​अपरिचित छोरीको पत्रले दिने आनन्द

(सन्दर्भ : २६ डिसेम्बर माओ जयन्ती)


Friday, 28 Dec, 2018 2:01 PM

  • राजेन्द्र स्थापित

जियाओजियाओ उर्फ माओ मिन माओ त्सेतुङकी छोरी हुन् । तेस्री पत्नी हे छिछेनतर्फकी उनको जन्म सन् १९३६ मा सान्सी प्रान्तको झिदान काउन्टीमा भएको हो । माओले कोमिन्ताङ सरकारबाट बचाउन छोरीको नाउँ फेरिदिए– लि मिन । ह छिछेन सन् १९३७ मा मस्को गइन् । कोमिन्ताङले हानेको बमको छर्रा लागेर घाइते हुँदा पनि क्रान्तिमा सक्रिय थिइन् । पटक–पटक बिरामी हुन थालेपछि कम्युनिष्ट पार्टीका अन्य नेताहरुको दबाबमा उपचारार्थ सोभियत संघतर्फ प्रस्थान गरेकी हुन् । साथमा छोरी थिइन् । पछि उनी हार्बिन फर्किए । जियाओजियाओले त्यहींबाट येनानमा खटिएका बाबु माओलाई एउटा पत्र लेखिन् ।

पत्र यस्तो थियो– ‘अध्यक्ष माओ, सबैजनाले भन्छन् कि तपाईं नै मेरो बुबा हो र म तपाईंकी छोरी हुँ । तर मैले तपाईंलाई कहिल्यै देख्न पाएको छैन । यद्यपि म सोभियत संघमा थिएँ । यसबारेमा अझै स्पष्ट छैन, के तपाईं मेरो बुबा र म तपाईंकी छोरी भन्ने कुरा साँचो हो ? मलाई छिट्टै जान्न मन छ । यसपछि मात्रै म तपाईंसँग भेट्न आउँछु ।’ 

माओले जब पत्र हात पारे, बाहिर खाममा परिचित लेखाइ (ह छिछेनको हस्ताक्षर) देखे । पत्र नबुझिने अर्थात् रुसी भाषामा थियो । रुसी अनुवादकको सहयोग लिएर व्यहोरा पढे र गललल्ल हाँसे । तत्कालै प्रत्युत्तर लेखे– ‘जियाओजियाओ, म तिम्रो चिठी पाएर साह्रै खुशी भएँ । तिमी मेरै छोरी हौ, आफ्नै छोरी । म तिम्रो साख्खै बुबा हुँ । तिमी १० वर्षसम्म सोभियत संघमा रह्यौ, त्यसैले हाम्रो भेट भएन । अब ठूली भइसक्यौ होला । हुर्किसक्यौ होला, पहिलाभन्दा । होइन त ? म आशा गर्छु, तिमी आफ्नो बुबालाई भेट्न तुरुन्तै आउने छौ । मैले कमरेड ह यिलाई उत्तरपूर्वतिरबाट तिमीलाई ल्याउन भनिसकेको छु । म तिमीलाई स्वागत गर्न आतुर छु ।’

माओले पत्र हुलाकमा खसालिदिन सचिवलाई अह्राए । तर तुरुन्तै मन परिवर्तन गरे । छोरीको पत्र पाएर औधी खुशी बनेका उनले जवाफ तत्कालै टेलिग्राममार्फत पठाउन आदेश दिए । त्यति मात्र होइन, छोरीलाई चिनियाँ भाषा सिकाउन एक जना शिक्षकको व्यवस्था गर्न लगाए ।

जियाओजियाओले चाँडै भाषा सिकिन् । चिनियाँ शैली बुझ्न थालिन् । बाबु–छोरीको मिलनपछि जियाओजियाओलाई माध्यमिक स्कुलमा भर्ना गर्ने तयारी थालियो । भर्ना गर्दा नाउँबारे समस्या उठ्यो । जियाओजियाओ माया गरेर बोलाइने तर नराम्रो नाउँ थियो । उनलाई पारिवारिक एवं वैयक्तिक आवश्यकता भयो । एक साँझ खानापछि माओले भने, ‘तिम्रो नयाँ नाम म राखिदिउँला ।’

‘बाबा, मेरो नाम छँदै छ नि ! मेरो नाम जियाओजियाओ हो ।’

‘यो त तिमी उत्तरी सान्सीको पाओ आनमा जन्मिनेबित्तिकै मायापूर्वक राखिदिएको नाम पो हो । अहिले यति ठूली र मिडिल स्कुलमा पढ्ने भइसक्यौ । त्यसैले म तिम्रो औपचारिक तर सार्थक नाम राख्नेछु ।’

माओले नजिक टेबुलमा राखिएको दार्शनिक कन्फ्युसियसद्वारा लिखित पुस्तक झिके । त्यसभित्रको ‘लि रेन’ शीर्षकको परिच्छेद पल्टाए । अनि छोरीको नामकरण गरिदिए– लि मिन  र भने, ‘जेहोस्, तिम्रो नाउँको अगाडि माओ जोडिने छैन ।’ जियाओजियाओले आफ्नो नयाँ नाममा केही अप्ठेरो मानिन् र बाबुसँग तर्क गर्न थालिन् । सोधिन्, ‘सबै दाजुहरुको नाउँ माओबाट शुरु भएको छ तर मेरो मात्र किन नराख्नुभएको ?’

माओले छोरीको कपाल सुम्सुम्याउँदै जवाफ दिए, ‘हो, तिमीले ठीक भन्यौ । मेरो नामको अघिल्लो शब्द (थर) पनि माओ नै छ । तर मैले क्रान्तिको दौरान माओ रुन्झी, चि रेन, लि तेसेङलगायत दर्जनौं नयाँ नाम राखेको छु । त्यसमध्ये पनि मलाई बढी मन परेको नाम ‘लि तेसेङ’ हो ।

जियाओजियाओले बाबुसँग लि तेसेङ बढी मन पराउनुको कारण सोधिन् । माओले त्यो नाम सन् १९४७ मा कोमिन्ताङसित संघर्ष भइराखेको बखत कसरी जन्मिएको थियो भन्ने सुनाए ।

अन्त्यमा जियाओजियाओको नाम राखियो– लि मिन । लि मिनले पछि बेइजिङ साधारण विश्वविद्यालयसम्बद्ध उच्च माविमा अध्ययन गरिन् । र, स्नातकपछि सोही विश्वविद्यालयमा रसायनशास्त्र पढिन् । सोही क्रममा बेइजिङ एयरोनटिकल इञ्जिनियरिङ इन्स्टिच्युटमा अध्ययनरत छात्र कोङ लिङह्वासित सम्बन्ध विकसित भयो । उनीहरु स्कुल पढ्दै एकअर्कासित परिचित थिए । पछि उनीहरुले बिहे गर्ने निधो गरे । र, केटोको बारेमा माओलाई जानकारी दिँदै बिहे गर्न दुवै राजी भएको बताइन् । माओले छोरीको छनोटमा आपत्ति जनाएनन् । फलतः माओ निवासमै सन् १९५९ को अगस्त २० मा लि मिन र कोङ लिङह्वाबीच बिहे सम्पन्न भयो । छोरीसँग छुट्टिनुपर्ने डरले छोरीज्वाइँको निम्ति सँगैको घर लिइदिए । स्मरणीय छ, त्यसबखतसम्म चीन स्वतन्त्र भई जनवादी गणतन्त्र बनिसकेको थियो र सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ जनवादी गणतन्त्र चीनको अध्यक्ष बनिसकेका थिए । केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा केन्द्रीय जनसरकार प्रमुखसमेत । यसको बाबजुद फुर्सद मिलाएर छोरीको घर गइरहन्थे । एक वर्षपछि लि मिन छोराको आमा बनिन् । नाति जन्मिएकोमा माओ निकै खुशी देखिन्थे । नातिलाई काखमा लिएर खेलाइरहन्थे । अँगालो मार्थे । म्वाइँ खान्थे । 

तर त्यतिञ्जेलसम्म माओ र लि मिनकी आमा ह छिछेनको सम्बन्ध करिब–करिब अन्त्य भइसकेको थियो । माओ कान्छी पत्नी चियाङ चिङसित बस्थे । चियाङ सौतेनी छोरी लि मिनलाई त्यति साह्रो मन पराउँदैन थिइन् । माओ लि मिनको घर गइरहने कुरो पनि चित्त बुझाउँदैन थिइन् । बिस्तारै–बिस्तारै लि मिन र कोङ उनीबाट अपहेलित मात्र होइन, सताइन थाले । उनीहरुलाई त्यहाँ बसिरहन गाह्रो भयो । अन्तै सर्ने निधो गरे र एकदिन यो कुरा माओलाई सुनाए । माओ गम्भीर बनेर बसिरहे । गहभरि आँशु पारे । अन्त्यमा माओनिवास चोङ नानहाइ परिसरबाट लि मिन दम्पती बाहिरियो । 

नयाँ घरमा सरिसकेपछि लि मिनलाई समय–समयमा बाबुको घर आउजाउ गर्न सम्भव भएन । गएको बेला पनि सुरक्षागार्ड छिर्न दिन आनाकानी गर्थे । बाबुलाई भेट्न चोङनानहाइको ढोकामा लामो समय कुरेर बस्थिन् । यो कुरा माओले धेरै समयपछि मात्र थाहा पाए । पत्नी र सुरक्षागार्डलाई गाली गरे । लि मिनले रक्षा मन्त्रालयअन्तर्गत विज्ञान तथा प्रविधि आयोगको एक संस्थामा काम पाइन् । लोग्ने आफ्नै इन्स्टिच्युटमा प्राध्यापन गर्थे । साँस्कृतिक क्रान्ति शुरु गरिएको केही समयपछि नै सन् १९६६ को अगस्त ५ मा सत्तारुढ पार्टीको केन्द्रीय कमिटी बैठकमा माओले एउटा प्रस्ताव पेश गरे । ‘मुख्यालयमा बम हान’ शीर्षकमा प्रस्तावनासहित एउटा ठूलो पोष्टर पार्टीको मुखपत्र ‘पिपुल्स डेली’ मा सन् १९६७ को अगस्त ५ मा छापियो । मुख्यतः त्यो अभियान तत्कालीन राष्ट्रपति लिउ साओची र पार्टी सचिवालयका महासचिव देङ सियाओ पिङविरुद्ध लक्ष्यित थियो । त्यसबेला लिउ र देङ केन्द्रीय सरकारको दैनिक काम हेर्थे । जताततै ‘मुख्यालयमाथि बम हान’ लिखित पोष्टर छापिएपछि खासगरी सुधारवादी खेमा र युवा–विद्यार्थीमाझ ठूलो भूकम्प गयो । लि मिनले यो कुराको जानकारी पत्रिका पढेपछि मात्र पाइन् । उनले त साँस्कृतिक क्रान्तिको नाउँमा चलाइएको ‘क्रान्ति’को उपादेयतासमेत बुझेकी थिइनन् । एकदिन आफू कार्यरत इन्स्टिच्युटभित्रको विद्रोही समूहसित कुरासमेत गरिन् । उनले त्यहाँ भनिन्, ‘प्रत्येक व्यक्तिको आफ्नो विचार हुन्छ । बिनातर्क विद्रोही बन्नु निरर्थक छ ।’

उनको यो भनाइ अभिशाप बन्यो । उनको भनाइलाई साँस्कृतिक क्रान्तिको आलोचनाको रुपमा लिइयो । उनीविरुद्ध संघर्ष चर्काइयो । साँस्कृतिक क्रान्तिका अगुवा छात्रा हान आइचिङले उनीविरुद्ध माओ पत्नी चियाङ चिङलाई उक्साइन् । उनले यहाँसम्म भनिन् कि ‘लि मिनले चियाङकी छोरी होइन भन्ने पुष्टि गरिन् । कोङ (लि मिनको लोग्ने) माओविरुद्ध प्रयोग हुने टाइम बम हो । यसर्थ यी दुवैलाई यहाँबाट खेद्नुपर्छ ।’

साँस्कृतिक क्रान्ति चलुञ्जेल लि मिन र माओको सम्बन्ध सुमधुर बन्न सकेन । बिरलै बाबु–छोरीको भेट हुन्थ्यो । लि मिनलाई बाबुसँग भेट गर्नै गाह्रो हुन्थ्यो । बीचका तत्व बाबुछोरीबीच तगारो बन्थे । तर पनि मर्नुअघि माओले लि मिनलाई लिन पठाए । छोरी पुगेको केही क्षणपछि नै प्राण त्यागे । धेरै वर्षपछि सन् २००३ मा लि मिनले चिनियाँ कम्युनिष्ट पार्टीको सल्लाहकार समिति सदस्यमा रहेर काम गरिन् । 

 


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top