​देशको हितमा किन दच्किनु


Wednesday, 13 Mar, 2019 12:00 AM

मन्त्रीका विभाग र क्षेत्राधिकार तोकिएका हुन्छन् । तर, विदेश पुगेको बेला राष्ट्रिय हितको प्रसंग आउँदा अरु मन्त्रीले चाहिँ छेउमा परराष्ट्रमन्त्री छैनन् भनेर खुम्चिने कुरा आउँदैन । यही सेरोफेरोमा यसचोटि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सेली मन्त्रीसँग कडिकडाउ कुरा गरेका छन् । 

उनले गत हप्ता त्यहाँका विदेश राज्यमन्त्री जँ बाप्टिस्र्ट लेमोनीसँगको भेटमा नेपाली जहाजमाथि युरोपियन राष्ट्रहरूमा लगाइएको प्रतिबन्धबारे आफ्नो गहिरो सरोकार राखेका हुन् । संयुक्त राष्ट्रसंघको भिटो पावरवाला पाँच देशभित्र पर्छ फ्रान्स । अमेरिका, रसिया, बेलायत, चीनजत्तिकै शक्तिशाली उक्त देशका राज्यमन्त्रीलाई हाम्रा मन्त्रीले भने, ‘एउटा शक्तिसम्पन्न देश फ्रान्स । तपाईंको देशमा जहाज उत्पादन हुने । त्यो जहाज हामीले किन्ने अनि त्यही जहाज तपाईंकै देशमा उत्रिनचाहिँ नपाउने ? हामीले कमसल माल बढी मूल्यमा किनेको त हैन होला नि !’ गोकुलले यसरी कडिकडाऊ कुरा राखेपछि राज्यमन्त्रीले तुरुन्त यसबारे बुझ्ने वचन दिएको पेरिसस्थित हाम्रो कूटनीतिक स्रोतबाट थाहा लागेको छ । 

नेपाल वायुसेवा निगमले फ्रान्सनिर्मित बाइडबडी र न्यारोबडी जहाज किन्दाको हलचल थामिएको छैन । तर, अझै पनि युरोपेली आकाशमा नेपाली वायुसेवाको अवतरण प्रतिबन्धित छ । नेवानिले ५९ मिलियन अमेरिकी डलरको दरले दुईवटा न्यारोबडी जहाज खरिद गरेको छ, जसको नेपाली मूल्य, ५ अर्ब हाराहारी पर्छ । त्यस्तै वाइडबडी खरिद गरिएको छ, एक सय नौ मिलियन डलर, अर्थात् नेपाली रूपैयाँ करिव १२ अर्बमा । त्यही न्यारोबडी जहाज अरुले ७० मिलियन डलर, अर्थात् सात अर्बमा खरिद गर्न सक्ने बताइन्छ । तर, झण्डै दोब्बर १२ अर्ब तिरिएको छ । 

मन्त्री गोकुल बाँस्कोटाकै पहलस्वरूप अबको १५ दिनभित्र बैठक बसेर नेपाली आकाशमा स्याटेलाइट ल्याउने कार्यविधि बन्ने भएको छ । नेपाललाई स्याटेलाइट बेच्ने फ्रेञ्च कम्पनीले अहिले रसियन सरकारको निम्ति ८ हजार किलोग्राम तौलको एउटा यस्तै भूउपग्रह र बंगलादेशको निम्ति अर्को छुट्टै स्याटेलाइट तयार पार्दै छ । पहिलो इन्टरनेटको पहुँच नेपालका दूरदराजमा पुगिसक्न लाग्दा नेपाली आकाशमा आफ्नै स्याटेलाइट (भू–उपग्रह) स्थापना गर्न नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कम्पनीहरूबाट प्रस्ताव माग गरेबमोजिम काम अगाडि बढेको हो । अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनले सन १९८४ मै नेपालका लागि छुट्टयाएका दुई स्याटेलाइट स्लटलाई ३१ वर्ष बितिसक्दा पनि प्रयोगमा ल्याउन नसकिरहेको अवस्थामा यसपटक भने यो अपेक्षा पूरा हुने सम्भावना देखिँदै छ । सन् २०१५ को अन्तिमसम्म विश्वभर ५८ देश र २० संस्थाले आफ्नै स्वामीत्वमा स्याटेलाइट सेवा सञ्चालन गरिसकेका छन् । त्यसैले नेपालका लागि स्याटेलाइट जडान गरेर प्रयोगमा ल्याउनु अतिआवश्यक भइसकेको थियो । 

प्रतिवर्ष नेपालबाट करिब चार अर्ब रूपैयाँ स्याटेलाइटका लागि बाहिरिने गरेको छ । तर, नेपाली आकाशमै स्याटेलाइट भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, ब्रोडकास्टिङलगायतका क्षेत्रमा सहजता थपिन्छ । यसबाट वितरित ब्याण्डविथमा ताररहित सेवा प्रवाह गर्न सजिलो हुन्छ । नेपाली कम्पनीले हाल भारत, सिंगापुर, थाइल्याण्ड, हङकङका कम्पनीबाट स्याटेलाइट सेवा लिँदै आएका छन् । दूरसञ्चार कम्पनी, टेलिभिजन र डीटीएच कम्पनीले विदेशी स्याटेलाइटमार्फत सेवा दिने गरेका हुन् ।

उता, नेपालमा सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइने र २० लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको छ । त्यसक्रममा गोकुलको पहलमा युरोपबाट सीधै यात्रुलाई नेपाल उतार्न सकिने सम्भावना बढेको छ । 

जापानका गैरआवासीय नेपाली भवन भट्टहरूले किनेर उड्दै नउडी ग्राउण्डेड भएको नेपाल वायुसेवाको बोइङ ७५७ अझै बिक्री भइसकेको छैन । बिबि एयरवेजले उक्त जहाज १५ करोडमा किनेको थियो । अहिले १०–१२ करोडमा बेच्दैछ । किन्ने भनिएको अमेरिकन कम्पनीले जहाज नै सर्लक्क लैजाने नभई किनेर टुक्राटुक्रा पारी पार्टस् बेच्ने योजना बनाएको बताइन्छ । नेवानिको अर्को बोइङ पनि छिट्टै बिक्रीमा जाँदै छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top