खुशी खुशी विष पिउने महापुरुष


Friday, 26 Apr, 2019 12:09 PM

  • राजेन्द्र स्थापित

ग्रिसका महान दार्शनिक प्लेटोलाई भारतमा अफ्लातूनको नाउँमा चिनिन्छ । अफ्लातून उर्दू शब्द हो । भारता अफ्लातूनको नाउँमा चलचित्रसमेत बनिसकेको छ । प्लेटो ग्रिसको दार्शनिक, गणितज्ञ । दार्शनिक सुकरातका शिष्य । अर्का दार्शनिक अरस्तु (एरिस्टोटल) का गुरु । पश्चिमी देशमा पहिलो विद्यापीठ (एकेडेमी) स्थापना यिनैले गरेका हुन् । दर्शन र गणितका ज्ञाता त थिए नै, तर्कशास्त्र र नीतिशास्त्रमा पनि धुरन्धर थिए । 

उनको जन्म सामन्तवर्गमा भएको थियो । बाबु अरिस्टोंको एथेन्समा तत्कालीन राजासँग पनि सुमधुर सम्बन्ध थियो । प्लेटोकी आमा पेरिक्टोन पनि कुलिन घरानाकी थिइन् । प्लेटो २४ वर्षको उमेरमा इशापूर्व ४०४ मा सुकरातको शिष्य बने र उनको जीवनको अन्तिम क्षणसम्म शिष्य भएरै बसे । उनले आफ्नो जीवनकालमा थुप्रै पुस्तक लेखे । वास्तवमा सुकरातलाई विश्वसमक्ष चिनाउने कार्य उनका यी कृतिले नै गरे । सुकरात सधैं सत्यको खोजीमा लागिरहन्थे । उनी कुशल तर्कशास्त्री भएर निस्किए । उनको यो खुबीको सामु कोही टिक्न सकेनन् । उनको सामु टिक्न नसकेकार उनको लोकप्रियताप्रति डाह गर्नेहरु नै शत्रु बनेर निस्किए । 

सुकरात ७० वर्षको भइसकेका थिए । विरोधीहरुले उनीमाथि देवी–देवताको अवज्ञा गरेको र एथेन्समा युवावर्गलाई भ्रष्ट तुल्याएको आरोप लगाए । सुकरातको लोकप्रियता र उनले फैलाएको नयाँ विचारले एथेन्सको राजपरिवार पनि डराइसकेको थियो । त्यसैले देशद्रोहको आरोप लगाएर पक्राउ ग¥यो । मुद्दा चलायो । मुद्दाको सुनुवाइक्रममा ज्यूरी–सदस्यहरुले २ सय २१ को विरुद्ध २८० मतले सुकरातलाई अपराधी माने । एथेन्सका जनता सुकरातको पक्षमा थिए, तसर्थ सरकार सुकरातलाई सार्वजनिक स्थलमा उपस्थित गरेर मृत्युदण्ड दिन डरायो । जेलको कोठाभित्रै विष पिउन लगाउने फैसला ग¥यो । सुकरातका मित्रहरुले जेलको सुरक्षागार्डलाई पैसा खुवाएर हातमा लिई सुकरातलाई भगाउने योजना बनाए तर सुकरातले मानेनन् । उनले भने, ‘म मृत्युदेखि डराउँदिन, निर्वासनमा जानुको बदला एथेन्सको बफादार नागरिक बनेर उदाहरण प्रस्तुत गर्छु ।’

अदालतमा पनि उनले आफूलाई निर्दोष सावित गर्ने कुनै कोशिश गरेका थिएनन् । आफूमाथि लगाइएको आरोपको खण्डन पनि गरेनन् । बरु एथेन्सका नागरिकलाई सुखी बनाउने काममा लाग्दै जाने प्रण गरे । भने, ‘मसँग जे छ, त्यो एथेन्सको सेवामा समर्पित गर्दै जानेछु । यो मलाई भगवानले दिएको आदेश हो । यो आदेशलाई म तपाईंहरुले दिएको आदेशभन्दा बढी मान्छु । मैले सत्य खोज्न बन्द गरे मलाई रिहा गर्ने तपाईंहरुको शर्तलाई म खारेज गर्छु । सत्यको खोजीमा लाग्ने काम म कदापि रोक्दिनँ ।’

एथेन्सको चलन त्यो बेला सजाय पाउने व्यत्तिपले सजायबारे सुझाव दिन सक्थे । आफूले पाएको सजायको बदला यस्तो सजाय लिन्छु भन्न पाउँथे । सुकरातसित जब यसबारे राय मागियो, उनले भने– ‘मलाई लोक–हितकर्ता मानियोस् । ओलम्पिक खेलकुदका विजेतालाई जसरी राज्यले भरणपोषणको भार उठाउँछ, मेरो लागि पनि त्यसै गरियोस् ।’

ज्यूरीबाट अन्त्यमा सोधियो, ‘प्राणदण्डबाट मुक्ति पाउन राज्यलाई कति जरिवाना तिर्न तयार छौ ?’

सुकरातले भने, ‘एक मीना (लगभग सय रुपैयाँ ।)’

शिष्यहरुले उनलाई सुझाए, ‘तीस मीना दिन तयार छु भन्नुस् । पैसाको बन्दोबस्त हामी गर्छौं ।’ तर सुकरात दुई मीना दिन पनि तयार भएनन् । बरु विष पिएर मर्न तयार भए । विष पिउने दिन पनि साथी तथा शिष्यहरुले उनलाई भने, ‘सूर्यास्तको समय भइसकेको छैन, केही बेर रुक्नुस् । धेरैभन्दा धेरैले सूर्यास्त भएको धेरै समयपछि बल्ल विष पिउँछन् ।’

सुकरातले थोरै समयको कुरामा आलटाल गर्नु उचित हुँदैन भनेर कसैको कुरा मानेनन् । जेलका कर्मचारी विष भएको कचौरा लिएर भित्र पसे । कचौरा सुकरातलाई दिँदै रुन थाले । त्यहाँ उपस्थित सुकरातका मित्रगण तथा शिष्यहरु पनि रुन थाले । तर, उनीहरुलाई सम्झाउँदै सुकरात बोल्न थाले, ‘यस्तो समय रोएर मुटु कमजोर पार्नु हुन्न । सबैले धैर्य गरेर यो कष्ट सहनुपर्छ ।’

यति भनिसकेपछि विष भएको कचौरा उठाए र पिए । लगत्तै उनका एक शिष्य क्रिटोले उनीसित सोधे, ‘तपाईंको शरीरको अन्त्येष्टि हामीले कसरी गरौं ?’

सुकरातले भने, ‘मरेपछि जुन शरीर बच्छ, त्यो मेरो हुन्न । त्यो त माटो हुन्छ । माटोलाई तिमीहरु जसरी चाहन्छौ, त्यसरी नै संस्कार गर्नु ।’

सुकरात मरेपछिको केही दिनमै एथेन्सवासीले गल्ती महसुस गरे । ठूलो पश्चाताप गरे । ज–जसले सुकरातमाथि आरोप लगाएका थिए, उनीहरुलाई समाजबाट बहिष्कृत गरिदिए । बहिष्कृतहरु कतिले त आत्महत्यासमेत गरे । सुकरातको मृत्युले उनका परम चेला प्लेटो निकै निराश बने । उनमा प्रजातन्त्रप्रति नै वितृष्णा जाग्यो । एथेन्समा बसिरहन मनै भएन । उनी यात्रामा हिँडे । मेगोरा, मिश्र, सायरिन, इटली, सिसली आदिको भ्रमण गरे । अन्त्यमा पुनः स्वदेश फर्के । र, एकेडेमीको स्थापनामा लागे । स्मरणीय छ, बाँचुञ्जेल उनी उक्त एकेडेमीको प्रधान आचार्य रहिरहे । उनले एकेडेमी खडा गरेको स्थानमा पहिला एउटा उद्यान थियो, त्यो व्यक्तिगत उद्यान एक स्थानीय वीर ‘एकाडेमस’ को थियो । 

कम्युनिष्टहरुले गुरु मान्ने गरेका प्लटो पछि ठूलो दार्शनिक बने । दर्शनको कुरा सुन्न उनकोमा सधैं मानिस भेला हुन्थे । सबै दिन उनीबाट केही न केही नयाँ ज्ञान प्राप्त गरेर फर्कन्थे तर प्लेटो आफैंले आफूलाई ज्ञानी मान्दैनथे । उनी भन्थे, ‘मानव कसरी ज्ञानी हुन सक्छन् र ? जबकि उनीहरु सधैं नयाँ कुरा सिकिरहेका हुन्छन् ।’

एकदिन एकजना साथीले उनीसित सोधे, ‘संसारभरिका विद्वान तपाईंकोमा ज्ञान प्राप्त गर्न आउँछन् । तपाईंसित वार्तालाप गर्न पाएकैमा आफूलाई धन्य सम्झेर फर्कन्छन् तर तपाईंको यो कुरो मैले आजसम्म बुझ्न सकिराखेको छैन ।’

प्लेटो ‘तिमीलाई केमा शंका लागेको छ, प्रष्ट भन ताकि मैले सम्झाउन सकूँ ।’ मित्र ‘तपाईं ठूलो विद्वान र ज्ञानी हुनुहुन्छ तर पनि मैले नबुझेको कुरा भनेको तपाईं फेरि पनि सधैं सबैबाट शिक्षा लिइरहनुभएको हुन्छ । त्यो पनि ठूलो उत्साह र मन लगाएर । अझ त्योभन्दा बढी अचम्मलाग्दो कुरा, तपाईं त्यो व्यक्तिबाट सिक्नमा पनि अप्ठेरो मान्नुहुन्न, जो तपाईंबाट केही सिकौं भनेर यहाँ आएका हुन्छन् । मलाई लागेको कुरो त के भन्दा तपाईंलाई अरुबाट सिक्ने आवश्यकता नै किन प¥यो ? कतै तपाईं अरुलाई खुशी पार्न अरुबाट केही कुरो सिक्न खोजेजस्तो ढोंग त गर्दै हुनुहुन्न ?’

साथीको कुरो सुनेर प्लेटो एकछिन खुब हाँसे । अनि मित्रलाई भन्न थाले, ‘मनुष्य आफ्नो पूरा जीवनमा कुनै विषयमा पनि पूर्ण ज्ञान प्राप्त गर्न सक्दैनन् । केही न केही, कतै न उसको सिकाइ अधुरो नै भइरहेको हुन्छ, फेरि प्रत्येक मनुष्यसँग यस्तो गुण र ज्ञान हुन्छ, जो अरुसँग हुँदैन । त्यसैले प्रत्येकले प्रत्येकसँग सिक्नु जरुरी छ । यो पनि सत्य हो कि, हरेक कुरो, हरेकले बटुलेको अनुभव किताबी ज्ञानमा पाइँदैन किनभने जीवनमा सिक्ने कुरा धेरै छन्, जुन किताबमा आजसम्म लेखिएकै हुँदैन । यसकारण वास्तविक धरातलमा उभिएर सबैबाट केही न केही सिकिरहने बानी बसाल्यौं भने पनि तपाईं–हामी पूर्ण बन्न सक्दैनौं तर पूर्णताको नजिक पुग्छौं । सम्झनुस्, जिन्दगीको सार यही हो ।’

उनले हाँस्दै फेरि थपे, ‘ज्ञानको कुनै अन्त छैन । यसको कुनै सीमा हुँदैन । यस शरीरमा सास रहुञ्जेल सिक्ने काम छोड्नु हुँदैन । यही सिकाइले मनुष्यलाई जीवन जिउन र अघि बढन मद्दत गर्छ ।’

प्लेटो शुरुमा काव्य रचना गर्थे । सुकरातको संगतमा लागेपछि विचारक बने । सुकरातको मृत्युपश्चात जब उनी विदेश यात्रामा हिँडे, त्यसक्रममा सिराकूशका शासक दियोनिसियुस (प्रथम) र दियोन तथा पाइथागोरसका अनुयायी आर्किताससँग भयो । उनीहरु आजीवन मित्र बने । पछि दियोनिसियुस (प्रथम) को मृत्युपछि दियानिसियुस (द्वितीय) सिराकूशको राजा बने । उनले आफूलाई दार्शनिक राजा बनाइदिन आग्रह गरेअनुरुप प्लेटो सिराकूश गएर राजालाई दर्शन शास्त्र पढाउन थाले । तर, दियोनिसियुस दार्शनिक राजा भने बनेनन् । उनी इष्र्यालू बने । दियोनलाई निर्वासनमा पठाए । प्लेटो सिराकूशको आन्तरिक मामिला सुल्झाउनतिर लागे तर आफैं बन्दी बने । बल्ल आर्कितासको सहयोगमा रिहा हुन सके । 

प्लेटोको निधन ८० वर्षको उमेरमा इशापूर्व ३४८ मा भयो । उनको २५ संवाद, १ सुकरातको आत्मनिवेदन, १३ पत्रसंग्रहलगायत असंख्य रचना प्रकाशित भएका छन् । उनी बूढेसकालमा पुग्दाको समयमा ग्रिसमा अर्का एकजना दार्शनिक लोकप्रिय बने । उनी एरिस्टोटल (अरस्तु) थिए । प्लेटोकै चेला उनी यसअघि अलेक्ज्याण्डर महानका निजी शिक्षक थिए । उनी लोकप्रिय बन्नुमा अलेक्ज्याण्डर महानका निजी शिक्षक थिए । उनी लोकप्रिय बन्नुमा अलेक्ज्याण्डरको ठूलो हात छ । अरस्तुलाई त्यो युगका वैज्ञानिक पनि मानिन्छ ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top