​यो कुरा प्रष्ट पार्न पर्दैन कमरेड ?


Friday, 28 Dec, 2018 2:02 PM

  • अनिल शर्मा ‘विरही’

तत्कालीन नेकपा (एमाले) र नेकपा (माके) को बीचमा पार्टी एकता गर्दाको कारणबारे ‘शान्ति, विकास र समृद्धि’ नारा प्रस्तुत गरिएको थियो । निर्वाचनको मूल नारा पनि त्यही थियो । नाराले जनतामा आशावाद पैदा गरेको थियो । चुनावी परिणामले त्यसको पुष्टि पनि ग¥यो तर एमाले र माकेका नेताहरुको भित्री उद्देश्य वस्तुगत त थिएन नै, पार्टी एकताको उद्देश्य र नियत पनि पारदर्शी र असल थिएन । जनता भ्रमित थिए । त्यसलाई विभ्रमको खेती पनि भन्न सकिन्छ । नेकपाले ती दुई दलहरुको एकता र चुनावी परिणामलगत्तै ‘शान्ति, विकास र समृद्धिको नारा उनीहरुकै टाउकोमा कात्रो हुने’ घोषणा गरेको थियो । 

दार्शनिकहरुले भनेका छन्, मानिसको चेतनाले भौतिक अवस्थाको निर्धारण गर्दैन, बरु त्यसको उल्टो वस्तुगत अवस्थाहरुले मान्छेको चेतना निर्धारित हुन्छ । नेपालमा दलाल पुँजीपति वर्गको सत्ता छ । प्रचण्ड र ओली त्यसका इमान्दार कारिन्दा मात्र हुन् । दलाल पुँजीवाद भनेको अनुत्पादक क्षेत्रमा लगानी गरेर कमिसनमा बाँच्ने परजीवी पुँजीवाद हो । यसले देशको उत्पादन (कृषि, उद्योग) बन्द गरेर कमिसन खान्छ र पुँजीवादको लागि बजार विस्तार गरिदिन्छ । त्यसरी उसले एकातिर कमिसन, अर्कोतिर सत्ता (यथार्थमा सरकारमा भागबण्डा) को लागि साम्राज्यवादको आशीर्वाद प्राप्त गर्छ ।

बाँसबारी छालाजुत्ता, भृकुटी कागज कारखाना, उदयपुर सिमेण्ट, जनकपुर चुरोट कारखाना, वीरगञ्ज कृषि औजार कारखाना, विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योगजस्ता उद्योगहरु (नेपालका गौरव) पञ्चायतीकालमा राम्ररी चलेका थिए । आज तिनको बजार विदेशी मूलतः भारतीय उत्पादनले भरिएका छन्, देश झन् परनिर्भर भएको छ, कंगाल बन्दै गएको छ र निगम पुँजीवादका दलाल रामशरण महतहरु मोटाएका छन् । पञ्चायतीकालमा बर्दियामा कपास खेती थियो । त्यो कपास बुटवलको धागो कारखानामा आउँथ्यो । हेटौंडा पुगेर कपडा बन्थ्यो । हेटौंडाको कपडा पद्मकन्याका छात्रादेखि जेलका बन्दीसम्मले लगाउँथे । कच्चा पदार्थको उत्पादनदेखि बजारसम्मको चक्र आत्मनिर्भर थियो । भृकुटी कागज कारखाना बन्द गरेर त्यसको जमिन (गैंडाकोट, नवलपुर) चक्लाबन्दी गरी बेच्न मारवाडीहरु जीब्रो फड्कारेर बसेका छन् । चिनियाँ सो मेशिन भारतको कानपुर पु¥याइएको छ । त्यस प्रकारको राष्ट्रिय अपराधमा नेकपा (एमाले) का नेताहरु, नीति निर्माताहरुको सचेत र योजनाबद्ध संलग्नता छ । असमान र अपमानजनक सन्धि थपिँदै गएका छन् । 

संसारमा कच्चा पदार्थ बेच्ने र अरु देशको बजारमा मात्र भर पर्ने देशको दिगो र स्थायी समृद्धि सम्भव छैन । विद्युत्, जडीबुटी, काठ तथा वन पैदावार, पानी, खाद्यान्नजस्ता कच्चा पदार्थ कौडीको मूल्यमा बेचिन्छ र त्यसलाई तयारी सामान बनाएर चर्को मूल्यमा नेपाल फर्किन्छ । नेपालको विद्युत्मा लगानी बढदैछ तर विद्युतजस्तो कच्चा पदार्थ देशको औद्योगिकीकरण गर्नमा लगाइने योजना छैन । माथिल्लो कर्णाली, अरुण ३ जस्ता आयोजना (कच्चा पदार्थ) भारतको कृषि र उद्योगमा औद्योगिकीकरण गर्न प्रयोग हुँदै छन् । शिक्षा र सडकमा ठूलो लगानी भएको छ । निगम पुँजीवादको मोबाइल, कम्प्युटर प्रयोग गर्न जान्ने ग्राहक उत्पादन गर्ने र उसको सामान बेच्नका लागि विश्व बैंक र एडिबीले लगानी गरेको छ । त्यहाँ दक्ष जनशक्ति उत्पादन गर्ने र औद्योगिकीकरण गर्ने योजना छैन । 

भारत नेपाललाई मोटाउन नदिने, मर्न पनि नदिने रणनीतिमा छ । मोटायो भने घाँटी समात्ला भन्ने त्रास, म¥यो भने काममा लदाउन पाइन्न भन्ने चिन्ता उसलाई होला । के त्यस प्रकारको अवस्थाको कारक दलाल पुँजीवादबाट बाहिर निस्कने योजना सरकारसँग छ ? ओली र प्रचण्डसँग छ ? एउटा कार्यक्रममा घनश्याम भुसालले भने, ‘हाम्रा नेताहरुले दलाल पुँजीवादको धोती र समाजवादी टोपी लगाएका छन् ।’ राम कार्की झापा पुगेर भन्छन्, ‘हाम्रो पार्टीले समाजवादको कुरा गर्दा पनि लाज लाग्छ ।’

ओलीको नेतृत्वमा सरकार बन्नासाथ हामीले सरकार टिकाउन दल र नेताहरुको बीचमा प्रभू खुशी पार्न प्रतिस्पर्धा हुनेछ र झन् ठूला राष्ट्रघात हुनेछन् भनेका थियौं । अरुण ३ सम्झौता र जनकपुर मोदी भ्रमणसम्म पुग्दा ओलीको नक्कली राष्ट्रवाद उदांगो भएको छ । वामदेव गौतम कसको इशारामा फूर्तिफार्ती गर्दै छन् ? प्रचण्ड दिल्ली, सिंगापुर, थाइल्याण्ड, बेइजिङ किन चहारिरहेका छन् ? त्यो नागरिक चासोको विषय होइन । तर को कुन शर्तमा सरकारमा आउने (ल्याइने) हो र अर्को राष्ट्रघात हुने हो भन्ने त्रास बढ्दै गएको छ । शान्ति, विकास र समृद्धि त उत्तेजक नारा मात्र थियो । आज समयले त्यसको पुष्टि गरिसकेको छ । 

प्रचण्डको पार्टी एकता प्रयास वास्तवमा कांग्रेससँगको चुनावी एकता प्रत्युत्पादक भएपछि विकल्पमा आएको थियो । आफू कमजोर भएपछि एमालेको बुइ चढेर सत्ता स्वार्थ भोग गर्ने र त्यसको लागि वामदेव, माधवजस्ता पार्टीभित्र कुण्ठित स्वार्थ समूहलाई बिरालोले मुसा खेलाएझैं खेलाउने रणनीति थियो । भारतीय नाकाबन्दीको विरुद्ध एमाले र ओलीले बनाएको छवि ध्वस्त पार्न र नेपाली जनतालाई निराश बनाउन पनि साम्राज्यवादले गोटी चालिरहेको छ । भूपी शेरचनको कविताझैं ‘हामी क्यारिमबोर्डका गोटी’ भइरहेका छौं ।’

आर्थिक पराधीनताले साँस्कृतिक पराधीनतालाई अनिवार्य बनाउँछ । नागरिक समाज निराश, कुण्ठित र दास मानसिकताले ग्रसित बन्दै गएको छ । पञ्जाबी कवि पाशले भनेझंै निराशा र सपनाको मृत्यु भयानक त्रासदीको विषय हो । एक दशक–दुई दशक अगाडिसम्म देउसी–भैलो खेलेर, चन्दा उठाएर, बिघट्टी लगाएर (जमिनअनुसार अनिवार्य चन्दा), मौसमी चन्दा उठाएर, धान्याञ्चल यज्ञ लगाएर विद्यालय बनाइन्थ्यो । आज ती काम गरेको पैसा दारुपानीमा खर्च गरिन्छ र विद्यालय, स्वास्थ्यचौकी बनाउन भारत र चीनको राजदूतावास जाने गरिन्छ । केही वर्षअघि काभ्रे, चौरी (कोशीपारी) बाट फर्किने क्रममा त्यहाँको उच्च माविका व्यवस्थापकले त्यही प्रस्ताव राख्दा मैले ‘भारतीय दूतावासबाट पैसा ल्याएर राम्रो भवन बनाउनु र श्रीमतीलाई वेश्यालय पठाएर प्राप्त रकमले महल ठड्याउनु एउटै त हो’ भनेको थिएँ । 

निर्मला पन्तको बलात्कार र हत्याको चर्चा हुँदै गर्दा एमाले नेता तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया’ खोल्नुपर्ने धारणा राखेको भनेर सञ्चारमा छायो । त्यो वेश्यालयमा उनले आफ्नो तर्फबाट कसलाई पठाउँछन् त ? आमा, श्रीमती, दिदी–बहिनी कसलाई पठाउने सोचेका छन् ? प्रष्ट पार्नुपर्दैन ? यसको अर्थ के हो भने नेपाली समाज चेतना र चिन्तनको दृष्टिले पनि विघटनको दिशामा छ । जनयुद्धले चेतना, चिन्तन सपनाको जगेर्ना गरेको थियो । प्रचण्ड–बाबुरामको पतनले २०४६ पछिको एक दशकभन्दा पछि भयानक विघटन शुरु भएको छ । त्यस प्रकारको उल्टो हावालाई सुल्टो दिशामा चलाउन महाबहस अनिवार्य बनेको छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top