जनतालाई खास, अरुलाई त्रास


Friday, 28 Dec, 2018 2:12 PM

  • विदुर खड्का

मंसिर २९ गतेदेखि नेकपा स्थायी कमिटीको बैठक जारी छ । क–कसले, कुन–कुन आशयमा के–के कुरा राखे भनेर काफी माथापच्ची भइरहेका छन् । दुवै पार्टीभित्रबाट पूर्वगुटका नेताहरूले आफ्ना कुरा स्पष्ट र खुला रूपले राखेका छन् । समीकरणमा केही तलमाथि भएको होला । तर, कुरा गुटकै स्वार्थबाट प्रेरित भएको देखिन्छ ।

स्थायी समितिको बैठक बस्नुअघि सचिवालयमा पनि सघन बहस भएकै हो । त्यसमा हिजो कुनै कालखण्डमा आफैं पार्टी वा गुट चलाइसकेका नेताहरू रहेका छन् । उनीहरूको बहस हिजोको गुटलाई भत्काएर भिन्न परिवेशमा नयाँ ढंगको पार्टी निर्माणका लागि नयाँ ढंगले लागौं भन्ने भावनासहित भएको कहीं कतै एक चिम्टी पनि पाइएन । बरु हिजो आफ्नो गुटुरोमा रहेका तलसम्मका मानिसलाई कसरी माथिमाथि लैजाने, मेरा कति परे, न कम पो परे कि, भोलि कमजोर पो होइने हो कि भनेर जसरी पनि अरू मान्छे हटाई आफ्ना मान्छे खाँद्न चारहात–खुट्टा फालेर लागे । माओवादी र एमालेबाट कार्यदलमा नेतृत्व गरेका सबैमा त्यो ‘महानता’ राम्रै देखियो । जिन्दगी यत्ति हो । यसपछि कहिल्यै खान पाइँदैन भनेझैं नातागोता र निकटलाई उठाउने काम भयो ।

अहिले संगठनको समायोजनमा उठेको विषय पनि तेरो गुटको मान्छे धेरै भयो । मेरो गुटको थोरै भयो भन्ने रोइलो नै हो । उनीहरू कसैले पनि सही, इमानदार र पुरानो लगनशील सक्षम पात्रको बारेमा कुरा उठाएका छैनन् । जति ठाउँमा कुहिएको भए पनि आफ्नै गुटको यसम्यानलाई मिल्नेगरी विधि बनाएर हुक लगाएको देखियो । विधि बनाएर पारित गर्नुपर्ने निकाय नबनिसकेको अवस्थामा अनुकूलको विधि बनाएर आफ्नालाई हुक लगाउनु स्वभाविक हो । राजनीतिमा यसलाई पनि इमानकै काम भनिँदोहोला । बैठकमा सहभागी सत्प्रतिशत नेताको यही मनोदशा रहेको छ । 

सरकारमा नरहेका, मन्त्री वा लाभको पदमा नभएकाहरूले सरकारको उछित्तो काडेका छन् । लाभको पदमा रहेका र मन्त्रीहरूले हनुमानले रामलाई बचाएको जस्तो गरेर सरकारको बचावट गरेको पाइन्छ । सरकारले केही गर्न नसकेको मन्त्रीइतरको आरोप र सरकारले अभूतपूर्व सफलता हत्याएको मन्त्रीहरूको जिकिर छ । यथार्थमा न त मन्त्रीहरूले भनेझैं सरकारले उत्पात गर्न सकेको छ, न त मन्त्रीइतरले भनेझैं उपलब्धिविहिन छ । बरु कार्यशैली र मन्त्रीहरूको बोलिका कारण सरकार आलोचित छ । मन्त्रीहरू आफू पाँचवर्ष टिकिन्छ कि टिकिँदैन भन्ने चिन्तामा देखिन्छन् । त्यसैले जति टिकिन्छ, आफ्नो चुनावी क्षेत्रमा आधार मजबुत पारिहालौं भन्ने रोगले ग्रसित भएको पाइन्छ । बजेट बनाउँदा त्यो नाङ्गो रूपमा प्रकट भएको छ । त्यसैको रिफ्लेक्शनमा अरु नेता तथा सांसदहरू मन्त्रीहरूसँग रुष्ट भएका छन् । 

अहिले मन्त्री नभएका स्थायी समिति सदस्य एकाध छाडेर सबै एकताका झण्डा हल्लाइकाहरू छन् । कतिपय त पटक पटक मन्त्री भएका छन् । हामीलाई थाहै छ, उहाँहरू पनि आफ्नो काइते कार्यशैलीलाई सही प्रमाणित गर्न कसरी तीन हात उफ्रेर कराउनु हुन्थ्यो । खासमा अहिले उहाँहरूलाई यो सरकारको कार्यशैली मिलेन भनेर प्रश्न उठाउने नैतिक अधिकार छैन । जसरी आफू मन्त्री नहुँदा प्रतिपक्षी जस्तो भएर सरकारको कामकारवाहीमाथि प्रश्न उठाइन्छ, आफू मन्त्री हुँदा पनि ती बुँदाहरू सम्झिदिए नेपालमा समृद्धि धेरै टाढाको विषय नै हुने थिएन । उही मान्छे सरकारमा रहँदा एउटा कुरा गर्छ र बाहिर रहँदा कुरा फेर्छ । त्यसलाई जनताले पचाउँदैनन् । किन कि त्यो मान्छेलाई जनताले सरकारमा रहे पनि नरहे पनि उही नजरले हेरिरहेका हुन्छन् । लालबाबु पण्डितको साइकलले महिनामा २०० लिटर पेट्रोल खाएकै छ । विधान, सिष्टम र संहिताको कुरा गर्नेले आफूलाई होइन, अरुलाई अन्याय पर्दा पनि देख्ने चश्मा लगाए मात्रै आफ्नो हातमा डाडुपन्यौ नहुँदा पनि अर्कोले अन्याय गरेको महसुस गर्नु पर्दैन । खाइ सार, लाइ सार, मरेपछि लम्पसार भने झैं एकपटक आफू भान्से भएका बेला लौ यही हो मौका, यसपछि कुनै जीवन बाँकी रहने छैन भने झैं हसुर्ने बानीले इदम् भ्रष्टम् उदम भ्रष्टम्बाहेक अरु केही हुनेवाला छैन । 

अहिले चर्को स्वरमा आलोचनाको स्वर निकाल्नेहरूमा पार्टी, देश र समृद्धिको चिन्ताभन्दा पनि त्यसको आवरणमा आफूले नपाउँदाको कुण्ठा बढी देखिन्छ । वामदेवदेखि नारायणकाजीसम्मले राखेको असन्तुष्टि पार्टी वा सरकारमा आफ्नो भूमिका कमजोर भयो भन्ने नै हो । वामदेवको हालतबाट नारायणकाजी पनि विरक्तिएका देखिन्छन् । डोल्पादेखि बर्दिया, रुकुम, काठमाडौं हुँदै पर्सासम्म पुग्दा चुनाव नलड्दै वामदेव कमरेड जसरी हार्नुभयो, त्यसबाट नारायणकाजी कमरेडको पनि सपना मरेको हुनुपर्छ । जब सबैखाले ढोका बन्द भएको महसुस हुन्छ, त्यहाँ स्वभाविक रूपमा बिरालोलाई कोठामा थुनेर लौरो हानेजस्तो गरिन्छ । जे–जसरी भए पनि विषयवस्तुहरू बैठकमा छताछुल्ल भएका छन् । यसरी मन माझामाझ गरेपछि मात्रै पार्टी सफा हुन्छ । 

बैठकमा बिभिन्न जोडकोणबाट आग्रह–पूर्वाग्रह मिश्रित स्वरहरू उठेका हुनसक्छन् । पार्टीविरोधी तत्वको इच्छा फरक ढंगले व्यक्त भएको पनि हुनसक्छ । देशी–विदेशी प्रतिकृयावादीहरूको षड्यन्त्र हुन सक्छ । जानअञ्जानमा हाम्रा नेताहरू त्यसको मतियार बनिरहेका पनि हुन सक्छन् । तर नेतृत्वले विदेशी षड्यन्त्र वा पार्टी एकताविरोधीहरूको षड्यन्त्र वा सरकारविरोधी षड्यन्त्र मात्रै भनेर पञ्छिन कहाँ मिल्छ ? यसरी व्यक्त–अव्यक्त समस्याको समाधान कसरी हुन्छ ? षड्यन्त्रै रहेछ भने पनि उचित ढंगले नेताहरूलाई बचाउँदै समाधान दिने काम नेतृत्वको होइन र ? देशको सबैभन्दा ठूलो पार्टीका वरिष्ठ ५२ जना मूल नेताहरूको बीचमा हुने यस्ता गहन बैठकले पार्टी र सरकारको कार्यभार, कार्यक्रम र भविष्य निर्धारण गर्नेछ, गर्नुपर्छ । नेतृत्व डगमगाउनु हँुदैन । यसको मतलब बाँकीलाई लिंड्को लगाउँछु, भन्ने खालको सोंच पनि राख्नु हुदैन । काम गराइको दौरान हुने, भएका गल्ती कमजोरीलाई सहजतासाथ स्विकारेर गम्भीर रूपमा सुधार्दै नदोहो¥याउने प्रतिबद्धता गर्न आवश्यक छ । गल्तीमा पर्दा हाल्ने कोसिसले झन नङ्ग्याइदिन्छ । नेपालीको आशाको नजर र संसारको छड्के नजर नेकपाको यो बैठकमा रहेको छ । बैठकले नेपाली जनतालाई होइन, नेपालको राष्ट्रिय समृद्धिविरोधीलाई निरास बनाउन सक्नुपर्छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top