​तिमी बस्यौ मनभित्र, यो मायाँको संसार विचित्र


Saturday, 2 Mar, 2019 1:31 PM

  • राजेन्द्र स्थापित

हेनरिक जोन इब्सन आधुनिक नाट्यशालाका जन्मदाता । नाटक त लेख्थे नै, निर्देशन पनि गर्थे । कविता कोर्थे । उनीद्वारा रचित पुतलीको घर, भूतहरु, जनताको शत्रु, जंगली हाँस, हेड्डा गाब्लर, सिद्धहस्तकर्मी, समाजका नाइके, सामुद्रिक युवती, बहुचर्चित नाटक हुन् । ‘पुतलीको घर’ त सर्वाधिक जनप्रिय नाटक सिद्ध भइसकेको छ । शेक्सपियरपछि सबैभन्दा बढी मञ्चित नाटक इब्सनकै हो । जन्म नर्वेमा तर अधिकांश नाटक डेनिस भाषामा लेखे । यो भाषा डेनमार्क र नर्वे दुवै मुलुकमा बोलिन्छ । नोबल पुरस्कारका लागि लगातार तीन वर्ष सन् १९०२, १९०३ र १९०४ मा सिफारिसभयो तर पुरस्कृत भएनन् । साहित्यमा मूलतः आइरिस साहित्यकारहरु जर्ज बर्नाड शा, आस्कर वाइल्ड, जेम्स जोयस, अमेरिकी साहित्यकारहरु आर्थर मिलर, युजिन ओ’निल र क्रोएसियाली मिरोस्लाभ क्रिजाबाट प्रभावित बने । 

बाबु काठका साना व्यापारी तर टाट पल्टेपछि बालक इब्सनले दुःख पाए । १६ वर्षको उमेरमा एकजना औषधि निर्माताकोमा काम गर्न थाले । युवतीको अगाडि जान डराउँथे । एकपटक लिंगमा समस्या आयो । क्लिनिकमा डाक्टरले लुगा खोलेर देखाऊ भन्दा मानेनन् । तर सोही औषधि कारखानामा काम गर्ने नोकर्नी इल्स जेन्स्डाटरसँग पहिलोपटक यौनसम्बन्ध राखे । इल्स गरिब परिवारकी थिइन्, कामीकी छोरी । कारखानामा इब्सन र इल्स दुवै नोकर–नोकर्नी थिए । एकरात उनी इल्सको कोठामा घण्टी बजाउन पुगे । घण्टी नबजेपछि ढोका खोलेर भित्र पसे । भित्र इल्स मस्त निदाइरहेकी थिइन् । इब्सन सानैदेखि अश्लिलताको आभाष दिने साहित्य पढ्न रुचाउँथे । सोही प्रभावका कारण त्यो दिन दुवै जनाबीच सम्बन्ध स्थापना हुन पुग्यो । यो दिनपछि केही समयसम्म यसखाले सम्बन्ध दुवैलाई रुचिको विषय बन्यो । इल्स गर्भवती बनिन् । निर्धनताको बाबजुद इब्सनले इल्सको तर्फबाट छोरो १४ वर्षको नहुञ्जेलसम्म पालनपोषणको सम्पूर्ण जिम्मेवारी उठाउन विवश भए । इल्स कता गइन्, कसैले थाहा पाएनन् । 

पछि इब्सनको भेट हेन्रिक रिक्की होल्स्टसित भयो । उनी मात्र १५ वर्षकी थिइन्, जबकि इब्सन २५ को भइसकेका थिए । तीक्ष्ण दिमागकी, सुन्दर कन्या । भेटघाट एउटा रात्रिभोजमा भएको थियो । इब्सनलाई रिक्की साह्रै मन परेर बिहेको प्रस्ताव राखे । रिक्कीका बाबु थिएटरमा काम गर्थे । साधारण परिवारका उनले एक्ली छोरीको बिहे जागिरको ठेगान नभएका इब्सनसँग गराइदिन चाहेनन् । इब्सनसँग नभेट्न छोरीलाई चेतावनी दिए । यसको बाबजुद गोप्य तवरमा दुवैले भेटघाट गरिरहे । रिक्कीका बाबुले आफ्ना पाँच वर्षे छोरा लार्सलाई छोरी र इब्सनको चियो गर्ने जिम्मा लगाएका थिए । एकदिन इब्सनले रिक्कीलाई औंठी लगाइदिने योजना बनाएर निर्जन स्थलमा बोलाए । यो कुराको जानकारी फुच्चे लार्सले पहिल्यै पाइसकेको थियो । त्यसैले जब इब्सन र रिक्कीको भेट भयो र इब्सनले औंठी लगाइदिन लागे, लार्स बाबुको साथमा उपस्थित भयो । रिक्कीको बाबुलाई देखेर इब्सनको सातो उड्यो । उनी कुलेलम ठोके । विछोडमा एउटा कवितासमेत लेखे । त्यसबेलासम्ममा उनले नाटक लेख्न थालिसकेका थिए । अर्को नाटक ‘फाउटे डे मिउस’ लेखे । रिक्कीपछि क्लारा इबेलसँग सम्बन्ध जोडे ।

इब्सनको राजनीतिप्रति पनि रुचि थियो । विद्रोहलाई रुचाउँथे । समकालीन विश्वको नैतिक र सामाजिक विरोध गर्थे । यही विद्रोही भावनाले लेखनतर्फ डो¥यायो । उनी औषधि विज्ञान पढ्न चाहन्थे तर विश्वविद्यालय प्रवेश गर्ने समय बढी साहित्य सिर्जनातर्फ लागे । नाट्यशालामा काम थाले । बर्गेन नगरमा नाट्य प्रबन्धक र क्रिश्चियानीमा निर्देशक भई काम गरे । लेखन, निर्देशन गर्दै गए । यसबीच सुजान थोरेसनसित भेट भयो । सुजान पादरी हान्स कोन्राड थोरेसनकी छोरी थिइन् । हान्सकी कान्छी पत्नी सराह मार्गरेटको निधन सुजान जन्मिएको केही दिनमै भयो । हान्सले त्यसपछि सुजानको पालनपोषणका लागि राखिएकी धाइआमा माग्डालिन क्राधसँग बिहे गरे । माग्डालिन डेनमार्ककी थिइन् र कवयित्री पनि । उनले थुप्रै उपन्यास, लघुकथा, कविता र नाटक लेखेकी छन् । हेरोउस्थित हान्सको घरमा काम गर्न आउँदाको समय विधवा थिइन्, पाँच सन्तानका आमा । हान्ससँग बिहे गरेपछि थप चार सन्तानकी आमा बनिन् । 

सुजान साहित्य पढ्न रुचाउँथिन् । नाटक ‘दि फिस्ट एट सोलाहग’ प्रकाशित भएपछि एकदिन इब्सनलाई आफ्नो घरमा बोलाइन्, पुस्तकालय देखाउन । त्यसबेला इब्सन बर्गेनस्थित नर्वेली रंगमञ्चमा निर्देशकको काम गर्दै थिए । पहिलो भेटमै सुजान मन प¥यो । दुवैजना स्कुलमा सहपाठी थिए । दोस्रो भेट बल–डान्स कक्षमा भयो । दुवैले नृत्य त गरेनन् तर गफ गर्दै रात छ्यांंग पारे । भोलिपल्टै इब्सनले सुजानलाई लिएर एउटा कविता लेखे । दोस्रो भेटघाटको वर्णन गरे । सन् १८५८ मा सुजानले जर्मन साहित्यकार गुस्ताभ फ्रेटागद्वारा लिखित नाटक ‘ग्राफ वाल्डेमर’ को नर्वेली भाषामा अनुवाद गरिन् । नाटककार र नाटकको पाठकले करिब दुई वर्षको प्रेमपछि सन् १८५८ को जुन १८ मा बिहे गरे । बिहे गर्दा इब्सन ३० वर्षका र सुजान २२ की थिइन् । सुजानले १८ महिनापछि सिगुर्ड इब्सनलाई जन्म दिइन् । सिगुर्ड पछि लेखक बने । राजनीतिमा लागे र सन् १९०३ देखि १९०५ सम्म नर्वेको प्रधानमन्त्रीसमेत बने । सुजानले आफ्ना मित्र बर्गिलोट ब्जेनिसनसित बाचा गरेकी थिइन्, यदि उनी छोरा र बर्गिलोटका छोरीको आमा बनिन् भने दुवैको सन्तानको बिहे गरिदिने । पछि त्यसै गरिन् पनि ।
सुजान आकर्षक युवती थिइन् । लामो कपाल पाल्थिन्, कुर्कुच्चासम्म पुग्ने गरी । दृढ इच्छाशक्ति र उग्रविचारधारा बोक्थिन् । बिहेपछि दुवैमा निकै माया–प्रेम बस्यो । इब्सन सुजानलाई ‘मेरी बिल्ली’ भनेर बोलाउँथे । सुजान इब्सनलाई हरेक पल लेख्न घच्घच्याइरहन्थिन् । लेख्नलाई हातमा कलम थमाउँथिन् । कापी अगाडि राखिदिन्थिन् । इब्सनले एकपछि अर्को नाटक सिर्जना गर्नुमा र विश्वप्रसिद्ध नाटककार बन्नुमा सुजानको ठूलो हात छ । ‘भूतहरू’ नाटककी पात्र श्रीमती अल्भिङ, ‘पुतलीको घर’ की पात्र ‘नोरा’, ‘पिअर जिन्ट’ की पात्र ‘आमा एसे’, सुजानबाट प्रभावित भएर सिर्जित पात्र हुन् । सन् १८६७ मा नाटक ‘पियर जिन्ट’ लेख्न सकेपछि एकदिन इब्सनले परिवारका सबै सदस्यसामु नाटक पढेर सुनाउँदै थिए । जब नाटकको पात्र आमा एसेको सन्दर्भ आयो, त्यो हरफ पढेर सुजान रोइन् । 

सुजानको भनाइअनुसार बिहेपछि पनि इब्सन कम उमेरका युवतीप्रति आकर्षित हुन्थे । विशेषगरी घरमा काम गर्ने युवतीहरुप्रति । उनीहरु नजिक आउँदा मूर्तिवत खडा भई हेरिरहन्थे । सुजानकै भनाइमा उनी हेराइमै मात्र सीमित हुन्थे । लोकप्रिय लेखक बनेपछि धेरैभन्दा धेरै युवती उनको नजिक आउन खोजे । कामुक हाउभाउ गरेर उनलाई फसाउन खोजे तर उनी फसेनन् । इब्सनको भित्री इच्छा थियो, खुब पैसा कमाएर जहाज किन्ने । जहाजमा जिप्सीहरुलाई नृत्य गराउने । मिल्ने साथी र राम्राराम्रा युवतीहरुको साथमा उक्त जहाजमा यात्रा गर्ने । सुदूर दक्षिणतर्फ जाने । त्यतैको टापुमा महिनौं बिताउने र रमाउने । कुमारी युवतीहरुको समिप बसेर तृष्णा मेट्ने उनको बानी जीवनको अन्तसम्म रह्यो । कतै दिवा वा रात्रिभोजमा जाँदा युवतीहरुको बीचमा बस्ने बानी कहिल्यै छाडेनन् । मुलुकबाहिर जाँदा उनी बसेको होटलमा अटोग्राफ लिन युवतीहरु लाइन लाग्थे । युवतीहरुले अटोग्राफ लिइसकेपछि ‘किस’ खान भन्थे । युवतीहरुको आग्रहलाई कहिल्यै नकारेनन् । म्वाइँको बदला म्वाइँ खान्थे, ख्वाउँथे तर शारीरिक सम्बन्ध बनाएनन् । 

इब्सन त्यसैले लामो समय बदनाम हुनबाट बचेर हिँडे । तर सन् १८८९ मा थाहै नपाई एमिली बार्डाख नामकी १८ वर्षीया युवतीसित प्रेम गर्न पुगे । इमिली अष्ट्रियाको राजधानी भियनाकी थिइन् । मुलुकबाहिर उनैलाई साथ लिएर जान थाले । इमिलीसितको अफेयर्सका कारण ६१ वर्षीय इब्सनको वैवाहिक जीवन झण्डै टुटेको थियो । सबैले इब्सनले सुजानसितको सम्बन्ध तोडी इमिलीसित दोस्रो बिहे गर्दै छन् भन्न थालिसकेका थिए । अन्त्यमा चौतर्फी दबाब सिर्जना भएपछि इमिली भियना फर्किइन् । इब्सन र उनले प्रेमपत्र लेख्न भने छाडेनन् । इमिलीले सन् १८७७ मा आफ्नो निजी डायरी प्रकाशित गरिन् । जसमा इब्सनले उनलाई लेखेका १२ वटा प्रेमपत्र थिए । इब्सनको बहुचर्चित नाटक हेड्डा ग्याब्लरको मुख्य पात्र इमिलीबाट प्रभावित पात्र हुन् ।

इमिलीपछि इब्सनको जीवनमा अर्की युवती हेलेन राफले प्रवेश गरिन् । सन् १८९१ मा ६३ वर्षको उमेरमा इब्सन २७ वर्षीया हिल्डुर एन्डर्सनसित नजिकिए । हिल्डुर पियानो वादक थिइन् । सुजान उनीसित नहिँडेको बेला हिल्डुर नै यात्राको साथी हुन्थिन् । एकपटक सौतेनी आमाले पत्र लेखेरै चेतावनी दिइन्, इब्सनलाई छाड्न । सुजानले तत्कालै पत्र लेखेर स्पष्टीकरण मागिन् तर इब्सनले तिम्रो सौतेनी आमा बूढी भइसकेकीले दिमागले काम गर्न छोडेको र उनले सोचेअनुरुप हिल्डुरसँग आफूले सम्बन्ध नगाँसेको स्पष्ट पारे । त्यसपछि हिल्डुरसँग हिँड्न पनि छाडे । इब्सन आफ्नो जीवनकालमा नर्वेमा मात्र होइन, युरोपभरि नै प्रसिद्ध भए । जताततै नाटयशैलीमा ठूलो प्रभाव पारे । नर्वेली जनताको प्रिय पात्र बने । उनको निधन सन् १९०६ मा भयो । आठ वर्षपछि सुजानको पनि देहावसान भयो । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top