​बलात्कारको बिऊः ‘प्रसाद’ कि अभिशाप ?


Friday, 28 Dec, 2018 2:08 PM

  • रमण पनेरु

भर्खरै बजारमा आएको ‘प्रसाद’ चलचित्रले बलात्कारबाट बसेको गर्भ प्रसाद कि अभिशाप भन्ने विषयमा नयाँ बहस शुरु गरेको छ । 
एमा डोनगह्युद्वारा लेखिएको उपन्यासमा आधारित चलचित्र ‘रुम’ यौन बन्धकको रुपमा रहेकी जोयको कथा हो । उनलाई नियमित बलात्कार गरिरहने र एक सानो कन्टेनरमा थुन्ने ओल्ड निकबाटै अनपेक्षित रुपमा रहन गएको गर्भबाट जन्मेको ज्याक जोयको जीवनको आशा बन्छ । ज्याकको सुरक्षाप्रति ऊ धेरै नै सचेत देखिन्छे । उसले आमा हुनुको हरेक दायित्व पुरा गरेकी छ । ज्याक कसको सन्तान हो भन्ने कुराले उसको मातृत्वमा कुनै असर गरेको छैन । ज्याकको अनुहारले जोयलाई आफूमाथि बलात्कारीको अनुहार पनि सम्झाएको छैन । ज्याकका लागि उसले हरतरहसँग लडेकी छ । ज्याक बाहिरको संसारमा प्रवेश गरेपछि समाजले उसलाई अस्पतालमै नछाडेर किन आफूसँग राखेको भन्ने प्रश्न, बाबुले त्यागेको अवस्थालगायतको चेपुवामा पर्दा जोयले आत्महत्याको बाटो रोज्छे । समाजमा नआउँदासम्म आशाको किरण र निर्दोष बालक एकाएक उसको आत्महत्याको कारण बन्न जान्छ । 

‘प्रसाद’ भन्दा तुलनात्मक रुपमा राम्रो मानिएको चलचित्र हिन्दी भाषाको ‘पाच्र्ड’ हो । चलचित्रको अनावश्यक अंगप्रदर्शन, राधिका आप्टेका नग्न स्तन, ‘लाएगी भू–कम्प खटियामें’ बोलको गीत, देवरले जबरजस्ती गरेर बोकेको बच्चा फालेको कुरा सुनाउँदासमेत माइत आएकी छोरीलाई जबर्जस्ती ससुराली फर्काएको दृश्य, ‘तु राँड थी, राँड है, और राँड ही रहेगी’ भन्ने संवाद, छोरी बेच्ने चलनलाई महिलाले दिएको निरन्तरता, बालविवाहमा महिला नै सहभागी भएको दृश्य, विवाह रोक्न कपाल काटेकी बालिका महिलाले नै भिœयाउनु, उमेर नपुगेकी केटीसँगको संभोगलाई ‘पतिको रीति’ भनेर भनिरहँदा त्यसको प्रतिवाद नहुनु, पढ्न लागेकी केटीलाई पतिलाई पढ्न भन्दा पति सम्हाल्न सिक भनेर सासूले थर्काएको दृश्य, फोनलाई भाइब्रेट मोडमा नितम्बमुनि राखेर यौन आनन्द लिएका दृश्यहरु, बुहारीलाई उसको नावालिग पूर्वप्रेमीसँग सासूले (महिला) नै जान दिएको दृश्य, अप्रत्यासित किसिमले जिउमा आगो सल्केको पतिलाई बचाउनु त परै जाओस् बचाउन खोज्नेलाई पनि रोकी जलेर मर्न दिएको दृश्य, बिज्लीले अहं तुष्टिका लागि रकेट यात्रा गराएको र चार जनाको बलात्कारमा पनि सन्तुष्टि लिएको दृश्यलगायतका तमाम आपत्तिपूर्ण दृश्यहरुका बाबजुद पनि यो चलचित्र ‘प्रसाद’ बनेको रहेछ । चलचित्रमा नारी स्वतन्त्रता र पितृसत्ता विरोधी केही संवाद र दृश्य अवश्यै छन् तर एउटा मान्छेलाई जिउँदै जल्न दिएको जस्तो अमानवीय दृश्य केहि गरी पनि पाच्य लाग्दैन । पतिको हिंसाका विरुद्ध प्रहरीकोमा जानु या आफैले प्रतिकार गर्नु र पत्नीले पतिलाई कुट्नुसम्म ठीकै थियो तर जिउँदै जल्न दिनु ! चलचित्र लेखेकी हुन् लिना यादवले । 

यी दुई चलचित्रसँगै मलाई एक अर्को चलचित्रको पनि याद आयो । रामबाबु गुरुङ्गको कबड्डी । कबड्डी युट्युबमै भएकाले केही दृश्य दोहो¥याएर हेरेँ । ‘बिक’ पात्र काजीको मोटरसाइकल चलाउने हली बनेको छ । एक संवादका क्रममा काजीले ‘साले बिके’ भनेर कुरा टुंग्याएका छन् र त्यसको कुनै प्रतिवाद ‘बिके’ ले गरेको छैन । कबड्डी विशेष याद भएको भनेको झाँक्रीको खीर प्रसंगले हो । ‘प्रसाद’ चलचित्रको आलोचनाको भाषामा भन्दा सो चलचित्रमा झाँक्री एक बलात्कारी थिए । तर झाँक्रीलाई कहिल्यै खलपात्रका रुपमा हेरिएन न  कुनै समीक्षकले उनलाई बलात्कारीको रुपमा उभ्यायो । बरु झाँक्री बनेका लेखक तथा ‘प्रगतिशील’ कवि उपेन्द्र सुब्बा सोही नामले चर्चित पनि भए । ‘खीर खुवाउनु’ को नेपाली भाषामा अर्थै फेरियो । हो तिनै झाँक्रीले सन्तान दिने नाममा गरेको बलात्कार पछि बसेको गर्भका बारेमा निसन्तान रहेका मुखियाले थाहा पाउँदा झाँक्रीलाई मार्न भनी खुकुरी लिएर जान्छन् । ‘प्रसाद’का पति पात्र जस्तै यी पनि कुटाइ खाएर फर्कन्छन् । चलचित्रमा बलात्कारविरुद्ध मुद्दा या कुटपिटविरुद्ध प्रहरीमा उजुर गरेको कतै देखाइएको छैन बरु मनै हल्लाउने संवाद छ । 

‘तेरो अनुहारको के दोष । ...हेर गौरी, दोष जसको सुकै भएपनि तेरो कोख आफ्नो हो । तेरो आफ्नो मेरो आफ्नो हो ।’ 

बलात्कारको दृश्य हाँस्य दृश्य भयो । बलात्कारी काट्न हिँडेको मान्छे कुटाइ खाएर फर्केको दृश्य पनि हाँसो लाग्दो नै भयो । लेखक थिए रामबाबु गुरुङ्ग र सहलेखन गरेका हुन् प्रगतिशील भनी चिनिने र जनजातिको आवाज उठाउने कवि तथा कथाकार उपेन्द्र सुब्बाले ।

‘रुम’ र ‘पाच्र्ड’ दुबै महिलाले लेखेका हुन् । दुबैमा दोष देखाउन सकिने प्रशस्तै ठाउँ छ । ‘प्रसाद’ पुरुषले लेखेकाले बलात्कारलाई नबुझिकनै सामान्यीकरण गरिदिएको आरोप लाग्यो । ‘रुम’ लेख्ने त महिला थिइन् । किन त्यसमा जोयले बलात्कारबाट रहेको गर्भको रक्षा गरिन् ? किन त्यसका लागि आमा–बाबासँग पनि लडिन् र किन आखिरमा समाजको प्रश्नको अगाडि हार खाएर आत्महत्याको बाटो रोजिन् ? महिला भएर पनि किन यस्तो कथा लेखिन् ? ‘पाच्र्ड’मा अनावश्यक नग्नता र अमानवीय क्रुरताका दृश्य किन देखाइए ? बालविवाहको किन प्रतिरोध भएन ? परिवारका अन्य पुरुष सदस्यबाट बलात्कार हुने महिलालाई फेरि तिनै बलात्कारीमाझ पठाउने कथा किन लेखियो ? महिलाले त कम से कम बलात्कारको अर्थ बुझ्नुपर्ने होइन र ? अथवा कबड्डी कबड्डीका लागि उपेन्द्र सुब्बा र रामबाबु गुरुङलाई किन गाली गरिएन ? कम से कम मसँग यसको उत्तर छैन । 

एउटा निसन्तान आमा जो हर हालतमा सन्तान जन्माउन चाहन्छे उसले बलात्कारको गर्भलाई प्रसाद देख्छे भने के ठूलो कुरा भयो त ? कसैका लागि गोबर, कसैका लागि पञ्चगब्य । फेरि त्यो महिलाको लवज र लिएको निर्णयहरु हेर्दा उसले जीवनमा सँधै मगजबाट निर्णय लिएको जस्तै पनि त देखिन्न । ‘अर्कैसँग व्या गर भन्न त सक्दिन’ भनेर पतिले भन्दै गर्दा ‘भन्न नि सक्नुप¥यो । लोग्नेमान्छेले जे अरे पनि हुने अनि आइमाईले क्यै अर्न नहुने भन्ने काँ लेख्या छ र ?’ भनेर प्रतिवाद गरेको त प्रचारसामग्रीमै पनि सुन्न सकिन्छ । अनि उसले बलात्कारबाटै भएपनि जन्मेको बच्चालाई अपनाउँदा केको हल्लीचल्ली ? हामी किन यति किचकिचे भयौँ ? भएन भनेर कथाका पात्रमा समेत बहस गर्दैछौँ । गोराले त्यस्तै कथाका पात्र उभ्याउँदा हामीलाई उम्दा लाग्ने । भारतीयका अनेक गल्तीले भरिएका चलचित्रलाई मानक ठान्ने तर हाम्रै मौलिक परिवेशमा आधारित बनाएर केही कल्पनाका फुलबुट्टा भरेका कथाहरुमा गल्ती मात्रै देख्ने र त्यसैलाई मात्रै प्रचार गर्ने किन भयौँ ?  

‘प्रसाद’लाई अभिषाप करार गर्ने क्रममा एउटा गाउँले लवज बोल्ने महिलाले ‘सरम लाउँदैन’ भनेकै भरमा उसको यौन इच्छाको मापन गरिएको छ । ‘सरम लाउँदैन’ भन्नेहरुको यौनेच्छा नहुने भन्ने हुँदैन । विश्वास गर्नुस् । यौनेच्छा जैविक आवश्यकता जस्तै हो । योभन्दा बढी लेख्न कर नलाउनुस् । प्रचार सामग्रीमै सोही संवादलगत्तै नारायणी बाबुरामतिर ढल्किएकी छन् । अनुहारमा प्रतिकार भन्दा पनि क्रिडाभाव बढि देखिन्छ । धेरै सोच्दा मात्रै मनमा अनेक विचार आउने हो । त्यसैले धेरै नसोच्नु बढि आनन्ददायक हुन्छ । दिमाग पनि दुख्दैन । 

खासमा ‘प्रसाद’ को प्रदर्शन समय गलत भएको हो । बलात्कारप्रतिको धारणा एकदमै नकारात्मक भएका बेलामा चलचित्रमा प्रयोग गरिएको परिवेशको सजिलै फरक व्याख्या हुन गएको हो । बलात्कार जघन्य अपराध हो र बलात्कारीलाई कडाभन्दा कडा सजायँ हुनुपर्छ भन्ने कुरामा दुईमत छैन । बरु यसको उद्देश्य समान  कथाहरुमा बनाइएका चलचित्रहरूप्रतिको  असमान धारणाको मर्म खोतल्नु हो । बलात्कार बढी पीडादायक हो या बलात्कारप्रति समाजको दृष्टिकोण बढी पीडादायक हो ? ‘कबड्डी कबड्डी’,  ‘रुम’ र ‘पाच्र्ड’लाई दिइएको सहुलियत ‘प्रसाद’बाट किन खोसियो ? किशोरावस्थाको गर्भाधान जस्तो विषयमा बनेको ‘जुनो’ चलचित्रलाई जसरी एउटा फरक चलचित्रको रुपमा पश्चिमले या हामीले समेत स्वीकायौं । ‘प्रसाद’ का विषयमा पनि आफ्ना फरक धारणा राख्दाराख्दै एउटा चलचित्र त हो भनेर हेर्न सक्दैनौँ ? हामी पनि कसै न कसैका बिऊ नै हौँ । हामी जोबाट रोपियौँ, ऊसको चरित्रको, कामको या उसले गरेका अपराधसँग हाम्रो के सरोकार हुन्छ र ?  ऊ बलात्कारी नै थियो, या गर्भाधानको समयमा उसले बलात्कार नै गरेको थियो भने पनि त्यसमा हाम्रो भूमिका चाहिँ के रहन्छ ? हामीले त्यो घटनालाई कसरी सघाएका हुन्छौँ या कसरी रोक्न सक्थ्यौँ ? यदि हाम्रो त्यसमा कुनै संलग्नता हुँदैन भने किन दोषी ? यदि हामी दोषी हैन भने हामी अभिषाप चाहिँ किन ? छ कसैसँग उत्तर ?


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top