गे बनाएर लगनगाँठोमा कसिएको पनि देखिएकै छ । छोराछोरीको विवाहमा दुनियाँले देख्नेगरी हजारौँलाई निम्ता गरेको पनि स्पष्टै छ । 

बौद्धमार्गीबाट माक्र्सवादी बनेका राहुल सांकृत्यान भन्छन्, “गरीबहरूको सबभन्दा ठूलो दुश्मन धर्म र ईश्वर हो ।” धर्म र ईश्वरको डरले नै ती धनी अर्थात् शोषकहरूसँग लड्न सक्दैनन् । ईश्वरले नै मानिसलाई गरीब र धनी बनाएको हो भन्ने सामन्ती र पँुजीपतिले रटान लगाएका कुरा गरीबका मनमा परेको छ । धनीहरू ईश्वरका दूत हुन् भन्ने भान परेको छ तिनलाई । धनीहरू मन्दिर बनाउँछन् र गरीबलाई त्यसमै भुलाइरहन्छन् अनि आफू शोषणका अनेक जाल बुन्न भ्याउँछन् । कम्युनिष्ट नेताहरूलाई यी सबै थाहा नभएको कहाँ हो र ? तैपनि ती धनीहरूको सेवामा आफूलाई लगाएर तिनबाट पैसा झार्छन् र चुनावमा खर्च गर्न पाउँछन् अनि चुनाव जित्ने मौका पाउँछन् । घनश्याम भुसाललाई यही डर छ पैसाले जितिने चुनाव कति दिगो होला ? के विष्णुप्रसाद पौडेलले करोड खर्च नगरी चुनाव जिते होलान् ? के प्रचण्डले ठेकेदार विक्रम पाण्डेसँग लड्दा सुख्खा चिउरा मात्र चपाए होलान् ? कम्युनिष्टको धर्म भनेको सामन्ती र पँुजीवादीसँग लड्न वर्ग हतियार साँधिरहनु हो, सिद्धान्तले लैस भइरहनु हो । सरकारमा पुगेका कम्युनिष्टले जनजीविकाको पक्षमा काम गरिरहनु हो, गरीबलाई विपन्नताबाट माथि उठाउनु हो । धर्म, भजनकीर्तन, महायज्ञ, धार्मिक अनुष्ठान, पूजापाठ, देवीदेवताका जन्मदिन, टीकाप्रसादबाट परै रही धर्मभीरु र धर्मले बाँधिएकाहरूलाई भौतिकवादी पाठ पढाएर कम्युनिष्ट बनाउन सक्नु कम्युनिष्टको खुबी हुनुपर्छ । तिनले तन्त्रमन्त्र, दैवीशक्ति र अज्ञात शक्तिको व्याख्या हैन सुख र समृद्धिको व्याख्या गर्न सक्नुपर्छ । चटक र इन्द्रजालको खेललाई बुझ्न सक्नुपर्छ । साम्यवाद ईश्वरका भजनले आउन सक्दैन ।

 


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top