​म त रिटेल व्यापारी थिएँ नि !


Friday, 26 Apr, 2019 12:05 PM

  • सरस्वती खड्का, उपमेयर, कीर्तिपुर नगरपालिका

महिलाका नाममा महोत्सव, तर मञ्चभरि पुरुष भरिभराऊ भएको एउटा फोटो केही साताअघि सामाजिक सञ्जालमा भाइरल बन्यो । फोटो थियो, कीर्तिपुरको । उपमेयर र महिला हुनुका नाताले सरस्वती खड्का मञ्चमा थिइन् । तर, उनीबाहेक कोही महिला मञ्चमा थिएनन् । उनी रसुवाकी चेली हुन् । स्कुले जीवनदेखि नै ‘युरोपियन स्टाइलकी’ । हलो समाउने, कोदालो चलाउने, अर्थात् महिलाले जे गर्नुहुन्न भन्थे उनी त्यसमै अग्रसर । स्वभाव पनि लडाकुको, विद्यालयमा केटाहरुसँग मुक्काबाज गर्न पछाडि नपर्ने । अखिल हुँदै वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य बनिन् । बीचमा कीर्तिपुरका राधाकृष्ण खड्कासँग विवाह भयो । उनको भृकुटीमण्डपस्थित ४० नम्बरको स्टलमा कपडा पसल थियो । सरस्वतीले बीचमा अनेमसंघमा काम गरिन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेबाट उपमेयरको टिकट पाइन । र, जितिन् पनि । अहिले उनी उपमेयर छिन् र श्रीमान् मृकुटीमण्डपकै व्यापारमा छन् । 

० महिलाको नाममा महोत्सव, तर मञ्चमा पुरुष भरिभराऊ । किन यस्तो भयो ?

– मञ्चमा पुरुष धेरै देखिए, यो सत्य हो । तर, कार्यक्रममा महिलाको उपस्थिति राम्रो थियो । जसले त्यो फोटो भाइरल बनाउनुभयो, उहाँहरुले महिला उपस्थिति न्युन भएको आशयले गर्नुभएको होला । तर, मञ्चको उपस्थिति हेरेर सिंगो कार्यक्रमको मूल्यांकन हुँदैन । कार्यक्रम महिलाहरुकै सक्रियतामा आयोजनामा भएको थियो । प्रमुख अतिथि त्यहाँको सांसद राजन केसी प्रमुख अतिथि, पुकार महर्जन, नगरप्रमुख, उपप्रमुखसहित वडाध्यक्षसम्मलाई मञ्चमा आसन ग्रहण गराइएको हो । तर, महिला वडाध्यक्ष महिला नै कोही हुनुहुन्नँ । संविधानले प्रमुख वा उपप्रमुखमध्ये  एक महिलाको व्यवस्था नगरेको भए मैँ पनि उपप्रमुखको भूमिकामा हुन्नथेँ । यो प्रकरणपछि कीर्तिपुरका १० वडामध्ये कम्तिमा पाँच वडाको अध्यक्ष महिला हुनुपर्छ भन्ने बहस शुरु भएको छ । अहिले त कानुनी कर्मकाण्ड पु¥याउने नाममा मात्र महिलाको सहभागिता भएको छ । अहिले ९८ प्रतिशत महिला उपमेयर छन् । त्यसैले भाइरल भएको फोटोको मञ्चमा जे देखियो, राज्यले यस्ता कुरामा विचार गर्नुुपर्छ । कम्तिमा पनि ५० प्रतिशत महिला वडाध्यक्षको व्यवस्था होस् ।

० त्यो फोटो कसरी भाइरल भयो ?

– फोटो भाइरल भएर हामी महिला सशक्तिकरण पक्षधर अभियन्ताहरु उत्साहित नै छौँ । त्यसलाई नकारात्मक रुपमा बुझ्नु हुँदैन । नेपाली समाज के चाहँदो रहेछ, त्यो कुरा फोटोले झल्काएको । समाज त महिलाका नाममा महिलाकै उपस्थिति, सहभागिता चाहँदो रहेछ नि † यहाँ महिलाका नाममा अरु नै हावी हुने, कर्मकाण्ड पु¥याउन महिलाको नाम र सहभागिता जप्ने प्रचलन छ, जुन राम्रो होइन । यसकारण, त्यो फोटोको सन्देशप्रति सबै गम्भीर हुनुपर्छ ।    

० कीर्तिपुरजस्तो राजधानीभित्रैको शहरका महिलामा सामाजिक क्रियाशीलताको कमी छ भन्ने गरिन्छ । वास्तविकता त्यस्तै हो ? 

– कीर्तिपुर आफैँमा स्वाभिमानको नाम हो, गौरवशाली इतिहास र सांस्कृतिक सम्पन्नताको नाम हो । यो शहरले ती उपमाहरु पाएको महिलाहरुकै क्रियाशीलताले हो । तर, यहाँका बासिन्दा झट्ट हेर्दा सोझा देखिन्छन्, शालिन छन् । त्यो शालिनतालाई कमजोरीका रुपमा पनि यदाकदा बुझ्ने गरिएको पाइन्छ । त्यसैले होला, कीर्तिपुरका महिलामा सामाजिक क्रियाशीलताको कमी भनिएको । तर, यथार्थ त्यस्तो होइन । बरु, ठीक विपरित हो । कीर्तिपुरको इतिहास र बिरासतका रक्षक महिला नै हुन् । यद्यपि, महिलालाई जुन किसिमको स्थान दिनपर्ने हो, नसकिएकोचाहिँ पक्कै हो । महिलाका सन्र्दभमा कानुन त बन्यो, तर कार्यन्वयनमा जटिलता छ । 

० न्याय–निसाफको भूमिका उपमेयरको हैसियतले तपाईंले नै निभाउने हो, के छ स्थिति ? 

– जग्गाका किचलो, तेरो र मेरो भन्ने विवाद बढी । अंशबण्डा, साँध–सिमनाका धेरै मुद्दा आउँछन् । सम्बन्धविच्छेदका मामिला पनि छन् । तर, हामीकहाँ अरु नगरपालिकाहरुमा जस्तो सम्बन्धबिच्छेदको समस्या छैन । छ, तर थोरैमात्रामा । भदौ १ गतेदेखि नयाँ मुलुकी संहिता जारी भएसँगै त्यस्तो मुद्दा लिएर महिलाहरु अदालतमा जाने गरेका छन् । झैँ–झगडाका विवाद आँउछन् । उपत्याकाको काँठ क्षेत्र भएको कारण जग्गाको विवाद बढी आएको हो किजस्तो लाग्छ । जग्गा लिँदा कागजमा हेर्ने, तर फिल्डमा नहेर्ने हुँदा धेरै प्रकारका विवाद छन् । तर, यो न्यायीक समितिको क्षेत्रभित्र पर्दैन । उहाँहरुको अपेक्षाचाहिँ स्थानीय तहले सल्टाइदिओस् भन्ने हुन्छ । हामी सकभर मेलमिलाप गराउनका लागि प्रयत्न त गर्छौं । तर, मेलमिलाप हुने सम्भवना छैन । 

० न्याय सम्पादनको स्थिति कस्तो छ ? 

– हामी निर्वाचित हुनुअघिकै एक सय १३ मुद्दा थिए । पहिलो नगरसभाबाटै न्यायिक समिति बनेको हो । हामीले मेलमिलापलाई नै पहिलो प्रथामिकता दिएका छौं । फैसला नगरी नहुने र अदालत पठाउनु पर्ने केसमा मात्र फैसला गर्ने गरेका छौं । ७० प्रतिशत विवाद निरुपण गरेका छौं । 

० उपमेयर निर्वाचित हुनुअगाडि भृकुटीमण्डपको कपडा पसलमा ग्राहक फकाउनु र आज जनताका गुनासो सुन्नु, ती गुनासोहरुको सम्बोधन गर्नु । कुनचाहिँ काम चुनौतिपूर्ण रहेछ ? 

– सजिलो त व्यापारमै हुन्छ नि † व्यापारमा एक प्रकारको कला चाहिन्छ । गुनासो सुन्न पनि थोरै सहनशीलताले हुँदैन । गुनासो सुन्ने क्षमता हुनुपर्छ । मलाई त दुबै काम उस्तै–उस्तै लाग्छ ।   

० पहिला बिहान घरबार सम्हाल्नुहुन्थ्यो, दिँउसो पसल । अहिले श्रीमान् व्यापार व्यवसाय सम्हाल्दै हुनुहुन्छ । तपाई  राजनीतिमा । घर परिवार चलाउन कतिको अप्ठ्यारो हुँदोरहेछ ?

– पसल स्टाफले हेर्छन् । म हुँदा पनि स्टाफ राखेकी थिएँ । घरमा पनि एकजना सहयोगी राखेका छौं । परिवारसँगै छु । आमा, बच्चाहरु हुर्किसकेका छन् । पहिला पनि म बिजिनेशमा मात्र पनि थिइनँ । राजनीति पनि सँगसँगै लिएर गएकी थिएँ । रसुवामा जन्मिए, हुर्किएँ । त्यहीको दक्षिणभेगीय इलाका कमिटिको कोषाध्यक्षसमेत चलाएँ । सामुदायिक उपभोक्ता महासंघमा लामो समय काम गरें । सानैदेखि घरमा मात्र सीमित थिइनँ । त्यसकारण पनि काम गर्न अप्ठ्यारो छैन । परिवारको पूर्ण साथ र सहयोग छ ।       

० तर चुनाव लड्दा तपाईंका लागि श्रीमान्ले भोट मागेको देखिएन नि †

– उहाँ आफ्नो बिजिनेशमै हुनुहुन्थ्यो । उहाँ होलसेल पसल चलाउनुहुन्थ्यो, म रिटेल । उहाँलाई कुनै पनि राजनीति के–कसो ? भन्ने थिएन । तर मेरो रुचीलाई सदैव सम्मान गर्नुहुन्थ्यो । कहिल्यै रोक्नुभएन । कीर्तिपुर नगरपालिका ४ नम्बर वडा हो मेरो । म जुन पार्टीबाट उठेँ, त्यहाँको वडाध्यक्षको उम्मेद्वार उहाँको साथी । त्यही कारण उहाँ वडामा साथीकै लागि धेरै खटिनुभएको थियो । उहाँलाई मैले चुनाव जित्दाभन्दा पनि साथीले चुनाव हार्दा नराम्रो लागेको थियो । सबै वडामा पुग्नु भएन, भोट पनि माग्नुभएन । सर्पोटै गर्नुभएन भन्नेचाहिँ होइन, तर भोटै माग्नचाहिँ हिँड्नुभएन ।   

० तपाईंलाई रसुवामा हुँदा नै ‘युरोपियन स्टाइलकी’ (विद्रोही केटी) भनेर चिन्थेँ । त्यो बानी गयो कि छैन ? 

– मेरो बानी अहिले पनि उस्तै छ । गाउँमा धनी र गरिव, महिला र पुरुष, दलित र उच्च जात भनिनेबीचको विभेद मलाई पटक्कै चित्त बुझ्दैनथ्यो । अहिले पनि महिला, दलित, पिछडिएको वर्गसँग गर्ने व्यवहार उस्तै छ । समता र समानता त भनिन्छ, तर सुध्रिसकेको छैन । अझैं पनि परिवर्तन हुन सकेन भने राज्यले सन् २०३० मा दीगो विकासको लक्ष्य पूरा गर्ने भनेको छ । त्यो पूरा हुन सक्छ भन्ने लाग्दैन । मेरो स्वभाव चाहिँ त्यही खालको छ । परिवर्तन भएको छैन् ।  

० आफ्नो विगतलाई कसरी सम्झनुहुन्छ ? 

– आफैंलाई अनौठो लाग्छ । त्यतिबेला जानी–नजानी राजनीतिमा लागियो । हिँड्दा पैतालमा ठूल्ठूला फोका उठ्थे । अलिकति विद्रोही स्वभावकी थिएँ । भलिबल खेल्दा केटाहरुले मात्र खेल्थे, महिलामा म एक्लै हुन्थेँ । त्यो सबै सम्झँदा अधिकार कसैले पनि सजिलै गरी ‘लाऊ’ भनेर दिँदैनन् । मागेर पाइँदैन । अलिकति जवर्जस्त ढंगबाट लाग्नुपर्दछ । 

० रसुवालाई कत्तिको मिस गर्नुहुन्छ ? 

मलाई जति कीर्तिपुरको माया छ, त्योभन्दा पनि धेरै माया रसुवाको लाग्छ । ०५५ सालमा विवाह भएर यता आएँ । ०५६ सालको निर्वाचनमा नुवाकोटका डिबी लामाले त्यहाँबाट चुनाव जिते । त्यसयताका धेरै उम्मेद्वार हेर्दा त्यस्तै देखिन्छ । साँच्चै ३ नम्बर प्रदेशलाई सम्बृद्धिको यात्रामा लैजाने हो भने त्यो रसुवाले मात्र पूरा गर्न सक्छ । रसुवासँग के छैन ? धेरै सम्भवना बोकेको ठाउँ हो । यो कुरा राजनीतिक नेतृत्वले बुझ्नुपर्दछ ।

० कतिपय नगरपालिकामा उपमेयरलाई मेयरले अधिकार नै नदिएको र अनेक कारण लफडाका कुरा सुन्न पाइन्छन् । तपाईहरुको नगरपालिका
कसरी अगाडि बढिरहेको छ ?

– यो समस्या सबै ठाउँमा छ । प्रमुख पुरुष, उपप्रमुख महिला, वडाध्यक्षहरु अधिकांश पुरुष नै हुनुहुन्छ । महिला जहिले पनि अल्पमतमा परेका हुन्छन् । महिला नै प्रमुख भएको ठाउँमा पनि महिला अल्पमतमा परेका छन् । महिला प्रमुख, बाँकी सबै पुरुष हुन्छन् । हाम्रो समाजमा पितृसत्तात्मक सोच अझै हटिसकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनमा जुन प्रकारको अधिकार दिइएको छ, त्यसलाई मनन गरेर काम गर्ने हो भने विवादित रहँदैन ।  बजेट तथा कार्यक्रम तर्जुमा समितिमा उपप्रमुख त रहन्छ, तर आर्थिक कारोवार, भनेको ठाउँमा बजेट दिँऊ भन्दा सजिलो प्रकारले दिने अवस्था छैन । जनताले मेयर र उपमेर समान भनेर बुझ्छन् । सबैलाई पुरुषसँग भन्दा महिलासँग कुरा गर्न सजिलो हुँदो रहेछ । त्यही कारण बजेटका सन्दर्भमा यो गरिदिनुस्, त्यो गरिदिनुस् भनेर गुनासो महिलालाई सुनाउने गरिन्छ । तर, कीर्तिपुरको सवालमा हामी दुबै एउटै दलबाट प्रतिनिधित्व गर्ने भएका कारण त्योखालको समस्या छैन ।   

० कीर्तिपुरलाई उत्कृष्ट नगरपालिका बनाउन के–के गर्दै हुनुहुन्छ ? 

– तीन वर्ष कार्यकाल बाँकी छ । यो अवधीमा देखिने किसिमले फड्को मा¥यो है भन्ने पक्कै बनाउँछौं । कीर्तिपुर नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय नगरपालिका हो । युद्धस्मारक पार्क बन्दैछ । इतिहासलाई उतार्ने प्रयास गर्दैछौं । त्रिभुवन विश्वविद्यालय हाम्रै आँगनमा छ । अब हामी कीर्तिपुरलाई आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने गरी अगाडि बढ्दैछौँ । यहाँको सांस्कृतिक सम्पन्नता र इतिहास विश्वभरिका इतिहास र संस्कृतिप्रेमीका लागि चासोको विषय हो । हामी ती विषयलाई अझ बढी प्रचारमा लगेर नेपाल वा काठमाडौं टेक्ने मान्छे कीर्तिपुरमा पाइला नहाली नफर्किने गरी योजनाहरु बनाएका छौँ । 
 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.860/-

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Top