​आलोचना मात्र गरिरहने ? आत्मालोचना खोइ ?


Thursday, 3 Jan, 2019 1:03 PM

  • तीर्थ सिग्देल

झण्डै अढाई दशकअघि भर्खरै पञ्चायत व्यवस्था अन्त्य भएको थियो । त्यसअघि र लगत्तै दलले आन्तरिक जीवनमा गरेका अभ्यास र प्रयोगको छुट्टै महत्व र अर्थ हुन्थ्यो । 

झापाको अखिलका कमिटीहरूमा आबद्ध थिएँ । कमिटीका हरेक बैठकमा एजेण्डाको पहिलो विषय बन्थ्यो, आलोचना–आत्मालोचना । बैठक शुरु गर्दाताका नै विगतका कामको समीक्षा र छलफल हुन्थ्यो, कुनै आग्रह–पूर्वाग्रह नराखी । त्यस विषयमा बोल्नेले न भोलिका दिनमा कारबाही भोग्नुपथ्र्याे न आक्रमणको शिकार बनिन्थ्यो । आफूले आफ्नै कामको आत्मालोचनादेखि अरूले गरेका गल्तीको आलोचना गर्नु संगठनात्मक पद्धति थियो । 

विचारजति परिस्कृत हुन्छ, उति नै परिवर्तन हुन्छ । सोच जति फराकिलो हुन्छ, उति नै प्रगति हुन्छ । यो प्राकृतिक नियम हो र वैज्ञानिक पनि । तर, यस अवधिमा जति धेरै परिवर्तन भयो, उति नै विचार अस्वीकृत बन्दै गयो । जति–जति राजनीतिले उत्कर्ष हासिल गर्दै गयो, उति नै सोच र चिन्तन साँघुरिँदै गयो । 

०४६ सालको परिवर्तन र ०६३ सालको संघर्षले पनि नफेरेको चेत बोकेर अब कहिलेसम्म हिँडिरहने हो ? 

गत हप्तासम्म चलेको नेकपा स्थायी कमिटीको बैठक र त्यस वरपर बसेर हेर्ने हो भने त्यही विगतको प्रसंग कोट्याउन मन लाग्छ । भर्खरै सकिएको कांग्रेस महासमितिको भेलालाई फर्केर हे¥यो भने त झन् ०४६ सालभन्दा अगाडि पुग्न रहर जाग्छ । मुलुकको भाग्य र भविष्यको ग्यारेन्टी गरेर हिँडेका दल र तिनका नेताको आचरण र व्यवहारले कतिको मन खिन्न भएको होला ? त्यससँगै आफ्नै आलोचना सहन नसकेर बस्ने अवस्थाले दललाई कहाँ पु¥याउला ? आफ्नै नेतृत्वको जब नेकपामा आलोचना हुन्छ, जब आफ्नै सभापतिको नेकामा विरोध हुन्छ । तब हामीले आलोचना मात्र गरिरहेका हुनेछौँ । आत्मालोचना गर्ने कोसिस भने गरिरहेका हुने छैनौँ । 

चाहे त्यो सर्वशक्तिमान नेकपा होस् या अहिले शक्ति हराएको नेका, सबैका नेता–कार्यकर्तामा आलोचना सुन्ने, त्यसबाट पाठ सिक्ने र अगाडि बढ्ने चेत हराएको छ । आत्मालोचनाको त कुरै छोडौँ, आजसम्म म बाट यस्तो गल्ती भयो भनेर भनेको सुन्न नपाएको धेरै भयो । अरूलाई होच्याएर आफू अग्लिन सकिन्छ अथवा अरूलाई हिलो छेपेर मात्र आफू सफा हुने आमप्रचलन बनिरहेको छ । नत्र नेकपाको बैठकमा सबैका कुरा सुन्ने साहस कसरी हराउँथ्यो ? नत्र देउवाले माइकमा बोलिरहँदा तलतिरबाट होहल्ला किन भइरहन्थ्यो ? 

आलोचना गर्ने सधैँ शुद्ध महजस्तै पक्कै छैन र ऊ दूधले नुहाएको पनि होइन । तर पनि कसैले आलोचनासँगै आत्मालोचना गर्न सकिरहेको छैन । चाहे त्यो दलका बैठकमा हेरौँ, चाहे संसद्तिरै । जताततै आलोचनाको बाढी नै छ, सम्झनुस् त... कतै कसैले आफ्नै आलोचना गरेको छ ?

दलको मात्र के र ? सरकार, सदन, संघ–संगठन जताततै यस्तै प्रवृत्ति हुर्किएको छ । आलोचना भयो, खेद्ने । आलोचना ग¥यो, सिध्याउने । स्वस्थ आलोचना पचाउने साहस छैन, कसैसँग । केवल आलोचना गर्ने शैली र प्रवृत्ति झांगिएको छ । अरूलाई पन्छाएर आफू मात्र अगाडि बढ्ने खराब प्रवृत्ति मौलाएको छ । 

हामीले जति–जति लोकतान्त्रिक अभ्यासलाई आत्मसात ग¥यौँ, उति उति नै अलोकतान्त्रिक बनिरहेका छौँ । दलहरू जति लोकतान्त्रिक बन्ने प्रयासमा छन्, उनीहरूका आन्तरिक जीवन उति नै दलदलमा फसिरहेको आभाष हुन्छ । खासगरी व्यक्ति केन्द्रित निर्णय पद्धति र आफूनिकट कार्यकर्ता बनाएर मात्र आफू टिक्न सकिन्छ भन्ने सोचले घर गरिरहेका कारण पनि दलहरू दलदलमा फसिरहेको कुरालाई नकार्न सकिँदैन । जस्तो कि, नेकपा बनेको यति लामो समय भइसक्दा पनि एकीकरण प्रक्रियाले पूर्णता नपाउनेदेखि बैठकमा एकापसमा हिलो छ्याप्ने प्रवृत्तिले यस कुराको पुष्टि मात्र गर्दैन, आफैँलाई गिज्याइरहेको छ । 

नेकपा मात्रले यसखाले शैली र चिन्तनलाई बोकिरहेको छैन, यसले एउटा डरलाग्दो प्रवृत्तिलाई फेरि पनि हुर्काइरहेको छ । खासगरी गुटगत राजनीतिको परम्परागत अभ्यासमा माहिर रहेको तत्कालीन एमाले र त्यसका भ्रातृ संगठनको कार्यशैली बोकेर उदाएका नेताहरूले यो अभ्यासलाई निरन्तरता दिइरहेका छन् भन्नलाई कुनै गाह्रो पर्दैन । हो, जतिबेला नेपालमा कम्युनिष्ट पार्टीको बिजारोपण भयो, त्यतिबेलादेखि नै यसखाले चिन्तन र प्रवृत्तिले पछ्याइरहेको छ । तर, अब पनि यही शैलीबाट नयाँ नेपाल बन्न सम्भव छ र ?

एक जना विद्वान्को भनाइलाई जस्ताको तस्तै लिने हो भने, अबको हाम्रो एउटा पुस्ताले ओभरटाइम नगरेसम्म मुलुकले उन्नति गर्न सक्दैन । अहिलेसम्मका हाम्रा भूमिकाले यस्तो देखिँदैन । सत्तासीनका सपना र त्यसलाई मूर्तरूप दिने सोच बोकेका फलोअर नजन्मेसम्म यो स्थिति आउने देखिँदैन । तर, यसको विकल्प पनि छैन । 

पुरानै विषय दोहो¥याऊँ । आलोचनाले नेतृत्वलाई खारेर लैजान्छ, जसरी भुत्ते भएको हतियारलाई बेलाबेला सान लगाउनुपर्छ । आलोचनाले सत्ताको चेतलाई खोल्छ, जसरी उसले लिन्छ । वास्तवमा अहिलेको नेतत्वले यो विषयलाई जसरी लिन्छ, मुलुकको प्रगति र उन्नति त्यसरी नै सम्भव छ । नत्र कांग्रेसका युवा पुस्ताले चलाएको युवा नेतृत्वप्रतिको आशा र भरोसा यसरी नै मर्दै जान्छ, जब उनीहरू पनि त्यही भुत्ते नेतृत्वको वरिपरि घुमिरहन्छन् । 

प्रश्न नेतृत्वमा को छ भन्ने मात्र होइन र अबको भार उनीहरूले मात्र बोकिरहनुपर्छ भन्ने पनि होइन । किनभने जसरी हामीले एउटा साझा संकल्प लियौँ, सुखी नेपाली, समृद्ध नेपालको । त्यसलाई कसरी पूरा गर्ने ? खोइ त यसको कार्यदिशा ?

जबसम्म नेतृत्वले आलोचना सहन गर्ने साहस बटुल्दैन र आत्मालोचित हुने संस्कार अंगीकार गर्दैन, त्यतिबेलासम्म जति नै समृद्ध नेपालको नारा उराले पनि त्यसले पूर्णता पाउँदैन । किनभने अब नेतृत्वको चाह र सोचले मात्र कुनै पनि सपना पूरा हुन सक्दैन । त्यसका लागि ठूलै लगन र प्रतिबद्धताको खाँचो पर्छ । चाहे त्यो आफैँविरुद्ध लाग्नेहरू नै किन नहुन्, उनीहरूका आवाजले जबसम्म मुखरित हुन पाउँदैन, तबसम्म मुलुकको अवस्था यस्तै रहिरहन्छ ।

 त्यसका लागि एउटा समर्पणभाव चाहिन्छ । एउटा त्याग चाहिन्छ । चाहे त्यो सत्ताको स्वार्थसँग जोडिएका विषयप्रतिको होस् या आफ्नो परिवारसँग । त्यो एउटा युगको माग हो । समयले स्थापित गरेको मान्यतालाई आत्मसात गर्ने सवालमा जसरी खबरदारी गरिन्छ, आज उठेको आलोचनाको स्वरलाई त्यसरी नै बुझ्न सके मात्र सही निकास निस्कन सक्छ ।

नत्र ‘जसो–जसो बराजु, उसै–उसै बाजे’ भन्ने उखानजस्तै नियति भोग्नुको विकल्प छैन । श्राद्ध गर्दा बिरालो बाँध्ने संस्कारले नछाडेझैँ आजको पुस्ताले पनि आफैँ र आफ्नो नेतृत्वलाई सरापेर बसिरहनुको कुनै विकल्प देखिँदैन । तसर्थ, आलोचनालाई गल्ती सच्याउने अवसरको रूपमा लिएर आत्मालोचना गर्ने परम्पराको थालनी गरौँ । सबैभन्दा पहिले आत्मालोचित बनौँ र अनि मात्र अरूको आलोचना गर्ने शैली अपनाऔँ ।
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top