दासीका तर्फबाट राष्ट्रपतिलाई देन


Wednesday, 13 Mar, 2019 12:59 PM

  • राजेन्द्र स्थापित

जर्ज वासिंगटन र जोन एडम्सपछि थोमस जेफर्सन अमेरिकाको राष्ट्रपति बने । सन् १७८९ मा जर्ज वासिंगटनले अमेरिका बेलायतबाट स्वतन्त्र भएको घोषणा गरे । त्यो भाषण लेखेका थिए, जेफर्सनले । स्वतन्त्रतालगत्तै उनी भर्जिनिया राज्यको गभर्नर बने, त्यसपछि विदेशमन्त्री अनि सन् १७९७ मा उपराष्ट्रपति । सन् १८०१ मा अमेरिकाको तेस्रो राष्ट्रपति बन्दा ५८ वर्ष पुगिसकेका थिए ।

उनी र मार्था स्केल्टनले सन् १७७२ मा बिहे गरेका हुन् । जेफर्सन मार्थाका दोस्रो पति, पहिलो पति बार्थुरस्ट स्केलटन वकिल थिए । बार्थुरस्टसँग बिहे गर्दा उनी मात्र १८ की थिइन् । बार्थुरस्टको असामयिक निधनपश्चात पाँच सन्तानकी आमा मार्थाको भेट जेफर्सनसित भयो । चार वर्षको लगातार भेटघाट र प्रेमालापपछि सन् १७७२ मा दुवै बिहे गर्न राजी भए । मार्था जेफर्सनसित बिहे गरिसकेपछि पुनः ६ सन्तानको आमा बनिन् । लगातारको गर्भाधान, सुत्केरी र गर्भपतनका कारण स्वास्थ्य निकै कमजोर बन्न पुग्यो, परिणाम ११ औं सन्तान जन्माउँदा उनको निधन भयो । उमेर थियो जम्मा ३३ वर्ष । 

त्यसबेला जेफर्सन ३९ का थिए । ३ वर्षपछि राष्ट्रपति जर्ज वासिंगटनले वाणिज्य दूत बनाएर फ्रान्स पठाए । जेफर्सनले साथमा प्रिय दासी सेली हेमिंग्सलाई पनि लगे । सेली ससुरा जोन वायलेसबाट उपहारप्राप्त दासी थिइन् । त्यसबखत दासदासीलाई खरिद–बिक्री गर्ने र उपहार दिने चलन थियो । सेलीकी आमा एलिजाबेथ उर्फ बेट्टी जमिन्दार जोन वायलेसको घरमा दासी थिइन् । जोनका मार्था इप्पस र ताबिथा कुक पत्नी थिए । तर पनि उनले २६ वर्षीय अश्वेत दासी बेट्टीसँग शारीरिक सम्बन्ध राख्न थाले । बेट्टी पहिल्यै चार सन्तानको आमा थिइन्, जोनका तर्फबाट थप ६ सन्तान जन्माइन् । यस अर्थमा सेली पनि जोनकै छोरी भइन्, कान्छी छोरी । बेट्टी र उनको परिवारले जोनको परिवारबाट चार हजार पौण्ड ऋण लिएका थिए । त्यो तिर्न नसकेपछि सेली पनि जोनकै घरमा दासी बनिन्, भलै तिनी उनैकी छोरी थिइन् । अश्वेत आमा र गोरा जोनको सन्तान भएकाले सेलीको वर्ण मिश्रित थियो ।

जोनले ज्वाईंलाई उपहार दिँदा सेली मात्र चार वर्षकी थिइन् । चुलबुले स्वभावकी सेली जेफर्सनलाई शुरुदेखि नै मन पर्थिन् । वाणिज्यदूतमा नियुक्त भएपछि जेफर्सन लण्डन हुँदै पेरिस पुगे । साथमा थिए, छोरी मेरी ‘पोली’ र १४ वर्षकी दासी सेली । जेफर्सन त्यतिबेला विधुर थिए । फ्रान्समा रहँदा सेलीसँग शारीरिक सम्बन्ध राख्न थाले । र, पेरिस पुगेको दुई वर्ष नपुग्दै सेली गर्भवती बनिन् । फ्रान्सको कानुनअनुसार दास राख्न पाइँदैन थियो, त्यसैले जेफर्सनले सेलीलाई मासिक दुई पौण्ड दिने गरे । अन्य नोकरहरुलाई भने ८–१० पौण्ड ज्याला दिन्थे । 

सेली पेरिसमा २६ महिना बसिन् र सुत्केरी बन्ने दिन नजिकिएपछि स्वदेश फर्किइन् । जेफर्सनले मोन्टीसेलोस्थित कृषि फार्ममा बस्ने व्यवस्था मिलाइदिए । जेफर्सनको त्यहाँ पाँच हजार एकड जमिन थियो । जेफर्सन सन् १७८९ मा स्वदेश फर्के । लगत्तै विदेशमन्त्रीमा नियुक्ति पाए । सन् १७९७ मा उपराष्ट्रपति र सन् १८०१ मा तेस्रो राष्ट्रपति बन्ने सौभाग्य पाए । तर, सेलीसित यौनसम्बन्ध राख्न छाडेनन् । सेली ३८ वर्षसम्म जेफर्सनको प्रेमिका बनिन् । जेफर्सनबाट ६ सन्तान पाइन् तर मृत्युको समयसम्म पनि दासीकै रुपमा रहिन् । जेफर्सनको घरमा सयभन्दा बढी  दासदासी थिए । सेलीले जीवनमा कहिल्यै बिहे गरिनन्, जेफर्सनबाहेक अरु कुनै पुरुषसित सम्बन्ध पनि राखिनन् । उनको मृत्यु सन् १८३५ मा भयो । जेफर्सनको निधन सन् १८२६ मै भइसकेको थियो । उनीहरुबीच ३० वर्षको अन्तर थियो । 

जेफर्सनले पेरिसमा रहँदा सेलीलाई ओछयानको साझेदार बनाउने गरे पनि प्रेम भने अर्कैलाई गर्थे । मारिया लुइसा कोज्वे इटलीकी । चित्रकार । कार्यक्षेत्र लण्डन र पेरिस । पति रिचर्ड पनि चित्रकार तर चरित्रहीन । पछिल्लो समय मारिया पेरिसमा बस्थिन् भने रिचर्ड प्रायः लण्डनमा । उनी बेलायती युवराजका प्रिय चित्रकार थिए तर दैनिकजसो वेश्यालय धाउँथे । लोग्नेको अनुपस्थितिमा मारियाले एक्लोपन महसुस गर्न थालेकी थिइन् । यसबीच अमेरिकी चित्रकार जोन ट्रमबुलले जेफर्सन र मारियाबीच परिचय गराइदिए । मारिया राम्री र चुलबुले स्वभावकी । त्यसबखत उमेर २७ वर्ष । पहिलो भेटमै जेफर्सन आकर्षित भए । रात्रिभोजमा आउन प्रस्ताव राखे । त्यो साँझ सँगै बिताए । 

भेटघाट नियमित बन्दै गयो । पुरातत्व र कलासम्बन्धी विचार विमर्श गर्थे । मारिया चित्रकला प्रदर्शनीको क्रममा पेरिसबाहिर गइरहन्थिन् । साथमा जेफर्सन पनि जान थाले । ६ हप्ताको संगतपछि प्रेम शुरु भयो । उता, रिचर्डको ढिपीले गर्दा मारिया लण्डन फर्किइन् । जेफर्सनले सन् १७८६ को अक्टोबर १२ र १३ मा दुई दिन लगाएर मारियाको नाउँमा प्रेमपत्र लेखे, चार हजार शब्द लामो । मारियाले पनि जेफर्सनको प्रेमलाई स्वीकारिसकेकी थिइन्, त्यसैले पुनः पेरिस फर्किइन् । फेरि प्रेमी–प्रेमिकाको मिलन भयो । मारिया क्याथोलिकप्रति समर्पित नारी, त्यसैले गर्भाधान गर्न चाहिनन् । यसै प्रसंगले गर्दा दुई जनाबीच केही समय फाटो आयो । तर मारियाकै प्रयासले पुनः सम्बन्ध सुधार भयो । यसबीच जेफर्सन स्वदेश फर्किने समय नजिकियो । मारियालाई पत्र लेख्दै भने, ‘म अमेरिका फर्कंदैछु, तिमी इटली । हामीमध्ये एकजना गलत बाटोमा हिँड्दै छौं । यो गलत मार्गले हामीलाई सधैंका लागि टाढा पु¥याउँदैछ ।’

जेफर्सन स्वदेश फर्केपछि पनि प्रेमपत्र आदानप्रदान भइरह्यो । यो क्रम सन् १८२६ अर्थात् ३९ वर्षसम्म चल्यो । जेफर्सनले अमेरिका पुगेलगत्तै लेखे, ‘मेरो विरह–वेदनाले मलाई नराम्रोसित दुःखी बनाएको छ । मन खिन्न छ ।’ जेफर्सन सन् १८०१ मा राष्ट्रपति बने । सन् १८०९ सम्म सो पदमा बसे । यस अवधिमा पनि मारियालाई प्रेमपत्र लेख्न समय निकाल्थे । मारियाको निधन सन् १८३८ मा भयो ।

जेफर्सन र मारियाका प्रेमपत्रहरु सन् १९४४ मा पहिलोपटक सार्वजनिक गरिएका सबै पत्र भर्जिनियाको संग्रहालयमा संरक्षित छन् । जेफर्सनसित उनको सम्बन्धलाई लिएर बनाइएको चलचित्र ‘जेफर्सन इन पेरिस’ सन् १९९५ मा प्रदर्शन भइसकेको छ । चलचित्रमा मारियाको भूमिका इटालियन अभिनेत्री ग्रेटा स्काचीले निभाएकी छन् । 

सास्तीपूर्ण सम्बन्ध

अलेक्ज्याण्डर हैमिल्टन राष्ट्रपति त भएनन् तर अमेरिकाको राष्ट्रपितामध्येका थिए । अमेरिकी संविधानका व्याख्याता । प्रथम राष्ट्रपति जर्ज वासिंगटनको कार्यकालमा अर्थमन्त्री बनेका उनैले स्वतन्त्र अमेरिकी अर्थतन्त्रको नक्सा कोरे । राष्ट्र बैंक स्थापना गरे । बेलायतसँग व्यापार सम्बन्ध कायम गरे । उनी तेस्रो राष्ट्रपति थोमस जेफर्सनका प्रतिद्वन्द्वी थिए । जेफर्सनलाई कृषकवादी भनेर आरोप लगाउँथे । उद्योग व्यवसायका पक्षपाती र संघीय पार्टीका जन्मदाता थिए । 

एलिजाबेथ स्चुलरसँग बिहे गरे । एलिजाबेथ जर्नेलकी छोरी थिइन् । भेट भएको एक वर्षपछि बिहे भयो । एलिजाबेथलाई ८ छोराछोरीको आमा बनाइदिए । जेठीसासू र सालीसँग विशेष सम्बन्ध थियो । एलिजाबेथकी दिदी एन्जेलिकासँग त शारीरिक सम्बन्ध नै कायम भयो भने बहिनी पेग्गी उर्फ मार्गरिटासित लामो समय प्रेम सम्बन्ध रह्यो । पेग्गीलाई लेखिएका प्रेमपत्रहरु पछि सार्वजनिकसमेत भए । सन् १७९६ को चुनावताका हैमिल्टनको सेक्स स्क्याण्डल एकाएक चर्चामा आयो । सन् १७९१ मा ३४ वर्षीय उनले २३ वर्षीया मारिया रेनोल्डससँग अवैध सम्बन्ध राखेका रहेछन् । मारियाले फिलाडेल्फियास्थित घरमा बोलाएर सम्बन्ध राखेको कुरा मारियाकै लोग्ने जेम्स रेनोल्डसले भण्डाफोर गरिदिए । जेम्सले पछि यसै विषयलाई लिएर लामो समयसम्म हैमिल्टनलाई ब्ल्याकमेलिङ गरिरहे । जेम्सले एक हजार तीन सय डलर दिएर मामिलालाई रफादाफा गरे । चुनावमा जब विरोधीहरुले मारियालाई ठूलो रकम घुस खुवाएर घटनालाई दबाएको आरोप लगाए, हैमिल्टनले आरोपलाई सहर्ष स्वीकारे । मारियासित आफूले एक वर्ष सम्बन्ध राखेको पनि बताए । विरोधीहरुले यो काण्डलाई जति उछाले पनि अन्ततः हैमिल्टनले समर्थन गरेका र उनैको पार्टीका उम्मेदवार जोन एडम्सले चुनाव जिते । 

असफल आरोप
सन् १८८४ को निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार ग्रोभर क्लिभल्याण्डलाई विरोधीहरुले समेत यस्तै आरोप लगाएर चुनावमा पछार्न खोजे । चुनावी अभियानको दौरान उनले क्लिभल्याण्डमाथि वर्षौंदेखि एउटा अवैध बच्चाको पालनपोषणको सम्पूर्ण भार उठाउँदै आएको आरोप लगाए । क्लिभल्याण्डका समर्थकहरुले सोधे, ‘विरोधीहरुले उठाइरहेको सवालको जवाफ हामीले कसरी दिने ?’

क्लिभल्याण्डले दृढतासाथ भने, ‘कुरो सत्य हो भन । जनतालाई ढाँट्नुहुँदैन ।’ यसपछि रिपब्लिकन पार्टीका कार्यकर्ताहरुले उडाएर भन्न थाले, ‘आमा, आमा, कता छन् हाम्रा बुबा ?’ अनि उनीहरुकै अर्को समूहले जवाफ दिन्थ्यो, ‘ह्वाइट हाउसमा छन्, हाहाहा...!’ तैपनि चुनाव क्लिभल्याण्डले नै जिते । उनले पछिसम्म एउटै कुरा भन्दै हिँडे, ‘सबै सत्य जनतालाई बताऊ ।’

अमेरिकी गृहयुद्ध (सन् १८६१–१८६५) पछिको क्लिभल्याण्डको जित नै डेमोक्रेटिक पार्टीको पहिलो जित बन्यो । क्लिभल्याण्ड त्यहाँका २५ औं राष्ट्रपति थिए ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top