​राजस्वको खति, खाजस्वचाहिँ अति


Friday, 26 Apr, 2019 12:10 PM

  • संकेत कोइराला

त्यसबेला युधिष्ठिरलाई स्वर्ग आऊजाऊमा कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले रामैसँग उठायो । युधिष्ठिर जतिपल्ट स्वर्ग उक्लिन्थे, कुकुर पछि लागिहाल्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन । तर, कुकुरको कानमा टाँसिएको किर्नो पनि संयोगले युधिष्ठिरसरह नै स्वर्ग जान्थ्यो । हुन पनि हो, कुकुरको कान जाँच गर्ने कुरा पनि आएन । आखिर सत्ता, शक्ति उहिले न अहिले, त्यसको मूलभूत सार उही नै हो । तर, यो रवाफ धेरै समय टिकेन । विधिको विधान– महाभारत युद्ध सकिएपछि पाण्डव र कौरवका सन्तानको अन्त्य हुँदै गयो । यही नियम पालना गर्दै पाण्डवहरूको पनि अन्त्य भयो । युधिष्ठिरलाई स्वर्गमा गएर आफ्ना सन्तान भेट्न मन लाग्यो । तर, विडम्बना स्वर्ग त सबै कौरवको संख्याले भरिएको । आफूलाई स्वर्गको मसिहा ठान्ने पाण्डवहरू त सोच्दै नसोचेको नर्कमा पुगेका थिए । स्वर्गमा आफ्ना परिवारका सदस्य नभेटेपछि तिलमिलाएका युधिष्ठिरले रिसाएर देवराज इन्द्रसँग सोधे, ‘भगवान् अन्यायी, दुराचारी, कपटी, बेइमानी, धूर्त बदमास सबै यहाँ छन् । मेरा भाइहरू भने यहाँ कतै देख्दिनँ । होइन, यो कस्तो नियम हो, मैले त बुझ्नै सकिनँ । म यी दुराचारीसाथ बस्न चाहन्नँ ।’

नारदले युधिष्ठिरलाई सम्झाए– ‘यो पृथ्वी होइन, स्वर्गलोक हो । यहाँका आफ्नै नियम हुन्छन् । दुर्योधनले युद्धधर्मको पालन गरेका थिए । सत्य धर्म पालनकै लागि ज्यानको परवाह गरेनन् । एउटा लोकमा भएको झगडा अर्को लोकमा ल्याएर तपाईंजस्ता महान् व्यक्तिले शत्रुताको भाव राख्नु राम्रो होइन । यसका लागि केही समय भए पनि तपाईं नरकमा पुग्नै पर्छ ।’ युधिष्ठिरलाई नारदको तर्क मनासिव लाग्यो । उनी पनि केही समय त्यहीँ बसेर आफ्ना परिवारका सदस्यलाई नरकबासबाट मुक्ति गराए । गणतन्त्र ल्याएको दाबी गर्ने नेताहरूमा घमण्डको मूल्य युधिष्ठिरको आडमा स्वर्ग जाने कुकुर र किर्नोको हैसियतभन्दा माथि उठेन । गणतन्त्रले सबै दलका नेतालाई पालैपालो सत्ताको सारथि बनायो । अनि तिनीहरूको आडमा सत्ताको स्वर्गीय आनन्द कतिले उठाए, त्यसको लेखाजोखा छैन । कुकुर त ठिकै हो । तर, गणतन्त्रको राजमा किर्नोको दबदबा बेपत्तासँग बढ्यो । राजा ज्ञानेन्द्रका जिउमा टाँसिएका सबै किर्नो अहिले बालुवाटार, भैंसेपाटी र नारायणस्थान दरबारमा बसाइँ सरेका छन् । किर्नो त आखिर किर्नो हो । उसलाई न गणतन्त्र चाहिएको छ, न लोकतन्त्र । किर्नोको स्वार्थ हो– रगत चुस्नु । रगत नआउनेसँग उसको संगतै हुँदैन । दुई÷चार वर्षअघिसम्म सत्ता र शक्तिमा चोर बिरालोजस्तो राल चुहाउने तिनै पार्टी एण्ड कम्पनीहरू अहिले तिनै किर्नोको बलमा खसी बजारमा बोका जोखेजस्तै मन्त्री, राजदूत, संवैधानिक निकायका प्रमुख, न्यायाधीश जोखेर हिँड्दै छन् । 

पाँच वर्षका लागि ढुंगाको अक्षर भनिएको दुई तिहाइ सरकारको आयु तोक्ने काम शुरु भइसक्यो । जनमतले बज्र मानिएको सरकारका प्रधानमन्त्री सामाजिक सञ्जालमा भुक्ने असन्तुलित मानसिकताका स्वरबाट अत्तालिएर ठूलो स्वरमा प्रतिवाद गर्न थालिसकेका छन् । नेपालका सरकारहरू तिहाइले मजबुत नहुने रहेछन् । ०१५ सालको बिपी नेतृत्वको सरकार राजा महेन्द्रको एक ‘फू’ मा ढल्यो । महेन्द्र त मोहरा मात्र थिए । एक हप्ता अघिसम्म सही सलामत राजा ज्ञानेन्द्रको एकछत्र राजको सरकार धरहरा ढलेझैं ढल्यो । यहाँ सरकार ढाल्न बनाउन नीति र नियतिले नभएर नियतले काम गर्छ । गणतन्त्र ल्याएपछि राष्ट्रपति बन्ने गिरिजाप्रसाद कोइराला र प्रचण्डको सपना सुनामीले खाइदियो । सरकारमा नजाँदासम्म गिरिजाप्रसादलाई ‘गड फादर’कै हदसम्मको सम्मान दिने प्रचण्ड त्यहाँ पुग्नासाथ अन्तरीक्ष मानव बनाइए । आज त्यस्तै उडन तस्तरीले प्रचण्ड र ओलीलाई मिलाएर हुँडारले शिकार गरे झैं गरिरहेको छ । अहिले नेताका गतिविधिले लाग्छ– यो व्यवस्थाको अन्त्यको पात्रो कोरिइसकेको छ । गणतन्त्रका रक्षक नै भक्षकको भूमिकामा उत्रिइसकेका छन् । केपी ओलीको भोकले भन्छ– सेना र पुलिसको सिपाहीसमेत उनको स्वीकृतिबिना सरुवा, बढुवा नहोस् । संवैधानिक निकायका प्रमुख लिलिपुट बनून् तर त्यसको लगाम आफैंमा होस् । जनताको आड र भरोसाको घाँटी मानिने न्यायालयसमेत सरकारकै छाया बनाइएको छ । १७ वर्षसम्म त्यहाँको मुखिया अहिले नै मठाधीश बनाएर तोकिसकिएको छ । निर्वाचन आयोग, अख्तियार सिंहदरबारमा पानी पर्दा छाता लिएर ठिक्क पर्ने अवस्थामा छन् । राजदूत नेताका करारी जागिरे भइहाले । मन्त्री हुक्के, ढोके, चम्चेको बरदान भइहाल्यो । विश्वविद्यालय भागशान्ति जयनेपालको अखडा बनेको वर्षौं भइसक्यो । संघीयता केन्द्र सरकारकै गतिविधिले धराशयी बन्दै छ । काम, कर्तव्य र अधिकारबाट वञ्चित राखिएको त्यो शक्तिलाई पैसा खर्च गरेर ब्रह्मलुट मच्चाउने छुट भने दिइएको छ । यसो हुनु भनेकै व्यवस्था छिट्टै बद्नाम भएर सकिनु हो । केही समयपछि अख्तियार ब्यँँुझाइनेछ । त्यसबेला जनताका यी कथित भाग्यविधाता धोती न टोपी भएर कलंकित भूमिगत जीवन जिउन बाध्य हुनेछन् । अर्कातिर राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकाय प्रधानमन्त्रीको छातामुनि ल्याउनुको स्वार्थ राष्ट्र हितमा नभएर आफ्नो स्वार्थअनुकूल नचल्नेलाई प्रतिशोध लिन हो भनेर बुझियो भने अन्याय हुन्न । नियत सफा हुने हो भने प्रधानमन्त्री त्यस्तो गहन पद हो, जसको वाणी नै निर्देशन हो । उसले लगाउने चश्माको पावर देशको सामथ्र्य हो । हिँडाइको गति विकासको चाल हो । कागजमा गर्ने हस्ताक्षर जनताको नासो हो । उसले गर्ने भाषणको कपी देशको लालमोहोर हो । 

विडम्बना, त्यो गहन भूमिका पाएका शीर्ष नेता सिंहदरबारका पेटी ठेकेदारमा अनुवाद भएका छन् । यिनै ठेकेदारले स्थानीय निकायको चुनावपछि सिंहदरबार गाउँ पुगेको भन्दै दिनरात नगरा बजाइरहे । नेताहरूको दिव्यवाणीले प्रशिक्षित जनप्रतिनिधिको बर्दी भिरेका कार्यकर्ता अहिले सिंहदरबारको मुखिया भएको भ्रममा छोइनसक्नुको हैसियतमा पुगेका छन् । गाउँ, नगरका नाममा करोडौं जम्मा भएपछि ल्यापटपदेखि गाडी, सडक खन्ने मेसिनका दलालहरू कमिसनको प्याकेज लिएर गाउँगाउँ पुगेका छन् । ढुकुटी खर्च गर्न उनीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । राजस्व उठाउनेभन्दा खाजस्व बढाउने प्रतिस्पर्धा तीव्र छ । तर, सत्यचाहिँ के हो भने यदि राजनीति पनि लोकसेवा पास गरेर आउनुपर्ने व्यवस्था भए निश्चित छ– अहिलेका अधिकांश नेता खसी बेच्ने हुन्थे । शंकै छ– एउटा खसी पनि मोल मिलाएर दिने हुत्ति तिनीहरूमा हुन्थ्यो या हुँदैनथ्यो । मान्छे मरेपछि कहाँ जान्छ ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन ? यी सबै तर्क र बहसका विषय हुन् । तर, न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ । 

प्रहरी गेष्टहाउसमा पाहुना भइसकेका जेपी गुप्ता, चिरञ्जीवी वाग्ले र चूडामणि शर्माहरूलाई त्यसबेला लाग्थ्यो, ‘मै राज्य हुँ ।’ यदि त्यसो नभइदिएको भए किताब बेचेको आम्दानी करोडौं लेख्दैनथे होला । नेताहरूलाई दिनैपिच्छे स्वादिष्ट रसपान र भीआईपी गाडी उपलब्ध गराउने मथुरा मास्केहरूलाई पनि लाग्थ्यो होला– ‘नेता चलाउने भएपछि मलाई कसले छुने ?’ 

राष्ट्रियता गीतमा नभई भावमा प्रकट हुनुपर्छ । स्वर्ग नर्क छुट्याउने सत्ययुगमा सत्यको पर्याय मानिने युधिष्ठिरले त आफ्नो स्वधर्म बचाउन नसकेको अवस्थामा राजनीतिको खोल ओढेका डेढ अक्कली ब्वाँसाहरूबाट त्यो अपेक्षा गर्नुजस्तो नालायकी अरू केही हुन सक्दैन ।

सिंहदरबार पस्दा जनयुद्धको राप अंगाल्नेहरू निस्कँदा धनयुद्धका डन भएर निस्किए । खाए मकै, नखाए भोकैको धरातलबाट आएका दौरा सुरुवालधारीहरू पिजा र वर्गरका सोखिन देखिए । भातको ठाउँ भुजाले लियो । खाजा र भात खाने समय बदलिएर लन्च र डिनरमा प्रवेश ग¥यो । पहिला दौरा सुरुवाल प्रतिष्ठाका लागि लगाइन्थ्यो । अहिले अभिनयका लागि राष्ट्रिय पोसाक लगाइन्छ । जे जति बिग्रिएको, भत्किएको छ– ठोकेर भने हुन्छ– तिनै दौरासुरुवाल लगाउनेहरूले कुठाउँमा हस्ताक्षर खेर फाल्दा मुलुक न गरी खाने, न मरी जाने अवस्थामा पुगेको हो । सन्तानलाई डाक्टर, इन्जिनियर बनाउने लोभमा आफ्नो पदीय मर्यादा खरानी बनाउन तम्सिने बर्दीधारीको संख्या गन्ने हो भने क्याल्कुलेटरको डिजिटले पनि भ्याउँदैन । पदीय मर्यादाभन्दा एजेन्ट हुनुको गौरवमा उनीहरू गर्व गर्छन् । देश बनाउने एजेण्डा लिएर एउटा चरो, मुसो सिंहदरबार पस्दैन । यस्तो भिजन भएकालाई सिंहदरवारले मान्छे नै गन्दैन । चिल्लो गाडी, दामी सुट, शीतलु चश्मा, औंलाभरि चटकेलेजस्तो औंठी र मगमगाउने सेन्ट छर्किएर सिंहदरबार नै हरर बनाएर जानेहरू रेड कार्पेटका हकधार हुने गरेका छन् । शासन संयन्त्र यिनीहरूका अगाडि लम्पसार पर्छ । गाडी, राम्रो लुगा र महँगो सेन्ट लगाउनेलाई प्रहरीले पास खोज्दैन । यस्तासँग मन्त्रीको हिसाबकिताब मेल खान्छ । उनीहरूको एउटै एजेण्डा सकेसम्म राजस्व छल्ने नसके अंग्रेजी र प्राविधिक अक्षर घोलेर राजस्व मिनाहाका लागि घुक्र्याउने । एनआरएन, उद्योगी, लगानीकर्ता र निजीक्षेत्रको खोल ओढेर आउने यस्ता नटवरलालहरू सिंहदरबारमा यत्र, तत्र, सर्वत्र छरिएका छन् । अझ अचम्म त के छ भने चिताउँदै नचिताएको सभ्य मानिस यस्ता मानिसको गाइड भएर हिँडेको हुन्छ । औंलाभरि औंठी लगाउने यस्ता नटवरलालहरूको पृष्ठभूमि खोतल्ने हो भने मानिसले लाएको टाईमा समेत बैंकको ऋण झुन्डिएको हुन्छ । जनताको कल्याण गर्न ल्याएको लोकतान्त्रिक गणतन्त्रले चौधरी, गोल्छा, खेतानहरूलाई राजनीतिको चुलोचौकोसम्म पु¥यायो । खुला र उदार अर्थतन्त्रका नाममा छोडिएको अनियन्त्रित साँढेले एउटै मानिसलाई हिङदेखि हर्दीसम्मको मालिक बनायो । मदिरा उत्पादक, बैंकर्स, चाउचाउदेखि सभासद्सम्मको खास्टो एउटैलाई ओढाइयो । जसले नीतिगत भ्रष्टाचारलाई थप मलजल पु¥यायो । 

अर्काथरी दलाल छन् जसले पशुपतिको चन्दनदेखि तिरूपतिको लकेटसम्मलाई शक्तिकेन्द्र पस्ने बाटो बनाउने गरेका छन् । यस्तो अवस्थामा शक्तिमा रहनेले आपूm भलो भएर मात्र पुग्दैन, आफ्ना वरिपरिका मानिसको नियतमाथि दृष्टिगोचर गर्ने क्षमता राख्नुपर्छ । 

नेताहरूले आफ्ना सन्ततिलाई युरोप, अमेरिका पठाए । आइफोन र फेसबुक संस्कृतिमा हुर्काए । गाडी लिएर वर्षौंदेखि आपूmले भोट पाएको ठाउँमा धुलो उडाउँदै पुगे । तर, जनताको छोरालाई त्यही वातावरण दिनुपर्छ भन्ने हेक्का राखेनन् । ठूलाबडा चढेको गाडीको धुलो खानु मतदाताको नित्यकर्म बन्यो । मतदातालाई गाडी चढ्ने हैसियत बनाउने मार्गचित्र कसैले कोरेनन् । चुनाव जितेका कुनै जनप्रतिनिधिले भोट दिने र पाउनेका सन्तान एउटै स्कुलमा पढ्न पाउने अवसर दिलाउँछु भनेर उद्घोष गर्न सकेनन् । शिक्षा र स्वास्थ्य अधिकारका रूपमा स्थापित हुन सक्दैन भने बाँकी वाद र आदर्श दिनकटनी मात्र हो ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top