​हतियार फुत्त निस्कियो भने के हुन्छ ?


Friday, 1 Mar, 2019 12:44 PM

फेरि देशमा बिष्फोटन, आगजनी र हत्याको श्रृंखला शुरु भइरहँदा पुराना हतियार, तिनको भण्डारण वा गोपनीयताबारे प्रश्न उठ्न थालेका छन् । 

जनयुद्धताका माओवादीले सरकारबाट फुत्काएको हतियार संख्या ६ हजार अठहत्तर थियो । यसमा नेपाल प्रहरीका चौंतिस सय नौ, सशस्त्र प्रहरीका अठार सय उनन्सत्तरी र सेनाका आठ सय विभिन्न प्रकृतिका हतियार थिए । नेपालका कुनै पनि सुरक्षाफौजले नचलाउने रसियानिर्मित एके फोर्टी सेभेनसमेत माओवादीले प्रयोग गथ्र्यो तर शान्ति प्रक्रियामा आउँदा उसले आफ्नो साथमा रहेको भनी ३४ सय ७५ थान हतियार मात्र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) को निगरानीअन्तर्गत राख्यो । बाँकी हतियार कता गए ? प्रश्न अझै अनुत्तरित छ । हालसम्म सकेट बममा मात्र सीमित विप्लव समूहले अब ती हतियार प्रयोग गर्न थाल्यो भने के हुन्छ ? जनसेना ३२ हजार अनि हतियार बुझाएको चाहिँ साढे तीन हजार मात्रै ? सेना समायोजनमार्फत शान्ति प्रक्रिया टुंगो लगाउने क्रममा माओवादी नेताको सुरक्षार्थ दिइएको भनिएका केही हतियार माग्ने क्रममा फेरि छलछाम भयो । त्यस्ता हतियार बुझाउन २०६९ चैत २२ को मन्त्रिपरिषद् बैठकले ०७० वैशाख मसान्तसम्मको अल्टिमेटम दिएको थियो । तर, पनि हतियारहरु बुझाइएनन् । ०६९ मंसिर १० मा १४ सय ६० माओवादी लडाकु नेपाली सेनाको तालिममा सहभागी भएपछि चैत २२ भित्र बाँकी हतियार बुझाउने अर्को म्याद पनि गुज्रिएर एक महिनाको समय थप हुँदा जम्मा ६२ हतियार दाखिला भए । दश वर्षे जनयुद्ध छाडेर माओवादी शान्ति प्रक्रियामा आएको दशै वर्षपछि ०७३ पौष ३ गते जुम्लाबाट २ थान एसएलआर, ०७० कात्तिकमा जाजरकोट सदरमुकाम खलंगाबाट ६ थान थ्रिनट थ्रि, २ थान टु इञ्च मोर्टार र चवालिस थान एसएलआर बरामद भए । अनि ०७१ साउन ६ गते एके सड्चालिस राइफलसहित मनाङबाट  नवीन र उजिर मगर समातिए । 

जतिबेला सरकारले हतियार फर्काउन अल्टिमेटम दिइरहेको थियो, त्यसबेला माओवादी पार्टी बैद्य, मात्रिका यादव, मणि थापासहित विभिन्न समूहमा विभक्त थियो । उनीहरुसँग गलिल, एम सिक्स्टिन एसएमजी, इन्सास, एसएलआर, ठूलो र सानो चाइनिज माउजर, ब्राउनिङ माउजरजस्ता संवेदनशील हतियार थिए । मोहन वैद्यसँग मात्रै पनि इन्सास, एसएमजीसहित तीन हतियार थिए । अहिलेका गृहमन्त्री रामबहादुर थापा (बादल) सँग गलिलसहित दुई, नेत्रविक्रम चन्द (विप्लव) सँग एसएलआर, इन्साससहित तीन थान देखिन्थे । तर ती विभिन्न हतियारमा प्रयोग हुने तीन सय ८४ गोली र २१ वटा म्यागजिनसमेत बेपत्ता छ । माओवादीबाट वैद्यहरु अलग्गिनुअघि नै पार्टी छाडेका अहिलेका उद्योगमन्त्री मातृका यादवले एउटा एसएलआर, एके–४७ र तीन पेस्तोल लगेका थिए । पार्टीमा फर्किंदा उनले हतियार फर्काएको कुरा कतै आएको छैन । लडाकु समायोजन प्रक्रियामा सहभागी हुनुअघि माओवादी शीर्ष नेताको सुरक्षार्थ भनिएका हतियारमध्ये सात वटा विभिन्न सुरक्षा जाँचका क्रममा प्रहरीले बरामद गरेको अभिलेख गृह मन्त्रालयमा छ । सशस्त्र द्वन्द्वकालमा माओवादीले प्रहरीका ३४ सय नौ र सशस्त्रका १८ सय ६९ हतियार लुट्यो । तर, शान्ति प्रक्रियामा आएपछि उसले तीमध्ये राज्यलाई कुन हतियार कति–कति बुझायो ? यसको अभिलेख पनि अद्यावधिक गरिएको छैन । केही हतियार सेनासँग थिएनन्, तर माओवादीसँग थिए । जस्तो कि, एके ४७ । प्रहरीसँग त झन् जिपिएमजी, ८१ इञ्च मोर्टार, रकेट लञ्चर हुने कुरै आएन । जसरी माओवादीले सेनाको वास्तविक संख्या बताएन, हतियारको कथा पनि त्यस्तै छ । अर्थात्, अहिलेसम्म त्यसको यकिन विवरण छैन । सरकार र अनमिनले कडाइ गरेपछि प्रचण्डले कतिपय हतियार खोलाले बगायो पनि भने । अहिले गाइँगुइँ छ, धेरैजसो हतियार लुकाइएको पक्कै हो किनकि ती अहिले फुत्तफुत्त फेला पर्दैछन् ।

त्यसमध्येकै हतियार विप्लव नेकपासँग भएको आशंका गरिँदैछ । अहिले विप्लवहरुले देखाइनहाले पनि ती कहीँ न कहीँ सुरक्षित छन् । प्रश्न हो, अब ती हतियार कहिले निस्कन्छन् ? कहाँ खपत हुन्छन् ? अहिले भइरहेका बिष्फोटका घटनामा विप्लव समूहले पुरानै तरिका अपनाइरहेको छ, कुकर बम, सकेट बमहरु बिष्फोट गराएर । भोलि हिजो लुकाइएका अत्याधुनिक हतियार पनि ननिस्किएलान् कसरी भन्न सकिन्छ ?

जंगबहादुरविरुद्ध लखन थापाको विद्रोह होस् या जुद्धसमशेरको पालामा प्रजापरिषदको आन्दोलन र गंगालाल–दशरथ चन्दहरुको सहादत । ०२८ सालमा सामन्तविरुद्ध झापालीहरुले मच्चाएको टाउको काट्ने अभियान या १० वर्षे जनयुद्धमा माओवादीद्वारा सञ्चालित विपक्षीहरुको सफाया– अनेक कालखण्डमा देश र जनताको खातिर भन्दै विरोधी या राज्यसत्ताविरुद्ध आन्दोलन चलेकै हुन् । आफूले गरेको ठीक, अरुले गरेको त्यही काम पूरै बेठिक भन्न पनि नसुहाउला । असन्तुष्टि पोख्ने तरिका अनेक हुन सक्छन् तर विपक्षी शक्तिविरुद्ध भिड्ने नाममा निहत्था र निर्दोष सर्वसाधारणलाई आफ्नो तुषको शिकार बनाइनुचाहिँ साँच्चिनै निन्दनीय अपराध हो, चाहे त्यस्तो काम जो कसैले गरुन् ।

एनसेल बिष्फोटनको जिम्मा विज्ञप्तिमार्फत विप्लवले लिए । त्यसमा एकजना हताहत भएका छन् । तर, बिष्फोटमा मारिएका सिंहप्रसाद गुरुङको जिम्मा कसले लिन्छ ? राजनीतिक नैतिकताको ख्याल गर्नुपर्ने कि नपर्ने ? एनसेल बिष्फोटनको प्रसंगलाई जनताको तहमा गम्भीरतापूर्वक नलिइएला । किनभने उसले पनि राज्यको ६५ अर्ब पुँजिगत लाभकर नतिरेर बेइमानी गरेको र त्यसको उपचार अदालती आदेशबाट गरिँदै थियो । एनसेलले डेढ महिनाअघि नै आफूहरु असुरक्षित भएको भनी गृह मन्त्रालयमा पत्राचार गरेको हो । विप्लवहरुले पटक–पटक ऊबाट चन्दा लगेकै हुन् । अहिले अदालत, आम नागरिक सबैतिरबाट च्यापिएको स्थितिमा त्यसैलाई टार्गेट गरिएको छ । २५ भन्दा धेरै स्थानका टावरमा एकै दिन बम बिष्फोट गराइएमध्ये धेरैजसो ठाउँमा उसले शनिबारदेखि नै सेवा सुचारु गरिसकेको छ । कैलाली र जाजरकोटलगायत मध्य र सुदूरपश्चिमका प्रायः सबै ठाउँमा स्थानीय तहसँग स्वेच्छिक सहयोग भन्दै परिमाण तोकेर रकम मागिएको छ । अहिले ऊसँग लडाकुको संख्या कम छ, खुला पंक्तिमा आउने कार्यकर्ता वा समर्थक उल्लेखनीय छन् । कतिपय एमाले–माओवादी एकतासँगै संसदवादी धारमा लागे पनि तीबाहेकका क्रान्तिकारी रुमानी, रोमाञ्चमा विश्वास गर्ने कार्यकर्ता विप्लवसँग छन् । त्यस्ता कार्यकर्ता ८ गते काठमाडौंको खुलामञ्चमा प्रकट भएर कतिपय त्यहीँबाट फेरि भूमिगत पनि भएकै हुन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top