​पटक–पटक सतित्वको परीक्षा दिइरहनुपर्ने ?


Wednesday, 13 Mar, 2019 12:00 AM

  • रमण पनेरु

संसदमा विचाराधीन नागरिकता विधेयकलाई लिएर विभिन्न अन्तर्वार्ताका अंश र टिका–टिप्पणीहरू सामाजिक सञ्जालमा छाएका छन् । सरकारले सिके राउतसँग गरेको सहमति र मधेसमा जनमत संग्रहको चर्चासँगै नागरिकताका प्रावधानहरू खुकुलो पारिनुलाई तराईलाई नेपालबाट टुक्राउने षड्यन्त्रको रूपमा डा. युवराज संग्रौला लगायतले अथ्र्याइरहेको अवस्था छ । 

त्यसैगरी सिमाना तथा नागरिकता विज्ञ हेमन्त सेढाईंले विभिन्न स्रोतहरू उद्धृत गर्दै विगतमा पनि ४ लाखसम्म भारतीयलाई नागरिकता दिइएको र २१ औँ शताब्दिको अन्तसम्म यसरी नै हरेक दश–दश वर्षमा नागरिकता बाँड्दै जाँदा अन्ततः अंगिकृतको संख्या वंशजभन्दा बढी भई नेपाल नै नरहने आशंकासमेत व्यक्त गर्न थालेका छन् । 

यी षडयन्त्रका सिद्धान्तहरू छाँटिइँदै गर्दा नागरिकतामा लैंगिक विभेदविरुद्ध आवाज उठाइरहेका महिलावादीहरू समेत सामाजिक सञ्जालमा विभिन्न शाब्दिक आक्रमणको शिकार भइरहेका छन् । देश–देशान्तर घुमेका र पत्रकारितामा लामो समय बिताइसकेका एक ‘ठूलै’ व्यक्तिले पनि आमाको नाममा नागरिकताको मागलाई नवजात शिशुको निधारमा ‘बिनाबाबुको छोरो’ भनी लेखाउने चाहका रूपमा अथ्र्याउँदै विकल्पको रूपमा मेरी स्टोप्सका क्लिनिकहरू देशभर रहेको भन्दै गर्भै तुहाउने क्रूर र मूर्ख सल्लाह सामाजिक सञ्जालमा बाँडिरहेका छन् । बुझ्नु पर्ने कुरा के हो भने उनलाई पिताको परिचय दिने पनि आमा नै हुन् । आमाले फलानो तिम्रो बाबु हो भनेकै भरमा उनले त्यो सत्य स्वीकारेका हुन् । ९ महिनासम्म गर्भमा राख्ने र वर्षौंसम्म छातीका लाम्टा चुसाएर हुर्काउने आमाको परिचय पर्याप्त हुँदैन भने तिनै आमाले देखाएको र परिचित गराएको व्यक्तिको पहिचान कसरी यथेष्ट हुन्छ ? 

अचम्म त आमाको नाममा नागरिकता प्रदान गरिनुलाई व्यभिचार बढाउने, नाजायज सन्तान जन्माउन प्रोत्साहन दिने, नेपाली चेलीहरूलाई विदेशीको गर्भ बोक्न उत्प्रेरित गर्ने, बलात्कारलाई बढावा दिने, लगायतका कारणहरू देखाएर रोक्न खोज्ने जनप्रतिनिधिहरूका कुरा सुन्दा लाग्छ । नेताहरूले त्यस्ता आधारहीन तर्क गरिरहँदा प्रश्न गर्नुपर्ने सञ्चारमाध्यम पनि मौन छन् । 

आमाको नाममा नागरिकताको विरोध गरिरहँदा त्यसो गर्नेहरूले के चाहिँ भुलेका छन् भने हालसम्म पुरुषको नाममा त्यस्तै अधिकार दिँदा देश फिजी भइसकेको छैन । पुरुष सबै इमान्दार र देशभक्त हुन्छन् । त्यसैले पुरुषले त्यस्तो अधिकार पाउँदासमेत त्यसको दुरूपयोग भएको होइन भनेर यदि कोही भन्छ भने देशको सम्पूर्ण असमान सन्धि–सम्झौतादेखि लिएर ठुल्ठूला भ्रष्टाचार र तस्करी काण्डमा पुरुषहरू नै अघि रहेको तथ्य पल्टाए हुन्छ । 

पुरुषले आफ्नो नाममा सन्तानलाई नागरिकता दिँदा देशको राष्ट्रियता खतरामा नपर्ने भएपछि नारीले त्यसो गर्दा राष्ट्रियता खतरामा पर्छ भन्नु निहुँ खोज्ने काम मात्रै हो । नत्र आफ्नो सन्तानलाई परिचय दिने कुरामा पुरुषहरू बिच्किनु पर्ने कारणै छैन । महिलाहरू देशभक्त हुँदैनन्, उनीहरूले नागरिकतामा समान हकप्राप्त हुनेबित्तिकै देशलाई फिजी बनाइदिनेछन्, भन्ने सोच राख्नु आफ्नै आमा, दिदी–बहिनी, छोरी र पत्नीप्रतिको अविश्वास हो । 

पटकपटक फिजीकरणको हल्ला सुनेपछि केही जान्ने मन भएर त्यसको बारेमा सामान्य जानकारी बटुलेँ । १८,३०० वर्ग किलोमिटर क्षेत्रफल र करीव ९ लाख जनसंख्या भएको देशसँग १,४७,१८१ वर्ग किलोमिटर क्षेत्रफल र करीव ३ करोड जनसंख्या भएको देशको तुलना गर्नु नै पहिलो गल्ती हो । ‘भारतबाट माछा मार्न गएका महेन्द्र चौधरी प्रधानमन्त्री बने’ भन्ने भनाइ अर्को गल्ती हो । विकिपिडियामा राखिएको जानकारीअनुसार महेन्द्र चौधरीका बाजे भारतीय थिए । तर उनी र उनका पिता दुबै फिजीमै जन्मेका हुन् । उनी १९ मे, सन् १९९९ मा प्रधानमन्त्री चुनिए पनि वर्ष दिनमै कू को शिकार भएर बन्दी बने । त्यसपछि मन्त्रीको रूपमा काम गर्ने अवसर पाए पनि हाल सरकारको आलोचकका रूपमा जीवन व्यतित गरिरहेका छन् । अब यसलाई अतिरञ्जना गर्नु कत्तिको जायज हो ? त्यसो त हालका अमेरिकी राष्ट्रपति ट्रम्पका पुर्खा पनि जर्मन हुन् । त्यसअघिका राष्ट्रपति बाराक ओबामाका पिता केन्याली थिए । खोज्दै जाने हो भने अमेरिकी राष्ट्रप्रमुख भएका गोराहरू जम्मैको पुर्खा युरोपमा भेटिन्छन् । त्यति हुँदाहुँदै पनि अमेरिका विश्वको एक शक्तिशाली राष्ट्र बन्न सफल भएको छ । 

महेन्द्र चौधरी फिजीका लागि विदेशी हुन् भन्दै गर्दा नेपालमा २५० वर्ष शासन गर्ने राजसंस्थालाई पनि विदेशी नै मानिनुपर्छ । राजस्थानबाट आएका भनेर राजपरिवारले नै सगौरव भनिरहेका हुन्छन् । त्यसै गरी सदूरपश्चिमका धेरै जातजाति तिरहुतबाट कुमाउँ हुँदै नेपाल पसेका हुन् । पूर्वका किराँत जम्मै चीनबाट झरेको कुरा इतिहासबेत्ता इमानसिंह चेम्जोङको किराँती संस्कृति र इतिहास पुस्तकमा पढ्न पाइन्छ । तामाङ जातिको त अर्थ नै घोडामा सवार सैनिक भन्ने हुन्छ । तिब्बती राजा श्रङचङ गम्पो ७ औँ शताब्दीमा नेपाल आउँदा सँगै आएका घोडसवार सैनिक उपत्यका आसपास बसाइँ सरेका र कालान्तरमा नेपाली भएका हुन् । अझ निकै पछि जाने हो भने काठमाडौँ उपत्यकाको उत्पत्ति नै ताल फुटेर भएको मानिन्छ । तालका माछा त पक्कै मान्छेमा बदलिएन होलान् । ताल बाहिरकै मानिस आएर बसोबास गरे होलान् । त्यसअर्थमा उपत्यकावासी नै पनि एक समयका अंगिकृत हुन् । तर यी सब निहुँ खोज्ने कुरा मात्रै हुन् । यसको आमाको नामबाट नागरिकता दिनुपर्छ भन्ने मागसँग कुनै सम्बन्ध छैन र जबर्जस्ती विषयान्तरको प्रयास हुनु पनि हुँदैन । 

ट्वीटर र फेसबुकमा आमाको नागरिकताको पक्ष–विपक्षमा बहस चल्दै गर्दा युवल हारारीको होमो स्यापियन्सका केही अंश सम्झनामा आए । इतिहासमा अनेक जातजातिहरू उत्पीडनमा परेका छन् । पश्चिमा देशमा रंगभेदको नीतिले निकै समयसम्म विभेदपूर्ण व्यवस्था कायम राख्यो । नेपाल–भारतमा त जातका नाममा थिचोमिचो अझै छ । तर यी दुबै समाज र संसारमा महिलाहरू उस्तै पीडित रहे । सन् २००६ सम्म ५३ देशमा श्रीमती बलात्कार गरेबापत पतिमाथि कारवाही गर्न पाइँदैन थियो भने विकसित मुलुकहरूमध्येको जर्मनीले १९९७ मा मात्रै बैवाहिक बलात्कारको कानुनी वर्गीकरण छुट्याएको हो । 

यो सीताको युग होइन । पटकपटक सतित्वको परीक्षा दिइरहने र ‘भला है बुरा है जैसा भी है मेरा पति मेरा देवता है’ भन्ने जमाना पनि होइन । हाम्रो समाज र देश व्यक्तिवादी हुँदै गइरहेको छ । मानिसहरू कसैमा आश्रित जीवनभन्दा पनि स्वतन्त्र अस्तित्वमा बढी विश्वास गर्छन् । वैवाहिक सम्बन्ध विभिन्न कारणले भत्कँदै गर्दा तिनले जन्माएका सन्तानहरूको के हुने भन्ने प्रश्न पनि छन् । श्रीमती छोडेर अरुसँग घरजम गरी बसेको पतिको असामयिक निधन हुँदा पूर्वपत्नीको सन्तानले कसरी नागरिकता पाउने ? अंश दिनुपर्ने डरैले वा अन्यकुनै कारणले पतिको परिवारले नाताप्रमाणित गर्न मानिदिएन भने के गर्ने ? नागरिकतामा बाबुको विवरण खुलाउनै पर्ने व्यवस्था राखेर कसैलाई ‘बाबु थाहा नभएको’ भन्ने लेखिएको नागरिकता बोकी बाँच्न बाध्य किन पार्ने ? आखिर सन्तानको त त्यसमा कुनै गल्ती हुँदैन । कतिपय अवस्थामा बाबुले सन्तान नस्वीकारेको पनि हुन्छ । बलात्कारबाट रहन गएको गर्भले नागरिकता लिँदा आफ्नी आमालाई सताउनेको परिचय किन बोक्नुपर्ने ? 

नागरिकता राज्यले दिने भन्दा पनि महिलाले पाउनुपर्ने हक हो । सन्तान जन्मने प्रकृयाबारे बुझेकाले सन्तानमाथि कसको बढि हक हुन्छ भन्ने कुरामा विवाद गर्दैनन् । त्यति भइसकेपछि सन्तानमाथि अग्राधिकार हुने आमालाई उसको सन्ततीलाई वंशजको नागरिकता दिलाउन किन हिच्किचाउने ? हजारौँ वर्ष अघिको ग्रिक समाजको जस्तो महिला र दाशलाई दोश्रो दर्जाको नागरिकको व्यवहार २१ औँ शताब्दिको नेपाली समाजमा कायम रहनु लज्जास्पद हो । 

हामी आफूलाई नेपाल आमाको सन्तान भन्छाँै । त्यति भन्दा बाउ को त भन्ने प्रश्न हामीलाई मन पर्दैन । अनि साँच्चिकै आमाको परिचय दिँदा बाउ किन चाहिने ? जसरी अहिले सम्म पिताको नाम हरेकले नागरिकतामा बोकेको थियो अब कसैले आमाकै नाममात्रै बोक्छु भन्दा किन किन्तु–परन्तु लगाउने ? सामान्य अवस्थामै पनि एक महिलाले आफ्नो सन्तानलाई नागरिकता दिलाउन चाहिन् भने पतिको स्वीकृति किन कुर्नुपर्ने ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top