​पत्रकार पछि लागेपछि...


Saturday, 2 Mar, 2019 1:33 PM

पत्रकारले गैह्रपेशागत आचरण देखाउने र सरकारमा बस्नेहरुले पनि तथ्यमा नटेकी स्वार्थी झुण्डको झोसपोलको आधारमा कसै–कसैको वृत्तिविकास नै यताउता पारिदिने क्रम समृद्ध नेपालमा जारी नै छ । यसैको पछिल्लो शिकार बनेका छन्– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्ण देवकोटा । आगामी साउनको अन्तिम सातासम्म मात्र सेवा अवधि बाँकी रहेका पोखरेली कर्मचारी देवकोटालाई गत साता युवा, खेलकुद मन्त्रालयतिर लखेटिएको हो । यसमा पश्चिमतिरका एक जना पत्रकारको हात रहेको चर्चा छ ।

जनआस्थाले अघिल्लै महिना ‘प्रधानमन्त्री चढेको गाडी एक दिनमै पत्रु’ शीर्षक समाचार लेखेको थियो । सचिव सरुवा प्रकरण पनि त्यही समाचारसँग जोडिएको छ । पाँचतारे सांग्रिला होटलसम्बद्ध पाण्डे खलकका साहुजीहरुले चीनमा बनेको भन्दै लुम्बिनीमा चलाउने नाममा नेपाल भिœयाएको विद्युतीय बस भारतनिर्मित र कमसल खालको रहेकोमा अब कुनै शंका छैन ।

यतिबेला नक्कली कागजात जुटाएर आफ्नो गल्ती ढाकछोप गर्न न्वारनदेखिको बल लगाए पनि सत्य आखिर सत्य नै हो । यही मुद्दामा आवश्यक परीक्षणपछि प्राविधिकहरुले यो सवारीसाधन कामै नलाग्ने ठहरसहितको प्रतिवेदन बुझाएका थिए । त्यसैको आधारमा सचिवले बाँकी भुक्तानी रोकिदिए । रोकिएको सोही पैसा फुकुवा गराउन पत्रकारले फाइल बोकेर यताउति धाउँदै बिचौलियाको भूमिका खेलेको बताइन्छ । ‘म प्राविधिक होइन, तिनले दिएको रिपोर्ट मैले फेर्न मिल्दैन, तपाईंको मुख हेरेर म आफू अख्तियारको हत्कडी लाउन सक्दिन’ देवकोटाले पत्रकारलाई दिएको जवाफ त यति मात्रै हो । तर यसैमा मरमसला हालेर प्रधानमन्त्रीको कान भर्ने काम भयो ।

फलतः देवकोटा आफ्नै भेगको मन्त्री रवीन्द्र अधिकारीसँग अरु केही महिना सहयात्रा गर्ने मौकाबाट चुकेका छन् । पछि गाभिएको संघीय मामिला, सामान्य प्रशासन तथा स्थानीय विकासमा तैनाथ दिनेश थपलिया र देवकोटा अघिल्लो सरकारको पालामा उल्लेखित दुई मन्त्रालयमा सारिएका वरिष्ठ सचिव हुन् । दिनेश वैशाखको पहिलो हप्ता घर जाँदै छन् ।

यो मार्च महिनामा हुने भनिएको सार्क खेलकुद दोस्रोपटक पनि सरेको छ । यस क्षेत्रका सबै राष्ट्रले मञ्जुरी जनाएमा मंसिर–पुसमा आयोजना गर्ने लक्ष्य छ । यही महिना एसियन ओलम्पिकको अवसर पारेर बैंककमा भेला हुने सदस्य राष्ट्रहरुबीच यस विषयमा थप छलफल हुने कार्यक्रम छ । सर्दै सर्दै गएको तेस्रो मिति तय गर्न  काठमाडौंमा बैठक बोलाउँदा १२–१३ लाख खर्च हुने भएकोले थाइल्याण्डमा मौका छोपेर पशुपतिको जात्रा सिध्राको व्यापार गर्न लागिएको हो । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top