​सम्बन्ध जोड्ने र छोड्नेहरुको शहरमा...


Wednesday, 13 Mar, 2019 1:00 PM

‘दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझै दुःख दे’ लाग्छ, यिनै दुःखी मनुवाको जीवन पढेर यो भनाइ बनाइएको हो । कसैले सुख मात्र भोग गर्छ भने कसैको ललाटमा किन दुःखबाहेक केही हुँदैन ? त्यो भाग्यको दोष हो वा जति घोटिँदा पनि आँशुले नुहाउनुपर्ने कर्मकै खोट ?

म जीवनबहादुर रम्तेल । नुवाकोट चौघडामा जन्मिएँ÷हुर्किएँ । २० वर्षअघि मनभरि सपना, झोलाभरि भविष्य बोकेर भित्रिएँ राजधानी खाल्डोमा । केही खुद्रा सपना थिए । आज ती सपना बिलाएका छन् फुसफुसे हिउँ घाममा पग्लिएझैं । जता फर्कंदा पनि चोट र पीडा मात्र दिएपछि उदासीनताबाहेक के पो बाँकी रहन्छ र ! यस्तो जिन्दगीको बह पोखेर के काम ? यो उमेरमा झेलेको छु दुःखैदुःखको अनगिन्ती पहाड । दायाँ फर्के पनि दुख्ने, बायाँ फर्के दुख्ने जिन्दगीले ठगेको दुःखी मनुवा हुँ । राजधानी भित्रिएको वर्ष दिन नबित्दै हाँस्न बिर्सिएँ । मनभरि भक्कानो गाँठो पारी  शहरमा ठेला चलाइरहेछु । छैन कुनै ठूलो सपना । छ त केवल बिहान–बेलुका हातमुख जोर्नु, श्रीमतीका लागि मासिक औषधोपचार खर्च जुटाउनु । र, दुई अपांग सन्तानको मुहारमा खुशी भर्नु । लाग्छ योभन्दा बढी दुःख, कष्ट र सकस भोग्ने ठाउँ बाँकी हुन्न कतै पनि । योभन्दा तल खस्ने जमिन पनि बाँकी छैन अब । 

शुरुमा फुटपाथे व्यापार गर्थें । उत्तम व्यापार, मध्यम कृषि, अधम नोकरी भनेझैं कमाइ राम्रै थियो । आफू मात्र बाँचेको थिइनँ, घरपरिवारका लागि खर्च पठाइरहेकै थिएँ । करिब १२ वर्ष यो पेशा गरेँ । व्यापारबाट आम्दानी हुन छाड्यो । कसैको लहैलहैमा लागेर रिक्सा चलाउन थालँे । भन्छन्, जन्म, मृत्यु र विवाहको सीमारेखा पहिल्यै तोकिएको हुन्छ । धादिङ जिल्ला ज्यामरुङ माइती भएकी जुनु गुरुङसँग विवाह भयो यही बीचमा । विवाह गरेकै रात एक्कासी चिच्याउने, डराउने खालको व्यवहार देखाइन् । विवाहपछि मात्र चाल पाइयो विमार रहिछन् । विवाह गरेर ल्याएकी अर्काकी छोरीको जीवन बर्बाद पार्ने कुरा पनि आएन । उपचार गरे निको होला, दीर्घरोग होइन भन्ने लाग्यो । औषधोपचार गर्न थालेको १५ वर्षभन्दा बढी भयो । धामी–झाँक्रीको पछि लाग्दैमा २ वर्ष गयो । कसैले बोक्सी लागेको भने कसैले मोहनी । लगनखेलस्थित पाटन हस्पिटल पुगें । डाक्टरले मानसिक रोगको लक्षण हो भने । १२ वर्ष भयो दिनको ४ ट्याबलेटका दरले औषधि सेवन गर्न थालेको । तर, रोग जस्ताको तस्तै । औषधि खान छाडे झन् बढी हुन्छ । छाड्ने कुरै  भएन । घरमा सदावहार रोगी भएपछि काम राम्रोसँग गर्न पनि सकिएन । मनमा शान्ति भए मात्र सबैतिर उमंग छाउने रहेछ ।  बेचैनी बोकेर राम्रोसँग काम गर्न सकिँदो रहेनछ । भाडामा साहुको ट्याम्पो चलाउँथें कहिले के हुने, कहिले के सधैँ घाटामा जान थालेपछि छाडिदिएँ । जिन्दगी नै घाटामा गएका बेला अरूबाट नाफा खाजेर पनि नपाइँदो रहेछ । नमिल्दो रहेछ । ठेलामा तरकारी राखेर बेच्न थालेँ । त्यहाँ पनि घाटा मात्रै । काम खोज्दै गएँ ।

आफैंलाई धिक्कार्नुबाहेक अरू थिएन । मलाई जति परेको पिर, ठक्कर र हण्डर शायद कसैले व्यहोर्नुपरेको छैन । र, कामना गर्छु शत्रुलाई पनि यस्तो नपरोस् । यही बीचमा दुई छोरी र एक छोरा जन्मिए । हुने हार दैव नटार भनेझैं जेठी छोरीको घुँडा चल्दैन, जन्मजातै अपांग । छोराको पनि लडेर कम्मरको हाड भाँच्चियो । आफ्नै हेरचाह गर्न नसक्नेले सन्तानको हेरचाह कसरी गर्न सक्थी र उसले पनि । लडेर भाँच्चिएको कम्मरको हाड जति कोसिस गर्दा पनि जोड्न सकिएन । दैनिक १३ सय एमजीको औषधि सेवन गरिरहेको छ छोराले । कान्छी छोरीलाई होटलमा भाँडा माझ्न राखेको छु । घरमा चार जना छौं । यिनीहरूको औषधोपचारका लागि मात्र महिनामा ४ हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । ठेला चलाउँछु, मजदुरी गर्छु, यहीँबाट आएको पैसाले घरखर्च चलाइरहेको छु । यतैका एक मनकारीले दिएको छाप्रोमा बसेको छु । यहाँ बसेवापत उनको घरको रेखदेख र सरसफाइ गरिदिनुपर्छ । यही बीचमा चोटमाथि अर्काे चोट थपियो । श्रीमतीको खुट्टामा पहिला सानो घाउ थियो । घाउ बढ्दै गयो । पछि त्यसैमा क्यान्सर भएछ । उपचारका लागि कहिले भरतपुर क्यान्सर अस्पताल, कहिले भक्तपुरतिर पुगियो तर रोग निको भएन । हुनेलाई जहीँतहीँ, नहुनेलाई कहीँ न कहीँ भनेझैं कतै केही जोर चलेन । 

१० वर्षअघि मातातीर्थमा जन्मजात अपांग छोरा जन्मियो । सुस्तमनस्थितिको । दुईवटै खुट्टा चल्दैन । हिँड्न छाडेको ७ वर्ष लाग्यो । कमाएको पैसाले मात्रै घरखर्च चल्दैन । ऋणमा चलेको छ जिन्दगी । ऋणमै चलिरहेछ घरबार । तीनवटा साहुको ऋण एक लाखभन्दा माथि तिर्नु छ । साँवा–ब्याज गरेर तिरिरहेको छु । कसैले सुनायो अपांगलाई राज्यले भत्ता दिन्छ । उपचार खर्च दिन्छ । एक दिन रामशाह पथस्थित स्वास्थ्य मन्त्रालय पुगेँ । त्यहाँबाट टेकु पठायो । जसोतसो छोराको नाममा अपांग भत्ता मिल्यो । उसको नाममा मासिक दुई हजार आउँछ । छोरीका लागि पनि त्यो भत्ता मिलाउन लाख कोसिस गरँे । स्वास्थ्य मन्त्रालय पटक–पटक धाएँ । त्यहाँका सचिव, सहसचिव, मन्त्रीका पिएलाई भेट्न खोजें । तर, हामीजस्ता काम न काजका मान्छेलाई कसले भेट दिने ? सबै व्यापारी र नेताको पछाडि लागेका छन् । ‘गरिबको चमेली बोल्दिने कोही छैन...’ भनेजस्तो भएको छ । जे मा पनि सोर्सफोर्स चल्ने यो मुलुकमा यो छुसी ठेला चालकको छोरीलाई अपांग भत्ता कसले मिलाइदिने ? सोर्सफोर्स लगाइदिने कसले ? 

हजार प्रयास गरेँ, कतैबाट केही तार लागेन । क्यान्सर लागेकी श्रीमती, त्यहीमाथि मानसिक रोगी । कसैले सुनायो चर्चमा लग्यो र क्रिस्चियन बन्यो भने निको हुन्छ । आशा जाग्यो । हामीजस्ता मान्छेसँग बाँच्नका लागि त्यही आशाको एक सानो त्यान्द्रोमा त सास अडेको हुँदो रहेछ । क्रिस्चियन बनेर न श्रीमतीको व्यथा घट्यो न त मेरो दुःख ! ‘बर्मा गए कर्मसँगै....’ भनेझैं डाक्टरले निको पार्न नसकेको रोग क्रिश्चियनले कसरी निको पार्न सक्थ्यो ? छोरालाई बेल भिजनमा भर्ना गरेको थिएँ, खर्च धान्नै सकिनँ ।

केही समयअघि मात्र सेलिब्रेटीहरूले सम्बन्धविच्छेद गरेको सुनँे । अचेल शहरमा मौलाएको छ आधुनिकताका नाममा वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्दै हिँड्ने धन्दा । २२ वर्षे सम्बन्धलाई समेत ‘स्वतन्त्रताको नाममा’ तोड्नेहरू देखिए । श्रीमती र बालबच्चा छाडेर अर्काे खोज्न जानेहरू पनि छन् तर अहँ जीवनमा कहिल्यै त्यतातिर मन गएन । आज मरे भोलि दुई दिन । एक बारको जीवनमा कसैमाथि घात र प्रतिघात गरेको छैन । सग्लै छु । कुनै घाउ खत चोट लागेको छैन । सायद यिनीहरूकै लालनपालन गर्नका लागि होला । म बिरामी भएँ भने यिनीहरूको बिचल्ली हुन्छ । कहिलेकाहीँ सोच्छु र टोलाउँछु । मभन्दा दुःखी यिनीहरू छन् । यिनीहरूलाई छाडेर म कहाँ भागँु ? कहाँ जाऊँ ? जति दिन बाँच्छु यिनैका लागि बाँच्छु र जति दिन हाँस्छु यिनैका लागि हाँस्छु । 

– जीवनबहादुर रम्तेल


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top