​‘बटालियन’ को यात्रा, त्रास र गाउँको बास


Friday, 26 Apr, 2019 12:12 PM

  •  लक्ष्मी पुन

केही दिनअघि म गृहजिल्ला रुकुम पुगेकी थिएँ । सदरमुकाम खलंगाको बागबजारबाट दिउँसो २ बजेतिर बस चढेँ । अगाडि ‘बटालियन’ लेखेको सिस्ने यातायातको बसमा यात्रा गर्दै थिएँ । विभिन्न ठाउँ रोक्दै सोलाबाङ हुँदै झुलनेटा पुग्यो । त्यहाँ, १५ मिनेटजति रोक्यो । ८–१० वटा खसी राख्यो । खलासीले बसभित्रको बीचको कोलियाको पनि भरपुर उपयोग गर्दै २५ जति घिउका बाकस पनि साँचेर राखे । यात्रु मुख बिगारिरहेका थिए । ‘हामी कसरी बाहिर–भित्र गर्ने त !’ एक जनाले भने । खलासीहरूले नसुनेझैं गरेर अगाडिको सिटमा आएर बसे । त्यसपछि डाँगी मोड हुँदै, सल्यानको बांगे लाँकुरी पुग्यौँ । बस रोकियो । प्रहरीका एक जना शर्मा थरका सय हाम्रो बसकै अगाडि आएर उभिए । ‘खसी–बोका हालेको छ ?’ उनले खलासीलाई सोधे । खलासी चुप लागेपछि, डिकी खोल्न निर्देशन दिए । सानो खलासीले खोले, ठूलो चेक पोष्टतिर लागे । उनले सबै खसीबोका निकाल्न लगाए । मेरा लागि यो ठूलो परिवर्तन थियो । त्यसैदिन मात्र हो कि सधैँ कडाइ हुन्थ्यो, थाहा भएन । पहिले यसरी चेक भएको बिरलै देखिन्थो । खुशी लाग्यो । प्रत्येक खसीको पाँच सयको दरले बस मालिककोे अतिरिक्त कमाइमा घाटा लाग्यो । ती निरीह प्राणी काठमाडौं नपुग्दै तातेको फलामको डिकीभित्र भोकै निसास्सिएर मर्ने भएनन् यसपालि । तर, राजधानीलगायत ठूला शहरमा मरेका खसी बाख्रा ओसार्ने चलन छ । कसले रोक्ने ? डिकी बाख्रा राख्ने ठाउँ हो र ?

बिहान ३ बजेतिर कतै रातिको खाना खुवायो । म झरिनँ । कतिले खाए, कतिले खाएनन् । अर्को दिन बिहान एक ठाउँ खाजा खान रोक्यो । दिउँसो नौबिसेमा खाना खायौँ । प्रायः एउटा होटल मात्र भएको स्थानमा बस रोक्ने गर्छन् । यस विषयमा नियमन हुँदैन । यो नियमविपरीत हो । यात्रुसँग अन्य होटलको विकल्प हुँदैन, स्टाफहरूलाई होटल साहुबाट कमिसन लिन पनि सजिलो; मिठो खाना त छँदै छ । आखिर महँगो शुल्क यात्रुहरूबाट पूर्ति भइहाल्छ । होटलमा अगाडि देखिने गरी मूल्यसुची पनि राखिएको हुँदैन । जति चर्को मूल्य उठाए पनि भयो । चेकजाँच र छड्के निरीक्षण हुँदैन । खाना पनि प्रायः बासी हुन्छ । धार्केमा खाना खायौं । नौबिसेको उकालो लाग्ने बेला बस घचक्क राकियो । खलासी भन्न थाले, ‘पेट्रोल सकियो कि क्या हो’ । हो रहेछ । खलासी कुदेर पेट्रोल लिन गए । एक घण्टामा लिएर पम्पबाट लिएर आए । र, यात्राले निरन्तरता पायो ।
रुकुममा यातायात सिन्डिकेट २०७३ तिर तोडिएको हो । त्यसअघि काठमाडांैका लागि एउटा रात्रिबस मात्र थियो । चौरजहारी र सल्लेमा दुई वटा हवाई अड्डा छन् । सबैको हैसियतले दिँदैन । आज भोलि दैनिक चार वटा बस काठमाडांै आउँछन् । यसो भयो भने भाडादरमा यात्रुलाई सुविधा हुन्छ । उनीहरूले आफ्नो समयअनुकूल गाडी पनि रोजेर चढ्न पाउँछन् । रुकुमबाट बिस–बाइस घण्टामा काठमाडौं पुगिन्छ । सिन्डिकेटले यात्रुलाई भेडाबाख्राझैं बनाउँछ । बसका मालिक र स्टाफका कुरा सर्वोपरि हुन्छन् ।

उनीहरूकै अधिनायकवाद र एकछत्र शासन चल्छ । यात्रुको कुराको कुनै सुनुवाइ हुँदैन । सिन्डिकेटवालाको स्वीकृतिबिना कुनै पनि नयाँ सञ्चालकले गाडी हाल्न सक्दैन । आजभोलि अर्को एउटा कुरा हटेको छ । बसमा मुढा राखेर यात्रु कोचेर लाने गरिँदैन । सिटभन्दा बडी यात्रु राख्नु नियमविपरीत हो । चाडपर्वका बेला अधिकांश दुर्घटनाको कारण यस्तै हुन् । सार्वजनिक यातायातमा मध्यम वर्गीय, निम्न आयस्रोत भएका मानिस र विद्यार्थी प्रायः चढ्ने भएकाले भाडादरमा निकै ख्याल पु¥याउनुपर्ने हुन्छ । बसभित्र अगाडिपट्टि भाडाको दररेटको सूची राख्नुपर्छ । यी कुराको छड्के निरीक्षण हुँदैन । त्यसैले दूरदराजमा निजी सञ्चालकको मनपरी चल्छ । कुनै समय केही यात्रु हिँडाएर लाने र ट्रेफिक पोस्टबाट अलि पर पुगेपछि चढाउने चलन थियो । सञ्चालकले बुझ्नुपर्ने कुरा के छ भने यातायात नितान्त नाफाका लागि मात्र नभई सेवामूलक पनि हो । त्यसैले सरकारी सवारीसाधनको निकै आवश्यकता छ, नेपालमा । सरकारले कतै यो अभ्यास शुरु गरे राम्रो प्रभाव पर्ने थियो । यात्रु बढी बटुल्ने धुनमा उनीहरूले समयको पनि ख्याल गर्दैनन् । लामो रुटको गाडी बेलाबखत लोकलमा परिणत हुन्छन् । छिमेकी भारतका विभिन्न स्थानमा राज्यले सञ्चालन गरेका सवारीसाधन समयमा गुडेको देखिन्छन् । एक मिनेट पनि कुर्दैन । अर्को तैनाथ हुन्छ । गरिब राष्ट्रमा सरकारी सवारी सञ्चालनमा तत्कालै ल्याउन नसके पनि राज्यले निगरानी भने गर्न जरुरी छ ।

अर्को कुरा लामो दूरीको यात्रामा दुर्घटना हुनुको कारण एक जना मात्र चालकले गाडी हाँक्नु हो । जबकि दुई जना अनिवार्य हुनुपर्छ । एकै जनाले शुरुदेखि अन्तिमसम्म हाँक्दा, निद«ाका कारण मानवीय त्रुटिवश दुर्घटना हुन सक्छ । 

प्रायः पहाडमा राम्रो अवस्थामा गाडी हुनुपर्नेमा, झन् पुराना थोत्रा गाडी सञ्चालनमा ल्याइएको पाइन्छ । लामो दूरीमा सर्र्वसाधारण चढ्ने गाडी प्रायः फोहोर हुने गरेको हुन्छ । सिट र पर्दा मैला हुन्छन् । बसभित्र डस्टबिन राख्नुपर्छ । हामी यात्रुले पनि सरसफाइबारे ख्याल पु¥याउन आवश्यक छ । साझा साधनले प्रदूषण घटाउन सहयोग गर्छन्; किनभने धेरै साना व्यक्तिगत गाडीको सट्टा एउटै बसले काम चलाएको हुन्छ । बसले पनि यात्रुलाई आपतकालीन उद्धारका विषयमा जानकारी गराउनुपर्छ । बसमा आपतकालीन झ्यालढोका हुन्छन् तर प्रयोगबारे जानकारी दिइँदैन । यसो गरेमा दुर्घटना हुने बेला धेरैको ज्यान बचाउन सकिन्छ । 

सबभन्दा महत्वपूर्ण कुरा, लामो यात्रामा विशेष गरेर महिला चनाखो हुन आवश्यक छ । केही वर्षअघि नेपालगन्ज बसपार्कमा एक युवतीमाथि बलात्कारको घटना भएको थियो । बसमा यौनहिंसा प्रत्येक दिन हुन्छन् । 

अर्को कुरा, छोटो दूरीका सवारीमा पनि खलासी वा स्टाफको बोलीवचन चर्चाको विषय बनेको छ । सिष्टाचारको कमी देखिन्छ । साहुले जुन व्यवहार उनीहरूसँग गरिरहेको हुन्छ, त्यसैको अनुुुसरण गरेको पाइन्छ । एक जना बहिनी भन्दै थिइन्, ‘उनलाई अधबैंसे खलासीले आन्टी भन्दा निकै रिस उठेको थियो । उनीहरूको ठाडो सम्बोधन हुन्छ, ‘ए आन्टी अंकल भाडा दिनु न ।’ बालशोषण पनि यसको कारण हो । सस्तो श्रमका लागि स–साना बालक काममा लगाइन्छन् । सवारी साधनबाट बालश्रम उन्मूलन हुन जरुरी छ । यसतर्फ सरोकारवालाको बेलैमा ध्यान जाओस् । कुनै बेला यो व्यवहार हेपाहा प्रवृत्तिको परिणाम पनि हो । उनीहरूलाई पनि अनिवार्य तालिम दिइनुपर्छ ।

यात्रुको यात्रा सुरक्षित बनाउने मुख्य जिम्मेवारी राज्यको हो । ठाउँठाउँमा भएका सिण्डिकेट तोड्नु एक नम्बरको आवश्यकता हो । यात्रा सहज, सुखद, सुरक्षित र महिलामैत्री हुनु जरुरी छ । यातायात सञ्चालकले नितान्त नाफाकेन्द्रित सोचाइ त्याग्नुप¥यो । त्यसका लागि यात्रु पनि सचेत हुन जरुरी छ ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top