​मस्त खुवाएर रायसल्लाह माग


Thursday, 3 Jan, 2019 1:00 PM

नेपाली कांग्रेस निकटस्थ केही पत्रकारले पार्टी सभापति शेरबहादुर देउवालाई ओली सरकारको समर्थनमा वक्तव्य निकाल्न सुझाव दिएका छन् ।
महासमिति बैठकपछि पत्रकारहरूसँग खाइपिइ गर्न गत बिहीबार बुद्धनगरस्थित बागमति किनाराको भ्याली टप रेष्टुरेण्टमा जम्मा पारिएका पत्रकारमध्ये घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठीले सरकारको समर्थनमा वक्तव्य निकाल्न सुझाइरहँदा अरु पत्रकार मुसुमुसु हाँसिरहेका थिए । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको स्वामित्वमा रहेको उक्त रेष्टुरेण्टमा कार्यक्रमअघि एपी वान टेलिभिजनमा कांग्रेस बिटको रिपोर्टिङ गर्ने सचिता बुढाथोकीले जन्मदिनको केक काट्न भ्याएकी थिइन् ।

विमलेन्द्र निधीले संघीयता र धर्म निरपेक्षतालाई महान उपलब्धीका रुपमा चित्रण गर्दै ‘कांग्रेस अब परिवर्तनको स्वामित्व स्थापित गर्न सकृय हुन्छ, मधेस आन्दोलनको भावनाअनुसार संविधान संशोधन गर्नुपर्छ भन्नेमा हामी अडिग छौँ’ भनेका थिए । त्यसपछि हो, पत्रकारसँग सुझाव लिइएको । त्यसक्रममा देवप्रकाशले भने, ‘यही रुपमा प्रतिपक्ष बस्ने हो भने एउटा वक्तव्य निकालौँ र विपक्षीको भूमिका यसैगरी निर्वाह गर्नेछौँ भनौँ । यसरी वक्तव्य जारी गरेपछि तपाईंहरू जति निश्कृय बसे पनि हुन्छ । यसबाट जनताले के बुझ्छन् भने, कांग्रेसले बोल्न नसकेर होइन, निर्णय नै गरेर चूप लागेको रहेछ ।’ उनले ‘महासमितिको बैठकपछि सुझाव लिनुभयो । खाना खाएपछि मेन्यु खोई भनेजस्तो भयो । सुझावै मागेपछि एउटा सुझाव दिनुपर्छ भनेर मैले यस्तो कुरा भनेको हुँ’ भने । त्यसमा सभापति शेरबहादुर देउवाले प्रतिक्रिया दिए, ‘हामी बढ्ता जिम्मेवार भएको हुनाले यो समस्या भएको हो । अब संसद ठप्प पार्न सक्छौँ । संघर्ष पनि गर्न सक्छौँ । मान्छेहरूले कांग्रेस खोज्न थालेका छन् । हाम्रो उपलब्धी यही हो †’ पत्रकारहरूले कुरा उठाए, ‘हिन्दूराष्ट्रको पक्षमा महासमिति बैठकमा त्यत्रो हस्ताक्षर भयो, तपाईंहरू चूप लाग्ने ?’ यसमा रामचन्द्र पौडेलले जवाफ दिए, ‘आएको कुरामा केही पनि गर्नुनपर्ने गरी यो विषय सकियो ।’ अर्थात्, कांग्रेस धर्मनिरपेक्षकै पक्षमा हुने उनले बताए ।

उक्त जमघटमा वरिष्ठ पत्रकार युवराज घिमिरे, कान्तिपुरका नारायण वाग्ले, सेतोपाटीका अमित ढकाल, गोरखापत्रका वसन्तप्रकाश उपाध्याय, तरुणका परशु घिमिरे, नेपाल टेलिभिजनका महाप्रसाद लामिछाने, शालिक सुवेदीसहित कांग्रेस बिटमा नियमित रिपोर्टिङ गर्ने र प्रेस युनियन नेतृत्वमा रहेका पत्रकारहरू उपस्थित थिए । महाप्रसादले त, ‘यो जस्तो अवसर मेरोलागि अरु केही हुँदैन । मलाई बोलाएर एकदम राम्रो गर्नुभयो । भोलि सत्तामा जानुभयो भने हामीलाई नबिर्सिनुहोला’ भनेका थिए ।

उता, राजदूत छान्नका लागि क्याबिनेट बैठक बस्ने भयो भन्ने सुन्नासाथ दुई साताअघि शेरबहादुर एकाबिहानै सिंहदरबार पुगे । आफ्नी सासू प्रतिभा राणालाई जापानबाट फिर्ता नबोलाइयोस् भन्ने सरोकार राख्न उनी त्यसरी गएको बताइन्छ । त्यसअघि उनले अख्तियार आयुक्तका लागि सचिवबाट अवकास पाएका शंकर कोइराला (पूर्वमन्त्री होइन, दाह्रीवाल पूर्वसचिव) र भूषण राणामार्फत आरजुसँग नजिक भएका श्रीधर सापकोटाको सिफारिस गरेका थिए । तर, प्रमले नगरेपछि राजदूत भएका आफन्तहरू पनि चिप्ल्याउलान् भन्ने चिन्ता पालेका रहेछन् ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

Top