​लौ दिएँ नमागेको सल्लाह


Sunday, 17 Mar, 2019 12:56 PM

  • लेखनाथ भण्डारी 

बयान– १ 
कसैलाई बुद्धसँग रिस उठेछ ।

बुद्धलाई उसले यसरी गाली ग¥यो कि बुद्धभन्दा खराब यो संसारमा कोही छैन । तिमी आफू भाँडियौं, अरूलाई पनि भाँड्यौ– यस्तै अनेक । 

बुद्धले विनयी भावमा सोधे– मसँग तिमीलाई दिने कुनै कुरा छैन । मसँग भएको यो पात्र (धातुको लोटा) दिन्छु । यही भए पनि लैजाऊ । 

बुद्धलाई गाली गर्नेले भन्यो– यो तिम्रो थोत्रो लोटा मलाई चाहिँदैन, तिमी नै राख । तर, यसरी ध्यान स्यान गरेर दुनियाँलाई जोगी नबनाऊ ।

बुद्धले सोधे– ठिकै छ, मैले दिएको लोटा तिमीले नलिएपछि अब यो कसको भयो ?

रिसाउनेले थप्यो– यो कसैको हुन्न । तिम्रै हो, तिम्रै हुन्छ ।

बुद्धले बोले– तिमीले गरेको गाली पनि मलाई काम लाग्दैनन् । म पनि तिम्रो कुनै गाली लिन्नँ ।

बयान– २ 

पत्रकार युवराज आचार्यको एउटा टिप्पणी थियो, सरकारमा बस्नेहरूले त्यस्तो एकै प्रकारको के सामुहिक भोजन गर्छन् ताकि तिनका गतिविधिले सरकारबारे नकारात्मक जनमत बनाउन मात्र मद्दत गर्छ ?

सन्दर्भ थियो, सार्वजनिक पदमा हुनेहरूले सरकारमातहत माध्यममा लेख, रचना सिर्जना आदि सार्वजनिक भए पारिश्रमिक लिन नपाइने । 

लेख, रचना, कविता, कृति वा अन्य सिर्जना लेखक कलाकारको समाजका लागि अतिरिक्त सेवा हो । त्यसको पारिश्रमिक दिनु अतिरिक्त खर्च होइन, अतिरिक्त आम्दानी गर्नु हो । अतिरिक्त आम्दानीले खर्च कटाएर नाफा राखी थोरै अंशमा मात्र दिइने सम्मान, पुरस्कार वा स्याबासीजस्तो हो लेखकस्व ताकि लेखकहरूले थप लेखिरहुन् र नाफा जारी रहन सकोस् । यदि, सरकारमातहतका निकायले लेख–रचनाको पारिश्रमिक नै दिन नसक्ने वा कुनै पनि नाफा हुन नसक्ने त्यस्ता संस्था छन् भने तिनको सञ्चालन नगरे राम्रो तर सिर्जनाकर्मीको श्रम नदिन मिल्दैन । यस्ता तजबिजी नीति–नियम बनाउन सरकारलाई कसले प्रेरित गरिरहेछ ताकि हाम्रा प्राथमिकताहरूको विषयान्तर हुने र सबैको ध्यान तथा समय पनि यस्तै अनावश्यक विवादमा खेर जाँदै छ ? लेखक किशोर पहाडीको मत पनि यस्तै छ, एकपछि अर्को गलत निर्णयको भारी बोकाउँदै छ अहिलेको सरकार ।

सरकारमा रहनुहुने सबैलाई जनताको भलो नै गरौँ भन्ने लागेको होला । तर, जुनसुकै कारणले किन नहोस् सरकारी गतिविधिको विरोध भइरहेका बेला कम्तीमा पनि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यममा लेख्ने सार्वजनिक अर्थात् सरकारी पदधारीहरूले जे लेख्थे सरकारकै पक्ष र प्रगतिबारे लेख्थे । सरकारले यो बाटो नै बन्द गरेपछि अर्थात् पारिश्रमिक नै नदिने भएपछि सरकारको पक्षमा कसैलाई कलम चलाउने न रहर हुन्छ, न बाध्यता नै ! झट्ट सुन्दा सरकारी खर्च कटौती गर्ने काइदाजस्तो लागे पनि यसले निजी केही माध्यममा प्रधानमन्त्रीले लगाएका टाई सुट र ज्याकेटका ‘ज्याकेट’ विज्ञापन खर्च जति पनि बचत गर्दैन । 

बयान–३ 

प्रधानमन्त्री केपी ओलीले एक सार्वजनिक कार्यक्रममा भन्नुभयो– कुनै एउटा केटाले लहै लहैमा लागेर नेपालमा मात्र पाइन्छ लुट्न भन्ने गीत गाएछ । जनताले मन पराएनन् र आफंै हटायो, सकियो । यसबारे सरकारले कसैलाई केही भनेकै छैन । 

जब प्रधानमन्त्रीले नै कुनै विषयमा बोल्नुहुन्छ र जनताले मन नपराएको घोषणा गरिदिनुहुन्छ, त्यहाँ अर्को कुन सरकार आएर के बोल्नुपर्छ ? सरकार भनेको को हो र के हो ? 

लेखक, कवि, कलाकार, गायक आदि जनताको भावना र आवाज बोल्ने माध्यम मात्र हुन् । कम्तीमा कवि, कलाकारका माध्यमबाट जनताको आवाज र भावना आउन पाएसम्म र राज्यले त्यसको सुनुवाइ गरेसम्म जनताले राज्य अर्थात् सरकारप्रति विश्वास गर्ने धैर्यता राख्छन् । तर, जब सरकारले कलाकारको माध्यमबाट आएको जनताको आवाज वा भावना सुन्न सक्दैन र दबाउन थाल्छ तब जनता आफंै आफ्नो आवाज सुनाउन अघि सर्न थाल्छन् । त्यसबेला भने सरकारको बचाऊ गर्ने अर्को माध्यम बाँकी रहँदैन । प्रधानमन्त्रीले भन्न सक्नुपथ्र्यो, त्यो गीत हटाउनुपर्दैन राखे हुन्छ । सरकारले कसैलाई कसैद्वारा पनि लुट्न दिँदैन ।

 जुन गीत पशुपति शर्माले गाए, त्यो अराजक शैलीमै भए पनि सरकारलाई सुशासनका लागि दबाब थियो । गीतमा ब्यंग्य भनेर लेखिएको मात्र थिएन नेपाली भाषा बुझ्ने सबैले त्यो व्यंग्य वा दबाब नै भनेर बुझ्थे । त्यसमा लुट्न कसैलाई आह्वान गरिएको थिएन । लुट भन्ने सन्देश प्रवाह भएको वा हुने पनि थिएन । सरकारले सुशासन कायम गर्न र बेथिति रोक्न नसकेको उदाहरणसहित गाइएको व्यंग्यात्मक गीत थियो त्यो ।

गीत÷संगीत धेरै मनोरञ्जन र कतिपय अवस्थामा सन्देशमूलक पनि हुन्छन् तर त्यसपछि प्रधानमन्त्रीका केटाहरू कुकुर भुक्दै गर्छ, हात्ती (हामी ?) लम्किँदै गर्छ भनेर चम्किएको पनि देखियो । 

नेपाली समाजमा अहिले एउटा गीतले निकै ठूलो प्रचार वा महŒव पाएको छ । भिजिट भिसामा हजुर । चलचित्रको भनिएको यो गीत भने पक्कै सरकारी सेन्सर बोर्डमातहत स्वीकृति प्राप्त भएरै सार्वजनिक भएको हुनुपर्छ । मह सञ्चारको प्रस्तुति रहेको गीतका केही लाइनमा भनिएको छ–

यता जति हाड घोटे पनि ठिक्क हुन्छ लाउन खान

उता काम ग¥यो भने पाइन्छ है राम्रो दाम

के गर्नु यस्तै रैछ प्रभू दैवको लीला

उहिल्यै नै उठ्नु पर्ने धेरै भइसक्यो ढिला ।

यो गीतलाई चैं मनोरञ्जनका लागि मात्र वा व्यंग्य हो भनेर बुझ्न वा मान्न सकिन्न । कलाकार हरिवंश आचार्यको अभिनय र नृत्य पनि रहेको यो गीतले स्पष्ट सन्देश पनि प्रवाह गरेको छ । गीतबारे लेखक तथा कवि विश्वराज अधिकारीको मत छ, यसमा प्रयोग भएका शब्दले युवालाई विदेश जान प्रेरित गर्छ र उनीहरूमा निराशा भर्छ । आखिर सरकारले चाहेको यस्तै हो र ?

बयान–४ 

सरकारको सदाशयता वा नियतबारे शंका नगरौं भनेर माथि पनि चर्चा गरिएको छ । तर, परिणामले अपेक्षित विश्वास गर्न सक्ने वातावरण बनेको छैन । प्रधानमन्त्री ओलीले स्वतन्त्र मधेस राज्यको पक्षमा गतिविधि गर्दै आएका चन्द्रकान्त राउतलाई नेपालको राष्ट्रिय अखण्डता र संविधानप्रति प्रतिबद्ध रहेको घोषणा गर्न प्रेरित गर्नुभएको सन्दर्भसम्मलाई सकारात्मक र स्याबासी भन्नुपर्छ । तर, यसै विषयमा फरक दृष्टिकोण वा विश्लेषण गरेकै कारण उहाँका केटाहरूले नेकपाका नेता भीम रावललाई पाखण्डी भनेको कुरालाई महŒव नदिने नै हो भने पनि स्वयं प्रधानमन्त्रीले पनि आफ्नो बोलीमा संयमता अपनाउनु पर्छ । हिजो आफूले हिँडेको तर गलत ठानेको बाटो कोही हिंडिरहेको छ भने त्यो बाटो नहिँड भनेर सम्झाउन सक्नुहुन्छ । आफूले गरेको गल्ती र प्रायश्चितबारे बताउन सक्नुपर्छ । यो लुटेरा र त्यो लुटेरालाई ठेगान लाउँछु भनेर सभागृहमा बोल्दैमा मात्र राजधानीभित्रका जनताका घरदैलोमा बम विस्फोटनको कोलाहल किन रोकिन सक्दैन ? आखिर प्रधानमन्त्रीले कसैलाई काखा र अर्कोलाई पाखा गर्दै जाँदा नै यस्ता भुसको धुवाँले ठूलो आगोको रूप लिन पनि सक्छ । 

राजधानीमा तराईका एक विवादास्पद समूहको नेतालाई महान भनेर अर्चना गरि नसक्दै तराई झर्नुभएका प्रधानमन्त्रीले त्यहाँका अन्य नेतालाई एकपटकको जनमतमै घमण्ड नगर भनेर होच्याउन पनि हुँदैन । आखिर उहाँको जनमत पनि एक पटकभन्दा धेरै पटकको लागि त होइन नि ! राज्य वा सरकारको नेतृत्वले उत्तेजना वा आवेगमा आउने वा कसैलाई पनि बोली र व्यवहारमा विभेद महसुस हुनसक्ने व्यवहार गर्नुहुन्न । नमागेको यस सल्लाहको अन्त्यमा अर्को एक नेपाली गीतको दुई लाइन पनि, 

सहिदिन्छु कुट बरु बोलीले नकुट 

मरिदिन्छु मार बरु बचनले नमार ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top